धर्मले नछेकेको प्रेम

नारी संवाददाता

माघ ५, २०७८ हिस्सी परेको मुहार, बान्की परेको शरीर, अग्लो कद, झट्ट हेर्दा अन्तर्राष्ट्रिय मोडलजस्तै देखिने एक युवतीको तस्बिरमा गायक तथा नायक अमिर शेखको आँखा पर्‍यो । उनले उक्त तस्बिर फेसबुकमा देखेका थिए । सुरुमा त अमिरलाई कसैको फेक आइडी होला जस्तो लाग्यो तर ‘म्युचल फ्रेन्ड’ हेर्दै जाँदा थुप्रै परिचित अनुहार भेटिए । उनले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उताबाट एसेप्ट भयो । त्यसपछि कुराकानीको क्रम अघि बढ्यो । उतिबेला रेनुका सिंह ठकुरी मोडलिङ क्षेत्रमा जम्दै थिइन् । रेनुकाले पनि नाम चलेका गायक भएरै ‘फ्रेन्ड रिक्वेस्ट एसेप्ट’ गरेको बताइन् । अमिरले रेनुकालाई ‘बर्थडे वीस’ गरेसँगै भेट्ने प्रस्ताव राखे । ‘भेट्ने निश्चित भयो । म पर्दामा देखिँदा खाइलाग्दो, ‘हेभी’ शरीर भएको देखिन्छु तर म वास्तवमा फुच्चे, पातलो मान्छे हुँ’ उनले भने । यो कुरामा सहमति जनाउँदै रेनुका भन्छिन्, ‘मेरै साइजको रहेछ भनेर खुसी लागेको थियो ।’

भेटघाट बाक्लियो । अमिरले प्रेम प्रस्ताव राखे । रेनुकाले सोचेर जवाफ दिने बताइन् । केही दिनको पर्खाइपछि अमिरले रेनुकाको हुन्छ भन्ने उत्तर पाए । रेनुकाको शान्त र कम बोल्ने स्वभावले अमिरलाई तानेको थियो । पछिल्लो समय अमिर एकनासले रेनुकाको करियरबारे सोचिरहे । तीन वर्षको प्रेम सम्बन्धमा अमिरले रेनुकाको करियरमा परिवर्तन ल्याइदिए । आफू मुम्बई बस्ने भएकाले रेनुकाको रूप र क्षमता अन्तर्राष्ट्रिय प्लेटफर्ममा सुट हुने भएकाले उनले रेनुकालाई पनि मुम्बई नै लगे । अमिरकै पहलमा रेनुकाले रणबीर, दीपिकासँग एसियन पेन्ट्स, निभियालगायतका ठूला ब्रान्डका विज्ञापनमा काम गर्ने मौका पाइन् । भारतीय म्युजिक भिडियो र विज्ञापनहरूमा रेनुकालाई निक्कै रुचाइयो । उनी भन्छिन्, ‘सही मान्छे छान्नु भनेको जीवनलाई नै सार्थक बनाउनु हो । मलाई गर्व छ अमिरलाई जीवनसाथीका रूपमा पाएकोमा ।’

प्रेम सम्बन्ध गहिरिँदै थियो । अन्ततः उनीहरू विवाहको टुंगोमा पुगे । अमिर मुस्लिम परिवारका, रेनुका हिन्दू ठकुरी परिवारकी हुन् । उनीहरूमा जात मात्रै नभएर संस्कार, संस्कृति, धर्मको भिन्नता थियो । तर, अमिरको परिवार अत्यन्त बुझकी, स्वतन्त्र र शिक्षित थियो । उता रेनुकाको आर्मी परिवार भने अत्यन्त कडा र अनुशासित । रेनुका भन्छिन्, ‘विवाहको कुरा सुनाउँदा ममीले अलि चित्त नबुझेको जस्तो गर्नुभयो । बरु जीवनभर राम्रो साथीका रूपमा रहनु भन्नुभयो तर मैले सकिँदैन भनेपछि विवाह गर्ने निधोमा पुगियो ।’

विवाहपछि आफूलाई अझ बढी माया र स्वतन्त्रता प्राप्त भएको रेनुका बताउँछिन् । अमिरका बुवासँग रेनुका अत्यन्त नजिक थिइन् । उनीहरू दुईबीच हरेक कुरा सेयर हुन्थे । अमिर भन्छन्, ‘केही चाहियो भने उनले बुवासँगै माग्थिन् । मभन्दा पनि बुवा नजिक हुनुभयो ।’ अहिले अमिरका बुवा पक्षघात भएर ओच्छ्यान परे, न बोल्न सक्छन्, न हिँड्न नै । यसले रेनुकालाई दुःखी बनाएको छ । अमिरकी आमाले पनि आफूलाई बुहारी नभएर छोरीजस्तै व्यवहार गरेको बताउँदै रेनुका भन्छिन्, ‘बुहारीले यो काम गर्नैपर्छ भन्ने छैन । म प्रायः बिहान १० बजे उठ्छु, ममीले खाना पकाउनुहुन्छ । जस्तो लुगा लगाएर हिँडे पनि कुनै प्रतिक्रिया आउँदैन । श्रीमान्को माया, साथ र सहयोग पाइरहेकी छु । माइतीमा भन्दा घरमा सजिलो लाग्छ मलाई त ।’ अमिर भने विवाहअघि आफू बिन्दास भएको र विवाहले परिपक्वता ल्याएको स्वीकार गर्छन् । भन्छन्, ‘विवाहअघि एक्लो जिन्दगी जेजसो गरे पनि भयो । विवाहपछि आफ्नो जीवनमा अरु कोही पनि छ भन्ने बोध हुँदो रहेछ । कर्तव्यनिष्ठ र जिम्मेवार भइँदोरहेछ ।’

