‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

धनुषा जनकपुरधाममा ५१ वर्षअघि जन्मिएकी नीलम ढुंगाना तिम्सिनाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अस्ट्रेलियास्थित वलङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र भारतस्थित मेवार्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् । विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा ०५३ सालताका प्राध्यापन पेशामा आबद्ध उनी ०५४ तिर नेपाल राष्ट्र बैंकमा सहायक अधिकृत तहमा प्रवेश गरिन् । राष्ट्र बैंकमा उनी आन्तरिक प्रतियोगात्मक परीक्षा उत्तीर्ण गरी ०६१ मा उपनिर्देशकमा बढुवा भइन् । त्यसको पाँच वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाटै निर्देशकमा बढुवा भइन् । उनी ०७४ मा कार्यकारी निर्देशकमा बढुवा भएको तीन वर्षपछि बल्ल नेपाल सरकारबाट डेपुटी गभर्नर पदमा नियुक्त भएकी छन् । प्रथम महिला डेपुटी गभर्नर हुँदाको अनुभव, बैंकिङ क्षेत्रमा आकर्षित हुनुको कारण, काम गर्दा आउने समस्या, महिलालाई उच्च पदमा पुर्याउन सकिने उपाय आदिका विषयमा केन्द्रित भई उनीसँग गरिएको संवाद :
प्रथम महिला डेपुटी गभर्नर हुँदा कस्तो महसुस भयो ?
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रूपमा नियुक्त हुने म प्रथम महिला हुँ । महिला भएकै कारण सिट सुरक्षित भएर मलाई नियुक्त गरिएको होइन । योग्यता, दक्षता र ज्येष्ठतासहितका सबै पक्ष सुदृढ भएकाले नियुक्ति पाएकी हुँ । मलाई अत्यन्त खुसी र गर्व महसुस भएको छ । नियुक्तिमा खुसी हुनु स्वाभाविकै हो, तर काँधमा जिम्मेवारी थपिएको छ ।
बैंकिङ क्षेत्रमा कति वर्ष बिताउनु भयो ?
यो क्षेत्रमा २३ वर्ष बिताएँ ।
यो क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
मैले एमबीए उत्तीर्ण गरेपछि विराटनगरस्थित एक क्याम्पसमा करारमा नियुक्ति पाएँ । त्यहाँ मेरा श्रीमान् विष्णुप्रसाद तिम्सिनाले अर्थशास्त्र पढाउनु हुन्थ्यो । उहाँका विद्यार्थीहरूले मलाई चिन्थे । तिनीहरूले नै ‘म्याडम नेपाल राष्ट्र बैंकमा सहायक अधिकृत तहमा फारम खुलेको छ, भर्नुस् न, यहाँ भन्दा त्यहाँ राम्रो हुन्छ’ भनेका हुन् । अझ फर्म पनि तिनीहरूले नै ल्याइदिए । नेपाल राष्ट्र बैंकको परीक्षा दिएँ, पास पनि भएँ । यसरी यो क्षेत्रमा आएकी हुँ ।
बैंकिङ क्षेत्रमा महिलाको आकर्षण बढ्नुको कारण के हो ?
मर्यादित र सुरक्षित कार्य वातावरण, आकर्षक तलब/भत्ता र सुविधा, महिलामैत्री सरुवा नीतिलगायतका कारण यस क्षेत्रमा महिलाको आकर्षण बढेको जस्तो मलाई लाग्छ ।
यो क्षेत्रमा के पाउनु भयो ? के गुमाउनु भयो ?
यो क्षेत्रमा मैले मुलुकको सेवा गर्ने मौका पाएकी छु । चुनौतीहरूसँग जुध्ने सामर्थ्य आर्जन गरेकी छु । आर्थिक हिसाबले समृद्धि पनि हासिल गरेकी छु । मेरो वृत्ति विकास पनि भएको छ । डेपुटी गभर्नरजस्तो गरिमामय पदमा नियुक्तिसमेत पाएकी छु । राष्ट्र बैंकबाट मैले पाएका धेरै कुरा छन् । गुमाएको कुरा गर्दा घरपरिवारलाई दिनुपर्ने समय चाहिँ मैले दिन सकिनँ । यसबाहेक अन्य कुरा
केही छैन ।
महिला भएकै कारण काम गर्दा कुनै कठिनाइ आयो कि आएन ?
