Successfully Copied

युलिया कोइराला 

मेरो आत्मादेखि जे चाहन्छु त्यो गर्छु, जुन ममा भएको बलियो पक्ष हो ।

बाल्यकाल कसरी बित्यो ?

उतिबेला म अत्यन्त सक्रिय बालिका थिएँ । डान्स, संगीतमा निकै रुचि थियो । काजकिस्तानका ती रमाइला पलहरूको अझै सम्झना छ । मेरा काका–ठूलाबुवाका छोराछोरी सबै पियानोमा अब्बल थिए । त्यही देखेर मेरो रुचि त्यतातिर पनि बढ्दै गयो । 

नेपालमा काम गर्ने अवसर कसरी बन्यो ? कस्तो अनुभूति हुँदैछ ?

सन् २००८ मा सिद्धार्थ कोइरालासँग विवाह भएपछि म नेपाल आएँ । सानैदेखि कला–संगीतमा रुचि भएकाले परिवारको सहयोग र सल्लाहमा सन् २०१२ मा सुशीला आर्ट एकेडेमी सुरु गरेर काम थालें । यहाँ मेरो परिवार छ । नेपाल नै मेरो घर हो । म रमाइलो अनुभूित गरिरहेकी छु ।

नेपाल र विदेशको काम गराइको तरिकामा के भिन्नता पाउनुभयो ?

व्यावसायिकता र आफ्नो क्षेत्रमा दक्षता हरेक कामको मूल जड हो । कला र संगीतकै कुरा गर्नुपर्दा पनि उतातिर पढेर दक्ष भइसकेपछि मात्रै उक्त काम गर्न पाइन्छ । पियानो बजाउने हो भने पियानोमा डिप्लोमा हुनैपर्छ । हरेक क्षेत्रमा कसरी अब्बल र दक्ष व्यक्ति उत्पादन गर्ने भन्ने यहाँको चुनौती देखिन्छ । तर क्रमशः नेपालमा पनि सुधार हुँदै गएको छ ।

नेपाल बस्न र यहीँ जमेर काम गर्न के कुराले आकर्षित गर्‍यो ?

मेरा श्रीमान्, छोरी र परिवार नै यसको मूल कारण हो । 

कसरी सुशीला आर्ट एकेडेमी खोल्ने निष्कर्षमा पुग्नुभयो ?

यसमा मेरी सासू सुषमा कोइरालाको ठूलो हात र आशीर्वाद छ । उहाँले सहज बनाइदिएकैले यो सम्भव भयो । 

तपाईंका लागि सुशीला आर्ट एकेडेमी के हो ?

सुशीला आर्ट एकेडेमी मेरा लागि काम नभएर प्यासन हो । 

तपार्इं राजनीतिक विरासत बोकेकी कोइराला परिवारकी बुहारी हुनुहुन्छ, राजनीतिमा नलागेर कला र संगीतको क्षेत्रमा काम गर्दा कत्तिको सजिलो वा अप्ठ्यारो भयो ?

यो परिवारमा पहिलेदेखि नै कला, साहित्य र संगीतको मिश्रण थियो । सुशीला कोइरालाले जब विराटनगरमा पहिलो पटक डान्स स्कुल खोल्नुभयो त्यतिबेलादेखि नै यो परिवार कला र संगीतमा जोडिएको हो । मेरी सासू सुषमा कोइराला पनि अब्बल नृत्यांगना हो भने मनीषा कोइराला अनुभवी (भेटेरन) नायिका । त्यसैले यो परिवारमा कलाप्रति ठूलो सम्मान छ । म पनि काममा रमाइरहेकी छु । 

एकेडेमीले कसरी काम गरिरहेको छ ?

नेपालमा कला, साहित्य, संगीत एवं नृत्यको उत्थानका लागि एकेडेमीले काम गर्दै आएको छ । हामीले यिनै विषयसँग सम्बन्धित सयौं कार्यक्रम र कार्यशाला गरिसक्यौं । कलाले जीवित महसुस गराउँछ । कलाले मुटु र आत्मालाई जोड्ने काम गर्छ ।

 

यो क्षेत्रको उत्थान र सम्वर्द्धनका लागि सरकारबाट तपाईंलाई कस्तो अपेक्षा छ ?

सरकारबाट खासै सहयोग भएको छैन । कला, संगीतसम्बन्धी शिक्षा र यसको सम्वर्द्धनलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । हामीहरूले व्यक्तिगत रूपमा गर्न सक्ने काम गरिरहेका छौं । म जे गरिरहेकी छु त्यसमा मलाई पूर्ण विश्वास छ । यो क्षेत्रको परिवर्तनका लागि हामी केही गर्न सक्छौं । 

तपाईंको बलियो पक्ष र कमजोरी के छन् ?

मेरो आत्मादेखि जे चाहन्छु त्यो गर्छु, जुन ममा भएको बलियो पक्ष हो । तत्काल प्रतिक्रियाले तनाव ल्याउँछ, म प्रतिक्रिया भन्दा सम्बोधन गर्न सिक्दैछु । 

तपाईंले अत्यन्त इन्जोय गरेको परफरमेन्स कुन हो ?

मैले थुप्रै काम गरिसकें । जसमध्ये ‘कुमारी एन्ड बिस्ट थिएटर प्रडक्सन’ मा अत्यन्त इन्जोय गरें । त्यसैगरी ‘चाइनिज ओलम्पिक थिएटर प्रडक्सन’ र नेपाल टुरिजम इयर २०२० को ग्रान्ड ओपनिङमा गरेको कामले अहिले पनि सन्तुष्टि महसुस हुन्छ ।

 

तपाईंको प्रेरणा ?

भित्रैदेखि हरेक क्षण जीवित महसुस गर्नु नै मेरो प्रेरणा हो । 

तपाईंको भविष्यको योजना ?

लकडाउनले कतिपय काम रोकिए । चुपचाप बस्नुपर्‍यो । हामीले थुप्रै रियालिटी शो गरिसक्यौं । अब अडियन्स शोभन्दा पनि टिभी शोमा केन्द्रित हुने योजनामा छौं । 

पाठकलाई सन्देश ?

यो धर्तीमा रहनका लागि हामीसँग छोटो समय छ । हामीले हरेक क्षणको प्रशंसा गर्नुपर्छ । यस धर्तीमा हुनुको कृतज्ञता प्रकट गर्नुपर्छ । 

 Image