Successfully Copied

किन हुन्छ बलात्कार ?

जबर्जस्ती करणी विवाहित र अविवाहितमा फरक रूपमा हेरिन्छ ।

बलात्कार घटनाका पछाडिका कारण फरक–फरक हुन सक्छन् । कुनै पनि बलात्कारीले फरक समयमा विभिन्न कारणले बलात्कार गर्न सक्छन् । तसर्थ, कुनै एकै सिद्धान्तले सबै बलात्कार घटनाको व्याख्या गर्न सकिन्न । यद्यपि, सांस्कृतिक कारण र बहुआयामिक तत्वहरूले बलात्कार घटना घटाउन बल पुर्‍याउँछन् ।

यो भनाइ अमेरिकी क्लिनिकल मनोविद् मुलेनहार्ड डानोफवर्ग र अनुसन्धानकर्ता इरेन जी पोचको हो । यी दुवैले सांस्कृतिक र बहुआयामिक तत्वलाई बलात्कारको प्रमुख कारण भनेका छन् । तर, अमेरिकी लेखक, दार्शनिक, अधिकारकर्मी तथा राजनीतिज्ञ बर्ट विल्सनको भनाइ अलिक फरक छ । उनले बलात्कारको मुख्य कारक पुरुषत्व प्रमाणित गर्न देखाइने ‘बहादुरीपन’ लाई मान्छन् । उनी भन्छन्, ‘महिलालाई यौनकर्मको चाहना नभए पनि शारीरिक निकटता वा चुम्बनमा ऊ रमाइलो महसुस गरिरहेको हुनसक्छ । तर, महिलाको त्यो निकटता र खुसीलाई पुरुषले यौनकर्म प्रस्ताव ठानेर जबर्जस्ती गर्छन् ।’ यसरी बलात्कारीको मनोविज्ञान बडो विचित्रको हुँदो रहेछ ।

मानव अधिकारकर्मी देचेन ह्योल्मो लामाका अनुसार बालमस्तिष्कमा नकारात्मक र पितृसत्तात्मक सोच विकास गराइएकै कारण बलात्कारका घटना हुने गरेका छन् । ‘बच्चाले हामी कसरी आएको भनेर सोध्दा–तिमी आकाशबाट झरेको भनेर उत्तर दिन्छौं, कण्डम भन्न हिच्किचाउँछौं, त्यसो भइसकेपछि ‘ह्युमन साइकी’ अर्थात् जे नगर भन्यो त्यही गर्छ मान्छेले... अनि यस्ता घटना हुन पुग्छन्’ उनी भन्छन्, ‘हिच्किचाहटले गर्दा मान्छेहरू भित्रभित्रै दबिएर बस्छन् अनि एकदिन उग्र हुन्छन् र बलात्कारजस्ता जघन्य अपराध र घटना हुन पुग्छन् ।’ कुनै पनि हिंसाका घटनालाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ । सम्झना विकको घटनाको उदाहरण दिँदै भन्छन्, ‘त्यो घटना यत्तिकै भएको होइन । सम्झनालाई धेरै पटक हिंसा र पटक–पटक दुर्व्यवहार गरिएको रहेछ ।’ कानुनको बलियो कार्यान्वयनबाट बलात्कारका घटना रोक्न सकिने उनको तर्क छ ।

महिला अधिकारकर्मी मेनुका थापालाई बलात्कार पीडितभन्दा पनि पीडक कसरी जन्मिन्छ भन्नेमा बढी चासो छ । ‘पुरुषलाई सधै प्राथमिकतामा राखी प्रभुत्वशाली व्यक्तिका रूपमा हुर्काई/बढाई गर्ने तर महिलालाई मूल्यहीन कमजोर वर्गका रूपमा हुर्काउने/बढाउने प्रवृत्ति ‘बलात्कारी संस्कृति’ हो’ उनले भनिन्, ‘बालकलाई बलात्कारी पुरुषका रूपमा रूपान्तरण गर्ने सामाजिकीकरण प्रक्रियाको अन्त्य नभएसम्म हाम्रो समाजबाट बलात्कार घटनाको अन्त्य हुनेवाला छैन ।’

