‘एयरोस्पेस आकाशदेखि जमिनसम्म उपयोगी’

उपासना घिमिरे

श्रावण ४, २०७८ भनिन्छ, सफलताको दियो कठोर परिश्रमबाटै बल्छ । यसरी सफलताको दियो बाल्नेमध्ये सुनिरा रेग्मी पनि एक हुन् । उनी सफल मात्र होइनन्, उनले नेपालमा प्रथम महिला एयरोस्पेस इन्जिनियर बनेर इतिहाससमेत रचेकी छन् । काठमाडौं मध्य बानेश्वरकी ३४ वर्षीया सुनिराले बुवाको सल्लाह र प्रेरणाबाटै यो सफलता प्राप्त भएको सुनाउँछिन् । लिटिल एन्जल्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि भारत गइन् । भारतबाट उनले स्नातकोत्तर पूरा गरिन् । दशकयता नेपाल वायुसेवा निगममा सिनियर फ्लाइट अप्रेसन इन्जिनियरका रूपमा उनी कार्यरत छिन् । एयरोस्पेस इन्जिनियर बन्नका लागि उनले गरेको संघर्ष, सफलता र अनुभवका बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

नेपालकै प्रथम महिला एयरोस्पेस इन्जिनियर हुँदा कस्तो महसुस गर्नुभयो ?

कुनै पनि क्षेत्रमा प्रथम हुनु आफैमा खुसीको कुरा हो । अन्य महिला पनि मजस्तै यो क्षेत्रमा आए झनै गौरवान्वित हुने अवसर जुट्थ्यो ।

यो क्षेत्रमा आउन कसको प्रेरणा प्राप्त भयो ?

पढाइमा म सामान्य विद्यार्थी थिएँ । सुरुमा पाइलट बन्न मन लागेको थियो । एसएलसीपछि पाइलट बन्ने निश्चय गरें । त्यही क्रममा मेरा बुवा सुदर्शनप्रसाद रेग्मीले एयरोनाटिकल इन्जिनियरिङ सम्बन्धमा बुझाइ दिनुभयो । पाइलट भन्दा नौलो विषय पूरै प्लेनको जानकारीका लागि एयरोस्पेस इन्जिनियर बन्यौ भने राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो ।

१२ कक्षामा राम्रो नम्बर आएको थियो । फर्केर नेपाल आएपछि सन् २००४ मा बुद्ध एयरले क्यानडाका लागि नौ जना पाइलट आफैंले पढाइदिने भनेर मागेको थियो । त्यसमा अप्लाई गरें, नाम निस्कियो तर आर्थिक अवस्थाका कारण त्यता जान पाइन । बुवाले एयरोनाटिकल इन्जिनियर पनि छ भनेर मार्गदर्शन गर्नुभएकाले यो क्षेत्रमा आएकी हुँ ।

परिवारको कोही यो क्षेत्रमा हुनुहुन्छ ?

मेरा अंकल उड्डयन क्षेत्रमा हुनुहुन्थ्यो । तर, एयरोनाटिक्स होइन । इलेक्ट्रोनिक्सबाट उहाँ यो क्षेत्रमा आउनुभएको थियो । अहिले रिटायर्ड भइसक्नुभएको छ ।

एयरोस्पेस र एयरोनाटिकलबारे केही बताइदिनुस् न ?

एयरोस्पेसमा एयरोनाटिकल र एस्ट्रोनाटिकल गरी दुई हाँगा हुन्छन् । बीटेक गर्दा नै आफू कुन विषय पढ्ने भनेर छान्नुपर्छ । वायुमण्डलभन्दा माथि जान मन छ भने एस्ट्रोनाटिकल पढ्नुपर्छ ।

नेपालमा यो विषय पढेकाको उपयोग कत्तिको छ, यसको स्कोप कस्तो छ ?

यहाँ सानो क्षेत्र छ । अन्य देश र यहाँको तुलना हुँदैन । अन्य देशमा जहाज बनाउँछन् । बाहिर पढेका मानिसलाई त्यहाँ धेरै स्कोप छ । यहाँ त्यस्ता निर्माण कम्पनी छैनन् । यहाँ हामीले भर पर्ने भनेको नागरिक उड्डयन प्राधिकरण, अनुसन्धान केन्द्र हुन् । केही वर्षयता पुल्चोक इन्जिनियरिङ कलेजमा यो कोर्स पढाइ हुँदैछ । विश्वव्यापी रूपमा हामी यसमा पछाडि छौं । यसमा अर्को काम गर्ने क्षेत्र भनेको एयरलाइन्स हो । एयरोस्पेस गरेपछि जहाजमा वा स्पेसमै काम गर्नुपर्छ भन्ने धारणा छ, यसको क्षेत्र यति मात्र हुँदैन । यो विषय माथि आकाशदेखि तल जमिनसम्म काम लाग्छ ।   

भारतमा पढेको मान्छे उतै कामको अफर आयो कि आएन ?

