कोरोना जित्ने परिवार

प्रकृति दाहाल

असार ५, २०७८ नेपालमा कोरोनाको दोस्रो भेरियन्ट परिवारैपिच्छे देखिएको छ । धेरै परिवार यसबाट अझै आक्रान्त छन् । पूरै परिवार कोरोनाबाट संक्रमित भएकाहरूमध्ये पोषणविद् बोनिता शर्मा पनि एक हुन् । उनका बुवाआमाको अक्सिजन लेभल घट्न थालेपछि उनी आत्तिन्थिन् । भर्नाका लागि अस्पतालहरूमा फोन घुमाउन थाल्थिन् । तर, सबैतिरबाट एउटै उत्तर पाउँथिन्, ‘बेड खाली छैन ।’ बेड र अक्सिजन नपाएर संक्रमितको मुत्युबारे उनी पनि जानकार थिइन् । तर, के गर्ने बाध्यता थियो । यसैबीच, उनी आफैं पनि संक्रमित भइन् । सञ्चारकर्मी बुवा कृष्णमुरारी भण्डारीलाई संक्रमण पुष्टि भएसँगै घरका अन्यलाई जँचाउँदा सबैमा संक्रमण देखा परेको थियो । घरका पाँचै सदस्यमा संक्रमण देखिएपछि अस्पताल जाने अवस्था भएन । घरमै कोरोनालाई जित्नुपर्ने थियो । यसका लागि आफू पोषणविद् भएकीले बोनिताले नै खानपानमा विशेष ध्यान दिइन् । रोगप्रतिरोधक क्षमता बढाउने खानेकुरा, प्रशस्त पानी, झोल पदार्थहरू परिवारका सदस्यलाई खान उनले सुझाइरहिन् । खानपानले नै कोरोनालाई जित्न सकिने विश्वास उनको थियो । भाइबहिनीसहित आफूले कोरोना जित्नेमा उनी विश्वस्त त थिइन्, तर बुवाआमाबारे उमेरका कारण चिन्तित थिइन् ।

बिन्दु र परिवार

 

परिवारै थलिएपछि कसको हेरचाह कसले गर्ने ? भन्ने समस्या भएको बोनिताले बताइन् । उनले भनिन्, ‘सबै सदस्य संक्रमित भयौं, कसले–कसको ख्याल गर्ने ? एकदमै गाह्रो थियो । आफन्त आएर सहयोग गर्ने अवस्था पनि थिएन ।’ केही उपाय नलागेपछि भान्सामा पालो लगाएको उनले बताइन् । ‘सबै जना बिरामी हुँदा भान्सामा पालो लगाउँदै काम गर्‍यौं, सबैले एक–अर्कालाई सहयोग गरिरह्यौं’ उनले भनिन्, ‘साथीहरूले खाद्य सामग्री र औषधि घरको ढोकासम्मै ल्याइदिन्थे ।’ त्यसो त छिमेकीहरूको साथ र सहयोगले उनको परिवारलाई सहज भएको थियो । करिब एक महिनाको संघर्षपछि परिवारले कोरोनालाई पराजित गर्‍यो । उनी भन्छिन्, कोरोना जित्नका लागि पोषणयुक्त खानेकुरा र प्रशस्त पानी पिउन आवश्यक छ । खानेकुराले नै कोरोना पराजित गर्न सकिन्छ ।’

बोनिताको जस्तै भोगाइ प्रहरी वरिष्ठ उपरीक्षक (​एसएसपी) भीम ढकाल परिवारको पनि छ । उनको परिवारका सदस्यहरूलाई पनि कोरोना भएको थियो । छोराछोरी र आफू संक्रमित भएको केही दिनपछि श्रीमती बिन्दु ढकाल पनि संक्रमित भएपछि गाह्रो भएको उनको भनाइ छ । घरका तीन जनालाई स्याहार गर्दै आइरहेकी बिन्दुले आफू संक्रमित भएपछि घरको ढोका बन्द भएजस्तो लागेको बताइन् । उनले भनिन्, ‘म आफै संक्रमित भई थला पर्दा घरको ढोका बन्द भएझैं भयो ।

अशेष र परिवार

अशेष र परिवार

 

खानपानको तालिका नै भताभुङ्ग भयो । परिवारका चार सदस्य, चारतिर बस्ने अवस्था आयो । सबैजना छुट्टाछुट्टै बस्न बाध्य भयौं ।’ उनी भन्छिन्, ‘सबै छुट्टै बसेकाले एक–अर्कासँग बाहिर बरन्डामा मात्रै भेट हुन्थ्यो ।’ संक्रमित सबैलाई ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्षण देखिएको उनले बताइन् । बिन्दुले भनिन्, ‘ममा भने केही फरक लक्षण देखा परेको थियो । जिउ दुख्ने, खाना नरुच्ने, हिँड्दा–हिँड्दै पसिना छुट्ने र स्वादसमेत हराइसकेको थियो ।’ उनका अनुसार परिवार नै संक्रमित भएपछि आफन्तजन र साथीभाइले आवश्यक सामान घरसम्म ल्याएर छोडिदिन्थे । ‘तर, त्यही सामान पकाएर खान सक्ने आँट कसैको थिएन’ उनले भनिन्, ‘घरमा भान्से खोज्ने अवस्था भयो ।’ यो अवस्थामा भान्साका सहयोगी गाडीका चालक बनेको उनले बताइन् । कोरोना रोगले सबैसँग टाढा बनाइदिएको उनको अनुभव छ । उनले भनिन्, ‘अन्य समयमा सामान्य अवस्थामा परिवार र साथीभाइको सहयोग हुन्थ्यो । तर, अहिलेको समयमा कसैले सहयोग गर्ने अवस्था पनि रहेन ।’

