Successfully Copied

‘संस्कृतिले भेदभाव नगरोस्’

महिलाले पतिव्रताको सीमा नाघे कडा सजायको त्रास देखाइयो, पतिप्रति मात्रै वफादार बन्न बाध्य पारियो ।

आर्थिक लेनदेन र महिलाको स्वतन्त्रतालाई कसरी खुम्च्याउने भन्ने दुई विषयमा मात्र इतिहास खुम्चेको पाइन्छ । अब यसलाई लैङ्गिक लेन्सबाट बुझ्न जरुरी छ । ’

माथिका भनाइहरू ‘सती : इतिहास र सीमांश’ पुस्तकका लेखक सुजित मैनालीका हुन् । समाजशास्त्रमा स्नातकोत्तर उनी काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्छन् । ०७६ मा प्रकाशित आफ्नो पुस्तक ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ को भूमिकामै उनले आगामी दिनमा लैङ्गिक विषय समेट्ने गरी पुस्तक प्रकाशन गर्ने उल्लेख गरेका थिए । त्यसैको परिणाम हो उनको पछिल्लो पुस्तक ।

यसो त झापाका सुजितले सतीप्रथाबारे अध्ययन थालेको सात वर्ष भए पनि लेख्न भने तीन वर्षअघि मात्र सुरु गरेका थिए । ‘नेपाली वाङ्मयमा अहिलेसम्म पनि महिलासम्बन्धी विशिष्ट पुस्तकको अभाव छ । मलाई महिलाकै विषयमा महिलाकै लागि स्पेसिफिक भएर केही लेखौं भन्ने  लागेको थियो’ उनले भने, ‘लेख्दै जाँदा आफैंसँग कयौं पटक प्रश्न पनि गरें, भारतमा सतीप्रथाप्रति समर्पित थुप्रै पुस्तक छन्, अन्य मुलुकहरूमा पनि महिलासँग सोझै सरोकार राख्ने धेरै पुस्तक भेटिए । हाम्रोमा किन छैन त ? किन नलेख्ने ?’

महिलाको यौन जीवनलाई प्रताडित बनाउन पतिव्रताको गुणगान गाइएको र वंश राख्न तथा अंश हस्तान्तरणका लागि सतीप्रथा चलाइएको सुजित बताउँछन् । महिलाले पतिव्रताको सीमा नाघे कडा सजायको त्रास देखाइयो, पतिप्रति मात्रै वफादार बन्न बाध्य पारियो । विवाहको अवधारणा आउनुअघि महिला बढी स्वतन्त्र थिए भन्दै त्यो बेला सन्तान पहिचानको अधिकार महिलालाई मात्र भएको उनको ठम्याइ छ । उनले भने–‘त्यसताका नारी एउटैकी स्वास्नी भएर बस्नु पर्दैनथ्यो । उनीहरूको स्वतन्त्रता र सामाजिक अवस्था पनि उँचो थियो । जब विवाहको संस्थागत विकास भयो तब महिलाका हरेक इच्छा र स्वतन्त्रता कुण्ठित पारिँदै लगियो । पुरुषको अंश र वंश धानिदिने साधक बने महिला । विशेषतः उनीहरूको यौन स्वतन्त्रतामा अंकुश लगाइयो । सतीप्रथा, अहिलेको तिलक प्रथा, बालविवाह, तेजाब आक्रमण, महिनावारीमा छुवाछूत सबै यसैसँग जोडिएका विषय हुन् ।’

पश्चिमा मुलुकलगायत अफ्रिका, चीन र इजिप्टजस्ता देशमा समेत पुरुषहरूले महिलाको योनिलाई अधीनमा राख्नकै लागि परम्परा र संस्कृतिका नाममा विभिन्न प्रथा चलाएका ऐतिहासिक दस्ताबेजहरू भेटिएको सुजितको भनाइ छ । ‘महिलाको अधीनता हिन्दू धर्मसँग मात्रै नजोडिएर हरेक धर्म र संस्कृतिसँग जोडिएको र अन्ततः यो पुरुष संस्थालाई नै लाभ गर्ने खालको छ’ उनले भने, ‘पुरुष स्वतन्त्र छन्, महिला छैनन्, विवाह अर्थात् मोनोगामीले महिलालाई पुरुषप्रति वफादार बनाउने गरेको छ । चेस्टिटी बेल्ट (महिलाको यौनाङ्गमा साँचो लगाइदिने), क्लिटोरिडिक्टोमी (भजाइना काटिदिने) तथा यौनाङ्ग नै सिलाइदिने समुदाय अझै पनि छन् । सबैकुरा पढ्दा–बुझ्दा मेरो भित्री मनले के भन्छ भने कैंचीका दुईवटा धारिला ब्लेडले महिलालाई काटिरहेका छन् एउटा ब्लेड अंश र अर्को ब्लेड वंश ।’