अवसर आएको थियो । बीटेक गर्दा नेपालमै आएर हेर्ने, भएन भने उतै फर्किने भन्ने थियो । मास्टर्स गर्दा परिवार यहीँ भएका कारण छाडेर गइन । मेरा लागि परिवार र करिअर दुवै बराबरी हो । त्यसैले यहीँ काम सुरु गरेँ ।

पुरुषहरूको बीचमा पढ्दा कत्तिको अप्ठ्यारो महसुस भयो ? यो क्षेत्रमा महिला कम हुनुको कारण के हो ?

भारत देहरादुनस्थित ‘नेसनल इन्स्टिच्युट अफ एयरोनाटिकल इन्जिनियरिङ कलेज’ मा आफ्नो ब्याचमा एयरोस्पेस विषय पढ्ने एक्लै थिएँ । ब्याचलर तथा मास्टर्समा ६० जना छात्रामा म एक्लो थिएँ । पहिलोपटक कक्षाकोठामा छिर्दा अप्ठ्यारो लागे पनि साथीहरू मिलनसार र सहयोगी भएकाले सामना गर्न सहज भयो । महिला तथा पुरुष होस्टलमा रातको १० बजेपछि सँगै बसेर पढ्न पाइँदैनथ्यो । त्यसैले कम्बाइन स्टडी भने गर्न पाइन । ल्याबमा भने सँगै पढ्थ्यौं । महिलाको स्कोप र इच्छा नभएकाले यो क्षेत्रमा धेरै नआएका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ ।

आफूजस्तै अन्य महिला पनि यो क्षेत्रमा आऊन् भन्ने लाग्छ ?

एकदमै लाग्छ । यो क्षेत्रमा आउन चाहनेलाई आवश्यक जानकारी दिन्छु । यो विषय पढ्न गाह्रो भए पनि सम्भावना धेरै छन् । यसका लागि गणित र भौतिक शास्त्रमा राम्रो हुनुपर्छ । पढ्न गाह्रो छ, मेहनत गर्नुपर्छ । म रातको ३ बजेसम्म पढ्थें । यो अधिक प्राविधिक विषय हो । समुद्रदेखि आकाशसम्मका सबै क्षेत्रमा काम गर्न सकिन्छ ।  

पढ्ने बेला र प्रयोगात्मक काम गर्दा गाह्रो भएन ?

सोल्जरिङ, वुडन, कार्पेटरिङको काम गर्नुपर्थ्यो । गह्रौं सामग्री उचाल्नुपरेमा साथीहरूले सहयोग गरिदिन्थे । ल्याबमा, प्रयोगात्मक कक्षामा प्रत्येक काममा सहयोग गरिदिन्थे । सन् २००८ मा नेपाल फर्किएँ । एक वर्षसम्म पनि कतै जागिर नपाउँदा भने म किन यो क्षेत्रमा लागें भन्ने महसुस भयो । नेपाल एयरलाइन्स कर्पोरेसन्समा एक वर्ष मेन्टिनेन्समा (ह्यांगरमा) भोलेन्टियर काम गरें । मेन्टिनेन्सको काम गर्दा यो विषय किन पढें भन्ने लागेको थियो ।

नेपालको सन्दर्भमा एयरोस्पेस इन्जिनियरको काम के हो ?

नेपालको सन्दर्भमा मेन्टिनेन्स इन्जिनियरिङ, सिनियर फ्लाइट अप्रेसन इन्जिनियर, चिफ अफ टेक्निकल इन्जिनियर हुन सक्छन् । सबै एयरक्राफ्टका आ–आफ्नै कार्य हुन्छन् । त्यसमा एयरोस्पेस इन्जिनियरले हेर्ने भनेको जहाजको पफर्मेन्स हो । जस्तो ः जहाजको सबै सेफ्टी मेजर हेर्ने, निर्माण कम्पनीले दिएको गाइडलाइन फ्लो गर्ने काम गर्नुपर्छ । कार सर्भिसिङमा दिएजस्तै जहाज पनि निश्चित समयसम्म उडेपछि मेन्टिनेन्समा जान्छ । मेन्टिनेन्स गरिसकेको जहाज उड्नका लागि ठीक छ/छैन भनेर सर्टिफाइड गरी दिनुपर्छ । एउटा इन्जिन आउट भएमा जहाज सुरक्षित तवरले कसरी ल्यान्ड गर्ने ? एउटा डेस्टिनेसनमा जाँदा फ्युल कत्तिको बोक्छ ? ती सब हेर्नुपर्छ ।

तपाईंले हेर्नुपर्ने क्षेत्र के हो ?

