Successfully Copied

पुराना सामानमा कला 

‘घरमा बेकारमा रहेका पुराना फर्निचरलाई रिसाइकल गरेर सजावटका लागि प्रयोग गर्न सकिन्छ ।’

सानैदेखि चित्रकलामा उनको रुचि थियो । तर, काम–व्यवहारले उनको रहर यत्तिकै थाती रह्यो । विवाह गरिन्, बालबच्चा भए, बेग्लै परिवार भयो । जीवन आफ्नै लयमा बितिरह्यो । 

कोभिड कालले भने उनको जीवनको त्यही रहरलाई खोतलिदियो । कोरोना संक्रमणको भयले घरभित्रै बस्नुपर्ने बाध्यता थियो । संक्रमणको भयसँगै मानिस घरको परिधिभित्र पट्यारलाग्दा दिनहरू काटिरहेका थिए । शिवानी सिंह शाहका दिनहरू पनि यसैगरी गुज्रिँदै थिए । 

तर, यो दिक्कलाग्दो क्षणबाट उम्कन उनी रंग र कुचीसँग खेल्न थालिन् । आफ्ना रंगीन कल्पनालाई घरका पुराना फर्निचरमा उतार्न थालिन् । छोरीहरू हुर्किसकेकाले उनको रुचिले साकार रूप पायो । छोरीहरूले पनि उनमा उत्साह र जाँगर भरिदिए ।

‘क्यानभासमा पेन्टिङ गरेर सजाउनुभन्दा घरमा प्रयोग भएका फर्निचरहरूमा पेन्टिङ गर्दा आकर्षक र कहाँ राख्ने’ भन्ने कुरा सोच्न नपर्ने शिवानी बताउँछिन् । उनी थप्छिन्, ‘घरमा बेकारमा रहेका पुराना फर्निचरलाई रिसाइकल गरेर सजावटका लागि प्रयोग गर्न सकिन्छ ।’ प्रकृतिप्रेमी र जनावरप्रति प्रेम भएकाले उनको कलामा पनि त्यही झल्कन्छ । 

यसरी आफूले पोतेका विभिन्न आकृतिलाई उनले घरभित्रै सीमित गरिनन्, सार्वजनिक प्रदर्शनमा राखिन् । घर–परिवारका सदस्यहरूले सबै कुरा मेलोमेसो मिलाइदिएपछि उनले आफ्नो कला प्रदर्शनमा ल्याएको बताइन् ।

शिवानी सिंह मात्र होइन, उनीसँगै निधि टोदी र सुनीता वैद्यले पनि आ–आफ्ना हस्त शिल्प संयुक्त रूपमा प्रदर्शन गरे । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनीहरूका कलाकृति पाँच दिनसम्म प्रदर्शनीमा राखिएको थियो । 

‘घरमा प्रयोग हुने धातुका सामग्रीहरूको पुनः प्रयोग गरी सजावटका सामग्री बनाइएको’ धातु नेपालकी संस्थापक निधि टोदीको भनाइ छ । उनी भन्छिन्, ‘यस्ता सामग्रीको प्रयोग हाम्रो स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।’ उनले जेमोलोजिकल इन्स्टिच्युट अफ अमेरिकाबाट ज्वेलरी डिजाइनर कोर्स गरेकी छन् । शिल्पकलामा रुचि भएकाले सुन, चाँदी, पित्तल, तामा, काँस रिसाइकल गरी सामग्री बनाउँछिन् । उनले केही वर्ष खेलौनाहरूको डिजाइन र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने काम गरे पनि उनलाई आफ्नो रुचि भएको काम शिल्पकला नै हो भन्ने महसुस भयो । त्यसपछि नेपालमा शिल्पकलाबारे धेरै वर्षको पढाइ र यससम्बन्धी गहिरो अनुसन्धान गरिन् । 

‘परम्परागत सामग्रीहरूलाई आधुनिकीकरण गरेर सजावटका लागि प्रयोग गर्न सकिने’ सुनीता वैद्यको भनाइ छ । उनले सजावटका लागि प्रयोग हुने क्यान्डिल बनाएकी थिइन् । ‘फेस्टिवल अफ लाइट’ भनिने तिहारमा हातले बनाइएका क्यान्डिलहरू उपयोगी हुने गरेको उनको बुझाइ छ । क्यान्डिलको कभरमा हातले विभिन्न आकृति कोरेर आकर्षक डिजाइन दिइन्छ । यस्ता क्यान्डिलको मूल्य सयदेखि चार हजार रुपैंयाँसम्म पर्छ । 

 Image