Successfully Copied

मनमोहक बेगुनिया

गर्मी मौसममा फुल्ने बेगुनिया विभिन्न प्रकारका हुन्छन् । यो फूल १८ सयभन्दा बढी प्रजातिमा पाइन्छ । तीमध्ये ‘वाक्स बेगुनिया’ सर्वाधिक पाइन्छ ।

गर्मी मौसममा फुल्ने बेगुनिया विभिन्न प्रकारका हुन्छन् । यो फूल १८ सयभन्दा बढी प्रजातिमा पाइन्छ । तीमध्ये ‘वाक्स बेगुनिया’ सर्वाधिक पाइन्छ । ‘हेंगिङ’ गरेर रोप्न मिल्ने बेगुनिया पनि पाइन्छ । सबैभन्दा पहिले यो फूल ‘कोस्टारिका’ मा पाइएको हो । त्यसपछि यो फूलको व्यावसायिक खेती सुरु गरिएको मानिन्छ । पहिलो पटक यसको खेती सन् १७७७ मा इंग्ल्यान्डबाट सुरु भएको हो ।

बेगुनिया कुन मौसममा हुर्कन्छ भन्ने कुरा त्यसको प्रजातिमा भर पर्छ । प्रायःजसो यो फूल उष्णकटिबन्धीय क्षेत्रहरूमा पाइन्छ । तर यसको उन्नत जातको बिरुवा भने न्यानो तापक्रममा सप्रन्छ । ‘पहाडी क्षेत्र यो फूलका लागि असाध्यै राम्रो हुन्छ’ इलाम नर्सरीका संस्थापक प्रवीण श्रेष्ठले भने । १२ सयदेखि १५सय फिटसम्मको उचाइ यो फूलका लागि राम्रो मानिन्छ । उनले भने, ‘अधिकांश बिरुवालाई प्रकाशको आवश्यकता पर्छ । कुनै बिरुवाले पूर्णरूपमा सूर्यको किरणलाई सहन सक्छ ।’ तर यो फूल चिसो मौसम हुने ठाउँमै हुर्कने हो । यो बिरुवालाई भने चिसो तापक्रम भएको ठाउँमा घरभित्र पनि फुलाउन सकिन्छ । दिनमा २१ देखि २३ डिग्री तापक्रम र रातमा १८ डिग्री यो फूलका लागि राम्रो हुन्छ । १२ डिग्रीभन्दा कम तापक्रम भएको ठाउँ यो बिरुवाका लागि उपयुक्त हुँदैन । ‘नेपालको पूर्वी क्षेत्रमा बेगुनियाको क्रेज एकदमै धेरै छ’ प्रवीणले भने । फुलेको बेगुनिया ३ देखि ४ सय रुपैंयाँमा बिक्री हुन्छ ।

हेरचाह

हेरचाह गर्नका लागि धेरै सजिलो फूल हो बेगुनिया । यो ८ इन्चदेखि १ फिटसम्म अग्लो हुन्छ । यसको पात रसिलो र पानी भरिएको जस्तो पोटिलो देखिन्छ, जसमा पानीको भण्डारण हुन्छ । बेगुनियाको गाना चैत–वैशाखमा रोप्नुपर्छ । मध्यवर्षाको समयमा यो बिरुवाले फूल दिन थाल्छ । असार–साउनदेखि फुल्न सुरु गरेको बेगुनिया मंसिरसम्म फुल्छ । यो फूलको बल्ब रहने भए पनि यसलाई हाँगाबाट काटेर पनि फुलाउन सकिन्छ । तर, हाँगा अर्को सालका लागि मात्र हुन्छ । त्यस्तै, यसको बीजबाट पनि उमार्न सकिन्छ ।

रोग लाग्नबाट कसरी बचाउने ?

बेगुनियालाई ‘फंगस’ लाग्न सक्छ । त्यसका लागि १५–१५ दिनमा औषधि स्प्रे गर्नुपर्छ । ‘बेबिस्टिन’ नामको धूलो बजारमा किन्न पाइन्छ । ५ ग्राम धूलो २ लिटर पानीमा मिसाएर स्प्रे गरे फंगस लाग्नबाट बचाउन सकिन्छ । बेगुनियामा बल्ब कुहिने रोग पनि लाग्न सक्छ । यी सबै समस्यामा उक्त औषधिले काम गर्छ ।

बेगुनियाका लागि

- पूरै भिजेको माटोभन्दा हल्का सुख्खा भएको माटोमा बेगुनिया राम्रो फुल्छ ।

- सुकेको पातको मल र पाकेको गोबर यो फूलका लागि एकदमै उपयोगी मानिन्छ ।

- यसको बल्ब रोप्ने बेला भने पानी हालिरहनुपर्छ तर बोट आइसकेपछि भने माटो हल्का सुख्खा भएपछि मात्र हाल्नुपर्छ । धेरै पानी हाल्नु बेगुनियाका लागि समस्याको कारण बन्न सक्छ ।

- धेरै घाम लागेको बेला पानी दैनिक हाल्न सकिन्छ । अरु बेला ३–४ दिनमा हाल्नुपर्छ ।

- बेगुनिया बिहानको घामले भेट्ने ठाउँमा राख्नुपर्छ ।

- यसको ओइलाएको पात र फूल टिपिदिनुपर्छ । ताकि नयाँ कोपिला राम्रोसँग फक्रन सकोस् ।

- बेगुनिया फुलिसकेपछि सबै बोट मर्छ तर त्यसको बल्ब माटोभित्रै रहन्छ । त्यसलाई निकालेर हावा ओहोरदोहोर हुने ठाउँ वा ग्रिन हाउसमा राख्नुपर्छ ।

 Image