मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।

टिकटक नहेरे त कुन गीत रिलिज भयो भनेर आजभोलि थाहै हुँदैन’ गायिका इन्दिरा जोशीले एक अन्तर्वार्तामा भनेको वाक्य हो यो । उनले भनेजस्तै पछिल्लो समय टिकटक रमाइलो सँगसँगै जानकारी लिने प्लेटफर्म बन्दै गएको छ । हरेक उमेर समूहका व्यक्तिमा यसको क्रेज बढ्दो छ । गीतमा लिपसिङ गर्दै बनाइने टिकटक भिडियो पछिल्लो समय व्यापार बढाउने माध्यमसमेत बन्दै गएको छ । आफ्ना सामानहरूको छोटो परिचय दिँदै टिकटकमा भिडियो हाल्ने क्रम बढेसँगै व्यापार पनि फस्टाउँदै गएको छ । अझ भनौं सामानको विज्ञापनका लागि टिकटक प्रभावकारी बन्दै गएको छ । बानेश्वरस्थित पूनम ब्युटी एकेडेमीकी सञ्चालिका पूनम श्रेष्ठले पार्लरमा उपलब्ध कस्मेटिक सामग्रीहरू टिकटकमा हाल्छिन् । आफ्नै आवाजमा भिडियो बनाउँदै पोस्ट गर्छिन् । सामानको परिचय र यसको उपयोगिता भिडियोमा उल्लेख गर्छिन् । उनको टिकटक भिडियो हेरेपछि थुप्रै कमेन्ट आउँछन् । उनलाई धेरैले सनस्किनका बारेमा सोध्छन् । उनी भन्छिन्, ‘मलाई कस्तो सनस्किन लगाउने भनेर धेरैले प्रश्न गर्नुहुन्छ ।’ उनले टिकटकमार्फत धेरै ग्राहक पाएकी छन् । टिकटकसँग जोडिँदै उनले आफ्ना प्रोडक्टहरू अस्ट्रेलिया, अमेरिकासमेत पठाइसकेकी छन् । काठमाडौंबाहिर धेरै ठाउँमा उनले सामान बेचिसकेकी छन् । क्रिमहरूबारे जानकारी दिएकाले पनि ग्राहकहरू आकर्षित हुने गरेको उनी बताउँछिन् । उनी कस्मेटिक सँगसँगै घरायसी प्रयोगबारेमा पनि जानकारी दिइरहेकी हुन्छिन् । आफूले टिकटकमा कस्मेटिक र घरायसी सामग्रीहरूको प्रयोगबारे सही सूचना दिने गरेको उनी बताउँछिन् । उनका टिकटकमा २२ हजार फलोअर छन् । यसले गर्दा उनी एकैपटक धेरैमाझ पुग्ने गर्छिन् । टिकटकले उनलाई व्यापार सँगसँगै ब्युटी टिप्स दिन सहज भएको छ ।
भक्तपुरकी रसला कार्की (नाम परिवर्तन) टिकटक हेरेरै शान्तिनगरस्थित एक कस्मेटिक पसलमा पुगिन् । उनले उक्त पसलबाट सनस्किन, फाउन्डेसन, आइग्लासजस्ता कस्मेटिक सामग्रीहरू किनिन् । यसका लागि उनले विभिन्न कम्पनीका कस्मेटिक सामग्री छनोट गरिन् । ‘टिकटकमा देखेर नै यहाँ सामान किन्न आइपुगेकी हुँ’ उनी भन्छिन्, ‘यहाँका सामान राम्रो भएजस्तो लागेर किनें ।’ उनले उक्त टिकटकमा स्किनअनुसारको क्रिमबारे जानकारी पाएकी थिइन् । कस्तो कस्मेटिक सामान प्रयोग गर्ने उनी अनभिज्ञ थिइन् टिकटक जानकारीका लागि उपयुक्त प्लेटफर्म हुन थालेको उनी बताउँछिन् ।
टिकटकबाटै सही कस्मेटिक सामान रोज्न सहयोग पुगेको उनको भनाइ छ । ‘टिकटकमार्फत नै हरेक कुराको जानकारी पाउँछु, उनी भन्छिन्, ‘टिकटक नहेरे त केही थाहै हुँदैन’ इलामकी सिर्जना सुब्बाले पनि टिकटकबाट व्यापार गर्न थालेको दुई वर्ष भइसक्यो । उनले टिकटकबाटै फेन्सी सामानहरूको थुप्रै व्यापार गरिसकेकी छन् । उनले टिकटकबाट साथीहरू जोड्दै आएकी छन् । पछिल्लो समय अनलाइन व्यापारभन्दा पनि टिकटक निकै प्रभावकारी हुन थालेको उनी बताउँछिन् । भन्छिन्, ‘अहिलेको समयमा व्यापारका लागि टिकटक निकै प्रभावकारी हुन थालेको छ ।’ टिकटक भिडियो देखेर अर्डर गर्नेहरूको संख्या बढ्दै गएको उनी बताउँछिन् । इलाममा बसेर उनले काठमाडौं, बुटवल, धरान, बिर्तामोड आदि ठाउँमा फेन्सीका साथै रेडिमेड सामानहरू बेचिसकेकी छन् । उनी फेन्सी सामानहरूको भिडियो सँगसँगै फूलहरूको पनि भिडियो बनाउँछिन् । फूलहरूको भिडियो खिचेर उनले टिकटकमा हाल्ने गर्छिन् । भिडियो सँगसँगै उनले विभिन्न जानकारी पनि दिने गर्छिन् । फूल कसरी जोगाउने ? कस्तो मल प्रयोग गर्ने ? यस्ता थुप्रै जानकारी उनको टिकटक भिडियोमा राखेकी छन् । यसले गर्दा फूलको समेत व्यापार गर्न उनलाई टिकटकका फ्यानहरूले सुझाव दिने गरेका छन् ।
अनामनगरकी सुशीला कार्कीले टिकटकको माध्यमबाट हरेक सामान किन्न सहज भएको बताउँछिन् । कोरोना महामारीका कारण उनले लकडाउन सुरु भएसँगै टिकटक चलाउन थालिन् । टिकटकले हरेक कुरालाई सहज बनाएको उनी बताउँछिन् । टिकटकबाटै उनले घरायसी सामान, फेन्सी सामानदेखि कस्मेटिक सामान जोडेकी छन् । यति मात्र नभई विभिन्न परिकार बनाउन टिकटकबाट उनले सिकेकी छन् । हेर्दा रमाइलो लाग्नुका साथै ज्ञान लिनका लागि पनि उपयोगी बनेको छ टिकटक उनका लागि । टिकटकमा सामानको पूर्ण जानकारी हुनाले पनि धेरै सोच्नु नपर्ने उनी बताउँछिन् । घरमै बसेर टिकटकबाट धेरै कुराको जानकारी उनले लिने गर्छिन् । उनी भन्छिन्, ‘टिकटकबाटै धेरै कुरा सिक्छु ।’