Successfully Copied

आमा पछ्याउँदै

‘छोरीसँग धेरै कुरामा भिन्नता भए पनि मन भने मिल्छ, हामी एक–अर्कालाई बुझ्छौं ।’

आमाबाट सन्तानले धेरै कुरा सिकेका हुन्छन् । तर, कमै मात्रले आमाको पदचाप पछ्याएका हुन्छन् । पछिल्लो समय आमाको बाटो पछ्याउँदै विभिन्न पेसा/व्यवसायमा छोराछोरी स्थापित हुन थालेका छन् । यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । यो पितृसत्तात्मक सोचलाई तोड्दै आमाहरू सक्षम हुनुको परिणाम हो । आमा सक्षम र आत्मनिर्भर हुँदा छोराछोरीले पनि आमालाई आदर्शका रूपमा लिन थालेका छन् । आमालाई आदर्शका रूपमा लिने र आमाकै पथमा हिँड्ने छोराछोरीमा साहित्यकार माया ठकुरी तथा अनुराधा शर्मा, अभिनेतृ तथा चलचित्र निर्देशक झरना थापा र अभिनेतृ सुहाना थापा, गायिका कुन्ती मुक्तानका छोरीद्वय सुहानी र शिवानी मोक्तान, अभिनेतृ करिश्मा मानन्धर र छोरी कविता मानन्धर आदि हुन् । यी त केवल उदाहरण मात्रै हुन् । ‘नारी’ मासिकको वैशाख अंकमा मातातीर्थ औंसीका अवसरमा आमाको सम्मानस्वरूप आमाकै पथमा लागेका केही आमा र उनका सन्तानलाई समेट्ने प्रयास गरेका छौं ।

‘साथीजस्तै हामी’

अञ्जु पन्त र परितोषिका पन्त

‘आमाको दोस्रो विवाह हुँदा सबैभन्दा खुसी त मै थिएँ’ परितोषिका पन्त भन्छिन्, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो जस्तो लाग्छ ।’ परितोषिका आमाको विवाह हेर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् । गायिका अञ्जु पन्तले पनि छोरीकै खुसीका लागि आफूले दोस्रो विवाह गरेको बताउँछिन् । ‘छोरीले विवाह गर्न धेरै आग्रह गरेपछि दोस्रो विवाह गरें,’ अञ्जु भन्छिन्, ‘छोरीकै सल्लाहमा दोस्रो विवाहको निर्णय लिएँ ।’ विवाहपछि उनीहरूको बसाइको दूरी बढेको छ । तर, भावनात्मक दूरी भने घटेको छ । विवाहपछि अञ्जु धेरै खुसी र खुल्ने गरेको परितोषिकाले महसुस गरेकी छन् । ममी खुसी देख्दा आफूलाई समेत खुसी महसुस हुने बताउँछिन् उनी । अञ्जुले छोरीको जिम्मेवारी एक्लै उठाइन् । बुवाआमाको माया र प्रेम अञ्जुले एक्लै छोरीलाई दिइन् । करियर र छोरीको जिम्मेवारी सँगसँगै अगाडि बढाउने क्रममा उनले थुप्रै संघर्ष गर्नुपर्‍यो । आमाका ती संघर्ष नजिकबाटै नियालेकी परिषोतिकाले कहिल्यै अञ्जुलाई दुःख दिइनन् । त्यही भएर पनि अञ्जुलाई छोरी समझदार र परिपक्व लाग्छिन् । उनी भन्छिन्, ‘नानीले कहिल्यै पनि केही कुरामा दुःख दिइनन्, अनावश्यक माग गरेको पनि मलाई थाहा छैन ।’ अञ्जुले छोरीमात्रै नभई परितोषिका अभिभावक समेत पाएको महसुस गर्छिन् । अञ्जुलाई छोरीले धेरै कुरामा सम्झाइरहेकी हुन्छिन्, उनको आवश्यकताको समेत छोरीले ख्याल गर्छिन् ।

