बिनायो बाजा

गणेश राई

भाद्र १४, २०७८ पूर्वी पहाडी भेगका किराँती समुदायमा प्रचलित बाजामध्ये एक हो–बिनायो । यसलाई नारी सौन्दर्यको प्रतीकका रूपमा पनि लिइन्छ । यो बाजालाई मालिङ्गो बाँसको कप्टेरोबाट बनाइने हस्तकलाको एउटा नमुना मानिन्छ । चौडाइ एक इन्च र लम्बाइ छ इन्च भएको यसमा दुईतिर धागोको जुइना लगाइन्छ । दुई हातका औंलाले जुइना झट्कार्दा बिनायो बज्छ । यसको लम्बाइभित्रको सानो जिब्री फड्कारेसँगै दुई ओंठ, जिब्रो, श्वासले ध्वनि आकार दिन्छ । दाँतको आडमा ओठले फोक्सोबाट निस्किने श्वास प्रवाहसँगै ताल दिइरहन्छ । उतिखेर मन र मस्तिष्क त्यही श्वासको जुइनोमा केन्द्रित रहन्छ ।

लोकबाजाविज्ञ रामप्रसाद कँडेलका अनुसार बिनायो पुरुष एवं महिलाले बजाउने बाजा हो । ‘किराँत समाजमा बिनायो केटा मान्छेले खिपेर केटी मान्छेलाई दिने चलन छ,’ गोठालाले सिर्जना गरेको शिल्पकला भएको उल्लेख गर्दै कँडेल भन्छन्, ‘बिनायो मूर्त सांस्कृतिक बाजा हो तर यो खाली बाजामात्र नभएर पुरुषको चिनो भावनात्मक सम्बन्ध गाँसिने अमूर्त बाजा पनि हो ।’ यो नेपालको एक मौलिक बाजा हो । अन्य समुदायमा पनि पाइने तर सबैभन्दा धेरै किराँती समुदायमा प्रयोग भएको कँडेलको ठम्याइ छ । किराँती भाषाहरूमा यसलाई कोङकोङमा, दोङदोङमा, भर्चिङ, कुकुङमा जस्ता नामले पनि चिनिन्छ ।

मुन्धुम अध्येता भोगीराज चाम्लिङका अनुसार संगीतको सुरुवात श्रमको नक्कलबाट हुन्छ । पुर्खाले गरेको गतिविधिबाट जन्मिएको कला हो । बिनायो महिलासँग सम्बन्धित छ । यो धातुको हतियार आविस्कार भएपछि सिर्जित बाजा हो । बिनायो खिप्न फलामको हतियार प्रयोग गरिन्छ । ‘दक्षिण एसियामा ३५०० वर्षदेखि फलामको प्रयोग भइआएको छ,’ अध्येता चाम्लिङ भन्छन्, ‘यस हिसाबले बिनायो बाजा तीन हजार वर्ष पुरानो मान्न सकिन्छ ।’

यो बाजाको जगेर्ना र प्रचार गर्ने उद्देश्यले किराँत राई सांस्कृतिक कलाकार संघले गरेको ‘विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिता’ मा झापा कमल गाउँपालिका–६ का बलबहादुर राई प्रथम, खोटाङ जाल्पाकी पम्फा खालिङ राई द्वितीय, ओखलढुंगा मानेभन्ज्याङ–३ उँबुकी जितुमाया राई तृतीयभई पुरस्कार प्राप्त गरे भने झापा कमल गाउँपालिका–४ की मनकुमारी राईले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>