महामारीको मार

प्रकृति दाहाल

जेष्ठ ३, २०७८ कोरोना महामारीको दोस्रो लहर नियन्त्रण गर्न जारी लकडाउन र निषेधाज्ञाले धेरैलाई फुर्सदिलो बनाएको छ । खासगरी पुरुषलाई समय कटाउन सकस छ । महिलालाई भने भान्सादेखि कार्यालयको काम गर्न धौ–धौ छ । यति बेला बालबालिकाको विद्यालय पनि बन्द छ । महिलालाई जिम्मेवारी थपिएको छ । बबरमहलकी सुनीता सिटौलाले महामारीमा थप काम गर्नुपर्ने बताउँछिन् । छोराछोरीको विद्यालय बन्द हुनासाथ निकै व्यस्त हुन्छिन् उनी । घरको सम्पूर्ण काम उनी एक्लैले गर्नुपरेको छ । उनलाई घरमा दिन बितेको थाहै हुँदैन । उनका श्रीमान्को दैनिकी भने पुस्तक पढ्ने, फिल्म हेर्ने र रमाइलो गर्नमै बितिरहेको हुन्छ । श्रीमान्ले उनको काममा कहिल्यै हात बढाएनन् । श्रीमान्ले भान्साको काम नै गर्न नजान्ने उनी बताउँछिन् । कहिलेकाहीँ आग्रह गरे पनि पकाउन आउँदैन भन्दै पन्छिन्छन् ।

लकडाउन हुनासाथ ‘वर्क फर्म होम’ लागू भएको छ । यसको प्रत्यक्ष मारमा समेत महिला परेका छन् । पुरुषलाई ‘वर्क फर्म होम’ गर्न जति सहज छ त्यति नै असहज भएको महिलाहरू बताउँछन् । कीर्तिपुरकी राधा अधिकारी शिक्षिका हुन् । गत वर्ष उनले लकडाउनमा घरबाटै अनलाइन कक्षा लिइन् । घरबाट काम गर्न भने उनलाई सहज भएन । विद्यालयको जस्तो वातावरण घरमा नहुने उनी बताउँछिन् । उनलाई कहिले बच्चाले डिस्टर्ब गरेको त कहिले खाजा बनाउने समयका कारण समस्या हुन्छ । श्रीमान् फुर्सदिला भए पनि आफूले नगरी नहुने उनी बताउँछिन् । ‘विद्यालयको जति काम भए पनि घरको काम पनि उत्तिकै गर्नुपर्छ,’ उनी भन्छिन्, ‘महिलाहरूका लागि यस्तो कार्य ‘वर्क फर होम’ जस्तै भएको छ । काम मात्रै भइरहेको छ ।’ घरका सदस्यहरू चियासमेत न पकाएको उनी बताउँछिन् ।