छोरीले गर्ने काममा र उनको रहरमा अञ्जुले कहिल्यै अवरोध गरिनन् । छोराछोरीलाई जे बन्न मन छ त्यसमा रोक्न हुँदैन भन्ने सोच अञ्जुमा छ । उनी समयअनुसार छोराछोरीको भावना बुझ्नुपर्ने बताउँछिन् । ब्याचलरमा अध्ययनरत परितोषिकाले भने मोडलिङ क्षेत्रमा पाइला टेकेकी छन् । उनले आमाको स्वर र संगीत रहेको ‘धेरै माया नदेऊ मलाई’ मोडलिङमा डेब्यु गरेकी छन् । यसबाट उनले सकारात्मक प्रतिक्रिया पाइन् । अगाडि बढ्न थप हौसला मिलेको उनी बताउँछिन् । आमाको गीत सुन्दै हुर्केकी परितोषिकाले गीत पनि गाउँछिन् । रहरका लागि उनले गीत गाए पनि करियर भने मोडलिङ क्षेत्रमा बनाउन अघि बढेकी छन् । उनले मोडलिङ गर्दै फिल्म क्षेत्रमा प्रवेश गर्ने सोच बनाएकी छन् । छोरीले आफ्ना लागि आफैं अवसर खोज्ने गरेको बताउँछिन् अञ्जु । उनको कामलाई र योजनालाई समर्थन मात्रै आफूले गर्ने गरेको उनको भनाइ छ । आमाछोरीको भन्दा पनि उनीहरूको व्यवहार साथीजस्तो छ । आमाछोरीका बीचमा हरेक कुरा एक–अर्कामा शेयर हुन्छ । यद्यपि कतिपय कुरामा भने दुवैको असहमति हुन्छ । परितोषिकालाई आफ्नी आमा धेरै फ्र्याङ्क भएको मन पर्दैन । जहाँ गए पनि सामान छोड्ने वा हराउने आमाको बानी पटक्कै मन पर्दैन । अञ्जुले भने परितोषिकाको नराम्रो बानी भन्न सक्दिनन् । उनी भन्छिन्, ‘नानीको नराम्रो बानी भएजस्तो लाग्दैन ।’

स्वास्थमा सहकार्य

चन्दा कार्की र चन्द्रिमा कार्की

‘विवाह भएपछि आमाको एकदमै माया लाग्दो रहेछ, सायद टाढा भएर हो कि ?’ चन्द्रिमा कार्कीले यसो भनिरहँदा सँगै बसेकी आमा चन्दा कार्की मुसुक्क मुस्कुराइन् । चन्द्रिमाले विवाहपछि आमालाई एकदमै मिस गर्छिन् । विवाहपछि आमाबुवाको माया मात्र बढी होइन उनलाई थप जिम्मेवारसमेत बनाएको छ । चन्द्रिमा बुवाभन्दा पनि आमासँग नजिक छिन् । स्त्रीरोग विशेषज्ञ डाक्टर चन्दा कार्कीका दुई छोरी हुन् करिश्मा र चन्द्रिमा । दुई छोरीको स्वभावमा पूरै भिन्नता छ । जेठी छोरी शान्त स्वभावकी छन् भने कान्छी चञ्चले । दुई छोरीलाई शिक्षा–दीक्षाका लागि चन्दा कार्कीले कुनै कमी गरिनन् । व्यस्त दैनिकीका बाबजुद पनि छोरीहरूलाई समय दिने प्रयास गरिन् । छोरीहरूलाई बाहिर घुमाउने समय नहुँदा अस्पताल उनीहरूको घुम्ने स्थान हुन्थ्यो । उनी छोरी लिन वा पुर्‍याउन विद्यालय जान्थिन् । स्कुल बसमा विद्यालय पठाउन उनी सधै इन्कार गर्थिन् । छोरीहरूसँग खेल्ने–रमाउने उनको चाहनाभन्दा पनि बिरामीहरूप्रतिको जिम्मेवारीले उनलाई जित्दै गयो । कार्यव्यस्तताले उनले छोरीहरूलाई सधै समय दिन सकिनन् । आफूलाई समय अभावका कारण छोरीको केयरमा कमी नआओस् भनेर दुवै छोरीलाई होस्टलमा राख्ने निर्णय गरिन् । उनले दुवै छोरीलाई बूढानीलकण्ठ विद्यालयमा भर्ना गरिदिइन् । उनी भन्छिन्, ‘छोरीहरूको बालापनमा रमाउने इच्छाभन्दा पनि बिरामीप्रति नै जिम्मेवार बन्न पुगें ।’ बच्चैदेखि अस्पताल, बिरामी हेर्दै–सुन्दै हुर्केका छोरीहरूले डाक्टरकै पेसा रोज्न पुगे । चञ्चले स्वभावकी चन्द्रिमालाई डाक्टर नबनी विदेश जाने रहर नभएको पनि होइन । साथीहरू विदेश जाने भएकाले उनलाई पनि विदेश जाने रहरले तानेको थियो । तर, उनको रहरभन्दा पनि पारिवारिक वातावरणले नै डाक्टर बन्न प्रेरित गर्‍यो । त्यही भएर आमाजस्तै उनी पनि स्त्रीरोग विशेषज्ञ बनिन् । हाल उनी काठमाडौं मेडिकल कलेजमा कार्यरत छन् । बुवाआमाकै पथमा दुवै छोरीले एउटै पेसा सम्हालिरहेका छन् । छोरीहरूप्रति गरेको कडा मेहनत र लगानीका कारणले उनीहरू अब्बल हुन पुगेको चन्दा बताउँछिन् । छोरी मात्र भएर उनलाई कहिल्यै पछुतो महसुस गर्नु परेन । उनका अनुसार अवसर पाए छोरीहरू पनि हरेक क्षेत्रमा अब्बल हुन सक्छन् । चन्दालाई भने छोरीले अझै बढी मेहनत गरिदिए हुन्थ्यो जस्तो लागिरहन्छ । छोरी मेहनती भए पनि अपुग नै महसुस भइरहने उनी बताउँछिन् । जेठी छोरी करिश्मा विदेशमा भएकीले चन्दा कान्छी छोरीसँग नजिक छिन् । ‘दुई छोरी आँखाका नानीजस्तै हुन् उनका लागि । उनी भन्छिन्, ‘मेरा लागि दुई छोरी आँखाका नानीजस्तै हुन्, एक नहुँदा अपूरो नै हुन्छ ।’