मनोविद् कृपा सिग्देलका अनुसार दमित इच्छा, कुण्ठित चाहना र सम्बन्धमा दबेर रहेका कुण्ठाले उग्ररूप लिँदा यस्ता घटना हुन्छन् । ‘बलात्कारी र यौन अपराधी सामान्यतया असामाजिक हुन्छन् । उनीहरू अरूलाई लैंगिक हिंसा गरेर उच्च आत्मसम्मान महसुस गर्ने मानसिकताका हुन्छन्’ उनी भन्छिन्, ‘विशेषगरी पूर्ववर्ती बच्चाहरूका लागि यौन आकर्षण (पेडोफिलिक डिसअर्डर) र अर्को व्यक्तिको शारीरिक दुःखमा यौन उत्तेजना (स्याडिजम) हुनु यौन अपराध र बलात्कारसँग सम्बन्धित छन् ।’

स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झा गुप्ताले जबर्जस्ती करणी वा बलात्कारका घटना हुनुका प्रमुख कारणहरूमा व्यक्तिगत रिसिबी, बिग्रँदो प्रेमसम्बन्ध र कुण्ठित यौनेच्छा रहेको बताइन् । उनका अनुसार जबर्जस्ती करणी विवाहित र अविवाहितमा फरक रूपमा हेरिन्छ । ‘महिलाको यौनाङ्ग, शारीरिक स्थिति–अवस्थाका आधारमा मेडिकल्ली जबर्जस्ती करणी हो/होइन छुट्टाइन्छ । यो अवस्था विवाहित र अविवाहितमा फरक रूपमा हेरिन्छ’ उनले भनिन् । महिलाको यौनाङ्ग वा शरीरमा नङले चिथोरेको/कोपरेको वा नीलडाम/घाउ पाइए चिकित्साशास्त्रमा जबर्जस्ती करणी मानिने उनको भनाइ छ । यसबाहेक अन्य जटिल अवस्थामा ‘फरेन्सिक ल्याब’ परीक्षणपछि मात्रै यकिन तथ्य निकाल्न सकिन्छ । बलात्कारको घटना रोक्न अहिले जे–जस्तो कानुन छ त्यसभन्दा कडा कानुन ल्याइनुका साथै त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ ।’

सुदूरपश्चिमका दुईवटा घटनासँगै चितवनकी सविता भण्डारी र युट्युबमा भाइरल सन्तोषी सुब्बाको बलात्कार प्रयासपछि प्रतिकार गर्न खोज्दा हत्या भयो । तीन वर्षअघि मागी विवाह गरेकी सविता घरमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको भन्दै सासू र नन्दले उनलाई यातना दिने गरेको बहिनी सजनीको आरोप छ । निरन्तर यातना दिएपछि सवितालाई परिवारका सदस्यले जबर्जस्ती मानसिक औषधि खुवाउने गरेको समेत सजनीको भनाइ छ । श्रीमान् योगेन्द्रले भने आफ्नी श्रीमतीमा मानसिक समस्या देखिएको र चिकित्सकको परामर्शमै औषधि सेवन गराएको दाबी गर्छन् । सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको आभाष हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजोर भइसकें । अब म सक्दिन कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकें । धेरै बलियो हुन खोजें तर, भित्रबाटै कमजोर भइसकें । म दिनदिनै यो पीडा सहन सक्दिन ।’ मनोविद् कृपाका अनुसार श्रीमान्, परिवार र समाजले महिलालाई यसैगरी मानसिक रूपमा कमजोर बनाइदिने र आत्महत्यासम्मको अवस्थामा पुर्‍याइदिने हुँदा महिलाले सबैभन्दा पहिला म अर्थात् आफैंलाई माया गर्न र महत्व दिन आवश्यक छ । यद्यपि सविताको घटनामा अहिलेसम्म हत्या वा आत्महत्या भन्ने कुरामाथिको मुद्दा विचाराधीन नै छ ।

