Successfully Copied

अनलाइन किनमेलमा ‘जोखिम’

मुख्य कुरा त आफ्नो बजेट हेर्नुपर्छ । त्यसपछि आफ्नो संस्कार हेर्नुपर्छ । बजेटअनुसारको सामानको लिस्टिङ गर्नुपर्छ ।

इटहरीकी समीप पाण्डे प्रायः अनलाइन सपिङ गर्छिन् । उनी कपडा, किताब र फुटवेयर अनलाइनबाटै मगाउँछिन् । यसरी मगाउँदा चित्तबुझ्दो सामान भने उनले एउटा पनि भेटाएकी छैनन् । ‘कपडा किन्दा प्रायः ठगिएकी छु,’ उनले भनिन् । फेसबुक पेज वा इन्स्ट्राग्राममा प्रचारका लागि राखिएका सामान भनेजस्ता हुँदैनन् । रंग र गुणस्तरमा समेत फरक पर्ने उनले बताइन् ।
समीपको जस्तै समस्या पाल्पाकी एरिजोना खड्काले पनि भोगेकी छन् । उनले अनलाइनमार्फत किनेका कुनै पनि सामानबाट सन्तुष्ट नभएको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म किनेको कुनै सामान राम्रो परेको छैन ।’ गुणस्तरमात्र नभई साइज पनि तस्बिरमा देखाएजस्तो नहुने उनको भनाइ छ ।
पछिल्लो समय अनलाइन किनमेलको प्रचलन व्यापक छ । आफूले चाहेको सामान खोज्न बजार चाहर्नु पर्दैन । घरबाटै आफूलाई चाहिने सामान अनलाइनमा खोजे पुग्छ । यसमा न मोलमोलाइ गर्नुपर्ने, न त भौतिक रूपमा उपस्थित भई पैसा नै भुक्तानी गर्नुपर्ने । अनलाइनबाटै यी सबै सहजै प्राप्त गर्न सकिन्छ ।
अनलाइन किनमेलप्रति आकर्षण बढ्नुमा विभिन्न कारण छन् । पहिलो, कोभिड । खासगरी कोभिडका कारण भीडभाडमा जानु, बजार धाउनु प्रतिकूल छ । दोस्रो, व्यस्तता । मान्छेको व्यस्तता बढेको छ । बजार धाएर छानीछानी किनमेल गर्ने धेरैलाई फुर्सद छैन । तेस्रो, इन्टरनेटको सुविधा । पछिल्लो समय सर्वत्र इन्टनेट/मोबाइल नेट सुविधा छ । चौथो, अनलाइनबाटै रकम भुक्तानी गर्ने प्रणाली हुनु । विभिन्न पेमेन्ट गेटवेमार्फत सजिलै भुक्तानी गर्न सकिन्छ ।

