Successfully Copied

महामारीमा डटिरहे कलमजीवि

महामारीको समयमा पत्रकार महिलाहरू अंग्रपक्तिमा खटिएर काम गरिरहेका छन् । यो बेला काम नगरे, बाइलाइन नदिए जागिरमा समस्या पनि आउन सक्छ

महामारीमा पत्रकारिता गर्न सोचेजस्तो सजिलो छैन । ज्यान हत्केलामा राखेर पत्रकारहरूले पेसागत धर्म निर्वाह गरिरहेका छन् । तिनैमध्येकी एक हुन् नेपालगञ्जमा रहेर कान्तिपुर दैनिकका लागि रिपोर्टिङ गर्ने मधु शाही । उनले कोरोनाको केन्द्रबिन्दु बाँकेबाट निरन्तर स्थलगत रिपोर्टिङ गरिरहेकी छन् । एउटा मास्क र स्यानिटाइजरका भरमा अस्पतालमा दिनभरि कुरेर लेखिएका समाचार छापिँदा उनी भावुक बन्ने गर्छिन् । ‘मृत्युको समाचार लेख्दा कसको मन न दुख्ला र ?’ उनी भन्छिन्, ‘अझै पीडा त त्यतिबेला हुन्छ, जब अक्सिजन नपाएर बिरामी घिटीघिटी हुन्छन्, अनि त्यही समाचार बनाउनुपर्छ ।’ त्यसो त मधुका लागि महामारीमा पत्रकारिता गर्नुको चुनौती र संघर्ष आफैंमा नौलो छ । उनी कहिले संक्रमितमाझ पुगेर समाचार लेख्छिन् भने कहिले तिनै संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने समाचार लेख्छिन् । कोरोनाको दोस्रो लहर सुरु भएलगत्तै बाँके हटस्पट बन्यो । घरबाहिर निस्किने अवस्था थिएन । अस्पताल गएर रिपोर्टिङ गर्नु भनेको मृत्यु वरण गर्नुजस्तै थियो । बिरामी र अस्पतालको अवस्थाबारे सत्यतथ्य टेलिफोनबाट आउन मुश्किलै हुन्छ । तर, मधुले आफ्नो कर्तव्य निर्वाहलाई प्राथमिकतामा राखिन् । हिम्मत जुटाएर कोभिड अस्पतालमा गएर रिपोर्टिङ गरिन् । अस्पतालको त्यो डरलाग्दो दृश्यले उनलाई अझै झस्काइरहेको छ ।

मधुले आफ्ना अनुभव यसरी साटिन्, ‘अस्पताल प्राङ्गणमा संक्रमितको भीड लागेको थियो । मुखमा अक्सिजन झुन्ड्याएर बिरामीहरू लडिरहेका थिए । बेड अभावका कारण अस्पतालबाट फर्किनेहरूको संख्या उत्तिकै थियो । अस्पतालमा कहालीलाग्दो अवस्था थियो । महामारी सायद यही हो भन्ने महसुस गरें ।’ एकदिन उनले दिनभर अस्पतालमै बिताइन् । घर फर्केर तत्कालै समाचार बनाइन् । भोलिपल्ट पत्रिकाको पहिलो पृष्ठमा छापियो । छापिएको खुसीभन्दा उनलाई तिनै अस्पतालका दृश्यले चिमोटिरह्यो । उनी भन्छिन्, ‘अस्पतालको कहालीलाग्दो त्यो दृश्य मानसपटलमा घुमिरहन्छ, बेला–बेला झस्काउँदै मन बेचैन बनाउँछ ।’

महाव्याधिमा अग्रपंक्तिमा खटिँदा परिवारका सदस्यमा जोखिम उत्तिकै थियो । जब उनी घर फर्कन्थिन् पाँच वर्षका छोरा काखमा आउन खोज्दा निर्धक्क राख्न सक्दिनथिन् । घर फर्कदा उनलाई सधै लाग्थ्यो, कतै संक्रमित पो भएँ कि ? उनी भन्छिन्, ‘बाबुलाई पनि निर्धक्कसँग अंगालोमा बेर्न सकिन, मनमा डर भइरह्यो । त्यो क्रम अझै पनि छ ।’ उनलाई आफ्नो पेसागत धर्मसँगै घरको जिम्मेवारी पनि उठाउनै परेको छ । पत्रकार महासंघकी पूर्वकेन्द्रिय सदस्यसमेत रहेकी उनी भन्छिन्, ‘महिलाहरू दोहोरो जिम्मेवारी निर्वाह गरिरहेका छन् । तर, यसलाई समस्या होइन अवसरका रूपमा लिएकी छु ।’

