Successfully Copied

सुख–दुःख बाँडौं बराबर

‘अहिलेको जमानामा श्रीमान् बाहिरको काम गर्ने र श्रीमती घरधन्दा सम्हाल्ने भन्ने हुँदैन । दुवैजना बाहिर र भित्रको काम बराबरी गर्छन् ।

‘बिहान उठी पानी ल्याउँछु, तिमी कुचो लाउनू

भात म पकाइदिन्छु, तिमी लुगा धुनू

बराबर, तिम्रो मेरो माया बराबर ..’

हरिवंश आचार्यले सिर्जना गरेका गीतका यी पंक्तिले घरधन्दाको काममा श्रीमान् र श्रीमतीबीच हार्दिकता एवं सहयोगको भाव व्यक्त गर्छन् । हरिवंश पुत्र मोहितवंश आचार्यले यही गीत सुन्दै हुर्किए र आज उनी दाम्पत्य जीवन बिताइरहेका छन् । के गीतमा व्यक्त

भावझैं उनको दाम्पत्य जीवनमा पनि तालमेल छ ?

मोहित भन्छन्, ‘अहिलेको जमानामा श्रीमान् बाहिरको काम गर्ने र श्रीमती घरधन्दा सम्हाल्ने भन्ने हुँदैन । दुवैजना बाहिर र भित्रको काम बराबरी गर्छन् । मेरो अवस्था पनि त्यस्तै हो ।’ कुपण्डोलमा उनको रेस्टुराँ छ, ब्रिक्स क्याफे । धेरैजसो उनी आफ्नो व्यवसायमा व्यस्त हुन्छन् । श्रीमतीको पनि आफ्नै काम छ । घरधन्दा वा भान्साको काम दुवै मिलेर गर्छन् । मोहित सुनाउँछन्, ‘म सकेसम्म घरको काममा सहयोग गर्छु । चाडपर्वका बेला हामी सबै जना मिलेर पकाउने वा अन्य काम गर्छौं । बुवाले भान्सा र घरबाहिरको काममा समेत उत्तिकै रुचि राख्नुहुन्छ । हाम्रो परिवारमा कसले के गर्ने भन्ने नै छैन ।’

दाम्पत्य सम्बन्ध सुमधुर बनाउन प्रेम, विश्वास र समझदारी हुनुपर्छ । साथै एक–अर्काको सहयोग र सहकार्य आवश्यक हुन्छ । ‘माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई’ भनेजस्तै एकले अर्कालाई भर दिनुपर्छ । यद्यपि हाम्रो पारिवारिक संरचना अलि भिन्न छ ।

हामीकहाँ पुरुषले घरको काममा त्यति जाँगर देखाउँदैनन् । त्यसैगरी महिलाले घरको व्ययभार बोक्ने, आयआर्जनको मेलोमेसो मिलाउने काममा चासो राख्दैनन् । पुरातन धारणा के छ भने घरभित्रको काम महिलाले सम्हाल्नुपर्छ, घरबाहिरको काम पुरुषले । यही अनुसार श्रीमतीहरू भात पकाउने, लुगा धुने, सरसफाइ गर्ने, छोराछोरी स्याहार्ने काममा खटिन्छन् । श्रीमान्हरू आयआर्जन वा घर–व्यवहार चलाउनतर्फ लाग्छन् । हुन त यस किसिमको तालमेलले पनि पारिवारिक जीवन चलाउन सकिन्छ । यद्यपि कुनैपनि कामलाई एक–अर्काको पेवा ठान्नु राम्रो हुँदैन । घर–व्यवहारमा श्रीमतीले चासो नराख्ने, घरधन्दामा

श्रीमान्ले जाँगर नदेखाउने कामले दाम्पत्य सुखमा अवरोध पैदा गर्छ ।

सहयोग र सहकार्य

अहिले पारिवारिक व्ययभार बढेको छ । अनेकौं क्षेत्रमा खर्च हुन थालेको छ । बच्चाको पढाइमा, घरको सरसामग्रीमा खर्च बढेको छ । त्यसबाहेक औषधोपचार, चाडपर्व, घुमफिर आदिले पनि घरखर्च बढाएको छ । यस्तो अवस्थामा श्रीमान् र श्रीमती दुवैले आयआर्जनको काममा सहयोगी भूमिका खेल्नुपर्ने बाध्यता छ ।

हुन त पारिवारिक व्ययभार बढेकाले धेरै दम्पती कामकाजी छन् । श्रीमान्–श्रीमती दुवै आयआर्जनमा लागेका छन् । यसले घर–व्यवहार चलाउन सहज हुँदै गएको छ ।

दुःख लाग्दो कुरा त के छ भने श्रीमान्–श्रीमती दुवै कामकाजी भए पनि घरधन्दाको काम श्रीमतीको पेवाजस्तै मानिन्छ । दुवै आ–आफ्नो कर्मथलोमा उत्तिकै खटिएका हुन्छन् । घरमा आइपुगेपछि भने श्रीमतीले भान्सा सम्हाल्नुपर्ने हुन्छ । बालबच्चा स्याहार्नु पर्ने हुन्छ । यसरी एक जनालाई मात्र कामको भार थोपरिँदा पारिवारिक सन्तुलन बिग्रन पुग्छ ।

