‘हरेक मानिसमा भिन्नता हुन्छ’

- प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य

आश्विन २६, २०७८

यो चराचर जगत्मा सबै जीवको प्रकृतिप्रदत्त आ–आफ्नै स्थान र महत्व छ । त्यसैले कसैलाई कसैसित दाँजिन मिल्दैन । एउटा मानिस अर्को मानिसजस्तो बन्न खोज्नु वा अरूको जस्तो गर्न खोज्नु भनेको मनको भ्रम मात्रै हो ।

प्रकृति र नवग्रहादिले नक्षत्र र राशि वा केही स्वभावजन्य प्रकृति मिले पनि सबै उस्तै र दुरूस्तै हुनै सक्दैनन् । कुनै कुरामा कसैको समानता भएपनि हरेक विचारमा त्यो समानता किमार्थ हुन्न । यसमा ग्रह नक्षत्रादि, कुण्डलीमा निहित भाव र ग्रहको तालमेल, समय, ग्रहदृष्टि आदि मात्र नभई व्यक्ति विशेषले प्राप्त गरेको शिक्षा–दीक्षा, आचरण, कुल, संस्कार, लिंग, अनुशासन, अनुभवलगायतले प्रभाव पारेको हुन्छ । त्यसैले सबैले यस जीवनमन्त्रलाई हृदयंगम गरी कसैलाई कसैसित तुलना नगरौं । कसैको व्यक्तित्व र मनोबललाई गिराउने प्रयास पनि नगरौं । जे–जस्तो छ उसलाई त्यस्तै रहनदिऊँ ।

सकिन्छ भने परेकालाई सहयोग गरौं, सिक्ने इच्छा राखेकालाई आफ्नो ज्ञानअनुसार राम्रो कुरा सिक्न सहयोग र प्रोत्साहन गरौं । सकिँदैन भने कसैलाई यस्तो र उस्तो भनेर आक्षेप नलगाऊँ । आखिर आफ्नो कर्म कुनै न कुनै बेला सबैले भोग्नैपर्छ । कसैलाई कुनै कुरा भनेर अपहेलना र तिरस्कार गरेर पापको भागिदार नबनौं ।

सबै कुराहरू व्यक्तिविशेषमा फरक पर्छ । प्रकृतिले नै व्यक्तिलाई विशेष रूपले बनाएको हुन्छ । हरेक व्यक्तिले कुनै न कुनै विशेषता लिएर जन्मेको हुन्छ । कतिपय कुरा उसले देखेको र सुनेको भरमा पनि सिकेको हुन्छ । कुनै–कुनै कुराहरू उसले जान्दाजान्दै ज्ञान भएर पनि जति सिकाए पनि सिक्न सक्दैन । यो व्यक्तिको निजी समस्या नभै प्राकृतिक समस्या हो । जुन कुरा केही गरे पनि गर्न सकिँदैन त्यस्ता असम्भव कुरामा र नसकिने कुरामा समय खर्चिनु बेकार छ ।

जसको जे योग्यता र सीप छ, उसले त्यसैबाट आफ्नो जीविका चलाउँछ । आ–आफ्नो सुझबुझ, बानी, सिकाइ र व्यवहारबाट हरेक व्यक्तिले खुसी र सन्तुष्ट हुने उपायहरूको पछि लागेका हुन्छन् । त्यसमा कोही चाँडै सफल हुन्छ कोही ढिलो । समयअनुसार सबैले आ–आफ्नो बलबुताअनुसार कर्म गरेकै हुन्छन् । सबैको समय र परिस्थिति सधैं समान हुँदैन र कसलाई कतिबेला कुन परिस्थितिको सामना गर्नुपर्छ भन्ने पनि थाहा हुँदैन तसर्थ क्षणिक कुराका भरमा कसैप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुनु हँुदैन । सकेसम्म बोली र व्यवहारमा सदैव सकारात्मकता अपनाउने प्रयास गरांै । कसैको कर्मको लेखाजोखा गर्ने अधिकार हाम्रो होइन त्यो समय, परिस्थिति र केही हदसम्म नियतिले आफैं प्रत्यक्ष देखाउने कुरा हो ।

उदाहरणका लागि राम र रावणलाई लिन सकिन्छ । दुवैको कुण्डली उस्तै भएपनि प्रकृतिप्रदत्त व्यवहारका कारण राजा राम भगवान्का रूपमा प्रख्यात भए भने राजा रावण अहंकारी राक्षसका रूपमा विख्यात भए ।

(लेखिका, कवि, गीतकार एवं राशि स्तम्भकार हुनुहुन्छ ।)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>