श्रोता लठ्याउने धन

  • जय नेपाल, सर्ट वेभ ४१ तथा ६० मिटर ब्याण्ड र मिडियम वेभ ७९२, ६८४, ६४८, ५७३ र ११४३ किलोहर्जमा हामी रेडियो नेपालबाट बोलिरहेका छौं, म धन लामाको नमस्कार ।

नारी संवाददाता

श्रावण १०, २०७८ रेडियो नेपालबाट यो आवाज ३५ वर्षसम्म गुञ्जिरह्यो । नारी कार्यक्रममार्फत बोल्न थालेकी उनले युवा, छात्रा, गीतिगजल आदि कार्यक्रममा आवाज दिइन् । विज्ञापन र गीति नाटकमा समेत उनको मधुर आवाज सुनिएकै हो । पहिलो पुस्ताकी तिनै रेडियोकर्मी धन लामालाई ‘पत्रकार महिला संघर्ष’ मा हामीले समेटेका छौं ।

रेडियोप्रतिको आकर्षण

काठमाडौंमा जन्मे–हुर्केकी धनलाई कहिल्यै कुनै कुराको अभाव महसुस भएन । सानैदेखि निडर र हक्की स्वभावकी उनी मन लागेको काम गरिहाल्थिन् । उनको बाल्यकाल रेडियो सुन्दै बित्यो । रेडियो सुन्दा उनलाई लाग्थ्यो यी मानिस कसरी बोल्दा हुन् । रेडियोमा आवाज सुन्दा यसमा बोल्ने रहर पलाउन थाल्यो । रेडियोप्रतिको आकर्षण बढ्दै गयो । उनको विद्यालयस्तरको पढाइ सकिएकै बेला रेडियो नेपालमा विज्ञापन खुल्यो । आवेदन दिइन् र उत्तीर्ण पनि भइन् । त्यसताका रेडियोमा काम गर्न महिलाहरूलाई त्यति सहज थिएन । महिलाहरूका लागि नाच्ने, गाउने र बोल्ने काम राम्रो मानिँदैनथ्यो । परिवारका अन्य सदस्यहरूको विमति हुँदाहुँदै उनलाई श्रीमान्ले साथ दिएपछि रेडियोमा निरन्तरता दिइन् । उनी भन्छिन्, ‘श्रीमान्ले रोक्नुभएन तर सासू–ससुरामा भने रेडियोमा काम राम्रो होइन भन्ने थियो ।’

पहिलोपटक रेडियोमा बोल्दा

‘भ्वाइस टेस्ट’ उत्तीर्ण भएको तीन दिनमै उनलाई कार्यक्रम सञ्चालन गर्न दिइयो । ‘नारी’ कार्यक्रम सञ्चालन गर्ने अवसर उनलाई मिल्यो । प्रशासनसँगको खटपटपछि उक्त कार्यक्रम शान्ता श्रेष्ठले सञ्चालन नगर्ने भएपछि धनलाई त्यसको जिम्मा दिइएको हो । कार्यक्रम सञ्चालनका लागि उनीसँग न कुनै तालिम थियो न त कुनै सिकाइ । कसरी बोल्ने एकछिन उनी आत्तिइन् । विषयवस्तु सबै तयार थियो उनलाई बोल्नु मात्रै थियो । अरुले बोल भनेकै भरमा उनले बोल्नुपर्ने भयो । जब माइक अगाडि बढिन्, उनको ढुकढुकी बढ्न थाल्यो । श्वास रोकिएला जस्तो भएको उनले बताइन् । ‘अब बोल्नुपर्छ भनेर म एकदमै नर्भस भएँ,’ उनले भनिन् । ‘ओन रिल टेप’ जब बज्न ५ मिनेट बाँकी थियो । त्यसबेला शान्ता श्रेष्ठ आइपुगिन् र उनले नै कार्यक्रम सुरु गरिन् । धनलाई उनले पढ्ने जिम्मेवारी दिइन् । पढ्न लाग्दा उनलाई ज्वरो आउला जस्तै भइरह्यो । आधी पढ्न पाए पनि उनमा आत्मबल बढ्दै गयो । पहिलोपटक बोलेर जब उनी बाहिर आएर प्राविधिकलाई सोधिन्–कस्तो भयो ? जबाफमा राम्रो प्रतिक्रिया पाएपछि उनी हौसिइन् । उनी भन्छिन्, ‘रेडियोको अचम्म के थियो भने आफैले बोलेको सुन्न पाइँदैनथ्यो ।’