जोखिम उस्तै
पछिल्लो समय अनलाइन अर्थात् भर्चुअल पसल बग्रेल्ती छन् । यसबाट सामान्य घरायसी सामान, लुगाफाटोदेखि औषधिसम्म खरिद गर्न सकिन्छ । यसरी खरिद गरिएका सबै सामग्री गुणस्तरीय नहुन पनि सक्छन् । त्यस्तै, सामानको मूल्यमा ठगी हुने जोखिम पनि उत्तिकै रहन्छ ।
खासगरी कपडा किन्दा धेरै जना ठगिने गरेका छन् । ‘यसरी अनलाइनमा राखिएका कपडाहरू पेजमा राखिएका भन्दा बिल्कुलै फरक हुन्छन्’ एरिजोनाले भनिन् । स्मार्ट डोकोका अपरेसन म्यानेजर जेनिस कटिला यो भनाइप्रति सहमत छन् । ‘अनलाइनमा राखेको तस्बिर र सामानको तस्बिरमा केही फरक त पर्छ नै, अझ कपडाहरूका रंगमा फरक देखिन्छ’ उनले भने । यसरी सामाजिक सञ्जालको प्रयोग गरी कारोबार गर्नेहरू धेरै छन् । उपभोक्ताले आफू ठगिनबाट बच्न आधिकारिक कम्पनीबाट मात्र किनमेल गर्ने सुझाव उनको छ ।
अनलाइन व्यापार ‘ई–कमर्स’ अन्तर्गत पर्छ । तर, यसबारे स्पष्ट कानुन नहुँदा हामीजस्ता आधिकारिक ‘ई–कमर्स’ व्यवसायी मारमा परेको जेनिसको गुनासो छ । उनले भने, ‘यसलाई व्यवस्थित गर्ने कानुन भए उपभोक्ता र व्यवसायी दुवैलाई सहज हुन्छ ।’
यतिबेला दसैंको रौनक छ । दसैंमा नेपालीले लत्ता–कपडा, खाद्यन्नलगायतका सामग्री बढी खपत गर्छन् । आफूलाई आवश्यक सामानहरू अनलाइनबाटै किनमेल गर्नेहरू धेरै हुन्छन् । अनलाइन प्लेटफर्मबाट खरिदारी गर्दा उपभोक्ताले मोलमोलाइ गर्न नपाउने, व्यापारीले वस्तुको मूल्य बढी राख्ने, गुणस्तर भनेजस्तो नहुने, खरिद गरिएका सामग्री कमसल भएमा क्षतिपूर्ति नदिने र साट्ने सुविधा पनि नहुने जस्ता कुराले अनलाइन खरिदारीलाई जटिल बनाएको छ । अझ अनलाइन किनमेललाई नियमन गर्न सकिएको छैन । यो व्यवसाय जसले पनि गर्न सक्छन् । त्यसैले यसबाट ठगी हुने जोखिम धेरै छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेराईले पछिल्लो समय आफूखुसी दर्ता नै नगरी अनलाइनबाट व्यवसाय सञ्चालन गर्नाले आधिकारिक कम्पनीहरू पनि जोखिममा परेको स्विकारे । ‘राज्यको स्पष्ट काुनन व्यवस्था नहुदा उपभोक्ता ठगिने गरेका छन् ’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न सरकार लागिपरेको छ ।’

बजेटअनुसार किनमेल गरौं
 


मुना राई

म्यानेजर, भाटभटेनी सुपर स्टोर पाटन कृष्णगल्ली

चाडपर्वमा किनमेल गर्दा ध्यान दिनुपर्ने कुराहरू के–के हुन् ?
मुख्य कुरा त आफ्नो बजेट हेर्नुपर्छ । त्यसपछि आफ्नो संस्कार हेर्नुपर्छ । बजेटअनुसारको सामानको लिस्टिङ गर्नुपर्छ ।

छुट र सेलको उपयोग कसरी गर्नुपर्छ ?
छुट र सेलमा राखिएका सामान किन्दा उपभोग्य मिति र मूल्य हेर्नुपर्छ । कतिपय ठाउँमा छुट र सेलको ठाउँमा ठगिने डर पनि हुन्छ ।

पर्वका बेला कुन समय सपिङ गर्नु उपयुक्त हुन्छ ?
बढी भीडभाड नहुने बिहानको समयमा सपिङ गर्नुपर्छ ।

किनमेलमा बजेट व्यवस्थापन कसरी गर्नुपर्छ ?
अनावश्यक कुरा किन्न भएन, आफ्नो आवश्यकतामा केन्द्रित हुनुपर्छ । गच्छेअनुसार किनमेल गर्नुपर्छ ।

कोरोनाकालमा किनमेलमा जाँदा अपनाउनुपर्ने सुरक्षाका उपाय के–के हुन सक्छन् ?
सेनिटाइजर र मास्कको प्रयोग गर्नुपर्छ । सकेसम्म भौतिक दूरी कायम गर्नुपर्छ ।

‘उपभोक्ता सचेत हुनुपर्छ’


