Successfully Copied

‘बिमाबाट अर्थतन्त्रलाई टेवा’

बिमाले अर्थतन्त्रलाई हरेक क्षेत्रबाट टेवा पुर्‍याइरहेको हुन्छ । करदेखि रोजगारीका लागि बिमा कम्पनीहरूले सहयोग गरेकै हुन्छन् ।

बिमा के हो ?

बिमा जोखिम व्यवस्थापन गर्ने एउटा उपाय हो । मानव जीवनमा विभिन्न जोखिम आइपर्न सक्छन् । दुर्घटना हुन सक्छ, यसले आर्थिक क्षति हुन सक्छ । त्यस्तो जोखिम बहन गर्ने एउटा टुल नै बिमा हो । यसलाई जोखिम हस्तान्तरणका रूपमा पनि लिन सकिन्छ । जीवन बिमा र निर्जीवन बिमा गरी बिमा दुई प्रकारका हुन्छन् ।

निर्जीवन बिमा के हो ? कसरी गर्न सकिन्छ ?

निर्जीवन बिमा निश्चित समयका लागि गरिने बिमा हो । सम्पत्तिलाई नष्ट हुन नदिनु नै यसको मुख्य उद्देश्य हो । सम्पत्ति बिमा, व्यक्तिगत बिमा, दायित्व बिमा गरी यो तीन प्रकारको हुन्छ । अग्नि बिमा, मोटर बिमा, विविध बिमालगायतका पोलिसीहरू यसअन्तर्गत हुन्छन् । चल–अचल सम्पत्ति यही बिमा अन्तर्गत पर्छ । यसका लागि व्यक्तिले केको बिमा गर्ने भन्ने विषयमा निश्चित गर्नुपर्छ । बिमा गर्ने फरक–फरक तरिका छन् । व्यक्तिको सम्पत्तिको बिमा गर्न र कम्पनीको बिमा गर्न फरक कागजपत्र आवश्यक पर्छ । सम्पत्तिको बिमा गर्नुपरे सम्पत्तिको मालिकको फोटो, नागरिकताको फोटोकपीलगायतका कागजपत्र आवश्यक हुन्छ । कम्पनीको बिमा गराउनुपरे प्रबन्धपत्र, नियमावली, प्यान नम्बरलगायतका कागजपत्र आवश्यक पर्छ ।

नेपालमा बिमाको चेतना स्तर कस्तो छ ?

नेपालमा बिमाको चेतना स्तर एकदमै न्यून छ । सबैलाई बिमाबारे जानकारी छैन । नेपालमा २५ प्रतिशतलाई मात्रै बिमाको जनचेतना छ । पछिल्लो समय सरकारले अनिवार्य गरेको क्षेत्रमा मात्रै बिमा गर्ने चलन छ । स्वेच्छिक रूपमा बिमा गर्ने चेतना भने बढेको छैन ।

चेतना बढ्न नसक्नुका कारण के होला ?

बढ्दै नबढेको पनि भन्न मिल्दैन, पछिल्लो समय बिमाबारे चेतना पनि बढ्दै गएको छ । निर्जीवन बिमाको तुलनामा जीवन बिमा गर्नेको संख्या बढी छ । यसको कारण के छ भने जीवन बिमामा आफूले जम्मा गरेको रकम फिर्ता आउँछ भने निर्जीवन बिमामा फिर्ता आउँदैन । निर्जीवन बिमामा थोरै रकममा बिमा गरिन्छ । क्षतिपूर्तिको अवस्थामा मात्रै यसको रकम आउँछ ।

बिमा सहरी क्षेत्रमा मात्रै लक्षित भयो भनिन्छ नि ?

पहिलेको सन्दर्भमा बिमा सहरी क्षेत्रमा मात्रै लक्षित छ भन्न सकिन्थ्यो । तर, अहिले त्यस्तो छैन । निर्जीवन बिमा गाउँघरमा पनि पुगिसकेको छ । गाउँघरमा कृषि बिमा, पशु बिमालगायतका पोलिसीहरू लागू भइसकेका छन् ।

अर्थतन्त्रलाई टेवा पुर्‍याउन बिमा क्षेत्रको भूमिका कस्तो छ ?

बिमाले अर्थतन्त्रलाई हरेक क्षेत्रबाट टेवा पुर्‍याइरहेको हुन्छ । करदेखि रोजगारीका लागि बिमा कम्पनीहरूले सहयोग गरेकै हुन्छन् । बिमाले बैंक एवं कलकारखानाहरू सञ्चालन गर्नका लागि सहज बनाइदिन्छ । लगानीदेखि विकास निर्माणका हरेक क्षेत्रमा बिमाले सहयोग पुर्‍याएकै छ ।

 Image