अमिरको घरमा मुस्लिम र हिन्दू दुवै संस्कार स्वीकार्य छ । उनकी आमा र श्रीमती घरैमा भाइटीका गर्छन्, तीजको ब्रत बस्छन् । त्यसैगरी रेनुका पनि रमादान, इदमा श्रीमान् ब्रत बसेको देखेर आफू पनि नखाइ बस्छिन् । यसो गर्दा आफ्नो प्रेम र कर्तव्यप्रतिको जिम्मेवारी पूरा हुने रेनुकाको तर्क छ । अमिरलाई पनि श्रीमतीको यो व्यवहारले नतमस्तक बनाएको छ । उनी भन्छन्, ‘सम्बन्धमा मानवता र प्रेम हुनुपर्छ, धर्म, संस्कृति र जात बाधक बन्नु हुँदैन । सम्बन्धमा धर्म, संस्कृति, संस्कार र जातको प्रश्न उठ्न थाल्यो भने हिंसा, द्वेष र अराजकताले झाँगिने मौका पाउँछ । जसले परिवार, समाज र राष्ट्रमै अशान्ति मच्चाउँछ । तसर्थ सम्बन्धद्वारा नै शान्ति र प्रेममय वातावरण सिर्जना गर्न सकिन्छ भन्ने सन्देश हामी दिन चाहन्छौं ।’

करियर केन्द्रित यो जोडी अहिले नै बच्चा जन्माउने सोचमा छैन । पहिले आफ्नो करियरमा ध्यान दिने र एक तहको सफलता प्राप्तिपछि मात्रै सन्तानको योजना बनाउने बताउँदै अमिर भन्छन्, ‘२५ वर्षकी केटीको चाहना नबुझेर मैले अहिले नै बच्चा जन्माउन लगाएँ भने उनको भविष्य के होला ? मलाई उनको भविष्यको बढी चिन्ता छ । त्यसैले उनलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छु । म उनलाई हरदम सहयोगी बनेर साथ दिनेछु ।’

दाम्पत्य जीवनमा प्रेम, विश्वास र एक–अर्काप्रतिको सम्मानले बहार ल्याउने उनीहरूको बुझाइ छ । सम्बन्ध बलियो पार्ने सूत्र बताउँदै रेनुका भन्छिन्, ‘हाम्रै उदाहरण दिनुपर्दा हरेक साँझ–बिहानको खानामा पहिलो गास एक–अर्कालाई खुवाएर मात्रै खान्छौं, दिनभरि केही कुराले ठाकठुक भएको छ भनेपनि खानाले हामीलाई पुनः जोडिदिन्छ ।’ यस्तै हरेक जोडीमा अटल विश्वास र प्रेम हुनु जरुरी छ जसले सम्बन्धलाई सुन्दर र बलियो बनाउँछ । वैवाहिक जीवनलाई तरोताजा राख्ने उपायबारे अमिर भन्छन्, ‘आत्मीयता कायम गरी समय बिताउनुपर्छ । समयसँगै रूप परिवर्तन भए पनि मन र सोच परिवर्तन हुनुहुँदैन । एकापसमा समझदारी मूल कुरा हो । विवाहले महिलाको करियर रोकिने वा पछाडि धकेलिने होइन । विवाहले ‘सेटलमेन्ट’ गर्छ । तनावबाट टाढा राख्छ । 

अमिरबारे रेनुका

मनपर्ने पक्ष : अत्यन्तै लभिङ, केयरिङ ।

कमजोरी र बलियो पक्ष : धेरै सोच्ने, सकारात्मक सोच भएको मान्छे ।

उहाँ केका लागि यो धर्तीमा आएको ? : मेरो र संगीतका लागि ।

आकर्षक कुरा : आँखा ।

तपाईंले बोलाउने नाम : बेबु र आर्या ।

रेनुकाबारे अमिर

गुण : कसैसँग नराम्रो व्यवहार नगर्ने, शान्त स्वभावकी ।

कमजोरी र बलियो पक्ष : म उनको कमजोरी हो, काममा दृढ छन् यो उनको बलियो पक्ष हो । 

कस्ती श्रीमती ? : एकदमै माया गर्ने, विशुद्ध प्रेम दिने, सुख–दुःखमा मेरो खम्बा बनेर उभिने ।

रेनुकाले के कुरामा सुधार गर्नुपर्ला ? : रिस कम गर्नुपर्छ, यही क्षेत्रमा काम गर्ने भएपछि अलि ‘एक्स्टोभर्ट’ हुनुपर्छ । 

तपाईंले बोलाउने नाम : बु अनि जान ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>