Successfully Copied

आमाको पर्खाइ

‘मर्नु र बाँच्नु विधिको विधान नै हो ।

आमा सुतिरहेकी थिइन् । केही बेर बोलाएपछि आँखा खोल्दै भनिन्, ‘अरे, छोरा सुमित । तिमी पो रै छौ, म त गहिरो निद्रामा थिएँ ।’ यति भन्दै उनी उठेर ओछ्यानमै बसिन् । केही बेर भलाकुसारीपछि लामो सास फेर्दै भनिन्, ‘मर्नु र बाँच्नु विधिको विधान नै हो । अमर हुनलाई को आएको छ र ? म पनि एकदिन मर्ने नै छु । तर तिमीसँग अनुरोध–म मरेको खबर छोरा अमितलाई न सुनाइदिनू । ऊ दुःखी र उदास हुनेछ । मेरो छोरा दुःखी होस् भन्ने चाहन्न । म त के ? संसारका कुनै पनि आमा छोरा दुःखी भएको देख्न चाहन्नन् । जब ऊ फर्केर आउनेछ त्यसबेला उसलाई शंका नलागोस् कि सहरमा उसकी आमा रहिनन् ।’ यति भन्दै बूढीआमाको आवाज थर्थराउन थाल्यो । आँखाबाट बलिन्द्र आँसुका धारा बग्न थाले । सुमितअघि सर्दै आमाको हात समात्यो । ‘नरुनुहोस् आमा, यस्तो कहाँ हुन्छ र ? तपाईं एकदम ठीकठाक हुनुहुन्छ । तपार्इंलाई केही हुँदैन’ उनले भने ।

त्यसपछि आमाले केही भनिनन् । केही बेर आमा नजिकै बसेर सुमित आफ्नो घर फर्कियो । उनी बाटोमा मनमनै सोच्दै थिए, ‘आमाले यी सब कुरा किन भनेकी होलिन् ? बिरामी जस्तो पनि देखिन्नन् । उमेर पनि ६०–६२ वर्ष मात्र हो । यो उमेरमै मृत्युको सोच ?’ । उनको मनमा यी र यस्तै अनेकौं प्र्रश्न र जिज्ञासा उब्जिएका थिए । उनी सोच्दै थिए, ‘कतै आमालाई मृत्युको आभास त भएको होइन ? यसअघि मर्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ उनी घर पुग्छन् । जब उनी सुत्नका लागि ओछ्यानमा जान्छन् । फेरि बूढीआमाले भनेकै उही कुरा उनको दिमागमा कुनै चलचित्रको दृश्यझैं आउन थाल्छ ।

अमित उनको सानैदेखिको साथी हो ।

 दुवैले सँगसँगै स्कुल पढेका थिए । क्याम्पसमा पनि सँगै पढेका थिए । अमित पाँच वर्षकै छँदा उनका बुवाको निधन भएको थियो । उनको पढाइ/लेखाइ तथा पालनपोषणको सम्पूर्ण जिम्मेवारी आमाले नै निर्वाह गरेकी थिइन् । क्याम्पसमै अमितको चिनजान सुनयनासँग भएको थियो । दुवैको रुचि समान थियो । कविता लेख्न, अभिनय गर्न, घुमफिर गर्न उनीहरूलाई औधी मन पर्थ्यो ।

क्याम्पसको पढाइ सकिएपछि सुमित र अमित एउटै अफिसमा काम गर्न थाले । सुनयना भने अभिनयलाई आफ्नो भविष्य (करियर) बनाउन काठमाडौं हानिएकी थिइन् । तर अमितसँग उनको सम्पर्क सधै भैइरहेको थियो ।

एकदिन अमितले सुमितलाई सुनयनाबारे भने, ‘थाहा छ सुमित, सुनयनालाई एउटा चलचित्रमा काम गर्ने अवसर मिलेको छ । अब तिनी चलचित्रमा अभिनय गर्न थालिसकेकी छन् ।’ अमित असाध्यै खुसी थिए । सुमित भने उनको कुरा सुन्दै अमितको खुसीमा सहभागी भएका थिए ।

केही दिनपछि अमित उदास हुन थालेको आभास सुमितलाई भयो । पहिले जस्तो कार्यालयको काममा उनको रुचि घट्दै गएको थियो । एकदिन चमेना गृहमा चिया पिउँदै गर्दा सुमितले सोध्यो, ‘के हो अमित, के हुँदैछ ? तिमीलाई केही दिनयता चिन्तित देख्दैछु । केही कुरा छ कि ?’ अमित केही बेर मौन बसेपछि भने, ‘मित्र । यो कार्यालयको काममा मेरो मन लाग्नै छाडेको छ । उसो पनि यो सानो सहरमा खासै सम्भावना म देख्दिनँ । आमाको कारणले म केही गर्न पनि सकिरहेको छैन । आमाको हेरचाह गर्ने मान्छे कोही भेटिए म पनि ........।’ यति भन्दै अमित फेरि मौन हुन्छन् । अनि सुमितलाई टकटकी हेर्न व्यस्त पनि । कपको चिया सकिसकेको थियो । सुमित उठ्ने तरखर के गर्दै थिए, अमितले उसको हात समात्छन् । गम्भीर भई फेरि भन्न थाल्छन्, ‘मित्र, तिमी मेरो भाइजस्तै हो । केही दिन तिमी मेरी आमाको हेरचाह गर्न सक्छौ ? म पनि काठमाडौं गएर आफ्नो भाग्यको परीक्षा गर्न चाहन्छु । सुनयनाले पनि म त्यतै गएर काम गर्न धेरै दिनदेखि भन्दै आएकी छन् । उनको सहयोगमा मलाई पक्कै पनि राम्रो अवसर प्राप्त हुनेछ ।’