त्यसैले घरको काम दुवैले मिलेर गर्न सकिन्छ । एउटाले भात पकाउँदा अर्कोले बच्चालाई पढाउन सकिन्छ । एउटाले कुचो लगाउँदा अर्कोले भाँडा सफा गर्न सकिन्छ । एउटाले बगैंचामा गोडमेल गर्दा अर्कोले बच्चालाई खेलाउन सकिन्छ ।

मिलेर काम गर्दा घरको वातावरण रमाइलो हुन्छ र भावनात्मक सम्बन्ध पनि बढ्छ । लोकगायक बद्री पंगेनीको जोडी एक यस्तै आदर्श जोडी हो । उनीहरू एक–अर्काको काममा सधै सहयोग गर्छन् । त्यसो त बद्री भान्साको काममा खुब जाँगर चलाउँछन् । २० वर्षको दाम्पत्य जीवनमा उनले धेरै पटक आफ्नो हातले बनाएका खानेकुरा परिवारलाई चखाएका छन् । बद्री भन्छन्, ‘मलाई त खाना पकाउन एकदमै रमाइलो लाग्छ । प्रायः भान्सामा काम गरिरहेकै हुन्छु । त्यसबाहेक घरको किनमेल गर्न पनि म नै अगाडि सर्छु ।’

फाइदा के हुन्छ ?

घर एवं भान्साको काममा महिला–

पुरुषको समान सहभागिताले

पहिलो कुरा त लैंगिक विभेद अन्त्य हुन्छ । घरको काम महिलाको पेवा हो भन्ने मानसिकता हराउँछ । दाम्पत्य जीवन सुखमय र स्वस्थ हुन्छ । सानैदेखि बच्चा त्यही संस्कारमा हुर्किने भएकाले उनीहरूमा सकारात्मक प्रभाव पर्छ । वैवाहिक सम्बन्ध कस्तो छ यसको प्रभाव बच्चामा पर्छ । श्रीमान्–श्रीमतीबीच तालमेल मिलेको छ भने बच्चा पढाइका साथै सामाजिक कार्यमा सक्रिय हुन्छन् । बच्चामा सही संस्कारको विकास हुन्छ ।

श्रीमान्–श्रीमती दुवैले मिलेर घरको काम गर्दा समयको व्यवस्थापन हुन्छ । महिलालाई मात्र कामको भार हुँदैन जसकारण महिला स्वस्थ रहन्छिन् । सानातिना काम श्रीमान्ले गर्दा श्रीमतीलाई कामको भार कम हुन्छ । दुवै मिलेर घरको काम गर्दा चाँडै सकिन्छ । जसले दुवैलाई एक–अर्कासँग समय बिताउन फुर्सद मिल्छ । तपाईंको एक कदमले वैवाहिक सम्बन्ध बलियो हुन्छ । घरमा शान्ति र खुसी छाउँछ ।

विवाहपछि बदलिन्छ जीवन

विवाह महिला–पुरुष दुवैका लागि विशेष हुन्छ । विवाहको माध्ययमबाटै प्रेम तथा नयाँ सम्बन्ध गाँसिन्छ । विवाहको बन्धनमा बाँधिनु भनेको एउटा नयाँ जीवनशैलीसँग जोडिनु पनि हो । महिलाले विवाहअघिको आनीबानीदेखि आफ्नो घरपरिवार सबै छाडेर पराई घरमा जानुपर्ने हुन्छ । विवाहपछिको यो परिवर्तनको सामना गर्नुपर्ने हुँदा महिला एक्लो महसुस गर्छिन् । उनलाई नयाँ घरमा ‘एडजस्ट’ हुन समय लाग्न सक्छ । एक–अर्काको सहारा र सहयोगी बन्नुपर्छ ।

सोच बदलौं

हाम्रो समाजमा लिङ्गका आधारमा काम विभाजन गरिएको छ । महिलासँग सम्बन्धित काम, महिलाले गर्ने काम सानो ठान्ने सोच धेरैमा छ । यो बदल्नुपर्छ । श्रीमतीले काम गरेर घरमा आर्थिक

सहयोग गर्न सक्छिन् भने श्रीमान्ले पनि घरेलु काममा सहयोग गर्न सक्छन् । श्रीमान्–श्रीमती दुवै मिलेर आफ्नो घर बसाउँछन् भने घरको कामको जिम्मेवारी श्रीमतीको मात्र किन ? महिलाले नयाँ घर, नयाँ परिवेश, नयाँ परिवारका सदस्यहरूलाई अपनाएका हुन्छन्, त्यो कुरा श्रीमान्ले बुझ्नु जरुरी हुन्छ ।

दाम्पत्य जीवन सुखमय बनाउन अर्कालाई बदल्नुभन्दा पनि पहिला आफू बदलिनुपर्छ । जीवनसाथीसँग धेरै अपेक्षा गर्दा पनि वैवाहिक सम्बन्ध धरापमा पर्न जान्छ । स–साना कुरामा झगडा गर्नुभन्दा आपसमा छलफल गरेर समस्या सुल्झाउनुपर्छ । एक–अर्कालाई दोष लगाउने, आलोचना गर्ने प्रवृत्ति त्याग्नुपर्छ ।

 Image