महिला गर्भवती भएदेखि सुत्केरी भइसकेपछि पनि लामो समय पहिलेकै रूपमा फर्किन नसक्ने हुनाले मल्टी–पार्टनर बनाउन जहिले पनि महिलालाई पुरुषले उछिन्ने र त्यसको चपेटामा पुनः महिला नै पर्ने सुजितको धारणा छ । यसले पनि पुरुषलाई नै लाभ पुर्‍याएको उनको दाबी छ । त्यसैगरी बालविवाहको सवालमा पवित्रताका कुरा आउँछन्, दाइजो/तिलकका कुरामा महिला भार भएकाले त्यो भार सम्हाल्ने क्षतिपूर्तिका रूपमा दाइजो–तिलक दिएको देखिन्छ भने तेजाब आक्रमण भनेको मैले भोग गर्न नपाए अर्कोले पनि पाउनु हुँदैन भन्ने मानसिकता भएको सुजित बताउँछन् । ‘जुन उतिबेलाको सतीप्रथा भन्दा कम छैन । सतीप्रथा पनि म मरेपछि यो सतीत्वमा रहन्न भनेरै ज्युँदै जलाइने हो । यसबाट पुरुषहरू महिलाको योनिलाई हरदम नियन्त्रणमा राख्न चाहेको प्रमाणित हुन्छ’ मैनालीले भने, ‘आर्थिक असमानताभन्दा लैङ्गिक असमानता पुरानो र भयंकर छ । इतिहासका डरलाग्दा दस्तावेजहरू योसँग सम्बन्धित छन् । नेपाल र भारतको सतीप्रथा होस् वा अफ्रिकाको डोगन जनजाति समुदायमा भएको छाउगोठ, चीनमा राजा–महाराजा मर्दा तिनको चिहान वरिपरि ज्युँदै गाडिएका सयौं दासीका हाडखोरले महिलामाथिको विभेदको इतिहास बयान गर्न काफी छ । ’ 

शारीरिक तथा भौतिक हमलाभन्दा सांस्कृतिक हमला निकै डरलाग्दो हुने भएकाले महिलालाई यसैको चपेटामा पारिदिने प्रपञ्च उहिलेदेखि रहिआएको देखिन्छ । महिलाका लागि आवाज बुलन्द पार्नु महिला मात्रका लागि नभएर समग्र मानव मुक्तिको सवाल भएको उनले बताए । तर, महिला र पुरुषको असमानता श्रम विभाजनको उपज हो भन्नेमा उनी असहमत छन् । ‘उतिबेला खाद्य स्रोतका दुई वटा कृयाकलाप हन्टिङ र कलेक्सनलाई नै हेर्ने हो भने पनि हन्टिङले मात्रै बाह्रै महिना खान पुग्दैनथ्यो, त्यसो त कतिपय महिला स्वयं पनि हन्टिङमा लागेको इतिहास भेटिन्छ । तर निरन्तर खानाको स्रोत भनेको कलेक्सन नै थियो । यसर्थ उतिबेला खाद्यान्नको जोहो पनि महिलाले नै गर्ने गरेको देखिन्छ । हरेक कृयाकलापमा महिलाको समान सहभागिता र योगदान हुँदाहुँदै पनि महिला नै नियन्त्रित हुनुमा सोच, कानुन र चेतना मुख्य कारण रहेको सुजितको विश्लेषण छ । उनले भने, ‘तुलनात्मक रूपमा अहिलेका महिलाले थोरै भएपनि स्वतन्त्रता महसुस गर्न पाएका छन् । तर, बलात्कार, दाइजो, महिनावारीमा छुवाछुत, छाउपडीलगायत विभिन्न कारण बनाएर अझै पनि महिलालाई नियन्त्रणमा राख्न खोजिएकै छ । जबकि वैदिक साहित्यमा महिनावारीलाई मासिक धर्मका रूपमा उल्लेख गर्दै बार्नुपर्ने कुरा कतै लेखेको पाइँदैन । महिलाले महिनावारी भएको सामाजिक रूपमा सबैलाई थाहा दिनैपर्ने, एक महिना रोकिनेबित्तिकै उसका बारेमा कुरा काट्न सुरु हुने, यो भनेको अन्ततः महिलाको यौनमा नियन्त्रण गर्न खोज्नु हो ।’

सुजितले इछ्याएको समाज भनेको संस्कृतिले कसैलाई केही कुरामा बन्देज नगरोस् । मौलिकतालाई पूर्णरूपमा स्वीकार गरेको समान संसार होस्, सबैजना पूर्णरूपमा स्वतन्त्र र खुसी होऊन् । 

सुजितका लागि

आमा : सृष्टिकर्ता

दिदीबहिनी : अत्यन्तै निकटका साथी

श्रीमती : जीवनसाथी

नारी : समान हुनुपर्ने तर भइनसकेका । 

समानताका लागि आवश्यक तत्व : चेतना, शिक्षा, कानुनी र सांस्कृतिक सुधार । 

 Image