सुमितले अमितलाई केही भन्न सकिरहेको थिएन । तर पनि आश्वासन दिँदै उनले भने, ‘ठीकै छ, तिम्री आमा मेरी पनि आमाजस्तै हो । तिम्रो अनुपस्थितिमा म आमाको हालचाल लिँदै गरौंला ।’ केही दिनपछि अमितले ती सबै कुरा आमालाई सुनाइदिए । आमाले पनि उसलाई बाहिर जान कुनै अवरोध गरिनन् । अत्यन्तै शान्त स्वरमा भनिन्, ‘छोरा । जहाँ बसे पनि खुसी रहनू । मेरो चिन्ता नलिनू । तिम्रो अनुपस्थितिमा छोरा सुमित त छँदैछ मलाई हेर्नका लागि ।’

अमित काठमाडौं जान्छन् । केही दिनपछि उनको अनुपस्थितिमा सुमित आमालाई भेट्न पुग्छन् । भेट्न जाँदा आमाले सधै उनलाई सोध्ने एउटै प्रश्न दोहोरिन्थ्यो–अमितको कुनै चिठीपत्र आएको छैन छोरा ? तीन महिनापछि आमालाई भेट्न गएको बेला सुमित आश्चर्यमा पर्छन् । आमाको खुसी देखेर उनी छक्क पर्छन् । छोराको चिठी पाएपछि आमाले सुमितलाई मिठाईं जो खुबाएकी थिइन् । उनले मिठाईं दिदै भनेकी थिइन्, ‘सुमित, मुख मीठो गर, आज हुलाकीले चिठी दिएर गएको छ ।’ मिठाईंसँगै आमाले उसको हातमा एउटा खामसमेत राखिदिएकी थिइन् । अनि भनेकी थिइन्, ‘लु, छोरा यसलाई पढेर सुनाऊ त ।’ आमालाई सुमितले टुलुटुलु हेर्छन् । मनमनै सोच्छन् अनि भन्छन्, ‘अमित गएयता पहिलो पल्ट आमालाई यति धेरै खुसी भएको देखेको छु ।’

तर, आमाको अनुहारमा त्यो खुसी लामो समय टिक्दैन । चिठी पढेपछि आमाको अनुहारको खुसीको अन्त्य हुन्छ । सुमितले चिठी पट्याउँदै खाममा हालेर आमालाई थमाउँछन् ।

त्यसपछिका दिनहरूमा आमालाई जहिले भेट्न जाँदा अमितको ‘कुनै चिठी आएको छ भनी सोध्यो कि त्यही पुरानो चिठी ल्याएर हातमा थमाइदिन्थिन् । आ.. यो त

पहिलेकै चिठी हो । होइन, होइन छोरा, हुलाकीले भर्खरै दिएर गएको हो । तिमीले पढेर त हेर ।’ सुमित पढेर सुनाइदिन्थे । जति खुसी चिठी पढ्नु भन्दा पहिले अनुहारमा देखिन्थ्यो, चिठी पढिसकेपछि अन्त्य हुन्थ्यो । आमा जुरुक्क उठेर यताउति हिँड्न थाल्थिन् । पाँच वर्ष यसरी नै बितेछ । च्यातिन थालिसकेको थियो चिठी । आमाले त्यसलाई बडो हिफाजतका साथ खाममा राख्थिन् ।

त्यस दिन सुमित निद्राबाट धेरै ढिलो उठेको थियो । उसलाई केही सम्झना आयो–छिटोछिटो दैनिक पूजापाठ सकाएर आमालाई भेट्न ऊ हिँड्यो ।

घरबाहिर पूरा सुनसान थियो । पहिले–पहिले ढोका खोल्नेबित्तिकै आमाको आवाज आउँथ्यो–को हो ? को ?

तर आज ............. ।

ऊ कोठाभित्र गयो । आमा सुतिरहेकी थिइन् । ‘आमा के तपाईं अझै सुतिरहनुभएको हो ?’ उनले दुई/तीन पटक भने । तर, कुनै प्रतिक्रिया आएन । उनी कोठाबाट बाहिर निस्किए, छरछिमेकीलाई बोलाए ।

छरछिमेकीले पनि आमा...आमा.. भनेर बोलाए । तर आमा .......... । त्यसैबेला एक जनाले नाडी छामेर भने, ‘आमा बितिसक्नुभयो, अब उहाँको छोरालाई खबर गर्नुपर्छ ।’

अब सुमितलाई पनि विश्वास भयो कि आमाको मृत्यु भइसकेको छ । अमितलाई खबर दिने कुराले सुमितलाई आमाले भनेको कुरा सम्झना आउन थाल्यो ।

उनी आमाको मृत शरीर नजिक गएर बसे । त्यहाँ उनले आमाको हातमा केही देख्छन् । हेर्दा त्यो त अमितको त्यही चिठी पो रहेछ । जुन उसले आमाबाट टाढा गएपछि पहिलो र अन्तिम पटक लेखेको थियो ।

 Image