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले महामारीको दोस्रो लहर थेग्न सकेन । ‘देश सञ्चार डटकम’ की वरिष्ठ सम्वाददाता दीपा दाहाल महामारीको रिपोर्टिङ गर्न पुग्दा अन्य बेलाको भन्दा फरक दृश्य उक्त अस्पतालमा देखिन् । अस्पतालको गेटबाटै अत्यासलाग्दो भीड देख्दा सुरुमा त उनी आत्तिइन् । आफू नै निस्सासिएको जस्तो अनुभव उनले गरिन् । संक्रमितहरू अस्पतालको पिढीदेखि गल्लीसम्ममा लडिरहेको दृश्य अझै पनि उनको आँखा अगाडि घुमिरहन्छ । ‘टेकु अस्पताल पुग्दा अत्यासलाग्दो अवस्था थियो’ उनी भन्छिन्, ‘महामारी भयावह भएको अनुमान सहजै गर्न सकिन्थ्यो ।’

दीपालाई महामारीमा स्थलगत रिपोर्टिङ गर्न सहज पक्कै थिएन । आफू र परिवार संक्रमित हुने डर उत्तिकै थियो । तैपनि उनी

आफ्नो कर्तव्य निर्वाह गर्न अग्रसर भइन् । सुरक्षाका मापदण्ड पालना गर्दै उनी संक्रमित उपचार हुने अस्पताल नियालिरहिन् । यो महामारीमा काम गर्दा उनलाई असहज र अत्यास लागेको थियो । उनकै अगाडि धेरै बिरामीले ज्यान गुमाए । भेन्टिलेटर, आइसीयु नपाएर छटपटाइरहेको दृश्य देख्दा उनको मन पोलेको थियो । उपचारार्थ बिरामीले कहिले मृत्युवरण गर्लान् र आइसीयु–भेन्टिलेटर पाइएला भनेर पालो कुनुपर्ने अवस्था पनि देखिन् । यस्ता दृश्यले उनलाई मनमा चिन्ता लाग्ने, निद्रा नलाग्ने, छटपटी भइरहने भयो । ‘नागरिकले सास फेर्न नपाएर मर्नु परेको देख्दा एकदमै दुःख लाग्छ, सामान्य उपचारसमेत नागरिकले पाउन सकेनन्’ उनले भनिन् । यो अवस्थामा उनको मनले थामेन । आफूलाई जोखिममा राख्दै उनले संक्रमितहरूलाई सहयोग गरिन् । पेसा पत्रकारिता तर फरक भूमिकामा समेत उनी भेटिइन् । उनले अस्पतालमा पुगेर संक्रमितलाई हौसला दिइरहिन् त कहिले आफ्नै स्कुटरमा बोकेर गन्तव्यमा पुर्‍याइदिइन् । तीमध्ये कतिपय बाँचे भने कतिपयको मृत्यु भयो । बाँचेकाहरू उनका साथी र स्रोत बनेका छन् ।

महामारीमा रिपोर्टिङ गर्दै सरकारी पक्षलाई समेत उनले झस्काइरहेकी छन् । राज्य संयन्त्रबाट भएको ढिलासुस्ती, अनियमिततामा पनि उनका आँखा परिरहे । महामारीसँगै देशको राजनीति बिथोलिँदा नागरिकहरूको मन पनि बिथोलिएको उनी बताउँछिन् । यो अवस्थाले नागरिकहरू आक्रोशित भएको उनले अनुभव गरेकी छन् । महामारीको समयमा नेतृत्वले नागरिकलाई बेवास्ता गर्दा बाँच्न पाउने अधिकार सुनिश्चित नभएको उनीसँग नागरिकहरूले गुनासो गर्ने गरेका छन् । महिला भएकै कारण आफूले फरक सुविधा नलिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘काम गर्ने क्रममा मैले महिला पत्रकार नभई पत्रकार सम्झेर काम गरेँ ।’ मिडिया हाउसहरूले पनि महिलाका लागि छुट्टै सुविधा नदिएको उनको भनाइ छ ।

