Successfully Copied

विशाखा लक्ष्मी खड्का

जीवन र कामको जिम्मेवारीलाई सन्तुलन गर्न आफ्नो समयलाई सोही अनुपातमा मिलाउन जरुरी छ ।

कति वर्षदेखि कर्पोरेट क्षेत्रमा हुनुहुन्छ ?

सन् २००४ देखि नै मैले कर्पोरेट क्षेत्रमा पाइला राखेकी हुँ । सन् २००७ मा मैले लाहोरस्थित ‘पञ्जाब वुमन च्याम्बर अफ कमर्स’ मा काम सुरु गरेपछि मेरो जीवनको नयाँ यात्रा सुरु भयो । २००९ मा मैले लाहोर युनिभर्सिटीबाट मास कम्युनिकेसन्समा मास्टर्स गर्ने क्रममा, ‘द नेशन’ पत्रिकामा डेप्युटी एडिटरका रूपमा ५ वर्ष काम गर्ने अवसर पाएँ । नेपाल फर्केलगत्तै गोर्खा ब्रुअरीमा कर्पोरेट कम्युनिकेसन्समा मेनेजरका रूपमा ७ वर्ष काम गरें । हाल म एनसेल आजिया लिमिटेडमा कर्पोरेट कम्युनिकेसन्स एण्ड सीएसआर हेडका रूपमा आबद्घ छु ।

कर्पोरेट क्षेत्रमा महिलाका लागि के–कस्ता चुनौती छन् ?

लैङ्गिक दृष्टिकोणबाट कुनै पनि व्यक्तिको क्षमता मूल्यांकन हुनु हुँदैन । एक महिलाका रूपमा हामीले लैङ्गिक आधारमा नभई कामका आधारमा प्रतिस्पर्धा गर्न आवश्यक छ । हामीले गर्ने काम अरुले प्रशंसा गर्ने खालको हुनुपर्छ । भाग्यवश मेरो करियरमा आजसम्म एक महिलाका रूपमा मैले त्यस्तो कुनै पनि चुनौतीका सामना गर्नुपरेको छैन ।

महिलाका लागि यस क्षेत्रमा करियर अगाडि बढाउन कस्ता बाधा–अड्चन झेल्नुपर्‍यो ?

करियर अगाडि बढाउने क्रममा मैले कम अवरोधहरूको सामना गर्नुपर्‍यो । किनभने मैले कामलाई मेरो दैनिक जीवनको एक हिस्साका रूपमा होलिस्टिक तरिकाले लिँदै आएकी छु ।

महामारीका बेला कर्पोरेट क्षेत्रको कस्तो जिम्मेवारी हुन्छ ?

कर्पोरेट क्षेत्रले मेडिकल सप्लाईको आयात तथा अन्य दैनिक आवश्यकताका सामान खरिद तथा योगदानमा धेरै सहयोग गर्ने क्षमता राख्छ । सरकारले पनि व्यवसायीहरूका लागि अनुकूल नीति ल्याई कार्यान्वयन गर्न जरुरी छ । त्यस्तै व्यवसायीहरूले भोग्नुपरेको चुनौती तथा देशमा बेरोजगारीको समस्यालाई पनि सरकार तथा कर्पोरेट दुवै क्षेत्रले प्राथमिकतामा राखेर हेर्न आवश्यक छ ।

कोभिड महामारीमा एनसेलले गरेका सामाजिक कामहरू ?

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारका लागि एनसेलले सन् २०२० मा कोभिड प्रतिकार्यअन्तर्गत लकडाउन भएको पहिलो दिनमै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैंयाँको योगदान गरेको थियो । एनसेलले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्घिका सन्देशहरू विभिन्न माध्यमबाट प्रवाह गर्दै आएको छ ।

जीवन र कामको जिम्मेवारीलाई कसरी सन्तुलन गरिरहनुभएको छ ?

जीवन र कामको जिम्मेवारीलाई सन्तुलन गर्न आफ्नो समयलाई सोही अनुपातमा मिलाउन जरुरी छ । म समयलाई राम्रोसँग व्यवस्थित गर्दै प्राथमिकताका आधारमा परिवार र काम दुवैलाई सन्तुलित गर्न सफल छु ।

कुनै महिलालाई देखेर अर्थात् उनीहरूको कामलाई हेरेर आफ्नो क्षेत्रमा खुड्किलो चढ्नुभएको छ ?

मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणाको स्रोत मेरी आमा दुर्गा खड्का हुनुहुन्छ । कुनै बाधा–अड्चनबिना अघि बढ्न उहाँले मलाई हरेक समय हौसला प्रदान गरिरहनु हुन्छ । मेरो जीवनको हरेक क्षणमा आमाको ठूलो भूमिका छ ।

आफूमा भएको कुनै सुपर पावर ?

आमा हुनु भनेको कुनै सुपर पावरभन्दा कम छैन । कुनै रियल सुपर पावर भए म टेलिपोर्ट हुन चाहन्छु ।

एक वर्षका लागि कर छुट र एक महिने निःशुल्क छुट्टीमा घुमघामको अफरमध्ये कुन रोज्नुहुन्छ ?

घुमघामको अफर रोज्छु ।

बिहान उठ्नेबित्तिकै नगरी नहुने काम ?

बिहान उठ्नासाथ म ‘हट लेमन विथ हनी’ पिउँछु, सूर्य नमस्कार गर्छु र अफिस निस्कनुभन्दा अगाडि समाचार हेर्छु ।

एक दिनका लागि अदृश्य हुनुभयो भने के गर्नुहुन्थ्यो ?

म बन्द स्थानमा रहेका ठाउँहरूमा समय बिताउन चाहन्छु जस्तै म्युजियम जहाँ म स्वतन्त्र रूपमा घुम्न पाउँछु ।

महिला सफल हुन के चाहिन्छ ?

मलाई लाग्छ, आफूले आफैलाई चिनेर, आफूमाथि विश्वास गरेर तथा सत्यमा अडिएर आफ्ना गल्तीहरूबाट पाठ सिक्दै अघि बढे सफल भइन्छ ।

 Image