उता, सन्तोषी सुब्बालाई मदिरा सेवन गरेका बसका सहचालकले बलात्कार प्रयास गर्दा नमानेपछि हत्या गरेको स्विकारेका छन् । आफूसँग भएको पैसा सकिएपछि गाडी भाडासमेत नभएको अवस्थामा दक्षिणकालीको एउटा पसलमा चराचुरुङ्गीको आवाज निकालेर बसिरहेकी उनलाई गाडीका सहचालकले लामो समयदेखि गहिरिएर नियालिरहेका थिए । केही समयपछि गाडीमा निःशुल्क व्यवस्था मिलाइदिने लोभमा ती सहचालकले सन्तोषीलाई वशमा पारेका थिए । अन्त्यमा उनैको हातबाट सन्तोषीको प्राण गयो ।

‘विभेद नै बलात्कारको जरो’

मेनुका थापा, संस्थापक अध्यक्ष, रक्षा नेपाल

बलात्कार किन र कसरी हुन्छ भन्ने कुराको ‘चुरो’ पत्ता लगाउन यसको ‘जरो’ तिर खोतल्नुपर्ने हुन्छ । एउटा कलिलो मुनाका रूपमा यो धरतीमा आएको एक बालक कालान्तरमा कसरी बलात्कारी बन्छ ? उसलाई बलात्कारी बनाउने कुन तत्व हो ? भन्ने विषयमा सोच्नु जरुरी छ । जबसम्म जन्माउने कोख (आमा) र काख (बुवा) ले नै आफूले जन्माएको/हुर्काएको सन्तानप्रति विभेद गरिरहन्छन्, तबसम्म यो समाजमा बलात्कारी भइरहन्छन् । जन्माउनेले नै विभेद गरिरहेको छ भन्ने कुराको प्रमाण हरेक घरमा हुर्किरहेका छोराछोरीबीचको असमान व्यवहारलाई लिन सकिन्छ । अर्को मुख्य कुरा, एउटा बालकलाई बलात्कारी पुरुषका रूपमा रूपान्तरण गर्ने सामाजिकीकरण प्रक्रियाको अन्त्य नभएसम्म हाम्रो समाजबाट बलात्कारको घटना अन्त्य हुने छैन । पुरुषलाई सधै प्राथमिकतामा राखी प्रभुत्वशाली व्यक्तिका रूपमा हुर्काउने/बढाउने तर महिलालाई मूल्यहीन कमजोर वर्गका रूपमा हुर्काउने/बढाउने प्रवृत्ति ‘बलात्कारी संस्कृति’ हो । यो संस्कृति हामी सबैसँग छ । त्यसैले त अझै पनि हामीलाई छोरा नै जन्माउने लालसा छ । त्यही लालसाले यहाँ हजारौं भ्रूण हत्या भएका रेकर्ड छन् । पहिलो सन्तान छोरो भए अब पुग्यो तर पहिलो सन्तान छोरी भए छोराको चाहना मनमा झाँगिरहेसम्म नेपाली समाजमा ‘बलात्कारी’ को नाङ्गो नाच हेरिरहनुपर्छ । हामीले आफूलाई २१ औं शदाब्दीको मानिस भनेर शिर ठाडो पार्न मुश्किल छ । यो समाजबाट बलात्कार अन्त्य गर्ने हो भने सबै आमाबुवाले ‘बलात्कारी संस्कृति’ तोड्न जरूरी छ ।

जबर्जस्ती करणी मानिने अवस्था

देचेन ह्योल्मो लामा, अधिवक्ता तथा मानव अधिकारकर्मी

कुनै पनि महिलालाई मञ्जुरीबिना करणी गरे वा मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरकालाई करणी गरे जबर्जस्ती करणी ठहरिने नेपालको मुलुकी अपराध संहिता ऐन (करणीसम्बन्धी कसुर) को दफा २१९ मा उल्लेख छ । करकाप, अनुचित प्रभाव, डर–त्रास, अपहरण गरेर, बन्दक बनाएर लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने पनि यसै ऐनमा छ । त्यस्तै, होश–ठेगान नरहेको अवस्थामा लिएको मञ्जुरीलाई पनि मञ्जुरी मानिने छैन भन्ने कुरा पनि यसैमा उल्लेख छ । घटना भएको एक वर्षभित्र प्रहरीमा उजुरी दिनुपर्ने हदम्याद तोकिएको छ ।