जेनिस कटिला
असिस्टेन्ट अपरेसन म्यानेजर, स्मार्ट डोको


पछिल्लो समय कोभिड माहामारीको कारण अनलाइन कारोबार छ्याप्छ्याप्ती छन् । दर्ता नै नगरी फेसबुक पेज, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल मार्फत गरिने अनलाइन व्यापारलाई ‘ई–कमर्स’ भनिदैन् । उपभोक्तालाई आधिकारीक वेवसाइटबाट मात्र सामान खरीद गर्न सल्लाह दिन्छु । आधिकारीक कम्पनीमा सामान लिँदा प्रोसेस अनुसार जाने भएकोले २/३ दिन लाग्न सक्छ । अन्यबाट भने आजको भोली नै हुन्छ । यसले गर्दा पनि उपभोक्तामा गलत धारणा बसेको छ । हाम्रोमा रिफन्डको सुविधा पनि भएकोले उपभोक्तालाई कुनै सामानमा चित्त नबुझे रिफन्ड गर्न सकिन्छ । अनलाइन व्यापारबारे कानुनी व्यवस्था नभएपनि उपभोक्ता नै सचेत हुनुपर्छ ।


शिवराज सेराई
प्रवक्ता, उद्योग, वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग


अनलाइन खरिदारीमा उपभोक्ताहरू कति ठगिएका छन् ?
अघिल्लो आर्थिक वर्षमा उजूरी धेरै आए ।ठ्याक्कै तथ्याङ्क त छैन् । तर अघिल्लो आर्थिक बर्षमा करिब दुई दर्जन जति उजुरी आए र कारबाही पनि भए । तर अझसम्म पनि उजुरी कहाँ गएर गर्ने भन्ने अन्योल धेरैमा छ ।

पिडितले उजुरी कहाँ गर्ने हो ?
राज्यको तिनै तहको निकायमा उजुरी गर्ने व्यवस्था छ । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा गर्न सकिन्छ । आफुलाई सहज पर्ने जुनसुकै ठाउँमा पनि गएर उजुरी गर्न सकिन्छ ।

अनलाइन खरिदारी गर्दा सामानको गुणस्तर डिस्प्लेमा देखाइए जस्तो हुँदैन भनिन्छ नि, यसमा तपाईहरूले कुनै अनुगमन गर्नुभएको छ ?
यसलाई म थ्रि ‘डि’ भन्छु : डिस्प्ले, डेलिभरी, डिफरेन्ट । हामीले अन्य पसलहरूमा जस्तो गएर अनलाईन कारोबारहरूको अनुगमन गर्दैनौ । उजुरी आएपछि मात्र गर्ने गरेका छौ । दर्ता गरेको छ/छैन्, कर तिरेको छ/छैन्, साइनबोर्ड राखेको छ/छैन्, थर ठेगाना आदि हेर्छौ । दर्ता नगरी सुरुवात गरेपनि यसबारे स्पष्ट कानुन नहुँदा कारबाही गर्न गाह्रो छ । तैपनि स्थानिय तहमा दर्ता गरी व्यवसाय गर्न सक्ने व्यवस्था भने छ ।

अहिले जथाभावी अनलाईनबाट सामान बिक्री गर्ने प्रवृत्ति छ । यसलाई कसरी नियमन गर्दै हुनुहुन्छ ?
पहिलो लहरको कोभिड महामारीको सुरुवातमा यस्ता अनलाइन व्यवयसाय निकै उजागार भए । उपाभोक्तालाई पनि यसको आवश्यकता भयो । कानुनको स्पष्ट व्यवस्था नभएकोले समस्या छ । म विभागिय संयोजक पनि भएकोले यसबारे ड्राफ्ट बनाएर पेश गरिसकेको छु । अब छिट्टै यसको कानुन व्यवस्था हुन्छ । उपभोक्ता संरक्षण ऐन ०७५ र नियामवली ०७६ मा भएको कानुनी व्यवस्था अनुसार जुनसुकै तरिकाले गरेको व्यवसायको अनुगमन गर्ने अधिकार छ ।

‘ग्राहकलाई उचित सेवा दिनैपर्छ’     


सम्झना सुवेदी
उपभोक्ता प्रमुख, दराज नेपाल


अनलाइन किनमेलको ट्रेन्ड पछिल्लो समय कसरी बढिरहेको छ ?
सबैका हातमा मोबाइल, इन्टरनेटको पहुँच र सामाजिक सञ्जालको बढ्दो प्रयोगले अनलाइन किनमेल बढ्दो छ । पछिल्लो समय महामारीका कारण धेरै सर्वसाधारण यसप्रकारको किनमेलप्रति आकर्षित छन् ।

