Successfully Copied

रेश्मा रहर

पछिल्लो समय अभिनयमा रमाइरहेकी रेश्मा नर्सिङ पेसालाई सँगसँगै लैजाने बताउँछिन् । नर्स, मोडल, टिकटकर, नायिका तथा ‘नेपाल आइडल’ को कार्यक्रम सञ्चालिका समेत रहेकी उनले धेरै विकल्प नभए नेपालमा टिकिरहन गाह्रो हुने अनुभव सुनाइन् ।

मोरङ विराटनगरकी रेश्मा घिमिरे पेसाले नर्स हुन् । अहिले उनलाई धेरैले टिकटकर, नायिका तथा मोडलका रूपमा चिन्छन् । उनी भने आफूलाई कलाकार भन्न रुचाउँछिन् । यसो भन्नुमा उनको आफ्नै तर्क छ । ‘सुरुमा टिकटक मेरो रहर मात्रै थियो । आज व्यावसायिक नायिका र मोडलसम्मको यात्रामा यसले डोर्‍याउँदै ल्यायो,’ उनले भनिन्, ‘नर्सिङ पेसामा म दत्तचित्त भएर लागेकी हुँ । तर, मेरो टिकटकको रहर टर्निङ प्वाइन्ट बन्यो ।’

व्यापारी बुवा पुष्पराज र आमा लक्ष्मी घिमिरेले रेश्मालाई कर्मठ र संघर्षशील बन्ने मन्त्र दिँदै हुर्काए । अभिभावकको यो मन्त्रलाई उनले पनि पछ्याइन् । काठमाडौंस्थित मेरील्यान्ड स्कुलमा प्रारम्भिक शिक्षा सुरु गरे पनि बाँकी पढाइ विराटनगरबाटै पूरा गरिन् । नर्सिङ पेसा हुँदै सात वर्षअघि ‘यो साइनो मायाको×’ फिचर फिल्मबाट डेब्यु गरेकी रेश्मा हिजोआज म्यूजिक भिडियामा व्यस्त छिन् । यसमा आफ्नो कला प्रदर्शन गरेको पनि चार वर्ष पुगेछ । पछिल्लो समय उनको व्यस्तता म्युजिक भिडियोमा छ । उनले एक दर्जन बढी भिडियोमा काम गरिसकेकी छन् । ‘यसको श्रेय म टिकटकलाई दिन चाहन्छु’ उनले भनिन्, ‘टिकटकमा मेरो कला देखेपछि ओहो यसले राम्रो अभिनय गर्न सक्ने रहिछे भन्ने छाप बस्यो । उहिले जस्तो अडिसनमा धाइरहन परेन । त्यसैले सदुपयोग गर्न सकेको खण्डमा टिकटक एउटा राम्रो प्लेटफर्म बन्न सक्छ ।’

सागर राजको ‘झिमझिम गर्ने परेली’ रेश्माको पहिलो म्युजिक भिडियो भए पनि उनलाई दर्शक/श्रोताले मन पराउन थालेको चाहिँ ‘इन्स्टाको फोटो’ नामक गीतमा अभिनय गरेपछि हो । उनले भनिन्, ‘मेरो हकमा टिकटकले एडिक्सन होइन मेरो भविष्य बनायो । मैले यसको सकारात्मक सदुपयोग र प्रयोग गरें दुरुपयोग गरिन । म फेमस हुन नभएर आनन्द र आत्मसन्तुष्टिका लागि रहरले टिकटक बनाउन थालेकी हुँ ।’

पछिल्लो समय अभिनयमा रमाइरहेकी रेश्मा नर्सिङ पेसालाई सँगसँगै लैजाने बताउँछिन् । नर्स, मोडल, टिकटकर, नायिका तथा ‘नेपाल आइडल’ को कार्यक्रम सञ्चालिका समेत रहेकी उनले धेरै विकल्प नभए नेपालमा टिकिरहन गाह्रो हुने अनुभव सुनाइन् ।

रेश्मासँग अन्तरंग

दिनहरू कसरी बित्दैछन् ?

‘नेपाल आइडल’ को कार्यक्रम प्रस्तोता तथा म्युजिक भिडियोको सुटिङमा व्यस्त छु ।

आफूलाई के भनेर चिनिन मन लाग्छ ?

कलाकार र नर्सकै रूपमा चिनिन मन लाग्छ ।

रेश्माबारे अरूलाई थाहा नभएको सत्य के हो ?

म अत्यन्तै संवेदनशील छु । स–साना कुरामा पनि छिट्टै चित्त दुख्छ । म धेरै सोच्ने गर्छु ।

जीवन के रहेछ ?

संघर्ष नै जीवन हो । आफैं लड्न, अघि बढ्न र बाँच्न सिक्नुपर्छ ।

जीवनमा सबैभन्दा कठिन र सहज लागेको क्षण कुन हो ?

म साढे दुई वर्षकी हुँदा बाबा विदेश जानुभएको थियो । उहाँ फर्किंदा म १२ वर्षकी भइसकेकी थिएँ । त्यतिबेला उहाँलाई भेट्दा खुसीले निक्कै गाह्रो भएको थियो । ‘इन्स्टाको फोटो’ गीतको म्युजिक भिडियोमा काम गर्दा अत्यन्तै सहज महसुस गरेकी थिएँ । जसले आजसम्म मलाई सजिलो बनाएको छ ।

अब के गर्ने रहर छ ?

राम्रा फिचर फिल्ममा काम गर्ने रहर छ ।

टिकटकर, नायिका, मोडल, नर्स वा कार्यक्रम सञ्चालिकामध्ये कुन पेसा मन पर्छ ?

कलाकार ।

नेपाली मनोरञ्जन क्षेत्रको सुदृढीकरणका लागि के आवश्यक देख्नुहुन्छ ?

यो क्षेत्रमा नयाँ कलाकारलाई सिक्ने र सहज ढंगले स्वीकार गर्ने वातावरण बनाइयोस् । यसले पनि यो क्षेत्रको गरिमा अझ बढ्दै जान्छ ।

पर्वहरू नजिकिएका छन् । कोरोना महामारी उस्तै छ, यस्तो अवस्थामा चाडवाड कसरी मनाउने योजना छ ?

सावधानी अपनाएर, अत्यन्त सजग भएर मनाउनुपर्छ । आफूले पनि भीडभाड नगर्ने र भीडभाडमा नजाने तथा परिवारसँगै बसेर खुसी साट्ने अवसर प्राप्त भएको छ । यसको सही सदुपयोग गर्नुपर्छ । स्वास्थ्यभन्दा उत्कृष्ट हाम्रा लागि अर्को केही छैन । सकेसम्म सबैले खोप लगाऔं र खुसीका साथ चाडपर्व मनाऔं ।

तस्बिरहरू : महेश प्रधान

लोकेसन : सन डाउन केटिएम बाइ कर्मा, वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर

पहिरन : ओसिमा बानु, हाउस अफ अपेरियल, नक्साल, भगवती बहाल

मेकअप : छिम्मी गुरुङ, हाउस अफ फेसन, ब्यूटि मेकअप स्टुडियो

गहना : एनक्स नेपाल

 Image