चन्द्रिमा हरेक कुरा आमासँग शेयर गर्छिन् । एउटै क्षेत्रमा भएकाले सहज हुने गरेको उनी बताउँछिन् । उनले आमालाई मार्गदर्शनका रूपमा लिने गर्छिन् । आमाबाट कडा मेहनत र निडर रहन उनले सिकेकी छन् । आमाको सहयोगले आफूलाई निडर रहन मद्दत पुगेको उनी बताउँछिन् । कुनै समस्या आइपरे पनि आमा हुनुहुन्छ भन्ने महसुस उनलाई भइरहन्छ । आमाले आफूलाई समय नदिँदा भने चन्द्रिमाको सधै गुनासो भइरहन्छ । उनी भन्छिन्, ‘आमाले आफ्नो स्वास्थ्यको ख्याल गरिदिए हुन्थ्यो भन्ने भइरहन्छ ।’

रंगमा सँगै

सुनीता राणा र प्रधि राणा

चित्रकार प्रधि राणाका हरेक चित्रमा जून भेटिन्छन् । यसबारे उनी भन्छिन्, ‘जूनले अन्धकारमा पनि उज्यालो छरिरहेको हुन्छ । यसले गर्दा पनि अँध्यारोभित्रको उज्यालो छर्न सम्भव छ भनेर देखाउन जूनको प्रयोग गरेकी हुँ ।’ सानै छँदा प्रधिले कुची चलाउन सिकेकी हुन् । आमा सुनीता राणा र बुवा सुदर्शन राणाको स्टुडियोमै उनी हुर्किइन् । सुनीताले उनलाई साथ/सहयोग गर्न कहिल्यै पछि परिनन् । घरदेखि ग्यालरीसम्म सुनीताकी साथी बनिरहिन् प्रधि । कापीमा चित्र बनाउँदै हुर्केकी उनले पछि क्यानभासमा गजबको चित्र उतार्न थालिन् । उता सुनीता प्रकृतिसँग बढी रमाउँछिन् । हिमाल, पहाड र तराईलाई नै क्यानभासमा उतार्न उनलाई औधी रमाइलो लाग्छ । एसएलसीको खाली समय सदुपयोगका लागि उनी सिर्जना कलेज अफ फाइन आर्टमा पुगिन् । त्यसबेला उनलाई लाग्यो कि म पनि आर्टका लागि योग्य रहेछु । समयको सदुपयोग गर्न ग्यालरी पुगेकी उनले आर्ट क्षेत्रमा भविष्य बनाउने सोच बनाइन् । उनको यो सोचलाई परिवारले पनि साथ दियो । प्रधिलाई पनि आमाको साथ सधै रह्यो । छोरीको रहरलाई सुनीताले कहिल्यै रोकिनन् । सुनीतालाई भने छोरी गायन क्षेत्रमा लागोस् भन्ने थियो । गायनमा भन्दा पनि छोरीको रहर आर्टमा बढी भएकाले यसै क्षेत्रमा लाग्न प्रेरित गरिन् । सुनीता भन्छिन्, ‘छोरीको इच्छालाई कहिल्यै हामीले फोर्स गरेनौं, उनकै इच्छानुसार अगाडि बढ्न हौसला दियौं ।’ प्रधिले प्लस टु लेभलको पढाइ पूरा गरिन् । बुवाआमा एउटै क्षेत्रमा भएपनि प्रधि आमासँगै बढी घुलमिल हुन्छिन् । घरमा उनको स्टुडियो नै फरक छ । जेनेरेसन ग्याप भएकाले क्यानभासका चित्रहरू पनि फरक हुन्छन् । क्यानभासमा रमाउने परिवार भएपनि क्यानभासमा उतार्ने चित्रमा भने फरकपना पाइन्छ । फिलिङसका कारण चित्र उतार्ने भएकाले पनि एक–अर्काको चित्रमा फरकपना आउने गरेको सुनीता बताउँछिन् । व्यावसायिक जीवनमा मात्रै होइन घरमा पनि आमाछोरी एक–अर्कालाई साथ र सहयोग गरिरहेका हुन्छन् । प्रधिले यही क्षेत्रमा अघि बढ्ने सोच बनाएकी छन् । भन्छिन्, ‘आमाबुवाको सहयोग लिएर यही क्षेत्रमा रमाउनेछु ।’