अझै पनि अनलाइन किनमेल भरपर्दो छैन भनिन्छ नि ?
नेपालका लागि अनलाइन किनमेलको विकास सकारात्मक पाटो हो । तर, हाम्रो किनमेल संस्कारको इतिहासमा हेर्ने हो भने यो सधैं बिक्रेता र ग्राहकबीच भौतिक अन्तर्क्रियामा आधारित देखिन्छ । यसमा परिवर्तन हुन समय लाग्छ । यसका लागि अनलाइन सपिङ प्लेटफर्मले पनि ग्राहकलाई आकर्षित गर्न सहजकर्ताको भूमिका निवार्ह गर्नुपर्छ । ग्राहकका लागि सकारात्मक अनुभव बढाउन उसले प्रयास गर्नुपर्छ । यसमा ‘वर्ड अफ माउथ’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सन्तुष्ट ग्राहकले आना सकारात्मक अनुभव अरूसँग साट्ने गर्छन् । तर, अत्यधिक आलोचनाका केही दुर्लभ उदाहरणहरू पनि छन्, जसले नकारात्मक भावना पैदा गरेकै छन्, यसबाट कम्पनीको छवि बिग्रिने गरेको छ ।

डिस्प्ले गरिएका र खरिद गर्दा घरमै पुग्ने सामानको गुणस्तरबीच अन्तर भयो भनेर धेरैले गुनासो गर्छन् । किन ?
हो, ग्राहकको प्रमुख गुनासो नै यही हो । यसको प्रमुख कारण अनलाइन खरिददारी गर्ने समय भौतिक रूपमा अन्तर्क्रिया नहुनु हो । यसले ग्राहक र बिक्रेताबीच गलत सञ्चारको सम्भावना बढ्न जान्छ । यसलाई न्यून गर्न बिक्रेताद्वारा उचित तस्बिर र विवरण सुनिश्चित गर्न सक्नुपर्छ । सामानको आकार र पूर्ण जानकारी विवरणमा उल्लेख गरिएको हुनुपर्छ । यसो गरिए ग्राहकले सामानबारे अन्दाज गर्न सक्छन् । साथै ग्राहकले पनि बिक्रेताद्वारा उल्लेखित विवरण हेरी आफूलाई चाहिएको सामान सही छ/छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । भ्रम हटाउन ग्राहकले बिक्रेतासँग फोन गरेर पनि जानकारी लिन सक्नुपर्छ ।

अनलाइन किनमेल गर्दा सामानको गुणस्तरप्रति ढुक्क हुने आधार के–के हुन् ?
कुनै पनि उत्पादनबारे अनलाइन समीक्षा हेर्नु पनि सामानको गुणस्तरप्रति ढुक्क हुने राम्रो उपाय हुनसक्छ । यसका लागि बिक्रेताको रेटिङ जाँच गर्न पनि सकिन्छ । यसबाट ग्राहकलाई सामानका बारेमा मात्र थाहा हुँदैन, बिक्रेता र ग्राहकबीचको वास्तविकताबारे पनि सामान्य जानकारी हुनेछ । हामीले ग्राहकहरूलाई ‘हाम्रो सेवा कस्तो छ’ भनेर समीक्षा गर्न र रेट दिन प्रोत्साहित गर्दै आएका छौं ।

पछिल्लो समय जथाभावी अनलाइन व्यापार बढेको छ, यसले उपभोक्ता भड्काउने जोखिम कति छ ?
ग्राहक भड्काउने कुरा स्वयं व्यवसायमा निर्भर रहन्छ । जुन कुराले नकारात्मक प्रभाव पार्न सक्छ, त्यसप्रति सचेत हुन जरुरी छ । अर्को कुरा, व्यवसायीले सधैं ग्राहकको रुचि र आवश्यकता बुझ्न सक्नुपर्छ । यो केवल हाम्रो वा अन्य ठूलो अनलाइन प्लेटफर्मको कुरा मात्र होइन, स–साना ‘ई–कमर्स’ व्यवसायले पनि बुझ्नुपर्छ । जे होस्, हामीले ग्राहकलाई उचित सेवा दिनैपर्छ ।

 Image