महामारीले महिलाहरूलाई घरदेखि बच्चाको बोझ मात्रै थपेको छैन । घरमा कोरोना संक्रमित भएकाको भार र जिम्मेवारी पनि उसैको काँधमा आइपुग्छ । पुरुष संक्रमित भएमा पनि महिलालाई भार थपिन्छ । श्रीमान् संक्रमित हुँदा निरन्तर उनको हेरचाहमा खटिइन् विराटनगरकी किरण कोइराला । श्रीमान् संक्रमित भएपछि घरमै आइसोलेसमा  बसें । उनको समेत हेरचाह गर्नुपरेको उनी बताउँछिन् । उनको कोठामा खाना पुर्‍याउनु, उनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न उनलाई सकस नै भयो । एकातिर श्रीमान्को हेरचाह अर्कातिर घरदेखि बच्चाको काम । उनलाई महामारीका कारण पाँच डबल काम गर्नुपर्‍यो । उनी भन्छिन्, ‘श्रीमान् संक्रमित हुँदा त झनै कामले यति थलिएँ कि कुरै नगरौं, हरेक काम गर्नैपर्‍यो ।’ श्रीमान् भने संक्रमित भए पनि फुर्सदिला भए । उनले चलचित्र हेर्ने, पढाइ–लेखाइमा दिन बिताए । उनका अनुसार श्रीमान्ले आफ्ना लागि समय निकाले । तर किरणले आफ्ना लागि समय निकाल्न सकिनन् । न उनलाई पुस्तक पढ्ने समय मिल्यो न त चलचित्र हेर्न नै । बिदाको समयमा धेरै योजना उनले बनाएपछि कामले उनलाई फुर्सद नै भएन । उनी भन्छिन्, ‘महिलाहरू अरुप्रति जिम्मेवार हुनुपर्दा आफ्ना लागि समय नै निकाल्न नसकिने रहेछ ।’ श्रीमान् बिरामी पर्दा जति श्रीमती जिम्मेवार हुन्छन् त्यति श्रीमती बिरामी हुँदा श्रीमान् जिम्मेवारी नहुने उनी बताउँछिन् । महिलाले त बिरामी हुँदा समेत आराम पाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुसन आचार्यले महामारीमा निषेधाज्ञा पुरुषका लागि आराम गर्ने समय भए पनि महिलाका लागि बोझ थपिने काम भएको बताउँछिन् । महिला–पुरुषका विषयमा समानता भनिए पनि घरायसी काममा अझै त्यो हुन नसकेको उनको भनाइ छ । ‘महिलालाई हेर्ने र व्यवहार गर्ने सामाजिक संरचना अझै पनि परिवर्तन हुन सकेको छैन । दोहोरो, तेहोरो जिम्मेवारी उठाउन महिला बाध्य छन्’ उनले भनिन्, ‘पुरुषले घरको काम गर्नु हुँदैन भन्ने मान्यता अझै हटेको छैन ।’ पुरुषहरूले घर–भान्साको काम गरिहाले पनि समाजले फरक तरिकाले हेर्ने गरेको उनको बुझाइ छ । कामकाजी महिलालाई त अझ घरै बोझिलो बनेको उनी बताउँछिन् । सुसन भन्छिन्, ‘कामकाजी महिलालाई घर र कार्यालय दुवैको काम गर्नुपर्ने भएकाले बोझिलो भएको छ ।’ समाजशास्त्री मीना उप्रेतीका अनुसार पित्तृसत्तात्मक सोचकै कारण महिलाको अवस्थामा परिवर्तन आउन नसकेको हो । उनी भन्छिन्, ‘पुरुषले घरको, भान्साको काम गर्नु हुँदैन भन्ने मान्यताले पनि महिलाहरूमा समस्या बढ्दै गएको छ ।’

महामारीसँगै बेरोजगारी

गत वर्ष महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण स्वरोजगार महिलाहरू बेरोजगार हुन पुगे । कोरोनाको दोस्रो लहर भयावह बनेसँगै फेरि सुरु निधेषाज्ञाले व्यापार/व्यवसायमा अर्को धक्का लागेको छ । धादिङकी सुनीता तामाङ काठमाडौंस्थित एक होटलमा काम गर्थिन् । महामारी सुरु भएसँगै उक्त होटलले उनलाई बिदा दियो । उनी घर फर्किन बाध्य भइन् । होटलले उनलाई बिदा दिएसँगै आम्दानी पनि गुम्यो । करिब एक वर्षदेखि उनी बेरोजगार भई घरमै बसेकी छन् । कामका लागि धेरै ठाउँ पुगे पनि ‘छैन’ भन्ने जवाफ मात्रै उनले पाएकी छन्् । उनी भन्छिन्, ‘महामारी सुरु भएसँगै बेरोजगार भएँ, काम खोज्दा पनि कतै पाउन सकिन ।’ विराटनगरकी ब्युटिसियन नवीना पौडेलको भोगाइ पनि उस्तै छ । एक वर्षदेखि नै उनले पार्लरबाट आम्दानी गर्न सकेकी छैनन् । उनी भन्छिन्, ‘कोरोना महामारी सुरु भएसँगै पार्लरको आम्दानी नै ठप्प भयो ।’ पहिलो लकडाउनका कारण लामो समय पार्लरहरू सञ्चालनमा आएनन् । नेपाल ब्युटिसियन संघकी अध्यक्ष कमला श्रेष्ठका अनुसार सरकारले जोखिम क्षेत्र घोषणा गरेसँगै यो व्यवसाय सञ्चालन गर्ने करिब दुई लाख महिला सौन्दर्यकर्मी प्रभावित भए । महामारीमा स्वरोजगार महिलाहरू नै बढी प्रभावित भएको उनी बताउँछिन् । सानो पुँजीमा लगानी गरी आर्थिक निर्वाह गर्दै आइरहेका महिलाहरू महामारीकै कारण बेरोजगार हुन बाध्य भएको उनको भनाइ छ ।