‘गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार–मुख वा योनिमा लिङ्ग केही मात्र पसेको भएमा’ जबर्जस्ती करणी गरेको ठहरिने कुरा मुलुकी अपराध संहिता ऐन–२०७४ मा उल्लेख छ । १० वर्षभन्दा मुनिका बालिका, पूर्णरूपमा अशक्त र अपाङ्गता भएका महिला तथा ७० वर्षमाथिका महिलालाई करणी गरेमा पछिल्लो कानुनी व्यवस्थाले अभियुक्तलाई जन्मकैद सजायको व्यवस्था गरेको छ । १० वर्ष वा सोभन्दा माथि १४ वर्षभन्दा कम उमेरकालाई बलात्कार गरेमा अभियुक्तलाई १८ देखि २० वर्षसम्मको कैद सजायको व्यवस्था छ । १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा तलकालाई बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय, १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरकालाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय तथा १८ वर्ष वा सोभन्दा माथिका लागि बलात्कार गर्ने अभियुक्तलाई सातदेखि १० वर्षसम्मको कैद सजायको व्यवस्था नेपालको कानुनमा छ । वैवाहिक बलात्कारको हकमा भने पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ । सामूहिक बलात्कार, ६ महिनाभन्दा माथिको गर्भ भएकी गर्भवती महिला, अपाङ्गता भएका महिला र मानसिक रूपमा विक्षिप्त भएका महिलालाई बलात्कार गरे उल्लिखित सजायमा पाँच वर्ष थप गरी सजायको व्यवस्था गरिएको छ । कैद सजायबाहेक पीडितको उमेर र अवस्था हेरी पीडकले दुईदेखि छ लाखसम्म जरिवाना दिनुपर्ने व्यवस्था कानुनमा उल्लेख छ । जरिवानावापत प्राप्त रकम प्रभावितलाई नै दिलाउनुपर्ने पनि उल्लेख छ । कसुरदारबाट मनासिब क्षतिपूर्ति भराउनुपर्ने कुरा कानुनमा छ ।

 

बलात्कार पछाडिको मनोविज्ञान

कृपा सिग्देल, मनोविद्

किन हुन्छ बलात्कार ? यो आफैंमा एउटा जटिल प्रश्न हो । उत्तर खोज्न गहन अध्ययन आवश्यक पर्छ । अहिलेसम्म गरिएका अध्ययनबाट सही उत्तर आउन सकेको छैन । बलात्कार हुनुका धेरै कारणहरू हुन सक्छन् । सम्बन्धमा दमित र अधूरा यौन चाहना अस्वीकृत गरिएका कारण पनि यस्ता घटना हुन सक्छन् । यौन सन्तुष्टिका लागि उन्मत्त प्रयास यसले निम्त्याउन सक्छ । अर्को कारण, महिला वा विपरीत लिङ्गप्रति नकारात्मक र वैरभावपूर्ण मनोवृत्ति हुनसक्छ । यो मानसिकता समाजमा रहेका पितृसत्तावादी मूल्य र मान्यताहरूका कारण प्राप्त हुन्छ । यस्तो मनोवृत्ति कम आत्मसम्मानको परिणाम हो । त्यस्ता व्यक्तिहरूले कसैलाई लैंगिक हिंसा गरी उच्च आत्मसम्मान महसुस गर्छन् ।

बलात्कार पीडितको मनोविज्ञान

बलात्कार पीडितहरू डिप्रेसन, चिन्ता, तनाव र विचलनबाट ग्रस्त हुन्छन् । उनीहरूमा बलात्कार गर्ने व्यक्तिको लिङ्गका बारेमा घृणा र डर पैदा हुन्छ । सामान्यतया महिला बलात्कार पीडित पुरुषहरूका बारेमा यस्तो सोच राख्छन् । हाम्रो समाजले बलात्कार पीडितलाई कलंकित ठान्छ किनभने हाम्रो पितृसत्तावादी झुकाव र विश्वास छ । केटी वा महिलाको अनुचित व्यवहारका कारण बलात्कार हुन्छ भन्ने भ्रम छ । बलात्कार गर्ने अपराधीलाई दोष दिनुको सट्टा महिलालाई दोषी ठानिन्छ । यस्तो बदनामले बलात्कार पीडितको जीवनलाई अत्यन्त जटिल बनाउँछ । कोही बलात्कार पीडितसँग सम्बन्ध राख्न चाहँदैनन् । यसले उनीहरूलाई सामाजिक र मनोवैज्ञानिक सीमान्तकरणतर्फ लैजान्छ ।

