तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।
प्रायः मरमसलादेखि खाद्यान्न सामग्रीहरू बढी किनिन्छ ।
भाइ मसला
भाइ मसला अर्थात् ‘ड्राई फ्रुट्स’ अन्तर्गत काजु, किसमिस, ओखर, बदाम, छोकडा, नरिवल आदि पर्छन् । भाइटीकाका दिन चेलीले माइतीलाई विभिन्न परिकारसँगै ‘ड्राई फ्रुट्स’ दिने प्रचलन छ । यी खाद्यवस्तु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको प्रयोगले शारीरिक, मानसिक वृद्धिविकाससँगै रोग प्रतिरोधात्मक क्षमता बढाउने र कोलेस्टेरोलसमेत नियन्त्रण गर्ने चिकित्सकहरूको भनाइ छ ।
भाइ मसलाको बिक्री बढाउन व्यापारीहरूले विशेष किसिमले सजावट गर्न थालेका छन् । बजारमा मिसावटी, बिग्रिएका र पुराना ‘ड्राई फ्रुट’ हुन सक्छन् । त्यसैले खरिद गर्दा सावधानी अपनाउनुपर्छ । आफ्नो रुचिअनुसार यो घरमै पनि तयार गर्न सकिन्छ । बजारमा यी खाद्यवस्तुको मूल्य सयदेखि तीन हजार रुपैयाँसम्म पर्छ । फुटपाथ र सपिङ मलहरूमा यी खरिद गर्न सकिन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार ०७९ साउनदेखि भदौसम्म १ अर्ब ३७ करोड ६७ लाख २३ हजार रुपैयाँको ‘ड्राई फ्रुट्स’ आयात भएको छ । भारत, चीन, युएई, भियतनाम, इन्डोनेसिया, दक्षिण अफ्रिका, कतार, अमेरिका, पाकिस्तानलगायतका देशबाट यस्ता उत्पादन आयात हुन्छन् । गत वर्ष १४ अर्ब बराबरको ‘ड्राई फ्रुट्स’ आयात भएको भन्सार विभागको तथ्यांकमा छ ।
रंगीबिरंगी रंगोली
तिहारमा घरको आँगन वा प्रवेशद्वारमा रंगोली बनाउने चलन छ । यसले घरलाई आकर्षक देखाउँछ । यसरी रंगोली बनाउनु शुभ मानिन्छ । साजसज्जाका लागि रंगोली बनाइए पनि यसको धार्मिक महत्व उत्तिकै छ । दीपावलीको दिन लक्ष्मीको आगमन र उनलाई प्रसन्न पार्नका लागि घर सफा गरी रंगोली बनाए परिवारको सुख–समृद्धि बढ्ने विश्वासले हरेकको घर–आँगनमा रंगोली बनाइन्छ ।
रंगोली रंगबाट मात्र नभएर चामल, सयपत्री, गोदावरी आदि फूलहरूबाट पनि बनाउन सकिन्छ । तिहारमा बनाइने प्रायः रंगोलीमा गणेश, लक्ष्मीको पाइला, स्वस्तिक चिन्ह, शुभ लाभ, शुभ दीपावली, कमलका फूल आदि चित्र अंकित भएकै हुन्छ । बजारमा रंगोली बनाउन सहयोगी तयारी सामान (चाल्नी) पाइन्छ । चाल्नीमा रंग भरेर राखेपछि रंगोली तयार हुन्छ । यस्तो चाल्नी बजारमा विभिन्न डिजाइनमा उपलब्ध छ । गणेश, कमलको फूल, लक्ष्मीको पाइला, फूलजस्ता डिजाइन अंकित चाल्नी पाइन्छ । जसको सहायताले रंगोली छिटो र राम्रो बन्छ । तिहारको बेला धेरै काम गर्नुपर्ने भएकाले समयको अभाव हुन्छ । त्यसैले यो उपयोगी हुन सक्छ ।
