फर्किएको खुसी
हिजोसम्म त खुसी नै थिए छोरीहरू । तर, आज अचानक पूर्णचन्द्रजस्ता छोरीहरूको मुहारमा औंसीको कालिमाले छपक्क किन छोप्यो ?

डेढ वर्षदेखि उनी कर्तव्य ज्यान मुद्दामा भोजपुर कारागारमा कैद सजाय भोगिरहेकी छन् । आवेशमा आफ्नै सन्तानको हत्या गरेकोमा उनलाई पश्चाताप भैरहन्थ्यो । सजाय भुक्तान भैसकेपछि कुनै दिन समाजमा फर्कनुपर्दा कसरी ‘एडजस्ट’ हुने कुराले पिरोल्थ्यो । जब सकारात्मक सोचको विकास गर्ने तालिम पाइन् । नकारात्मक सोचहरूलाई सहज रूपमा लिन थालेकी छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कारागारमा जेल सजाय भोगिरहेका २१ देखि ६२ वर्षका १० जना महिला तथा किशोरीलाई भोजपुरमा तनाव व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षण दिएको छ । त्यसमा कर्तव्य ज्यान मुद्दाका ८, जाली नोट र बहुविवाहका एक/एक जना सहभागी थिए । ‘जनचेतनामूलक सकारात्मक सोचसम्बन्धी एकदिने तालिम’ ले सोच बदल्न सहयोग पुर्याएको उनीहरूले बताए ।
मनोसामाजिक परामर्शकर्ताहरूले जीवनोपयोगी सीपको विकास गर्दै तनाव व्यवस्थापन गर्न, शारीरिक स्वस्थता एवं मानसिक सबलताका लागि ‘ब्रेन स्टोमिङ’ गराएका थिए । ‘कुनै पनि व्यक्ति जन्मदै आपराधिक मानसिकता लिएर जन्मिएको हुँदैन, कारणवश क्षणिक आवेश, मानसिक असन्तुलन, असामान्य पारिवारिक स्थितिबाट ग्रसित भएर अपराध गर्छ, त्यस्ता मानसिक विकारहरू निर्मूल गरी आपराधिक प्रवृत्तिको अन्त्य गर्न सघाउ पुगोस् भनेर जनचेतना दिएका हौं,’ मन्त्रालयमा लैंगिक हिंसा निवारण शाखाकी प्रमुख रोशनीदेवी कार्कीले बताइन् ।