कोरोना महामारीको दोस्रो लहरमा कान्तिपुरकी रुपन्देही रिपोर्टर सञ्जु पौडेलले पनि फरक अनुभव गरिन् । केही आश बोकेर आउने उनको बिहानी महामारीपछि मृत्युको समाचारबाट सुरु हुने गरेको थियो । दिनको सुरुवात नै यति मानिसको मृत्यु भन्दै समाचार बनाउन थालिन् । अस्पतालबाट आउने फोनले समेत उनलाई झस्काइरहन्थ्यो । महामारीकै कारण रुपन्देहीको अवस्था पनि भयावह नै थियो । दैनिक मृतकको समाचार बनाउँदा आफैंमा उदासीनता छाएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘मृतकको संख्या गणना गर्नुपर्दा साँच्चै नराम्रो महसुस हुँदोरहेछ ।’ महामारीको सूचना दिनका लागि उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै फिल्ड रिपोर्टिङ गरिरहिन् । मापदण्ड पालना गर्दै सूचना प्रदान गरिरहँदा पनि उनी कोरोनाबाट बच्न भने सकिनन् । संक्रमणले उनको सिंगो परिवारलाई भेट्यो । संक्रमणबाट आफन्त समेत गुमाएकी उनी त्यसपछि पनि सक्रिय नै रहिन् । उनले निरन्तर सूचना दिइरहिन् । सञ्जु भन्छिन्, ‘संक्रमित भए पनि दायित्वबाट पन्छिन हुँदैन भन्ने लागेर निरन्तर काम गरिरहें ।’ संक्रमित भएपछि भने उनी फोनबाटै समाचार संकलन गर्न थालिन् । तर, यसरी समाचार संकलन गर्न सहज भने नहुने उनी बताउँछिन् । स्रोतहरू पहिचान गर्नु, भेरिफाइड गर्नु चुनौतीपूर्ण काम रहेको उनको भनाइ छ । घरमै काम गर्दा घरकै कामले उनी थिचिरहेकी हुन्छिन् । घरको काम तथा बच्चाको स्याहारसुसारमा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

जनकपुरस्थित मिथिलाञ्चल एफएमकी रिपोर्टर रिंकुकुमारी मिश्रको अनुभव अन्य पत्रकारको भन्दा फरक छैन । महामारीपछि उनले घरलाई नै अफिस बनाएकी छन् । अफिस जानुपर्ने बाध्यता त हटेको छ तर घरको जिम्मेवारी भने उस्तै रहेको उनको भनाइ छ । ‘सूचना लिने क्रममा कहिले बच्चा रोइदिन्छ, कहिले अरु नै केही काम आइपर्छ । डिजिटल प्रविधिले सूचना संकलन गर्न केही सहज भए पनि जोखिम पनि उस्तै छ’ उनी भन्छिन्, ‘फोनमार्फत समाचार लेख्न सहज छैन ।’ रिंकुले फिल्ड रिपोर्टिङमा जसरी दृश्य उतार्न फोनमार्फत नसकिने बताइन् । एफएमका लागि फोनमार्फत गरे पनि अन्य संचारमाध्यमका लागि भने फिल्डमै जानुपर्ने उनको भनाइ छ । फिल्डमा जाँदा मास्क वा स्यानिटाइजर प्रयोग गरेर जाने गरेको बताइन् । आफू सुरक्षित रहँदै अन्य पत्रकार महिलाहरूको सुरक्षाको जिम्मा पनि उनको काँधमा छ । पत्रकार महासंघकी केन्द्रिय सदस्य रहेकाले उनी माथि प्रश्न उठिरहन्छ । यसकारण जिल्लामा रहेका १५ महिला पत्रकारलाई सुरक्षाका सामग्री उपलब्ध गराउन उनले सहजीकरण गरेकी छन् । उनका अनुसार महासंघको पहलमा प्रदेशस्थित आन्तरिक मामिला मन्त्रालयले सुरक्षाका सामग्रीहरू प्रदान गरेको छ ।