झिलिमिली बत्ती
तिहारमा घर–घरमा मात्र नभएर सपिङ मलदेखि विजनेस कम्प्लेक्ससम्म झिलिझिली बत्तीले सजाइन्छ । त्यसैले यतिबेला इलेक्ट्रिक पसलहरूमा ग्राहकको चहलपहल देख्न सकिन्छ । लोडसेडिङ हटेपछि त अझ झिलिमिली बत्तीको माग बढेको छ । अन्य समयको तुलनामा तिहारमा यी बत्तीहरूको व्यापार पाँच गुणा बढी हुने व्यापारीहरू बताउँछन् । यस्ता बत्ती नेपालमा बन्दैन्, भारत र चीनबाट आयात हुन्छन् । त्यसमध्ये ९० प्रतिशत बत्ती चीनबाट आयात हुन्छ ।
बजारमा विभिन्न डिजाइनका झिलिमिली बत्तीहरू पाइन्छन् । जसको मूल्य न्यूनतम प्रतिगोटा ५० देखि ३० हजार रुपैयाँसम्म पर्छ । पछिल्लो समय क्लबमा धेरै प्रयोग हुने ‘डिस्को लाइट’ पनि प्रयोग गर्न थालिएको छ । त्यस्तै, पहिला बल्बवाला बत्ती आउँथे भने अहिले एलइडी बल्ब भएका आउँछन्, जुन सजिलै बिग्रदैनन् । यिनलाई सुरक्षित तरिकाले राख्न सकियो भने अर्को वर्ष पनि पुनः प्रयोग गर्न सकिन्छ । एलइडी लाइटको मूल्य दुई सयदेखि २ सय ५० सम्म पर्छ । त्यसबाहेक बजारमा दियो लाइट, टेप लाइट, पाइप लाइट, लेजर लाइट, होल्डर लाइट, ट्रि लाइट, फ्रुट लाइटहरू पाइन्छन् ।
मैनबत्तीको आकर्षण
वास्तुशास्त्रमा मैनबत्तीको विशेष महत्व छ । यो बत्तीले घरको नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा ल्याउँछ । बजारमा विभिन्न रंग, डिजाइन र साइजका मैनबत्ती उपलब्ध छन्, जुन आकर्षक पनि हुन्छन् । मैनबत्तीलाई सुगन्धित बनाउन विभिन्न किसिमको सुगन्ध मिसाएर बनाइन्छ । यस्ता मैनबत्तीलाई बाल्दा उज्यालोसँगै यसको सुगन्ध घरको चारैतिर फैलन्छ । यसको सुगन्धले मनलाई शान्त बनाउँछ ।
क्रिस्टल,
फ्लोटिङ, म्याजिकलजस्ता विभिन्न प्रकारका मैनबत्ती बजारमा पाइन्छन् । यिनको मूल्य पाँच रुपैयाँदेखि चार हजारसम्म पर्छ ।
इको फ्रेन्डली माटोको दियो
हुनत पछिल्लो समय बजारमा विद्युतीय दियो छ्यापछ्याप्ती पाइन्छन् । यस्ता विद्युतीय दियो न निभ्ने डर हुन्छ न तेल थपिरहनुपर्ने झन्झट । यो बत्ती एकपटक जोडेपछि एकनासले बलिरहन्छ । यद्यपि माटोको दियोको क्रेज अझै घटेको छैन । यसमा कुनै रसायनहरू मिसाइएको हुँदैन । त्यसैले पर्यावरणमा कुनै असर गर्दैन । यसलाई चोखो मानिन्छ । यस्तो दियो नेपालमै बन्छ । भक्तपुर माटोको दियो बन्ने प्रमुख थलो हो । माटोको दियो सस्तो हुन्छ र यसले तिहारको बेला बेग्लै रौनक थप्छ । माटोको दियोलाई पेन्टिङ गरेर विभिन्न डिजाइनमा सजाउन पनि सकिन्छ । यसले दियो अझ सुन्दर देखिन्छ । यो सय वटाको दुई सय रुपैयाँसम्म बजारमा बिक्री हुन्छ ।
उपहार के दिने ?
