Successfully Copied

नव वर्षका पाँच संकल्प

अनुभवबाट हामीले अहिलेबाटै आफ्नो जीवनमा पश्चाताप गर्नु नपरोस् भनेर शिक्षा ग्रहण गर्दै आफ्नै तरिकाको जीवन बाँच्ने संकल्प लिन सकिन्छ ।

डा.नम्रता पाण्डे

जब नयाँ वर्ष सुरू हुन्छ तब केही संकल्प गरौं भन्ने नयाँ ऊर्जा जागृत भएर आउँछ । आखिर संकल्प किन लिनुपर्‍यो त ? किनकि हामीमा रूपान्तरण आउनका लागि पुराना मान्यता, अभ्यास र कथाबाट माथि उठ्नैपर्छ । आफूले चाहेजस्तो वा खोजेजस्तो नहुनुका पछाडि धेरै कारण छन् । तीमध्ये पुराना आदत, अभ्यास र मान्यतालाई छाड्न नसक्नु पनि हो । अझ महिलाका लागि त यो झनै चुनौतीको विषय हो । किनकि महिलाले चाहेर पनि मान्यता त्याग्न सक्दैनन् । घरपरिवारले के भन्लान्, समाजले के भन्ला भन्दै आफ्नो इच्छाशक्ति र ऊर्जाशक्तिसमेत दबाएर राखेको स्थिति छ । आफूले चाहेको जीवन बाँच्न, आफ्नो तरिकाले परिवारको हेरचाह, नोकरी, घरेलु काम जे पनि कर्तव्य र जिम्मेवारी होऊन् ती पूरा गर्न महिला विद्रोही हुनुपर्छ भन्ने पनि छैन । तर, आफैंमा खुलेर, आवश्यकता पर्दा बुझाएर, आफ्नो शैलीलाई कायम राख्न भने सक्नुपर्छ ।

आफ्नो ढंगले जीवन बाँच्ने

जीवन कुनै वस्तु होइन जसलाई कसी लगाएर प्रमाणित गर्न सकियोस् । तर जीवन कसरी बाँच्यौं र कसरी बाँचेनौं त्यसको खुलासा भने जीवनको उत्तरार्द्घमा सबै व्यक्तिलाई हुनेगरेको अनुसन्धानले देखाएको छ । ‘किन जीवनको उत्तरार्द्घमा मानिस पश्चाताप गर्छ त ?’–जान्ने प्रयास गर्दै आफू पश्चातापरहित जीवन बाँच्ने अभ्यासमा महिलाको संकल्प हुनुपर्छ । प्रायः महिलाहरू अभिभावकको रुचि, समाजको मान्यता, अरुले थोपरेको संस्कारमा हुर्कदै आएका हुन्छन् र आफूलाई सही नलागेको कुरा पनि अरुले भनेको र मानेको आधारमा अवलम्बन गर्न बाध्य हुन्छन् । आफ्नो जीवनशैली आफूले चाहेअनुसार बनाउन नपाएको धेरै मानिसको गुनासो अहिले पनि समाजमा, घरमा नसुनिने होइन । आफूलाई रुचि नभएको, आफूले सही नदेखेको कुरामा पनि आवाज उठाउन नसकेको र अरुकै ईशारा, नियम, मान्यतामा जीवन बितेको बताउनेहरूको

अनुभवबाट हामीले अहिलेबाटै आफ्नो जीवनमा पश्चाताप गर्नु नपरोस् भनेर शिक्षा ग्रहण गर्दै आफ्नै तरिकाको जीवन बाँच्ने संकल्प लिन सकिन्छ ।