‘हामी साहसी’

निर्मला महर्जन र राज खड्का

बडिबिल्डर निर्मला महर्जनलाई धेरैले भन्ने गर्थे, ‘छोरी भएको भए कति सजिलो हुन्थ्यो, साथीजस्तै हुन्थिन् ।’ तर उनका छोराले नै छोरीको अभाव पनि पूरा गरिदिए । छोरा पनि आमाको राम्रो साथी बन्न सक्छन् भन्ने उदाहरण छोरा राज खड्काले दिएका छन् । निर्मला पहिलो महिला बडिबिल्डर हुन् । बडिबिल्डर बन्नका लागि उनले थुप्रै संघर्ष गरेकी छन् । परिवारको सपोर्ट नहुनु, फिटनेसमा महिला नहुनु आदि समस्या झेल्दै अघि बढिरहिन् । आफ्नो करियरका लागि संघर्ष गरेकी निर्मलालाई छोराको जिम्मेवारी पनि एक्लो काँधमा आइपर्‍यो । श्रीमान्सँग सम्बन्धविच्छेद हुँदा राज सानै थिए । निर्मलाले राजलाई एकल आमाका रूपमा हुर्काइन् । राजले बुवाको माया पनि आमाबाटै पाए । एक्लै छोराको जिम्मेवारी निर्वाह गर्दै उनी बडिबिल्डर क्षेत्रमा लागिन् । आमाको दुःख–संघर्षलाई नजिकबाट नियालेका राज पनि आमा कै बाटोमा लागे ।

बाल्यकालमा उनी कहिले आमाको फिटनेस सेन्टर पुग्थे त कहिले आमाको खानपान नियाल्थे । अरूभन्दा उनी आमालाई फरक देख्थे । उनी भन्छन्, ‘मेरी आमा अरूभन्दा फरक लाग्नुहुन्थ्यो, निकै परिश्रम गर्नुहुन्थ्यो ।’ उनी एसएलसीपछि कहिलेकाहीँ आमाको जिम सेन्टरमा जान थाले । एसएलसीपछिको खाली समयको सदुपयोगका लागि उनी जिम सेन्टर पुगे । आमा सँगसँगै उनी पनि जिममा रमाउन थाले । आमाबाटै उनले फिटनेस सिक्न थाले । जिम जाँदै गर्दा उनलाई फिटनेप्रतिको मोह बढेको हो । राजलाई बडिबिल्डर खेलप्रति रुचि बढ्दै गयो । यसमा आमा निर्मलाले साथ दिइरहिन् । उनी भन्छिन्, ‘बडिबिल्डरमा छोराको मोह बढेपछि अगाडि बढ्न हौसला दिइरहें ।’

