समयमै गरौं प्रसव तयारी

डा.बालकृष्ण साह

भाद्र ११, २०७८ सावित्री देवीलाई व्यथाले च्यापेपछि सासू र श्रीमान्ले स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याए । शिशु ठूलो अनि धेरै पानी गएकाले राम्रो अस्पतालमा लैजानुपर्ने सल्लाह स्वास्थ्य संस्थाले दिएपछि बेरोजगार उनका श्रीमान् मनोज आत्तिए । आत्तिएर समस्या समाधान नहुने निश्चित थियो । मनोजले हतारमा बुवालाई पैसाको जोहो गरी अस्पताल आउन भनी एम्बुलेन्समा सावित्रीलाई विराटनगरस्थित निजी अस्पताल पुर्‍याए । समयमै अस्पताल पुगे पनि सेवा भने पाउन सकेनन् । शल्यक्रियाका लागि न रिपोर्ट दुरुस्त थियो न त तत्कालै सुरु गर्नुपर्ने औषधि किन्ने पैसा । उनका बुवा रामेश्वरलाई पैसा बन्दोबस्त गरी अस्पताल आउन करिब एक घन्टा लाग्यो । अस्पताल पुर्‍याए पनि एक घन्टा ३० मिनेटजति ढिला गरी शल्यक्रिया भयो । ढिलो निकालिएकाले शिशुलाई सघन उपचार कक्ष (एनआईसीयु) मा राख्नुपर्‍यो । उपचारमा संलग्न चिकित्सक र नर्सले महँगा औषधि र उपचारबाट आमा र शिशुलाई जोगाउन सफल त भए तर मनोजका परिवारले ठूलो धनराशि खर्चिनुपर्‍यो । सुत्केरी अवस्थामा जटिलता आउन सक्छ, घर नजिकको संस्थामा सामान्य डेलिभरी नहुन पनि सक्छ भन्ने कुराको हेक्का राखेको भए, सायद सावित्री बेलैमा शल्यक्रिया हुने अस्पतालमा पुग्थिन् होला । समयमा शल्यक्रिया गरी शिशु जन्माएको भए एनआईसीयु र उपचारमा बढी खर्च गर्नुपर्ने थिएन ।

सुत्केरी गराउन ढिला भएको यो पहिलो घटना भने होइन । गर्भावस्थामा नियमित परीक्षण गर्ने गरेका दम्पतीहरूले पनि सुत्केरीका लागि आवश्यक तयारी गरेको पाइँदैन । सुत्केरी गराउन चाहिने पैसा, अस्पतालको छनोट, रगत समूह र दाताको पहिचानजस्ता विषयमा दम्पतीले सल्लाह गरेको पाइँदैन । नेपालमा सन् २००९ जुलाईदेखि नै ‘आमा सुरक्षा कार्यक्रम’ लागू छ । यो कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा प्रसव गराउनेहरूलाई निःशुल्क प्रसव (नर्मल डेलिभरी, जटिल डेलिभरी तथा शल्यक्रिया गरेर) सेवा र अस्पतालबाट घर फर्किने बेलामा यातायात खर्च भनेर केही रकम पनि दिइन्छ । त्यस्तै, मातृत्व अर्थात् प्रसवलाई व्यवस्थित गर्न नयाँ स्वास्थ्य केन्द्रहरू निर्माण नगरिए पनि भएका स्वास्थ्य संस्थामा भौतिक तथा प्राविधिक विकास गरी सेवासमेत बिस्तार गरिएको छ । सुरक्षित सुत्केरी गराउन नेपाल सरकारले १ हजार ७ सय ५१ बर्थिङ सेन्टर र १ सय ५९ बेसिक इमर्जेन्सी अब्सट्रेटिक एण्ड नियोनेटल केयर (बिइओनसी) र ६९ जिल्ला अस्पताललगायत कुल १०४ अस्पतालमा कम्प्रेहेन्सिब इमर्जेन्सी अब्सट्रेटिक एण्ड नियोनाटल केयर (सिइओनसी) अर्थात् शल्यक्रिया सेवासहितको सेवा दिने क्षमता बिस्तार गरेको छ । निजी अस्पतालको संख्या, सेवा तथा पहुँचमा उल्लेखनीय प्रगति भएको छ । यिनै कारणले सन् २००९ मा २२ दशमलव ५ प्रतिशतमा सीमित स्वास्थ्य संस्थामा हुने प्रसव हाल ५७ प्रतिशत पुगेको छ ।

