Successfully Copied

सुन्दर गोदावरी

सजिलै हुर्काउन सकिने गोदावरी लोकप्रिय फूल हो । बगैंचामा धेरै प्रजातिका फूल रोप्ने फुर्सद छैन वा स्याहार–सुसार गर्न झन्झट लाग्छ भने गोदावरी फूल मात्र रोपे पुग्छ ।

सजिलै हुर्काउन सकिने गोदावरी लोकप्रिय फूल हो । बगैंचामा धेरै प्रजातिका फूल रोप्ने फुर्सद छैन वा स्याहार–सुसार गर्न झन्झट लाग्छ भने गोदावरी फूल मात्र रोपे पुग्छ । धेरै प्रजाति र रंगमा फुल्ने भएकाले यो एउटै फूलले बगैंचाको सौन्दर्य बढाउँछ । यसको ‘कटिङ लावर’ पनि सजावटका रूपमा राख्न सकिन्छ । यस्तो फूल एक सातासम्म ताजा रहन्छ । 

‘तिहारको समयमा फुल्ने भएकाले गोदावरी सबैले रुचाउँछन्’ रोयल नर्सरीका संस्थापक सिपेन्द्र महर्जनले भने, ‘यो फूलको बिक्री पनि राम्रो छ ।’ यो फूलको हेरचाह गर्न सजिलो र धेरै राम्रो फुल्ने भएकाले सबैको रोजाइमा पर्ने गरेको उनको बुझाइ छ । 

असोज–कात्तिकमा फुल्ने यो फूल धेरै प्रजातिमा पाइन्छ । नेपालमा मात्र यो ३० भन्दा बढी प्रजातिमा पाइन्छ । चीनको रैथाने फूलका रूपमा परिचित गोदावरी त्यहीँबाट विश्वमा फैलिएको मानिन्छ । चीनबाट सुरुवात भएपनि यो फूललाई जापानीहरूले प्रसिद्धि दिएको बताइन्छ । जापानीहरूको राष्ट्रिय फूल गोदावरी हो । सुरुवाती दिनमा चिनियाँहरूले गोदावरी औषधिकै रूपमा प्रयोग गर्न खेती सुरु गरेका थिए । 

कहिले र कसरी रोप्ने ?

यो फूल पुससम्म फुल्छ । यसको कटिङ असार–साउनमा राख्नुपर्छ । कटिङ राख्न बालुवा मिसिएको माटो राम्रो हुन्छ । कोकोपिटमा माटो मिसाएर पनि राख्न सकिन्छ । बालुवा वा कोकोपिटमा राखिएको कटिङ पछि रोप्नेबेलामा सजिलै निकाल्न सकिन्छ । बिरुवाको कटिङ राख्दा ३–४ इन्चको लम्बाइ राख्नुपर्छ । आधा भाग माटोमा गाड्नुपर्छ । बेलाबेलामा थोरै–थोरै पानी हालिरहनुपर्छ । 

काटेको बिरुवाबाट पलाएको नयाँ मुनालाई गमला, पट वा जमिनमा सार्न सकिन्छ । पानीको निकास राम्रो भएको जुनसुकै ठाउँ यो फूलका लागि उपयुक्त मानिन्छ । यसको उचाइ तव्नी फिटसम्म रहन्छ । यो फूल गाईको गोबरमा राम्रोसँग सप्रिन्छ । 

स्याहार–सुसार

स्वस्थ बोट भएमात्र फूल राम्रो फुल्ने भएकाले बिरुवा स्वस्थ बनाउन जोड दिनुपर्छ । त्यसका लागि हप्तैपिच्छे थोरै–थोरै कम्पोस्ट मल हालिदिनुपर्छ । यसमा धेरैजसो फंगस र लाई लाग्न सक्छ । फंगसका लागि ‘एन्टी फंगस’ स्प्रे गरिदिनुपर्छ । लाईका लागि बजारमा कीटनाशक औषधि पाइन्छ । त्यसलाईपनि प्रयोग गर्न सकिन्छ । कीटनाशक औषधिको प्रयोग नगर्ने हो भने निमको पाउडर पानीमा घोलेर स्प्रे गरिदिनुपर्छ । तर यस्तो औषधि बिरुवामा रोग नलागी हाल्न सुरु गर्नुपर्छ । 

धेरै फूल फुलाउनका लागि यसको कोपिला टिपिँदैन तर एउटा थुंगामात्र फुलाउन परे अन्य कोपिला टिपेर बीचको एउटा कोपिलामात्र छोडिदिनुपर्छ । ‘स्पाइडर’, ‘बल्ब’ प्रजातिको गोदावरीलाई एउटा मात्र ठूलो थुंगा फुलाउन सकिन्छ । त्यस्तै, एउटै बोटमा धेरैवटा फूल फुलाउनका लागि यसको टुप्पो काटिदिनुपर्छ । त्यसपछि एउटा बोटबाट तीन–चार वटा हाँगा फाटेर आउँछन् र धेरै कोपिला लाग्छन् । ‘थाउजेन्ड ब्लुम’, ‘पम्पम’ को प्रजातिलाई धेरै फुलाउन सकिन्छ । पछिल्लो समय थाइल्यान्ड भेराइटीको गोदावरीको माग बढेको सिपेन्द्रले बताए । यो फूल धेरै अग्लो नहुने र हाँगा धेरै पलाएर बाक्लै फुल्ने भएकाले यो प्रजातिको फूलको माग बढेको उनले बताए । यसको बोट अग्लो हुने भएकाले यसलाई सपोर्टको आवश्यकता पर्छ । त्यसका लागि दह्रो खालको लठ्ठी प्रयोग गर्नुपर्छ । 

यसको फाइदा

गोदावरीले घरमा सकारात्मक ऊर्जा बनाइराख्छ । यसको फूल, पात र जरासमेत स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ठूलो भन्दा सानो फुल्ने गोदावरी स्वास्थ्यको दृष्टिकोणले बढी फाइदाजनक हुन्छ । यसको फूल टिपी सुख्खा बनाएर सिसाको भाँडामा राखी चिया बनाएर पिउन सकिन्छ । यसले धेरै प्रकारको रोगमा फाइदा पुर्‍याउँछ । यसको पात पिसेर निधारमा लगाउँदा पनि माइग्रेनको समस्या ठीक हुन्छ । त्यस्तै यसका ८–१० वटा पातमा दुई वटाजति कालो मरिच मिसेर पानीमा पकाएर दिनको तीन–चार पटक खाएमा पिसाबसम्बन्धी समस्यामा राहत मिल्छ । गोदावरीको फूललाई पानीमा उमाल्ने र एक चौथाइ बाँकी रहेपछि निकालेर बिहान–बेलुका खाँदा महिनावारीमा हुने समस्याबाट छुटकारा मिल्छ । काटेको, पोलेको घाउमा यसको पात पिसेर लगाउन सकिन्छ । यसमा शीतल गराउने गुण रहेकाले यस्तो घाउ छिट्टै निको हुन्छ । तर, यसमा औषधीय गुण छ भन्दैमा बढी प्रयोग गर्नुहुँदैन ।

 Image