कमेडीमा महिला
मंसिर १४, २०७८ के हेरेको बे ?’ धेरैको मुखमा यो वाक्यांश झुन्डियो । सोसल मिडियामा त झनै चर्चा पायो । ‘स्ट्यान्ड अफ कमेडी’ सोमा सीता न्यौपाने यो वाक्यांशबाट चर्चित भइन् । पहिलो सोबाटै लोकप्रिय बनेपछि उनी उत्साहित छिन् । उनले छ महिनामा ‘स्ट्यान्ड अफ कमेडी’मा चार वटा प्रस्तुति दिइसकेकी छन् । उनका सोका अन्य शीर्षकहरूमा ‘बाजनीति’, ‘मिडिल क्लास प्रब्लम’ र‘जय नारी’ छन् । उनका प्रस्तुतिहरू युट्युब ट्रेन्डिङमा छन् ।
सानैदेखि सीताको कमेडीमा रुचि हो । रमाइलो र ठट्टा गरिरहने बानीले उनलाई कहिल्यै भावुक बन्न दिएन । उनले भनिन्, ‘म सधै रमाइलो गरिरहने मान्छे, म सानैदेखि नै कमेडियन हो ।’ उनी भारतीय ‘स्ट्यान्ड अफ कमेडी’का सोहरू खुबै हेर्थिन् । नेपालमा पनि यस्तै सोहरू गर्नुपर्ने इच्छा उनमा पलाउन थाल्यो । प्लेटफर्म खोज्दै जाँदा नेपग्याजममा कमेडीमा उनी जोडिन पुगिन् । कमेडीका लागि उनी आफै विषयवस्तु छनोट गर्छिन् । समसायमिक विषयवस्तु नै उनको प्रस्तुति हो । कमेडीमा महिलालाई हाँसोको पात्रका रूपमा लिइएकोमा उनको चित्त दुखाइ छ । ‘कुनै व्यक्तिलाई भन्दा प्रवृत्तिलाई व्यंग गर्नुपर्छ’ उनले भनिन्, ‘समसामयिक विषयवस्तुलाई नै मैले समेट्ने गरेकी छु ।’ माइक्रोबायलोजीमा स्नातकोत्तर गरिरहेकी उनी पढाइसँगै यो क्षेत्रमा निरन्तरता दिने सोचमा छिन् ।बुटवलकी सन्ध्या भट्टराई पनि ‘स्ट्यान्ड अफ कमेडी’ मा सक्रिय छन् । काठमाडौ विश्वविद्यालयबाट फिजियोथेरापीमा स्नातक गरिरहेकी उनी सोका लागि काठमाडौं आइरहन्छिन् । पढाइ र कमेडीलाई सँगसँगै उनले लिएर अघि बढिरहेकी छन् । बाबुआमा दुवै शिक्षक भएका कारणले पहिलो कमेडी सो नै उनले ‘शिक्षकको छोरी’ शीर्षकबाट सुरु गरिन् । यसमा उनले आफ्नै अनुभव साटेकी छन् । प्रस्तुतिहरूमा उनी आफ्ना अनुभव र सामाजिक विषयवस्तुलाई नै प्राथमिकता दिइरहेकी छन् । सन्ध्याका अनुसार आफूले भोगेको र देखेको विषयवस्तु नै छनोट हुन्छ । कमेडी विधा हाँस्ने र हँसाउने भए पनि हँसाउन भने सहज नभएको उनको अनुभव छ । अझ ‘स्ट्यान्ड अफ कमेडी’मा हँसाउन त झनै गाह्रो रहेको उनले बताइन् । ‘कमेडीमा हँसाउन सहज छैन, दर्शकहरूको मनोविज्ञान बुझ्न गाह्रै हुन्छ ’ उनले भनिन्, ‘महिलाहरूको सन्दर्भमा समस्या उस्तै छ । पुरुषले त्यही कुरा जोक बनाउँदा सहज रूपमा लिइन्छ । महिलाले त्यही कुरालाई व्यंग गर्दा गलत अर्थमा बुझिन्छ ।’ उनका अन्य प्रस्तुतिहरूमा ‘न्यू इयर’, ‘बोल्यो कि पोल्यो’ आदि छन् । कमेडीले उनलाई क्रिएटिभ बनाउनुका साथै आत्मविश्वास पनि बढाएको सन्ध्याको भनाइछ ।
पछिल्लो समय ‘स्ट्यान्ड अप कमेडी’का रूपमा महिलाको उपस्थिति बाक्लिँदै गएको छ । नेपालका लागि यो कमेडी नौलो भए पनि युवापुस्ता यसमा रमाउन थालेको कमेडियन शिष्टता भण्डारीले बताइन् । उनका अनुसार पछिल्लो समय कमेडीमा बुझ्ने जमात बढ्दै गएको छ । उनी पनि कमेडीकै रूपमा उदाएकी छन् । उनका प्रस्तुतिहरू ‘उफ गर्मी’, ‘नाम र ममीं’, ‘तीज विशेष’ आदि छन् । स्नातक तहमा अध्ययनरत उनी पढाइका कारण पछिल्लो समय कमेडीबाट ओझेल परेको बताइन् । ‘पढाइमा समय दिनुपर्ने भएकाले पनि यस क्षेत्रमा सक्रिय हुन सकेकी छैन’उनले भनिन् ।
नेपग्याजमका सदस्य आशीष शाहीका अनुसार सुरुमा यो क्षेत्रमा महिलाको उपस्थिति राम्रो भए पनि बिस्तारै पलायन हुने क्रम बढिरहेको छ । ‘आर्थिक रूपले सबल हुन नसक्ने र विशेषगरी महिलाहरूलाई घरबाटै अनुमति नदिने भएकाले यो क्षेत्रमा उनीहरू सोचेजस्तो सक्रिय हुन सकेका छैनन्’उनले भने ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्