महिला उद्यमी संघकी महासचिव सुनीता वैद्य श्रेष्ठका अनुसार महामारीका कारण महिलाद्वारा स्वचालित उद्योगहरू बन्द हुन पुगेका छन् । उद्योगहरू बन्द भएसँगै त्यसमा आश्रित जनशक्ति बेरोजगार हुन पुगेको उनी बताउँछिन् । गत वर्ष मात्रै साना उद्योगहरूमा करिब ६० प्रतिशतको रोजगारी गुमेको थियो । यस वर्ष अझै बढ्ने उनको अनुमान छ । उनी भन्छिन्, ‘महिलाहरूले आम्दानीका लागि कुखुरापालन, माछापालन, होटल एवं रेस्टुराँ संचालन गर्दै आएका थिए । ती सबै बन्द हुन थालेकाले कामकाजी महिलाहरूसमेत बेरोजगार बन्ने अवस्था सिर्जना भएको छ ।’

तस्बिर : एजेन्सी

महिलाहरूले आम्दानी गुमाएर घरमै बस्न बाध्य भएकाले उनीहरूमा विभिन्न मानसिक समस्या देखा पर्न थालेको बताउँछन् मनोविद् गोपाल ढकाल । आम्दानी गरिरहेका महिलाहरूको आम्दानी एकाएक गुम्दा उनीहरूमा मानसिक विचलन आउने उनी बताउँछन् । उनी भन्छन्, ‘यो समयमा आम्दानी गुमाएर घरभित्रै बस्न बाध्य भएका कारण मानसिक विचलन देखा पर्छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाहरू मानसिक विचलनसँगै हिंसा भोग्न बाध्य भएको बताउँछिन् । उनी भन्छिन्, ‘महामारीको समयमा महिलाहरू घरेलु हिंसाबाट पीडित भएका छन् ।’

 

‘पुरुष सोच बदलिन जरुरी छ ।’

मीना उप्रेती,  समाजशास्त्री

कोरोनाको दोस्रो लहर सुरु हुनासाथ हरेक क्षेत्र ठप्प छन् । बाहिर निस्कने वातावरण छैन । कार्यालयको काम पनि घरबाटै गनुपर्ने अवस्था छ । यसले पुरुषहरूलाई जति सहज बनाएको छ महिलाहरूलाई त्यति नै असहज छ । महिलालाई पनि दुई तरिकाले हेर्न सकिन्छ । एउटा गृहिणी र अर्को कामकाजी । गृहिणीहरूका लागि हिजोको भन्दा आज बोझ थपिएको छ । कामकाजी महिलालाई घर–अफिसको जिम्मेवारी थपिएको छ । एक कप चियाका लागि पनि महिलाकै बाटो कुरेर बस्ने पुरुष मानसिकता छ । घरमा बसिरहँदा पुरुषलाई भोक–तिर्खा लागिरहन्छ । महिलाहरूले भने भोक–तिर्खा नभनी सबै काम गर्नुपर्छ । पहिला दुई घण्टा काम गर्ने महिलाहरू अहिले १२ घण्टा काम गर्नुपर्ने बताइरहेका छन् । घरमा पुरुष भए पनि महिलालाई सहजीकरण गर्दैनन् । महिलाले पनि पुरुषको जस्तै फुर्सदमा विभिन्न योजना बनाएका हुन्छन् । महिलाका योजनाहरू भने योजनामा मात्रै सीमित हुन्छन् । उनीहरूले घरको काममा पुरुषको साथ नहुँदा धेरै कामहरू छुट्छन् । भान्साको काम पुरुषले गर्नु हुँदैन भन्ने सोच पुरुषमा छ । भान्साको काम गर्दा पुरुषलाई लाज लाग्छ । महिलाहरूले हेप्छन् भन्ने मान्यता उनीहरूको छ । शिक्षित पुरुषहरूमा नै यो सोच अत्यधिक छ । तर, यसमा परिवर्तन जरुरी छ । काममा श्रीमतीलाई सहयोग गर्दा सानो भइँदैन भनेर पुरुषहरूले बुझ्नुपर्छ ।

