Successfully Copied

बोल्ड शिवाङ्गिनी

नेपालगन्जकी राणाले पछिल्लो समय आफ्नो पुर्ख्यौली होटल वाटिकाको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

मीठो मुस्कान र हिस्सी परेको अनुहार भएकी शिवाङ्गिनी राणाले ‘मधुमास’ चलचित्रमा अभिनय गरेको पाँच वर्ष भइसक्यो । धेरै दर्शकले उनलाई नायिकाका रूपमा चिन्नै छाडिसकेका छन् । तर त्यस अवधिमा उनले आफ्नो अध्ययन भने पूरा गरेकी छन् । होटल म्यानेजमेन्ट पढ्न बिदेसिएपछि उनी चलचित्र क्षेत्रबाट टाढा रहिन् । विदेशमै बस्ने अवसर आए पनि उनी पलायन हुन चाहिनन् । पुर्ख्यौली व्यवसाय सम्हाल्न उनी स्वदेश फर्किन् ।

नेपालगन्जकी राणाले पछिल्लो समय आफ्नो पुर्ख्यौली होटल वाटिकाको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

नेपालगन्ज उप–महानगरपालिकाका मेयर धवलशम्शेर राणाकी एक मात्रै सन्तान राणालाई पुर्खाको परिश्रम सम्हाल्नुपर्ने जिम्मा पनि छ । विदेशमा अध्ययनका क्रममा उनले सिकेको सीप र ज्ञानलाई स्वदेशमा फैलाउने सपना बोकेर जन्मभूमि फर्केको उनी बताउँछिन् ।

एक व्यक्तिका अनेकौं आयाम हुन्छन् । राणाको जीवनमा त्यो प्रत्यक्ष देखिन्छ । अभिनेतृ, उद्यमीसँगै उनको परिचय चित्रकारका रूपमा पनि थपिएको छ । ‘म आमाबुवाको एक्लो सन्तान हुँ, पुर्ख्यौली व्यवसाय सम्हाल्न विदेश छोडेर आएँ,’ उनी भन्छिन्, ‘अहिले वाटिकालाई कलामय बनाउन खोजिरहेकी छु । ग्यालरी पनि संचालनमा ल्याएकी छु ।’

उनले कोर्ने चित्रहरूमा उनकै मनोभाव रंगमार्फत छल्किने गरेको पाइन्छ । सामूहिक रूपमा कला प्रदर्शनी गरेको अनुभव बटुलिसकेकी उनले पहिलो पटक काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा साउन दोस्रो साता एकल चित्रकला प्रदर्शनी गरी आनो क्षमता प्रमाणित गरेकी छन् ।

लकडाउनभरि युवा बेरोजगार भएको सुनिरहँदा ३० वर्षीया राणालाई भने समय पुग्दै पुगेन । उनको व्यवसाय ठप्प थियो । होटल बन्द थियो । त्यही समयमा उनले क्यानभास रंगाउनमा समय पाइन् । उनी भन्छिन्, ‘लकडाउनको सदुपयोग मैले क्यानभास रंगाएर गरें ।’

‘सिंगल एन्ड बोल्ड’ शीर्षकमा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको एक सातामै उनका ८० प्रतिशत चित्र बिक्री भए । महामारीले थलिएको बजारमा कला कसले किन्छ ? भनेर उनको मनमा चिसो पसेको थियो । तर, अनुमान गरेभन्दा ठीक उल्टो नतिजा आउँदा उनी दङ्ग छिन् । भन्छिन्, ‘महामारीको समयमा जोखिम मोलेरै प्रदर्शनीको योजना गरेकीे थिएँ, तर सोचेभन्दा पनि राम्रो नतिजा पाएँ ।’

उनले चित्र कोर्न कुनै प्रशिक्षण लिएकी होइनन् । उनले चित्र कोर्न आफै अभ्यास गरेकी हुन् । उनको चित्रसँग सानैदेखि रुचि थियो । आमा (प्रतिमा राणा) चित्र बनाउँथिन् । आमाको चित्र हेर्दाहेर्दै रंग र कुचीले आफ्नो मन तानेको उनी बताउँछिन् । अमूर्त शैलीका आकृति क्यानभासमा उतार्ने शिवाङ्गिनीका चित्रमा कालो रंग बढी देखिन्छ ।

उनी प्रकृति र वातावरणसँग रमाउँछिन् । उनका चित्रमा प्रकृति मुस्कुराइरहेको आभास हुन्छ । एक्रोलिक माध्यम प्रयोग गरिएका चित्रमा कालो रंग बढी प्रतिबिम्बित भएको पाइन्छ ।

समाजमा कालो रंगलाई नकारात्मक रूपमा व्याख्या गरिन्छ । तर, आनो रंगप्रतिको दृष्टिकोण फराकिलो रहेको उनी बताउँछिन् । कालो रंग उनको नजरमा उज्यालो हो । सम्भावना, सकारात्मकता र पूर्णता कालो रंगमै हुने उनको दावी छ । जस्तै अँध्यारो भएर नै चन्द्रमा उज्यालो देखिन्छ । कालो रंगहरूको मूल आधार हो । उनले रंगलाई प्रतिबिम्ब बनाएर आफूभित्र लुकेको सकारात्मक भाव कलामार्फत अभिव्यक्त गरेकी हुन् । कालो रंगको पृष्ठभूमि बनाएर, नीलो, गोल्डन, हरियो, सिल्भरजस्ता चम्किला रंगको संयोजन उनका चित्रमा देख्न सकिन्छ । यी रंगले अँध्यारोभित्र खुल्ने उज्याला सम्भावनायुक्त भाव प्रकट गरेको आभास हुन्छ । कतिपय चित्रमा फूल र चराजस्ता आकृतिको समेत झल्को आउँछ । जब कुनै कलाप्रेमीले उनका सिर्जना नियाल्छन्, तब आकृतिविहीन मौन संवाद महसुस गर्न सक्ने उनको भनाइ छ । उनको विचारमा कला रंगको स्वतन्त्रता हो, जसले जसरी पनि महसुस गर्न पाउँछ । शिवाङ्गिनीका चित्र शीर्षकअनुसार ‘बोल्ड र ब्युटिनेस’ दुई भावलाई उचित ढंगले उतार्न सफल भएका छन् ।

 Image