कोरोना महामारी सुरु भएसँगै धेरै सञ्चार माध्यम बन्द भएका छन् । यसको प्रत्यक्ष मारमा परे पत्रकार । धेरैको रोजगारी गुम्यो । गत वर्षका महामारीमा नेपाल पत्रकार महासंघले गरेको सर्वेक्षण अनुसार कुल चार प्रतिशत पत्रकारले रोजगारी गुमाएका छन् । यसमा महिलाको छुट्टै संख्या उल्लेख छैन ।  सञ्चार क्षेत्रमा संकट आउनासाथ महिलाहरू नै जोखिममा पर्ने गरेको बताउँछिन् अधिकारकर्मी तथा सञ्चारकर्मी वन्दना राणा । सञ्चारगृहमा महिलालाई सामान्य बिटमा काम लगाउने कारणले पनि यो समस्या आउने गरेको उनको भनाइ छ । संकट आउनासाथ रोजगारी गुमाउने, समयमा तलब नपाउनेहरूमा महिला नै पीडित हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘संकट आउनसाथ सबैभन्दा पहिले महिलाहरू नै फालिने गर्छन्, महिलाहरू पेसाप्रति सुनिश्ििचत हुन सकेका छैनन् ।’ महामारीको समयमा पत्रकार महिलाहरूले पुरुषसरह काम गर्ने, फिल्डमा खटिँदै जोखिमपूर्ण काम गरे पनि सरोकारवाला, सम्बन्धित संघसंस्थाबाट कुनै प्रेरणा मिल्न नसकेको उनीहरूको गुनासो छ । संघसंस्थाले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको दाबी गरे पनि पत्रकार महिलाहरूले पाउन सकेका छैनन् । सामान्य सोधीखोजी समेत नभएको उनीहरू बताउँछन् । यस विषयमा सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित भने महामारीका समयमा आफूहरू निरन्तर सम्पर्कमा रहेको दाबी गर्छिन् । उनी भन्छिन्, ‘केही साथीहरू छुट्नुभयो होला तर हामीले निरन्तर छलफल चलाइरहेका छौं ।’ महामारीको लहरमा बाहिरी जिल्लामा महिलाहरूको समस्या सुन्ने र उनीहरूको काम गर्दाको अनुभव समेट्ने प्रयास गरेको उनको भनाइ छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई सुरक्षाका सामग्रीहरू प्रदान गर्दै उनीहरूका सुरक्षाका विषय उठेकाले आवश्यक कदम चालिने प्रयास भइरहेको बताउँछन् ।

‘परामर्शमा छौं’

नितु पण्डित, अध्यक्ष, सञ्चारिका समुह

महामारीको समयमा पत्रकार महिलाहरू अंग्रपक्तिमा खटिएर काम गरिरहेका छन् । यो बेला काम नगरे, बाइलाइन नदिए जागिरमा समस्या पनि आउन सक्छ । त्यसैले काम गर्नैपर्ने अवस्था छ । सुरक्षित भई कसरी काम गर्ने भन्ने अहिलेको मुख्य चुनौती हो । धेरैजसो ‘वर्क फ्रम होम’ र ‘भर्चुअल’ माध्यमबाट काम भइरहेका छन् । पत्रकारितामा केही यस्ता विधा छन् जुन फिल्डमा नगई गर्न सकिन्न । महिलाहरूले घर, बच्चाको जिम्मेवारीसँगै परिवारलाई समेत सुरक्षित राख्नुपर्ने हुन्छ । हामीले महिलाहरूसँग सञ्चारिका समूहमार्फत छलफल चलाइरहेका छौं । सँगैका साथी संक्रमित हुने, अस्पतालको भयावह स्थितिले मानसिक तनाव हुनेजस्ता समस्याहरू महिलामा देखिएका छन् । गत वर्ष पत्रकार महिलाहरूको अनुभव समेट्दै पुस्तक प्रकाशनमा ल्याएका छौं । पत्रकार महिलाका समस्या सुन्ने र उनीहरूको काम गर्दाका अनुभव समेट्ने प्रयास गरिरहेका छौं ।