काम गर्ने क्रममा महिला वा पुरुष सबैलाई केही न केही कठिनाइ आइहाल्छ । महिला भएका कारण गर्भावस्थामा कार्यालय आउजाउ गर्नुपर्दा, पुरुष कर्मचारीसरह नै कार्य गर्नुपर्दा, प्रसूति बिदा पर्याप्त नहुँदा, बच्चा र कार्यालयबीच सामञ्जस्यता कायम गर्न कठिनाइ हुँदा, कार्यालय परिसरभित्र शिशु स्याहार केन्द्र नहुँदा निश्चय नै मैले कठिनाइ महसुस गरें ।
अर्को कुरा महिलाले प्रत्येक तह, अवस्था, कार्य र जिम्मेवारीमा रहँदा आफूलाई योग्य भएको प्रमाणित गरेपछि बल्ल सबैले पत्याउने वातावरण हुँदो रहेछ । तसर्थ मैले प्रत्येक अवस्थामा परीक्षा उत्तीर्ण चाहिँ हुनु नै पर्यो, यसमा मलाई गर्व पनि छ । महिलाले काम गर्नमा केही पछाडि परे भने ‘केही जान्दिनन्’ भन्ने र अगाडि बढ्न खोजे, ‘बढी बाठी भई’ भन्ने धारणा अझै व्याप्त छ । त्यसको सामना मैले पनि गरें । त्यस्तै, महिलाको सवालमा बोली, व्यवहार, पोसाक, चरित्र हरेक कुरामा टीका–टिप्पणी हुने हाम्रो समाजमा सन्तुलन मिलाएर काम गर्न कठिन नै छ, जुन मैले पनि केही हदसम्म अनुभव गरेकी छु । जे भए पनि यस्ता कुरालाई चिर्दै आफू मेहनती हुने हो भने खासै कठिनाइ हुन्छ जस्तो मलाई लाग्दैन ।
महिला उच्च तहमा पुग्नका लागि के गर्नुपर्ला ?
महिलालाई उच्च तहमा पुग्न सर्वप्रथम महिलाले नै सपना देख्नुपर्छ । उक्त सपना पूरा गर्न मेहनत गर्नुपर्छ । आफ्नो योग्यता, क्षमता, दक्षता र संस्थाप्रतिको इन्टेग्रिटीमा निखार ल्याउनैपर्छ । अन्य तत्वहरूमा घरपरिवारको सहयोग र नेतृत्व तहमा बस्नेहरूमा महिलाले अवसर पाए भने काम गर्न सक्छन् भन्ने भावना जागृत हुनु आवश्यक छ । केही हदसम्म सेवा प्रवेशमा आरक्षण र सहज कार्य वातावरणको आवश्यकता पनि छ ।
निर्णायक तहमा महिला पुग्नका लागि क्षमता पर्याप्त हुन्छ कि राजनीतिक पार्टीसँगको आबद्धता ?
पहिलो त क्षमता र योग्यता नै आवश्यक पर्छ । निर्णायक तहमा नियुक्ति पनि संस्थाको कर्मचारी सेवा विनियमावलीअनुसार बढुवाबाट हुने र सरकारबाट हुने गरी दुई प्रकारका छन् । यसमध्ये सरकार, मन्त्रिपरिषद्बाट हुने नियुक्तिहरूमा राजनीतिक पार्टीसँगको आबद्धता पनि आवश्यक पर्छ । यो विश्वव्यापी प्रचलन नै हो । यसलाई अन्यथा लिनु हुँदैन ।
हरेक क्षेत्रमा महिला अब्बल ठहरिँदै गएको अवस्थामा आरक्षणको सान्दर्भिकता कत्तिको देख्नुहुन्छ ?
देशका सबै महिला अझै पनि पूर्णरूपमा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगिसकेका छैनन् । तसर्थ कमजोर र बलियोको प्रतिस्पर्धा एकै ठाउँमा हुनै सक्दैन । सेवा प्रवेशमा एकपटक महिलालाई आरक्षण अझै केही वर्ष आवश्यक छ । तर, सबै तहको बढुवामा आरक्षण आवश्यक छैन । पढाइ–लेखाइमा समान अवसर दिइनुपर्छ । महिलाहरूले पनि आफ्नो योग्यता, क्षमता निखार्न मेहनत चाहिँ गर्नैपर्छ । प्रतिस्पर्धामा विश्वास गर्नैपर्छ । यसो भयो भने पछि गएर आरक्षणको आवश्यकता पर्दैन ।
वित्तीय क्षेत्रमा कोरोनाको असर कस्तो छ ?
कोरोनाले होटल, पर्यटन, मनोरञ्जन, यातायात आदि क्षेत्र शिथिल बनाएको छ । बैंकहरूबाट यी क्षेत्रमा गएको ऋण समयमा उठ्न कठिनाइ हुने, खराब कर्जा केही बढ्ने जस्ता असरहरू देखिएका छन् । यी समस्या समाधान गर्न राष्ट्र बैंकले पुनर्कजाको व्यवस्था, साँवा र व्याज तिर्ने अवधि विस्तार, अनिवार्य नगद अनुपातमा कटौतीजस्ता लचिला र सहज नियमनकारी व्यवस्था लागू गरेको छ ।
भविष्यको योजना ?
अहिले नियुक्ति पाएको डेपुटी गभर्नरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने मात्र हालको मेरो योजना हो । अरु योजना विस्तारै बन्दै जालान् ।