बलात्कार पीडितलाई सहयोग पुर्‍याउनु

सबैभन्दा पहिले समाजले बलात्कार पीडितप्रति आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्छ । बलात्कार पीडितसँग सम्बन्धित कलंक उन्मूलन गर्नुपर्छ । उसले प्राप्त गर्न सक्ने प्रमुख समर्थन समाज र परिवारबाट प्राप्त भए मात्रै उसले दैनिक जीवन सुरु गर्न सक्छ । बलात्कार विरूद्ध कडा वैधानिकताले बलात्कार पीडितलाई एक प्रकारको राहत दिन्छ । अन्य प्रमुख समर्थन मनोवैज्ञानिक हुन सक्छ । बलात्कार पीडित भावनात्मक र मनोवैज्ञानिक अशान्तिको माध्यमबाट हुन्छ । उचित परामर्श र मानसिक स्वास्थ्य सुविधाहरूले पीडितलाई उनीहरूको भावना र मनोविज्ञान प्रशोधन गर्न सहयोग गर्छ ।

‘जबर्जस्ती करणीका उजुरी बढ्दै’

वसन्तबहादुर कुँवर, प्रवक्ता, नेपाल प्रहरी

यो वर्ष जबर्जस्ती करणीका धेरै उजुरी परेका छन् । वर्ष ०७७/७८ मा जबर्जस्ती करणीसम्बन्धी घटनाका १२ सय ७२ वटा मुद्दाको उजुरी हामीकहाँ परेको रेकर्ड छ । प्रदेश १ मा सबैभन्दा बढी ३२५ वटा बलात्कारका घटना भएका छन् । अघिल्लो साउनसम्मको तथ्यांकलाई हेर्दा बलात्कारका घटनामा लुम्बिनी प्रदेश दोस्रो स्थानमा देखिएको छ । त्यहाँ २०७ वटा जबर्जस्ती करणीका मुद्दा प्रहरीको रेकर्डमा छन् । सबैभन्दा कम ७३ वटा उजुरी कर्णाली प्रदेशमा परेका छन् । जबर्जस्ती करणीका कारण पीडित हुनेहरूमा ११ वर्ष उमेरदेखि १६ वर्ष उमेर समूहका किशोरी बढी छन् । पीडक पुरुषको संख्या २६ देखि ३५ वर्ष उमेर समूहको बढी देखिएको छ ।

 

‘व्यक्तिगत रिसइबीले बलात्कार’

डा. कुमकुम झा गुप्ता,स्त्रीरोग विशेषज्ञ, नर्भिक अस्पताल

कतिपयले यस विषयमा बोल्न अप्ठ्यारो मान्छन् तर डाक्टरले जे देख्ने हो त्यो लेख्ने हो, बोल्ने हो । यौन झिल्ली च्यातिँदैमा बलात्कार नै भन्न मिल्दैन । त्यसभित्र अन्य धेरै कुरा हेर्नुपर्ने हुन्छ । बलात्कार हुनलाई पूर्णरूपमा शारीरिक अवस्थालाई निरीक्षण गर्नुपर्ने हुन्छ । यौनाङ्ग वा शरीरमा गहिरो चोटपटक लागेको छ, नङले चिथोरेको छ, टोकेको छ वा यौनझिल्ली विक्षिप्त हुने गरी च्यातिएको छ भने त्यसलाई जबर्जस्ती करणी मान्न सकिन्छ । तर, यो अवस्था विवाहित र अविवाहितमा फरक रूपमा लागू हुन्छ । फरेन्सिक ल्याव परीक्षणपछि मात्रै यो यकिन रूपमा छुट्याउन सकिन्छ । अहिले स–साना बालिकाहरूमा यो केस बढिरहेको छ, तिनीहरू भन्न सक्दैनन् तर पीडाले छटपटाइरहेका हुन्छन् । मुख्यतः सरकारी अस्पतालमा यस्ता केस बढी मात्रामा रिफर गरिन्छ । म प्रसूति गृहमा काम गर्दा यस्ता केसहरू बढी आउँथे । पछिल्लो समय बाहिर आएका घटनाहरूमा व्यक्तिगत रिसइबी मुख्यतः बलात्कारको कारण देखिएको छ । अहिले भन्दा पनि कडा सजायको व्यवस्था हुनुपर्छ । यो समस्या न्यूनीकरणका लागि मुख्यतः कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ ।