हेड अफिसमा काम हुन्छ । रुट चेक, ककपिटमा काम गर्नुपर्छ । बाहिर स्टेशनमा पढाउन जानुपर्छ, जहाजको रुल्स एण्ड रेगुलेसन ग्राउन्ड प्रशिक्षकका रूपमा पढाउनुपर्छ । कोभिडका कारण बन्द भएको छ, प्रत्येक डेस्टिनेसनमा प्रशिक्षकका रूपमा काम गर्नुपर्छ । यसका लागि हङकङ, बैंकक, दिल्ली, नेपालगन्ज, भैरहवाजस्ता ठाउँमा गएको छु ।

एउटा जहाजको सरदर आयु कत्तिको हुन्छ ?

जहाजको निर्माणअनुसार भर पर्छ । नियमित मेन्टिनेन्स चाहिँ गर्नुपर्छ । सुरक्षाका उपाय अपनाएमा वर्षौं पनि जहाज उड्न सक्छ ।

यो क्षेत्रमा नलागेको भए के गर्नुहुन्थ्यो ?

मेकानिकल क्षेत्रमा लाग्थें । पाइलट बन्ने धेरै इच्छा थियो तर आर्थिक अवस्थाका कारण पढ्न सकिन ।

कामको दौरानमा भएको रमाइलो अनुभव बताइदिनुस् न ?

पहिलोपटक सानो जहाज (ट्वीनअटर) मा प्रशिक्षकले टेस्ट फ्लाइट सिमरा लिएर जानुभएको थियो । त्यसमा हामी अवलोकनकर्ता थियौं । ककपिट ग्रुप, मेन्टिनेन्स इन्जिनियर, सिभिल एभिएसनको मान्छे, अप्रेसन इन्जिनियर, प्रशिक्षक थियौं । ८/९ जनाको ग्रुप थियो । अत्यधिक परिष्कृत भएर इन्स्युर्ड मानिस मात्र त्यहाँ गएका थियौं । सिमरामा एउटा इन्जिन बन्द भयो, एउटा  इन्जिनले मात्र पर्फर्मेन्स हेर्नुपर्ने हुन्थ्यो । यो इन्जिन त अफ छ, अर्को इन्जिन पनि अफ गरेर अन भएन भने के हुन्छ भन्ने डर भयो । यसैगरी, रुट चेक गरी हङकङबाट फर्किदा जहाजको राइट हाइड्रोलिक सिस्टम उड्दा उड्दै फेल भएको थियो । सबै म्यानुअल्ली नै गनुपर्ने अवस्था थियो, पानी परिरहेको थियो । त्यतिखेर क्रु (चालक दल) अनुभवी भएका कारण सुरक्षित अवतरण भयो । भोलिपल्ट जहाज हेर्दा धन्न ज्यान बच्यो जस्तो लाग्यो । यी दुई घटना म जीवनभर बिर्सन सक्दिन ।

महिला उच्च तहमा पुग्न के गर्नुपर्ला ?

महिलामा आत्मविश्वास र बौद्धिकता हुनुपर्छ । आफ्नो क्षेत्रमा उच्च शिक्षा हासिल गरेको र सक्छु भन्ने भावना पनि हुनुपर्छ । प्राविधिक क्षेत्रको कुरा गर्ने हो भने प्रविधिमा दक्ष हुनुपर्‍यो । महिला हो भनेर कुरा नसुन्ने होइन कि महिलाले पनि अवसर पाएमा गर्न सक्छन् भनेर हौसला दिनुपर्छ ।

कसरी सफलता हात पार्ने ?

कडा मेहनत र लगनशीलताले ।

पछिसम्म यही क्षेत्रमा लाग्नुहुन्छ ?

पाएसम्म र सम्भव भएसम्म यही क्षेत्रमा लाग्छु । हेरौं भविष्यले कता लैजान्छ । पिएचडी गर्ने सोचमा छु । अबको मेरो सपना चन्द्रमा वा अन्तरिक्षमा जाने हो, हेरौं के हुन्छ ? 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>