रामेश्वरी परिवार

संक्रमणको जोखिम कम गर्न केही आयुर्वेदिक औषधि पनि खाएको बिन्दुले बताइन् । बेसार–पानी खाने, बाफ लिने क्रम चलिरह्यो । प्रेसर, अक्सिजन अन्य अवस्थाहरूको घरमै नियमित जाँच गरियो । बिन्दूका अनुसार चिकित्सकहरूको परामर्शका कारण धेरै सहज बनाइदियो । अस्पतालको कहालीलाग्दो अवस्थाबारे सुनेकी/देखेकी उनलाई अस्पताल जान नपरे हुन्थ्यो भन्ने लाथ्यो । घरमै बसेर कोरोनाबारे उनको परिवारमा विचार–विमर्श भइरहन्थ्यो । एक–अर्कामा सल्लाह/सुझाव आदान–प्रदान भइरहन्थ्यो । उनको परिवारका सबै सदस्यले योग र ध्यानलाई आफ्नो दिनचर्या बनाएका थिए । यसले मनोबल बढाउने अनुभव उनको छ । कोरोनाको समयमा घरभित्रै बस्न त्यति सहज त पक्कै थिएन । यस बीचमा समय बिताउने पनि आ–आफ्नै तरिका थियो । ‘भीमको अधिकांश समय फोनमै बित्यो’ उनले भनिन्, ‘छोरीले भने चित्र बनाउने गरिन् । मैले भने सकारात्मक कुरामा जोड दिएकी थिएँ ।’ उनका अनुसार सकारात्मक सोचले नै ऊर्जा र रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ । भनिन्, ‘सकारात्मक सोचाइ र परिवारको सहयोगबाटै कोरोना जित्न सम्भव छ ।’ यस्तो समयमा नकारात्मक सूचनाहरूबाट टाढै रहनुपर्ने बिन्दुको सुझाव छ ।

लकडाउनको केही दिन मात्रै बितेको थियो, नाट्यकर्मी अशेष मल्लको परिवारमा पनि कोरोना प्रभाव देखा पर्‍यो । उनकी श्रीमती प्रा.डा. सावित्री कक्षपतिलाई एक्कासि रुघाखोकी लाग्यो । चिकित्सकसँगको परामर्शमा कोरोना परीक्षण भयो । रिपोर्ट पोजेटिभ आयो । तीन दिनपछि अशेष मल्ल र छोरी सम्पदालाई पनि ज्वरो आयो । उनीहरू कुनै द्विविधामा नपरी कोरोना परीक्षण गराए । कोरोना त उनको घरमै फैलिसकेको रहेछ । अशेषका अनुसार परिवारका सदस्यपिच्छे फरक–फरक लक्षण देखा परे । ‘श्रीमतीलाई अत्यधिक ज्वरो आउँथ्यो । तीन वटा सिटामोलले पनि कम गर्न नसक्ने अवस्था थियो’ उनले भने, ‘सम्पदालाई भने पखाला चल्ने भइरह्यो । मलाई सामान्य ज्वरो आएको थियो । साँच्चै यो अचम्मको रोग रहेछ ।’ उनको परिवारले डाक्टरको परामर्शमा घरमै बसेर कोरोना जितेको हो । कोरोना कहरमा स्वास्थ्यमा सुधारका लागि समाचार र सामाजिक सञ्जालबाट सबै टाढा रहेको उनले बताए । ‘समाचार र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुने भएकाले हामीले बन्द गर्‍यौं । महामारी फैलिएसँगै नकारात्मक तथ्यहरू पनि त्यत्तिकै फैलने गरेका छन्,’ उनले भने, ‘अनुसन्धानमै रहेको यो भाइरसबारे विभिन्न टीकाटिप्पणीहरू आउने गरेका छन् । संक्रमणको समयमा नकारात्मक समाचारबाट टाढै रहनुपर्ने उनको सुझाव छ ।

महाव्याधिमा विवाह भोजमा सहभागी हुँदा लेखक रामेश्वरी पन्त श्रीमान् श्रीमती दुवै संक्रमणको चपेटामा परे । उनका श्रीमान् लोकराज पन्त एक विवाह समारोहमा सहभागी भएपछि संक्रमित हुन पुगे । ज्वरोले लोकराजलाई थला पारेपछि चिकित्सक छोराको सल्लाहमा परीक्षण गराउँदा केही ढिला भइसकेको थियो । सामान्य ठानेको ज्वरोले कोरोना संक्रमणसँगै लोकराजलाई निमोनिया भइसकेको थियो । रामेश्वरीले भनिन्, ‘सामान्य ज्वरो भनेर सोच्दासोच्दै निमोनियाँ नै भइसकेको रहेछ ।’