 

‘आफ्नै घरमा सुरक्षित रहिनँ’

पूजा कार्की, काभ्रे

आफ्नै सहारा र भरोसाबाटै बेसहारा बनेकी चेली हुँ म । जसले मलाई सुरक्षा दिनुपर्ने हो उसैबाट लुटिएकी छोरी हुँ । म आफ्नै घरभित्र सुरक्षित रहिनँ । अब म के कुरालाई कारण भनूँ ? बलात्कारी जेलमा छ, आज ‘मलाई जेलबाट छुट्न मात्रै त दे, तँलाई टुक्रा–टुक्रा पार्न सकिनँ भने म मर्द होइन’ भनेर अहिले पनि रातदिन फोनबाट धम्क्याउँछ । त्यतिका मानसिक र शारीरिक पीडाबाट गुज्रिएर पनि आज म आफ्नो जीवनलाई सन्तुलित ढंगले डोर्‍याइरहेकी छु । अमेरिकाबाट स्त्रीरोगमा विशेषज्ञता हासिल गर्दैछु । कोरोनाका कारण म यहाँ छुट्टीमा आएकी हुँ, छोटो समयका लागि यतै छु । महिलामा त्यो शक्ति हुन्छ जसका अगाडि संसारका धेरै कुरा हलुका र फिक्का हुन्छन् । हामीले त्यो अदम्य आँट र साहसलाई बाहिर निकाल्न सक्नुपर्छ । बलात्कार जस्तो जघन्य अपराधलाई घटाउन सामाजिक व्यवहार र सोच परिवर्तनका साथै कडा कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ ।

पीडितको आवाज

अत्याचार कहिलेसम्म सहने ?

मुना नेपाली, नुवाकोट

केटी किन साँझमा हिँडेको ? भन्नुभन्दा, केटाले किन बलात्कार गरेको ? भन्ने प्रश्न गर्नुपर्छ अब समाजले । म बलात्कार पीडित हुँ । मेरो कथा दर्दनाक र कहालीलाग्दो छ । तीन वर्षसम्म लगातार दैनिक ४०–५० जनाले मलाई बलात्कार गर्थे । त्यसको यकिन कारण यही नै हो भनेर म भन्न सक्दिन । पीडकलाई कडा कानुनको दायरामा ल्याई पूरा सजायको भागिदार नबनाएसम्म चेलीहरू लुटिने र मारिने क्रम चलिरहन्छ । आज म आफूजस्ता सयौं दिदीबहिनीलाई आत्मरक्षा, नेतृत्व, आत्मविश्वास बढाउने तालिम दिने प्रशिक्षकका रूपमा कार्यरत छु । म त्यो कालो समय बिर्सिएर जीवनलाई सुनौलो मार्गतर्फ डोर्‍याउने प्रयासमा छु । मलाई समाजले अझै पनि खुला मनले खुसीसाथ स्वीकार गर्न हिच्किचाइरहेको छ । अपराधीलाई २० वर्षको जेल सजाय भनिन्छ तर पैसा दिएपछि दुई वर्षमै छुट्छ । सत्ता, शक्ति र सम्पत्तिको आडमा पीडक खुला रूपमा हिँड्छन् । कहिलेसम्म हामी पीडित थप पीडाले थिचिएर बसिरहने ? कहिलेसम्म सहने यो अत्याचार ?

 Image