स्वास्थ्य संस्थाको संख्या बढाएर प्रसव सेवालाई व्यवस्थित बनाउन खोजिए पनि गर्भवती तथा परिवार धेरै सजग भएको पाइँदैन । सुत्केरी गराउन पैसा पर्दैन अनि नजिकको संस्थामा पनि डेलिभरी हुन्छ भनेर गर्भ, गर्भवती र प्रसवलाई गम्भीरताका साथ नलिने गरेको पाइन्छ । गर्भावस्था तथा प्रसवको समस्यालाई एक्कासि भयो भन्न पनि मिल्दैन । सामान्यतया गर्भ रहेको नौ महिना पुगेपछि प्रसव हुन्छ । यो अवधिमा अलिकति मात्र गम्भीर र सजग भए सबै आवश्यक तयारी समयमै गर्न सकिन्छ । सुत्केरी गराउन ‘आमा सुरक्षा कार्यक्रम’ भएको अस्पतालमा पैसा लाग्दैन भनी रकम जोहो गरेर नराख्नु ठूलो गल्ती हुनसक्छ । पहिलो कुरा यो कार्यक्रम लागू भएको अस्पतालको संख्या अत्यन्तै न्यून छ । फेरि यस्ता अस्पतालमा बिमारीको चाप पनि बढी हुन्छ । आफूलाई प्रसव पीडा भइरहँदा नजिककै संस्थामा सेवा पाइन्छ भन्ने ग्यारेन्टी गर्न सक्ने अवस्था पनि छैन । अर्को कुरा, सुत्केरी गराउन सधै सामान्य हुन्छ भन्न पनि सकिँदैन । जटिलताहरू आउन सक्ने सम्भावना धेरै हुन्छ ।

आफू वा शिशुमा त्यस्ता कुनै किसिमका जटिलता आए ती अस्पतालहरूमा उपचार सम्भव नहुन पनि सक्छ वा थप उपचारका लागि अन्य निजी अस्पतालमा जानुपर्ने हुनसक्छ । त्यसैले सुत्केरी अवस्थामा पैसा जोगाएर राख्नु आवश्यक हुन्छ । प्रसव पीडा भएको बेला पैसा मात्र समस्या हुन्छ भन्ने छैन । प्रसवको समयमा तथा प्रसवलगत्तै रक्तस्राव हुने र रक्तस्रावकै कारणले मृत्यु हुनेको संख्या पनि धेरै छ । हुनत रेडक्रसले धेरै वटा अस्पताल नजिकमा ब्लडबैंक स्थापना गरेका छन्, जहाँबाट रगत उपलब्ध हुन्छ । तर, आफूलाई चाहिएको समूहको रगत ब्लडबैंकमा हुन्छ भन्ने छैन । अत्यधिक रक्तस्राव भएको अवस्थामा तुरुन्त रगत दिन सकिएन भने ज्यान जोगाउन कठिन हुन्छ । त्यसैले गर्भवती महिलाको रगत समूह पहिचान गर्ने गरिन्छ । तर आफ्नो मात्र रगत समूह जानेर पुग्दैन । आफूलाई चाहिएको अवस्थामा रगत दिन सक्ने नजिकका व्यक्ति पनि चिनिरहनुपर्छ । अत्यधिक रक्तस्राव भएको अवस्थामा, ब्लडबैंकमा आफूलाई चाहिएको समूहको रगत मौज्दात नरहेको अवस्थामा ती व्यक्ति आफ्नो रगत दिएर सहयोग गर्ने हुन्छन् । त्यस्तै गर्भावस्थामै प्रसवका लागि आवश्यक पर्न सक्ने अस्पतालका सुविधा अनि सेवा शुल्कबारेमा जानकारी लिइरहनुपर्छ ।

(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. साह मोरङ सहकारी अस्पतालमा कार्यरत छन् ।)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>