तिहारमा दिदीबहिनी वा दाजुभाइले आफ्नो क्षमतानुसार उपहार लिने–दिने चलन छ । यसले उनीहरूको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्छ । एक–अर्काले तिहारमा मिठाईं, लत्ताकपडा एवं खानेकुरा दिने चलन छ । यद्यपि पछिल्लो समयमा भने केही परिवर्तन आएको छ । उनीहरू एक–अर्काको आवश्यकता बुझेर उपहार दिन थालेका छन् । मोबाइल, ल्यापटप, स्कुटर, मोटरसाइकल, कार आदि महँगा उपहार दिने चलन पनि बढेको छ ।
चकलेट सस्तो र सजिलो उपहार हो । पछिल्लो समय उपहारका लागि घडी उपयुक्त हुनसक्छ । बजारमा विभिन्न ब्रान्डका घडीहरू उपलब्ध छन् । नेपाली बजारमा घडीको मूल्य एक हजारदेखि सुरु हुन्छ ।
केटीहरूका लागि
ह्यान्ड ब्याग वा पर्स दिन सकिन्छ । प्रायः केटीहरू ब्यागप्रेमी हुन्छन् । नेपाली बजारमा धेरै प्रकारका स्वदेशी तथा विदेशी ब्रान्डका ब्याग उपलब्ध छन् । जसको मूल्य ५ सयदेखि सुरु हुन्छ । दिदीबहिनीहरूले पनि दाजुभाइलाई ब्याग अथवा वालेट उपहारस्वरूप दिन सक्छन् । ज्वेलरी दिदीबहिनीहरूका लागि सबैभन्दा मन पर्ने उपहार हुनसक्छ । बजारमा थरीथरीका डिजाइनमा यस्ता ज्वेलरी उपलब्ध छन् । आफ्नो क्षमतानुसार उपहारका रूपमा यो दिन सकिन्छ ।
चाडपर्वको अवसर पारेर विभिन्न इलेक्ट्रोनिक कम्पनीहरूले नयाँ ग्याजेटहरू विशेष छुट वा अफरमा बजारमा भित्र्याउँछन् । यसको फाइदा उठाउँदै उपहारका रूपमा एक–अर्कालाई दिन सकिन्छ । सजावटमा रुचि हुनेहरूलाई तिहारमा सजावटका सामान दिन सकिन्छ । भगवान्प्रति आस्था हुनेहरूलाई भगवान्का मूर्ति उपहारस्वरूप दिन सकिन्छ । लक्ष्मी, गणेश, शिव–पार्वती, राधा–कृष्ण एवं बुद्धका मूर्तिलाई उपहारका रूपमा दिन सकिन्छ । यस्ता उपहार दिनु शुभ मानिन्छ । यिनको मूल्य ५ सयदेखि २५ हजार रुपैंयाँसम्म पर्छ । त्यसका साथै कलाप्रति रुचि हुनेहरूलाई पेन्टिङ उपहारमा दिन सकिन्छ । उपहारका लागि सनग्लास पनि उपयुक्त हुन सक्छ । बजारमा विभिन्न ब्रान्डका सनग्लास पाइन्छन् । अहिले चलेका सनग्लास दिन सकिन्छ । नेपाली बजारमा यसको मूल्य १ हजारदेखि सुरु हुन्छ । एक–अर्कालाई उपहारका रूपमा पुस्तक पनि दिन सकिन्छ । उपन्यास, जीवनोपयोगी पुस्तक एवं कथाका पुस्तकका साथै कुनै प्रख्यात व्यक्तिको जीवनीलाई उपहारका रूपमा दिन सकिन्छ ।
दीपावलीमा फूलको व्यापार
दीपावली–तिहार फूलैफूलको चाड हो । यो चाडमा सबैभन्दा बढी व्यापार फूलकै हुन्छ । मखमली र सयपत्री फूलको विशेष महत्व हुन्छ । नेपाली बजारमा केही वर्षयता फूलको व्यापार राम्रै हुन थालेको छ । अन्य समयको तुलनामा तिहारमा फूल बढी बिक्री हुने गरेकाले यसको व्यापारमा अन्तर्राष्ट्रिय बजार पनि प्रभावित भएको पाइन्छ । पूजाआजामा मात्र सीमित फूलको प्रयोग स्वागत र बिदाइमा पनि हुन थालेको छ ।