‘रोजगारीको सुनिश्चितता आवश्यक’

वन्दना राणा, सञ्चारकर्मी तथा अधिकारकर्मी

महामारी आउनासाथ सञ्चारगृहहरू बन्द हुन थाले । यसको प्रत्यक्ष असर पत्रकार महिलाहरूमा पर्न गयो । पुरुषको तुलनामा पत्रकार महिलाहरूले नै रोजगारी गुमाए भन्ने लाग्छ । सञ्चार गृहमा महिलाहरूले पुरुषसरह नै काम गरेका हुन्छन् । तर, सधै जोखिम र रोजगार गुमाउनेमा महिला नै बढी हुन्छन् । अपवादबाहेक धेरै सञ्चारगृहमा त महिलाहरूको सुरक्षा नै छैन । त्यसकारण महिलाहरू पलायन भइरहेका छन् । महिलाका विषय खोतल्न र बाहिर ल्याउन महिला नै चाहिने कुरा अहिले स्थापित भइसकेको छ । महामारीमै महिलाहरूका धेरै विषय उठ्ने गर्छन् तर महिलाहरू नै विस्थापित हुँदा ती विषय पनि विस्थापित हुन्छन् । जति महिलाहरू ढुक्क भएर हिँड्न र काम गर्न पाउँछन् त्यति नै मनोबल पनि बढ्छ । त्यसैले सञ्चारगृहमा महिलाहरूको रोजगारीको सुनिश्चितता आवश्यक छ ।

‘उजुरी आए आवश्यक कदम चाल्छौं’

विपुल पोखरेल, अध्यक्ष, नेपाल पत्रकार महासंघ

महामारीमा पत्रकार महिलाहरूले चुनौतीका बीच काम गरिरहेका छन् । जोखिम मोल्दै फिल्डमा खटिएर घरको जिम्मेवारी पनि पूरा गरिरहेका छन् । संक्रमित पनि भइरहेका छन् । पछिल्लो समयमा सञ्चारगृहमा महिलाहरू निकालिने क्रम बढेको छ । रोजगार गुमाउने पत्रकार महिलाको संख्या यति नै भनेर निश्ििचत गर्न सकिएको छैन । महासंघमा आउने उजुरीका आधारमा हामीले भन्ने हो । हालसम्म पारिश्रमिक नपाएको, जागिरबाट निकालिएको तीन महिलाबाट उजुरी आएको छ । यसका लागि आवश्यक कदम चाली रोजगारको सुनिश्चितता गर्नेछौं । समस्या र उजुरी आए महासंघले सम्बोधन गर्नेछ । हामीले महासंघमार्फत सुरक्षाका सामग्री प्रदान गरेका छौं । गर्भवती र महिनावारीका कारण खोप लगाउन छुटेका महिलाहरूलाई लगाउन पनि पहल गरेका छौं । महिला लक्षित महासंघमा पाँच आइसोलेसन बेड पनि तयार गरेका छौं ।

सञ्चारगृहमा महामारीको मार

अघिल्लो वर्ष कोरोना महामारीमा सञ्चारगृहरूले पत्रकारहरूको सेवा–सुविधा कटौती गरेको, बेतलबी बिदामा राखेको र कामबाट निष्काशनसमेत गरेको नेपाल पत्रकार महासंघको प्रतिवेदनमा उल्लेख छ । पत्रकार महासंघले २०७७ वैशाख २२ गते देखि २०७८ वैशाख १४ सम्म गरेको सर्वेक्षणपछि जारी ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन’ मा २०० सञ्चारगृह बन्द भएको, चार प्रतिशत पत्रकार जागिरबाट निकालिएको र ६ प्रतिशतलाई बेतलबी बिदामा पठाएको उल्लेख छ । त्यस्तै, ९ प्रतिशत पत्रकारले तलब पाउन नसकेको, ४० प्रतिशतभन्दा बढी पत्रकारको पेसा र आम्दानीमा असर परेको तथा करिब ७० प्रतिशतले समाचार संकलनमा असहजता महसुस गरेको प्रतिवेदनमा छ । प्रतिवेदनअनुसार पेसागत असुरक्षाका घटनाबाट ५१७ पत्रकार पीडित भएका छन् ।

 Image