Successfully Copied

“एडप्ट एन एनिमल” ट्रेन्ड

‘अहिले घरमा व्यक्ति जनावर पाल्न वञ्चित छन्, चिडियाखानामा इच्छानुसार एडप्ट गर्न सक्छन् ।’

गल्फ खेलाडी अदिति घिमिरेलाई खेलप्रति जति प्रेम छ, जनावरप्रति उनी त्यति नै प्रेमिल छन् । उनका घरमा तीन वटा कुकुर छन् । यतिबेला उनले रेडपान्डाको पनि हेरचाह गरिरहेकी छन् । उनले पान्डालाई घरमा राखेर भने हेरचाह गरेकी होइनन् । जावलाखेलस्थित सदर चिडियाखानाको ‘एडप्ट एन एनिमल’ अभियानअन्तर्गत अदितिले यो जिम्मेवारी पाएकी हुन् । उनले पान्डा नै ‘एडप्ट’ किन गरिन् त ? जवाफमा भन्छिन्, ‘पान्डा लोपोन्मुख भएकाले मैले यसलाई एडप्ट गरेकी हुँ ।’ वार्षिक केही रकम खर्च गरी एउटा जनावरको अभिभावकत्व लिन सकेकोमा आफूलाई सन्तुष्टि मिलेको बताउँछिन् ।

१० वर्षीय भिभान सिंह बस्न्यातले पनि चिडियाखानाको दुई लभबर्ड ‘एडप्ट’ गरेका छन् । दुई वर्षअघि उनले ‘बर्ड्स अफ प्याराडाइस’ भ्रमणपछि उनलाई चराप्रति आकर्षण बढेको हो । वार्षिक १५ हजार रुपैंयाँ तिरेर उनले लभबर्ड ‘एडप्ट’ गरेका हुन् । चरा पाल्न उनले आफ्नो बचत खर्च जुटाउँछन् । उनले ‘एडप्ट’ गरेपछि आफूलाई चराप्रति जिम्मेवारी महसुस भएको बताए ।

अदिति र भिभानजस्तै चिडियाखानामा जनावर ‘एडप्ट’ गर्नेको संख्या बढ्दै गइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाको २५ औं वर्ष (रजत जयन्ती) अवसरमा वन्यजन्तु ग्रहण (एडप्ट एन एनिमल) गर्न पाइने व्यवस्था गरेपछि धेरैको यो रोजाइ बनेको हो । उक्त व्यवस्थाले स्वदेशी मात्रै नभई विदेशीले पनि ‘एडप्ट’ गर्न पाउँछन् । गत मार्चमा अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सिंगे गैडा र पूर्ववनमन्त्री प्रेम आलेले हात्तीको अभिभावकत्वको घोषणा गरेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र चिडियाखानाको पहलमा ‘एडप्ट एन एनिमल’ को अभियान सुरुवात गरेसँगै जनावर र पशुपन्छीको अभिभावकत्व लिनेहरूको संख्या बढेको आयोजना व्यवस्थापक डा.चिरञ्जीवीप्रसाद पोखरेलले बताए । कोभिड महामारी सुरु भएसँगै वन्यजन्तुमा पर्ने असरका कारण यो अभियान सञ्चालन गरेको उनको भनाइ छ । अभियानलाई व्यक्तिगत र कर्पोरेट गरी दुई वर्गमा छुट्याएको चिडियाखानाकी वरिष्ठ क्युरेटर रचना शाहले बताइन् । उनका अनुसार व्यक्तिगत रूपमा ‘एडप्ट’ गर्नेहरूका लागि वार्षिक पाँच हजारदेखि दुई लाखसम्म खर्च गर्न सक्ने व्यवस्था छ । कर्पोरेटहरूका लागि ७५ हजारदेखि १५ लाखसम्म खर्च लाग्छ । हालका लागि अनलाइनमार्फत नै आफूलाई मनपर्ने पशुपन्छी/जनावरहरूको औषधि उपचारदेखि खानपानसम्मको दायित्व र हेरचाह गर्न सक्ने व्यवस्था चिडियाखानाले मिलाएको छ । ‘एडप्ट’ गर्न चाहनेले सम्पूर्ण जानकारी बेवसाइटमार्फत लिन सक्छन् । इच्छुक व्यक्ति र कम्पनीहरूले जनावरको सम्पूर्ण जानकारीसमेत लिन सकिने रचनाले बताइन् ।

कोषका सदस्य सचिव शरद अधिकारीका अनुसार यो अभियानको उद्देश्य आर्थिक संकलन गर्नुका साथै जनावर र मानिसबीचमा भावनात्मक सम्बन्ध कायम गराउनु हो । उनी भन्छन्, ‘फन्डमार्फत नै वन्यजन्तुको उचित व्यवस्थापन गर्नु कोषको उद्देश्य हो ।’ कोरोना महामारीका कारण वन्यजन्तु संकटमा परेकाले यो अभियानले तिनको संरक्षणमा सहयोग पुगेको उनले बताए । चाहेर पनि घरमै जनावर पाल्न नसक्नेहरूका लागि यो अभियान सहयोगी भएको उनले बताए । उनले भने, ‘अहिले घरमा व्यक्ति जनावर पाल्न वञ्चित छन्, चिडियाखानामा इच्छानुसार एडप्ट गर्न सक्छन् ।’ कोष र चिडियाखानाले यो अभियानलाई थप बिस्तार गर्दै लग्ने योजना बनाएको छ ।

‘एडप्ट’ गर्न चाहनेले सम्पूर्ण जानकारी बेवसाइटमार्फत लिन सक्छन् ।

– रचना शाह

कोभिड महामारी सुरु भएसँगै वन्यजन्तुमा पर्ने असरका कारण यो अभियान सञ्चालन गरिएको हो ।

– डा. चिरञ्जीवीप्रसाद पोखरेल

यो अभियानको उद्देश्य आर्थिक संकलन गर्नुका साथै जनावर र मानिसबीचमा भावनात्मक सम्बन्ध कायम गराउनु हो ।

– शरद अधिकारी

 Image