बारीका डिलमा वा अन्य कुनै खाली जग्गाको छेउछाउमा फूल लगाउने चलन नेपाली समाजमा परापूर्वकालदेखिकै हो । नेपाली समाजमा देवीदेवताको पूजा गर्दा होस् वा अन्य शुभकार्यमा फूलको प्रयोग हुने गरेकै हो तर पछिल्लो समय फूलको प्रयोगमा व्यापकता आएको छ । पहिले–पहिले पूजामा मात्र सीमित फूल पछिल्लो समय खेतीका रूपमा समेत लोकप्रिय बनेको छ । नेपाली चाडपर्वमा पर्याप्त मात्रामा फूलको प्रयोग हुन्छ भन्ने एकमात्र उदाहरण दीपावली हो ।
दीपावलीमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने महत्वपूर्ण मालामध्ये मखमली फूलको माला पनि पर्छ । यो फूलको मालाबिनाको तिहारको कुनै महत्व नै नभएको पाइन्छ । फूलको धार्मिक, सांस्कृतिक, जैविक महत्व पनि व्यापक रूपमा रहेको पाइन्छ । फूललाई आयुर्वेदले औषधिका रूपमा पनि उल्लेख गरेबाट यसको महत्व व्यापक रहेको पुष्टि हुन्छ । फूलबाट सुगन्धित प्रसाधन, अत्तर आदि पनि निर्माण हुने भएकाले प्रायः सबैलाई फूलले आकर्षित गरिरहेकै हुन्छ ।
तिहारको बेला घर, पसल, चोक वा सबैतिर सजाउन फूलको माला आवश्यक पर्छ । नेपालमा गरिने फूलको व्यापारले व्यावसायिक रूप लिन नसक्दा नेपालीहरू विदेशको भर पर्नुपरेको छ । देशका विभिन्न भागमा गरिएको फूलको खेतीले देशको माग धान्न सक्ने अवस्था छ्रैन । खासगरी भारतबाट नेपालमा बढी फूल निर्यात हुन्छ । नेपालमा फूलको बढी कारोबार र खपत काठमाडौंमै हुन्छ । स्थानीय फूलको बीउ लोप भइसकेकाले नेपाली कृषक विदेशी फूलको बीउमा निर्भर छन् । यो नेपाली कृषकका लागि ठूलो दुःखको कुरा हो । नेपालमा लगाइने अधिकांश फूलका बीउ भारतबाटै निर्यात गरिन्छ ।
एकातिर स्वदेशमा उत्पादन गरिएको फूलको मूल्यभन्दा भारतीय बजारबाट आयात गरिएको फूलको मूल्य कम भएका कारण फूल उत्पादकहरूले घाटा खेप्नुपरेको छ । त्यस्तै, स्वदेशमा उत्पादन भएको फूलको भण्डारण व्यवस्थित हुन नसक्दा पनि हाम्रा चाडपर्वमा फूलको अभाव हुने गरेको हो । चितवन, धादिङ, नुवाकोट, काभ्रे, ललितपुर आदि ठाउँमा उत्पादन हुने गरेका मखमली र सयपत्री फूलले बजारको माग धान्न नसकेका कारण हाम्रो फूल बजार अन्य विदेशी फूल बजारमा निर्भर हुनुपरेको हो ।
नेपालमा व्यावसायिक फूल खेती हुन सकेको छैन । त्यस्तै फूलको शीतभण्डार नभएका कारण पनि नेपाली बजार विदेशमा भर पर्नुपरेको हो । देशका विभिन्न भूभागमा स्थापना भएका नर्सरीहरूले फूलको व्यावसायिक उत्पादन गर्न नसक्दा पनि यसको समस्या दिनहुँ बढ्दै गएको हो । सरकारको स्पष्ट नीति तथा कार्यक्रमको अभावका कारण पनि यो क्षेत्रको विस्तार हुन नसकेको हो । दिनहुँ थुप्रै युवा विदेश पलायन भएको अवस्थामा सरकारले स्पष्ट नीतिको तर्जुमा गर्ने हो भने बेरोजगारीको समस्या पनि केही हदसम्म न्यून हुनसक्छ । यसले देशको अर्थतन्त्र पनि मजबुत हुनसक्छ । सरकारले यसतर्फ बेलैमा ध्यान दिनु आवश्यक छ ।