निर्मलाको अठोट

विद्या राई

श्रावण ७, २०७८  

दरिलो इच्छाशक्ति भएकी निर्मला भण्डारी शारीरिक सीमितताका बाबजुद सफलताको शिखर चुम्न सफल भइन् । काठमाडौंमा जन्मे–हुर्केकी उनी अपांगता भएकै कारण पाइला–पाइलामा भोगेका विभेद र तिरस्कारले उनलाई झनै बलियो बनायो । बुवा नेपाल प्रहरीमा जागिरे र आमा घरगृहस्थीमा व्यस्त थिए ।

चार वर्षकी छँदा सडक दुर्घटनामा देब्रे खुट्टा गुमाइन् । खुट्टा काटिएपछि बैसाखी टेकेर स्कुल पढिन् । ०६४ मा एसएलसी उत्तीर्ण गरेपछि स्वास्थ्य सहायक (एचए) पढिन् । ६ महिने खरिद÷रेफर केयर (पिआरसी) गरिन् । स्वास्थ्य क्षेत्रमै उच्च शिक्षा हासिल गर्ने उनको चाहना थियो । आर्थिक समस्याले त्यो पूरा गर्न सकिनन् ।

०६९ तिर मासिक पाँच हजारमा गोठाटारस्थित एक फार्मेसीमा काम पाइन् । काठमाडांैको बसाइ सजिलो थिएन । उनको दुर्घटनापछि नै परिवार काठमाडौं छोडेर पुर्खाैली थलो रामेछाप फर्कियो । त्यसपछि राजधानीमा उनको बस्ने निश्चित ठाउँ भएन । उनी दिन बिराउँदै सागको मुठो बोकेर आफन्तकोमा बास माग्न पुग्थिन् । उनको यो दुःख देखेर फार्मेसीवाला दिदीले आफ्नै घरमा बस्न दिइन् । तर, निर्मला राम्रो अवसरको खोजीमा थिइन् ।

त्यसैक्रममा एक गैरसरकारी संस्थामा स्वास्थ्य सहायकमा काम पाइन् । कार्यक्षेत्र चाहिँ सर्लाही थियो । फार्मेसीको भन्दा राम्रै सेवा–सुविधा पाएपछि उनी त्यता हान्निइन् । पाँच वर्षका लागि जागिर पाएको भए पनि भविष्यको सुरक्षा र इज्जतका लागि लोकसेवा परीक्षा पास गरी सरकारी जागिर गर्नुपर्छ भन्ने घरको दबाब थियो । त्यसपछि काठमाडौं फर्केर लोकसेवाको तयारीमा जुटिन् । अहेव र एचए पदमा चारपटक लिखितमा पास भएपनि मौखिकमा सफल हुन सकिनन् ।

उनको सानैदेखि चकचके, चञ्चले बानी थियो । खेलकुदमा रुचि राख्थिन् । स्कुले जीवनमा होच्याउलान्, गिज्याउलान् भनेर अरू साथीभाइले खेलेको हेरेर चित्त बुझाउँथिन् । स्कुलबाहिर रुख चढ्ने, चुंगी, ढक, छुई डुम खेल्थिन् । समाचारहरूमा र युट्युबतिर खुट्टा नभएका मानिस सगरमाथा चढेको, बैसाखी टेकेरै दौडमा भाग लिएको, जितेका खबरहरू पढ्दा, हेर्दा उनलाई हौसला मिल्थ्यो । ०७२÷०७३ देखि बास्केटबल खेल्न थालिन् । बास्केट बल प्रतियोगितामा प्रतिस्पर्धा गर्न रुम्जाटार र स्वास्थ्य शिविरका लागि कालीकोट पुगेपछि अपांगप्रतिको चेतना फेरियो । यसै क्रममा अपांगता भएका धेरै मानिससँग चिनजान भयो । उनले भनिन्, ‘जब मेरो सर्कलका मान्छेहरू भेटें त्यसपछि कृत्रिम खुट्टा देखाएरै हिँड्न थालें, जति लुकायो उति पीडा हुने रहेछ, अहिले मेरो यही पहिचानले अप्ठ्यारो परेको बेला सहयोग पाएकी छु ।’

निर्मला आत्मनिर्भर बन्न चाहन्थिन् । सार्वजनिक सवारी चढ्दा सिट नपाउने, सवारी चढ्ने÷ओर्लने क्रममा चालक र सहचालकले अत्याउने गर्दा ०७४ देखि उनी चारपांग्रे स्कुटर चलाउन थालिन् । त्यही वर्षदेखि ‘पावर लिफ्टिङ’ खेल पनि सिक्न थालिन् । यस खेलका प्रशिक्षक सञ्जय महर्जन, नेपाल पारा लिफ्टिङ संघका दुर्गामान तामाङ र टेक गुरुङलगायतको हौसलामा सोही वर्ष इन्डोनेसियामा भएको एसियन गेममा ‘पावर लिफ्टिङ’ मा नेपालबाट अपांगता भएका महिलाको तर्फबाट सहभागी भइन् ।  खेलमा सफलता हात पार्न नसके पनि युएन वुमनले उनलाई ‘इन्स्पाइरिङ वुमन २०१८’ को सूचीमा राखेको थियो । त्यसबाट उनलाई गर्न चाह्यो भने अरूले चिन्ने, अरूका लागि प्रेरणादायी पनि भइने रहेछ, अझ राम्रो गर्नुपर्छ भन्ने हौसला जगायो । त्यसपछि उनी सामाजिक सेवाका लागि अपांगता भएकाको क्षेत्रमा काम गर्ने संघसंस्थामा आबद्ध भइन् । 