रेडियोको काम : संघर्ष र आनन्द

उनले जागिर सुरु गर्दा न कुनै पद न कुनै सम्झौता पत्र पाएकी थिइन् । तत्कालीन निर्देशक बुद्धिप्रसाद शाहले मौखिक आधारमा उनलाई करारमा नियुक्त गरी मासिक २५० रुपैंयाँ तलब तोकिदिए । सुरुमा उनले बिहान ८ बजे आधा घण्टाको ‘नारी’ कार्यक्रम सञ्चालन गर्न थालिन् । रेडियो नेपालमा त्यसबेला महिला स्वर एकदमै कम थियो । त्यसकारण अन्य कार्यक्रममा पनि आवाज दिन थालिन् । कार्यक्रम सञ्चालनका लागि विषयवस्तु खोज्न विभिन्न पत्रपत्रिका संकलन गर्नुपर्थ्यो । रेडियोमा काम गर्न कुर्सी–टेबल केही थिएनन् । सबैको काम चौरमा बसेर हुन्थ्यो । विषयवस्तु खोज्न इन्टरनेटको सुविधा थिएन । विषयवस्तुको सम्पूर्ण जिम्मेवारी आफैंले लिनुपर्थ्यो । बिग्रेको खण्डमा २४ घण्टामा स्पष्टीकरण दिनुपर्थ्यो । काम बिग्रदा धेरैपटक उनले स्पष्टीकरण दिएकी छन् । रेडियोमा उनले तीन सिफ्ट कार्यक्रम सञ्चालन गरिन् । रातको समयमा विज्ञापन सेवा सञ्चालन गरी घर फर्किन्थिन् ।

रेडियो नेपाल त्यसताका एकलौटी चलेकाले धनको आवाज देशैभरि गुञ्जिन्थ्यो । उनको आवाजका धेरै श्रोता ‘फ्यान’ थिए । पोस्टकार्डमार्फत उनलाई थुप्र्रैले चिठीसमेत पठाउँथे । केहीले चिठीभित्र पैसासमेत हालेर पठाउँथे । ‘बोराका बोरा चिठीहरू आउँथे, कतिपय चिठीहरू त फालिन्थे,’ उनी भन्छिन्, ‘त्यसरी चिठी फाल्नुपर्दा नमज्जा लाग्थ्यो ।’ अग्रजहरूले जे सिकायो त्यही नै नयाँका लागि तालिम हुन्थ्यो । सन् १९७२ मा उनले तालिम लिएको पहिलोपटक हो । त्यसपछि भने बिस्तारै तालिमको सुरुवात थियो । करारमा काम गर्दा उनले रेडियोमा ७ घण्टा पुर्‍याउनुपर्ने हुन्थ्यो । तीन छोराछोरी र घरपरिवार सम्हाल्दै उनी काममा खटिइरहिन् । बिदा लिनुपर्दा आफ्नो जिम्मेवारी सक्नुपर्थ्यो तर पनि तलब भने काटिन्थ्यो । सुविधा केही थिएन । पछिल्लो समय रेडियोबाट अवकाश भएपछि भने उनी सामाजिक जीवन बिताइरहेकी छन् । उनी भन्छिन्, ‘मेरो जागिरे जीवन सकिए पनि अहिले सामाजिक कार्यमा सक्रिय छु ।’

जहाँ गए पनि रेडियो नै प्यारो

 रेडियोको करारको काम । न कुनै गतिलो सेवा–सुविधा न त स्थायी हुने तत्कालको सम्भावना । यही क्रममा उनलाई रेडियोमा भविष्य छैन, बैंकमा जाने सुझाव आएको थियो । त्यसलाई पछ्याउँदै उनले नेपाल बैंकमा जागिर सुरु गरिन् । ३३० रुपैयाँ उनको तलब थियो । बैंकमा जागिर खाँदा पनि उनले रेडियोमा बेलुका काम गर्न थालिन् । बैंकमा तीन वर्ष बिताइन् । बैंक–रेडियोसँगै उनले चलचित्र संस्थानमा अधिकृत भई काम गर्न थालिन् । उनले १२ वर्ष संस्थानमा काम गरिन् । एकैतिर मात्रै काम गर्ने दबाबपछि भने उनी रेडियोमै फर्किइन् । उनी भन्छिन्, ‘रेडियोको नशा यस्तो रहेछ कि अन्ततः म रेडियोमै फर्किएँ ।

नयाँ पुस्तालाई सुझाव

रेडियोमा काम गर्दा सहकर्मीहरूको धेरै सहयोग हुन्थ्यो । विषयवस्तु छनोट गर्दा होस् वा तयार गर्दा एकापसमा सहयोग आदानप्रदान हुने गरेको उनी बताउँछिन् । अहिलेको पुस्तामा एक–अर्कामा सहयोगीपन हराउँदै गएको जस्तो उनलाई लाग्छ । उनका अनुसार सहयोगी भावना भए मात्रै मिडियादेखि व्यक्तित्व विकासमा पनि सहयोग पुग्छ ।

(प्रकृति दाहालसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>