‘महिला हिंसा अन्त्य गरौं’

नारी संवाददाता

पुस २, २०७८ घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ मूल नाराका साथ नेपालमा यो वर्षको ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सम्पन्न भयो । अन्तर्राष्ट्रिय रूपमा भने यो अभियान ‘ओरेन्ज द वर्ल्ड’ नाराका साथ मनाइएको थियो । नेपालमा अभियानका क्रममा विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा ‘महिला रोकिए, संसार रोकिन्छ’, ‘मेरो पाठेघर, मेरो शक्ति’, ‘मेरो आत्मनिर्भरता नै मेरो हिंसाविरुद्ध बोल्ने अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

अभियानका क्रममा बालबालिका तथा समाज कल्याण मन्त्रालय एवं राष्ट्रिय महिला आयोगले संयुक्त रूपमा भृकुटीमण्डपबाट र्‍याली निकालेर भद्रकाली, न्यूरोड हुँदै वसन्तपुर डबलीमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले लैङ्गिक हिंसालाई मानवताविरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए ।

‘जोन्टा क्लब अफ काठमाडौ’ ले बालविवाह, घरेलु हिंसा र कार्यस्थल तथा सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउन जोड दिँदै विभिन्न कार्यक्रमको आयोजना ग×र्‍यो । उसले चार वटा लघु चलचित्रमार्फत हिंसाविरुद्ध सन्देश प्रवाह गरेको थियो । काठमाडौंमा आयोजना गरेको सार्वजनिक बहसमा ‘जोन्टा’ ले सडक नाटकसमेत प्रदर्शन गरेको थियो । संस्थाकी अध्यक्ष सीमा गोल्छाले कुनै पनि हिंसा र उत्पीडन कहिल्यै सहन नहुने र यसका विरुद्धमा बोल्नैपर्ने भन्ने सन्देश अभियानले दिएको बताइन् । ‘यो अभियानले पीडितहरूलाई सहयोग माग्न हौसला दिनुका साथै सुरक्षित सहयोग लिन सकिने ठाउँहरूका बारेमा जानकारी दिएको छ’ उनले भनिन् । ‘जोन्टा’ काठमाडौंले हिंसामा परेका महिला र बालिकाहरूको सहयोगका लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थासँग पनि सहकार्य गर्दै आएको छ । साथै घरेलु हिंसा र कार्यस्थलजन्य हिंसापीडित महिलाहरूलाई कानुनी सल्लाह र सहयोग प्रदान गर्न उसले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइनसमेत खडा गरेको छ ।

अभियानमा ‘साथी नेपाल’ ले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा ‘हाम्रो गोल महिला हिंसाविरुद्ध’ भन्ने नाराका साथ फुटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) विजयी भएको थियो । एनएसजेफले अस्ट्रेलियन एलुम्नाइलाई ३–१ गोलले हराएको थियो । 

यसैगरी, ‘युनिलिभर नेपाल’ ले ‘माइती नेपाल’ सँग सहकार्य गर्दै महिलाहरूलाई स्वरोजगार बनाउन विभिन्न प्रशिक्षण कार्यक्रमको आयोजना गरी अभियानमा निरन्तरता दिने उद्घोष गर्‍यो । महिलाहरूका लागि रोजगारी सिर्जना गर्न, आर्थिक र कानुनी क्षमता वृद्धि गर्न युनिलिभरले माइती नेपालसँग सहकार्य गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यी दुई संस्थाले संयुक्त रूपमा महिलाहरूका लागि ब्युटिपार्लर, एक्स्क्याभेटर चलाउने, बिक्री सेल्सका लागि प्रशिक्षण दिने भएको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले यी प्रशिक्षण कार्यक्रममार्फत महिलाहरूलाई आवश्यक सीपहरू प्रदान गर्दै दीर्घकालीन र दिगो यात्रा कायम गर्न खोजेको बताए । यो वर्षको लैङ्गिक हिंसाविरुद्धको केन्द्रमा बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी रहेका थिए । उनीहरूको मृत्यु र बेपत्ताको छानबिन माग गर्दै बाँकेबाट १३ दिन लगाएर न्यायका लागि काठमाडौ आइपुगेकी रुबी खानको पक्षमा महिला अधिकारकर्मी, पत्रकारदेखि राजनीति दलका कार्यकर्तासमेतले ऐक्यबद्धता जनाएका थिए । 

हरेक वर्ष संसारभरि २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ संचालन हुन्छ । सन् १९९७ देखि नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी १६ दिने यो अभियान मनाउन थालिएको हो । अभियानको प्रमुख उद्देश्य बालविवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनु रहेको छ ।

मर्यादित महिनावारी दिवस

नेपालमा ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सँगै ‘मर्यादित महिनावारी दिवस’ पनि मनाउन थालिएको छ । डिसेम्बर ८ लाई उक्त दिवसका रूपमा मनाउन थालिएको हो । विद्यालय र कलेजबाट जनचेतना जगाउँदै ‘लैङ्गिक हिंसा न्यूनीकरण र मानव अधिकारका लागि मर्यादित महिनावारी’ मुख्य नाराका साथ यो दिवस मनाइएको छ । महिनावारीको समय सबै किशोरी मर्यादापूर्वक जिउन पाउनुपर्ने भन्दै यो दिवस मनाउन थालिएको अभियन्ता राधा पौडेलले बताइन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>