 

‘परिवारले महिलालाई बुझ्ने प्रयास गरौं’

गोपाल ढकाल, मनोविद्

पछिल्लो अवस्थामा धेरै महिला रोजगार गुमाएर घरमै बस्न बाध्य छन् । आम्दानी गुमेर घरमै बस्दा उनीहरूमा मानसिक विचलन हुने गरेको देखिन्छ । महिलाहरू भावानात्मक रूपमा कमजोर हुन्छन् । त्यसकारण स–साना कुराले पनि उनीहरू छिट्टै विचलन हुन्छन् । अझ यो समयमा महिलामाथि घरको बोझ थपिएको छ । घरका अन्य सदस्यबाट महिलामाथि कुटपिट, यौन हिंसा एवं घरेलु हिंसा पनि हुन्छ । यसले गर्दा उनीहरूलाई मानसिक असर पर्छ । उनीहरूलाई डिप्रेसन हुनुका साथै आत्महत्या गर्ने सोच आउन सक्छ । गत वर्षको लकडाउनमा पनि यो अवस्था देखियो । महिलाहरू नै बढी पीडित भएको कुरा विभिन्न तथ्यांकबाट स्पष्ट हुन्छ । महिलाका समस्या पुरुषले नबुझ्दा पनि यो अवस्था दोहोरिरहन्छ । त्यसकारण महिलालाई यस्तो अवस्था आउन नदिन परिवारबाटै सहजीकरण गर्नुपर्छ । उनीहरूको समस्या पहिचान गर्नुपर्छ । उनीहरूको काममा सहयोग गरी पारिवारिक छलफल गराउनुपर्छ । यसले गर्दा दुर्घटना नियन्त्रण गर्न सहयोग पुग्छ ।

 

‘महामारीमा आयोगले सहजीकरण गर्छ’

कमला पराजुली

अध्यक्ष, राष्ट्रिय महिला आयोग

सामान्य अवस्थाको तुलनामा महामारी समयमा महिला हिंसा बढ्छ । महिलाहरू घरमै बस्न बाध्य भएकाले उनीहरूमाथि यौनिक, लैंगिक तथा घरेलु हिंसा हुन्छ । महिलाहरू घरमै सुरक्षित नभएको अवस्था छ । कतिपय महिला मादक पदार्थ सेवन गरेका श्रीमान्को कुटाइ खान पनि बाध्य हुन्छन् । पहिले जस्तो अहिले देश पूरै ठप्प भइसकेको स्थिति छैन । प्रहरी प्रशासनसँग पनि आयोगले परामर्श गरिरहेको छ । यसले गर्दा पनि पीडितहरूको आवाज सुन्न आयोगले सहजीकरण गर्ने योजना बनाएको छ । पीडितहरूको उजुरीका लागि हटलाइन सेवाको सुविधा छँदैछ । हटलाइन नम्बर ११४५ मा उजुरी दिन सकिन्छ । महिलाको समस्या समाधानका लागि विभिन्न संयन्त्र निर्माण गरी समाधान गर्ने प्रयास गरेका छौं । महामारीको समयमा आयोगमार्फत महिलाहरूको उजुरी र उनीहरूको केसका आधारमा परामर्श दिने काम गर्छौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>