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उनले श्रीमान् लाई भर्ना गराइन् । उनलाई पनि कोरोनाले समाइसकेको थियो । दुई जना मात्रै भएको परिवारमा अस्पताल र घरमा बाँडिए । संक्रमित भई घरमा एक्लै बस्न रामेश्वरीलाई सहज थिएन । तर, अस्पतालको भयावह अवस्थाले घरमै कोरोना जित्ने आत्मविश्वासका साथ उनी कतै नगएको बताइन् । माइग्रेनको सामान्य अवस्था भएकाले उनलाई अत्यधिक टाउको दुख्ने भइरह्यो । नौ दिनसम्म अनवरत रूपमा उनको टाउको दुखिरह्यो । उनको निद्रा त हराइसकेको थियो । अक्सिजन घट्दै गयो, छोराछोरीको परामर्शमा घरमै अक्सिजन लिन थालिन् । संक्रमित भएर थलिँदा उनको साथमा कोही थिएनन् । छोराछोरी दुवै चिकित्सक भएकाले बाहिर हुँदा उनको नजिक कोही थिएनन् । त्यो क्षण सम्झदै उनले भनिन्, ‘उक्त समय कसरी बिताएँ म कल्पनै गर्न सक्दिन । श्रीमान् अस्पतालमा भएकाले सुरक्षित थिएँ । उनलाई खानपानको कुनै समस्या थिएन ।’ तर, रामेश्वरीलाई आफूले आफैंलाई स्याहार्ने बाध्यता थियो । उनले भनिन्, ‘सकी नसकी चारपाउ टेकेर भए पनि आफै पकाएर खाने गर्थें ।’ उनका लागि सामान र औषधि भने नजिकै रहेका बहिनी–ज्वाईंले व्यवस्था गरिदिन्थे । छोराछोरीले पनि निरन्तर फोनमा परामर्श दिइरहेको उनले बताइन् । ‘छोराछोरी र बहिनी–ज्वाईंको सहाराले राहत मिल्यो’ उनले भनिन् । दश दिनको समय उनले जीवनकै संघर्षरत दिनहरूका रूपमा बिताइन् । उनी एक्लै रहेर पनि कोरोना जित्न सफल भइन् । उनले कोरोनालाई लापरबाही गर्न नहुने बताइन् । ‘यो रोगलाई सामान्य रूपमा लिएमा घातक हुने रहेछ,’ रामेश्वरीले भनिन् ।

बेसक्याम्पमै कोरोना लाग्दा

हिमाल आरोही माया शेर्पा वैशाखको पहिलो साता धौलागिरि हिमालको चुचुरो चुम्ने उद्देश्यका साथ आधार शिविर पुगिन् । त्यहाँ पुग्दा अन्य केही व्यक्तिमा कोरोनाका लक्षणहरू देखिए । अन्यमा ज्वरो आउने, खोकी लाग्ने लक्षणहरू देखिए पनि उनीहरूमा भने कोरोना नै पुष्टि भयो । करिब ४५ सय मिटर पुगेकी उनलाई ज्वरो आउने सास बढ्ने, जिउ गल्ने जस्तो समस्या भएपछि उनी तत्कालै काठमाडौं फर्केर सिधै अस्पताल भर्ना भइन् । अस्पताल बस्दा उनको अवस्था सामान्य थियो, करिब तीन दिनपछि डिस्चार्ज भइन् । डिस्चार्जपछि उनी सिधै घर जान सकिनन् । उनले भनिन्, ‘घरका अन्य सदस्यलाई जोखिम होला भनेर होटलमै आइसोलेट भएँ ।’ होटलमा एक साताजति बसेपछि फेरि अस्पताल भर्ना हुन पुगिन् । संक्रमणले थप समस्या उनीमा देखा पर्‍यो । सास फेर्न समस्या, खान मन नलाग्ने, हिँड्न नसक्ने समस्याहरू देखा परे । दोस्रो पटक उनी चार दिन अस्पताल बसिन् । अस्पतालमा स्लाइन पानी चढाउनेदेखि औषधिको प्रयोगले उनी ठीक हुँदै गइन् । उनले भनिन्–‘दोस्रो पटक अस्पताल जाने अवस्थामा पुग्दा भने एकदमै होपलेस भइसकेकी थिएँ ।’ दोस्रो रिपोर्ट पनि उनको पोजेटिभ नै आयो । बेसक्याम्पबाट फर्केपछि उनको होटल र अस्पतालको ओहोरदोहोर भइरह्यो । तेस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनी घर फर्किइन् । संक्रमण जितेर घर फर्केकी उनी हिमालको चुचुरोमा फर्कनका लागि पर्खाइमा छिन् । उनले भनिन्, ‘संक्रमण मुक्त भएर घर फर्किएर फेरि हिमाल कहिले चढौंजस्तो भइरहेको छ ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>