आमाछोराले चुनौतीहरू झेल्दै अघि बढिरहे । आमाछोरा एक–अर्कामा सहयोगी बनिरहे । राजले बडिबिल्डर सँगसँगै अध्ययनलाई पनि अगाडि बढाइरहेका छन् । फिटनेसमा उनले अध्ययन गर्न चाहन्थे तर उनले उक्त पढाइ यहाँ नभएपछि अर्को विषय अध्ययन गर्न थाले । अब उनी फिटनेसमै अध्ययन गर्न विदेश जाने सोचमा छन् । यसमा आमालाई निर्मलाले पनि साथ दिएकी छन् । उनी भन्छन्, ‘फिटनेस करियरकै लागि विदेश जाने तयारीमा छु ।’

सौन्दर्यमा साथ

सोनी कारञ्जित र परिसी कारञ्जित

झन्डै २० वर्षअघि सौन्दर्य क्षेत्रमा काम गर्नु त्यति सहज थिएन । थुप्रै चुनौती झेल्दै सोनी कारञ्जित पार्लरमै रमाउन थालिन् । पार्लरलाई नै व्यवसायीकरण गर्दै अघि बढिन् । उनको धेरै समय पार्लरमै बित्थ्यो । छोरी परिसी पनि पार्लरमै हुर्किइन् र पार्लरमा बढिन् । यतिसम्म कि परिसी आमाको पार्लरमै परम्पगरागत गुफा बसिन् । सोनीलाई बच्चामा मेकअपमा रमाउन त्यति सहज थिएन । मेकअप गरेकै कारण उनले थुप्रै पटक कुटाइ खाएकी छन् । तर, छोरीलाई भने यी सबै कुरा गर्न छुट थिए । परिसी पार्लरमै मेकअप गर्थिन् । मेकअप गर्दै नक्कल पार्दै पार्लरमै परिसीले बालापन बिताइन् । सोनीले हेरचाहका लागि छोरीलाई पार्लरमै लिएर जान्थिन् । सोनी कहिले केश काट्थिन्, कहिले मेकअप गर्थिन् । कहिले ऐना हेर्दै मख्ख पर्थिन् । बालापन सम्झदै परिसी भन्छिन्, ‘पार्लरको वातावरण साँच्चै रमाइलो थियो, म घण्टौं पार्लरमा रमाउँथें ।’ बालापनमा पार्लरमा रमाउँदा यही क्षेत्रमा करिअर बनाउँला भन्ने उनले सोचेकी भने थिइनन् । आमा सोनीलाई पनि यही क्षेत्रमा छोरी आउलिन् र आमाको सहयोगी बन्लिन् भनेर अनुमानसम्म थिएन । छोरीको योजनालाई आमाले साथ दिए पनि बुवाले केही असहमति जनाए । छोरीले केही फरक तरिकाले यसैमा करिअर बनाओस् भन्ने सोचाइ थियो सोनीको । फरक त गर्ने, तर के गर्ने ? यस विषयमा आमाछोरीको छलफल चल्यो र निष्कर्ष निस्कियो कस्मेटिक साइन्स पढ्ने । उक्त पढाइ नेपालमा भने थिएन । यो कोर्स अध्ययन गर्न विदेश जानुपर्ने र त्यसका लागि साइन्स नै अध्ययन गर्न अनिवार्य थियो । उनले कस्मेटिक साइन्स पढ्न प्लस टुमा साइन्स लिइन् । थप अध्ययन गर्न उनी मुम्बई पुगिन् । कस्मेटिक साइन्स अध्ययन गर्ने नेपालमा पहिलो भइन् उनी । हाल कस्मेटोलोजिस्टका रूपमा क्रियाशील छिन् । आमाको भावनालाई नै बुझेर केही फरक गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘आमाको फरक सोचाइ र हौसलाले नै अघि बढ्न प्रेरित गरिरहेको छ ।’ छोरी पनि आफ्नो इच्छानुसार अघि बढेकोमा खुसी लागेको सोनी बताउँछिन् । सोनी र परिसी अहिले साथीजस्तै बनेका छन् । व्यावसायिक कामदेखि घरायसी कामसम्म एक–अर्काका लागि सहयोगी बन्न पुगेका छन् । आमा पछ्याउँदै अघि बढिरहेकी परिसीको भने आमासँग धेरै कुरा मिल्दैन । खानेकुरादेखि रंगको रोजाइमा पनि भिन्नता छ । सोनी भन्छिन्, ‘छोरीसँग धेरै कुरामा भिन्नता भए पनि मन भने मिल्छ, हामी एक–अर्कालाई बुझ्छौं ।’ परिसीका लागि आमा एक असल साथी–अभिभावक बनेकी छन् । आमाको काममा साथ दिने अठोट उनको पनि छ ।

 Image