नक्सालमा आयोजित ‘द स्टोरियलरस् इन्स्पाइरिङ स्पिच’ प्लाटफार्ममा ‘स्टोरीटेलर’ को ‘सोलो ट्राभलिङ’ कथा सुन्ने अवसर पाएपछि उनी भित्रैबाट झनै बलियो भएको बताइन् । महिलाहरू एक्लै हिँड्न सक्छन्, साहसिला छन्, नेपालमा एक्लै हिँड्दा पनि सुरक्षित छ भन्ने देखाउन सहयोग गर्ने त्यो प्लाटफर्ममा निर्मलालाई पनि सहभागी हुने रहर जाग्यो । यसमा आवेदन दिइन्, छनोटमा परिन् । ०७५ मा आफ्नै चारपांग्रे स्कुटर प्रयोग गरी उनले पूर्वको इलामदेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्म ३५ दिनको यात्रा एक्लैले पार गरिन् । सार्वजनिक यातायात मैत्रीपूर्ण नहुने र पैदल हिँड्न असम्भव भएका कारण उनले स्कुटर प्रयोग गरेकी थिइन् । तर, पोखरा र बन्दीपुर घुमेर काठमाडौं फर्कने क्रममा पाल्पामा होटलको रेसिप्सन नेर कुकुरले टोक्दा घाइते भइन् । केही दिन बेड रेस्ट गर्नुप¥यो ।

उनले आफ्नो अनुभव साटिन्, ‘हाम्रो देशमा पहुँचयोग्य संरचना छैन, बाटोघाटो राम्रो छैन, मान्छेको मानसिकता उस्तै साँघुरो छ, गाह्रो छ तर यात्रा रोकिएको छैन ।’ जीवनका तीतामीठा भोगाइहरूले उनलाई साहसी बनाएकै छ । बोल्नुअघि आँसु खसाल्ने निर्मलालाई प्रतिवाद गर्ने बानीले बोलीमा उस्तै बोल्ड र कमान्डिङ हुन सिकायो । 

‘सोलो ट्राभलिङ’ गरिसकेपछि साहसिक कार्य गर्न उनलाई हौसला थपेको छ । ‘केही कुरा सिक्न धेरै वर्ष लाग्न सक्थ्यो, मैले एउटै यात्रामा सिकें, नेपालको विविधता, असमानताहरूलाई देखें,’ भन्छिन्, ‘मैले आफ्नो वास्तविकतालाई लुकाएर होइन देखाएर सामाजिक रूपान्तरणमा लाग्नुपर्छ भन्ने सिकें ।’ केही समयअघि पोखरामा भएको ‘एघारौं इन्फिल्ड पोकर रन’ मा ‘मस्ट च्यालेन्जिङ राइडर’ अवार्ड पाइन् ।

उनी ‘फुड एण्ड न्युट्रिसन’ मा स्नातकोत्तर गर्दैछिन् । बिहान कलेजमा समय दिन्छिन् । दैनिक गुजाराका लागि दिउँसो फार्मेसीमा समय दिन्छिन् । बेलुकी ‘पावर लिफ्टिङ’ को तालिम गर्छिन् । नेपालबाट अपांगता भएका व्यक्तिहरूतर्फ ‘पावर लिफ्टिङ’ मा ओलम्पिकसम्म खेल्न प्रतिनिधित्व गराउने उनको लक्ष्य छ । 

देशभित्र अपांगता भएका व्यक्तिलाई पहुँचयुक्त संरचना र अवसरहरू छैनन् । आफूमार्फत त्यस्ता चुनौती र समस्याका बाबजुद अरूलाई प्रेरणा दिने कार्य गर्ने उनको चाहना छ । ‘साना–साना निर्मलाहरू कति छन्, राष्ट्रिय स्तरका खेलाडी हुन नसके पनि आफ्नो स्कुलको कोर्टमा पुगेर खेल्न सकून्, झ्यालबाट चिहाएर अरूले खेलेको मात्रै हेर्ने दिन नहोस्, मैले त्यो ‘इन्स्पाइरिङ’ काम गर्नुछ’ उनले भनिन्, ‘नेपाल घुमेपछि सानो लागेको छ, संसार घुम्ने मन छ, बन्जीलगायतका साहसिक खेल खेल्ने मन छ, चाहने हो भने असम्भव केही छैन, सम्भावनाका विकल्प धेरै छन् ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>