सम्यक कर्म र सोचको

 जीवन बाँच्न र रोजीरोटीका लागि निष्ठापूर्वक र उद्देश्यअनुरूपको सम्यक श्रम आवश्यक छ । तर, धेरै पाउने, धेरै धनी हुने र अरुभन्दा अगाडि पुग्ने अभिलाषाले जीवनमा कडा मिहिनेत गरें भनेर पछुताउनेहरू त्यति नै भेटिन्छन् । जीवनमा अरूलाई खुसी पार्न र केही धन संग्रह गरौं वा केही सम्मान प्राप्त गरौं भनेर धेरै परिश्रम गर्नुपर्ने कुनै जरुरी छैन । आरामले जीवन जिउन सकिने रहेछ । दुई छाक जाउलो र सामान्य जीवनका लागि अनेक अराजकताका साथ कर्म नगरे पनि हुने कुरा जीवनको उत्तरार्द्घमा थाहा लाग्छ र पश्चाताप हुन्छ । यसो हेर्दा सबै मानिस व्यस्त, व्यस्त मात्र होइन अस्तव्यस्त भएर मिहिनेत गरेको पाइन्छ । तर, कस्ता काममा हामीले श्रम लगाइरहेका छौं त्यो पनि ख्याल गर्नुपर्छ । असल, सत्य, बहुजन हितायका कर्ममा श्रम लगाउँदा आफूलाई पनि सन्तोष हुन्छ । विध्वंशात्मक कार्य, आन्दोलन र युद्घमा किन श्रम लगाउनु ? युद्घमा जत्तिकै ऊर्जा प्रेममा लगाउने हो भने पनि संसार जित्न सकिन्छ । हाम्रो श्रम शरीर, विचार, मष्तिस्क र स्वास्थ्यलाई असर नपुर्‍याउने खालको हुनुपर्छ । आफूलाई फाइदा हुने कर्म गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर, मैले अरुको हितका लागि पनि कर्म गर्ने क्षमता राख्छु ? भन्ने कुरा चाहिँ केही प्रतिशतलाई मात्र बोध हुन्छ । सामान्य मानिसले आफ्नै लागि मात्र श्रम गरेको हुन्छ । परोपकार, समाजसेवाका काम र जुन आफूले नगरे पनि कसैले जबर्जस्ती गर्न सक्दैन तर अन्तर हृदयबाट उब्जेपछि अरुको हितका लागि, सहयोगका लागि श्रम गर्न तत्पर हुन्छ भने त्यो हो असाधारणता । यस्तै सम्यक कर्ममा लाग्ने संकल्प गर्न सके जीवन सन्तुलनका साथ अगाडि बढ्छ ।

आफ्ना भावनाहरू अभिव्यक्त गर्न सक्ने

 महिलाका लागि अधिकार माग्ने भन्दा पनि उनीहरूको भावना निर्धक्क भन्न सक्ने वातावरण बन्नुपर्छ । जीवनभर आफ्ना भावनाहरू कसैसँग अभिव्यक्त नगरी दबाएर, भित्रभित्रै कुण्ठित र दमन हुँदा त्यसले मानसिक अशान्ति पनि दिन्छ । आफूलाई लागेको कुरा खुलेर अभिव्यक्त गर्न सक्नेले जीवनको अन्तिम क्षणसम्म पश्चाताप गर्नुपर्दैन । कतिपय अवस्थामा पत्तै नभईकन विभिन्न घटना, विचार र दृश्यहरू व्यक्तिभित्र दमित भएर बसेका हुन्छन् । ती कुराहरू पोख्न चाहँदा–चाहँदै पनि इज्जत, प्रतिष्ठा र अरुले के भन्लान् भनेर तिनलाई बाहिर नल्याई दबाइएका हुन्छन् । जति संवेदना बढ्दै जान्छ त्यति नै बढी कुरा मनमा दमित हुँदै जान्छन् । मानिसले आफूलाई बुद्घिमानी ठान्छन् । कसैले केही चित्त दुखायो भने पनि सीधै प्रतिक्रिया दिन र गाली गर्न सक्दैन जुन स्वाभाविक पनि हो । दमित कुरालाई बाहिर ल्याउँदा पनि आफ्नो आत्मसम्मानमा चोट पुग्ला भनेर मानिस सतर्क हुने प्रयास गर्छ । भित्र उब्जेका कुण्ठित भावना र संग्रहित भएर बसेका दमित भावनाहरूले हामीलाई भित्रभित्रै तनाव दिइरहेका हुन्छन् । त्यसैले समय र परिस्थिति मिलाएर होशपूर्वक यस्ता भावना र कुण्ठाहरूलाई रेचनद्वारा विसर्जन गर्नु अत्यावश्यक हुन्छ । कसले के भन्ला नसोचीकन ‘मेरो भावनाले के भनिरहेछ, मेरो अन्तर्मनले के निर्देश गरेको छ’ त्यो ख्याल गरी आफ्ना कुरा निर्धक्क भन्न सक्ने संकल्प लिने हो भने निर्भीक हुन सहयोग पुग्छ । साथै, होशपूर्ण र सजगताको समेत विकास हुन्छ ।

आफ्ना प्रियजनसँग नजिक हुने  

 भनिन्छ महिलाहरू भेट भएपछि कुरा गरेर सक्दैनन् । कुरा त गर्लान् तर वास्तविक आफ्नो हृदयका कुरा व्यक्त गर्ने मित्रवत् प्रियजन हुन्छन् कि हुन्नन् महिलाबीचमा त्यो महत्वपूर्ण कुरा हो । आफ्नो खास प्रियजन जसलाई खुलेर भावना अभिव्यक्त गर्न सकिन्छ, सुख, दुःख साट्न सकिन्छ र सहयोगको निवेदन गर्न सकिन्छ त्यो मित्रसँग सम्पर्क र सम्यक सम्बन्ध कसरी कायम रहन सक्छ त्यसमा ध्यान दिनुपर्छ । मित्रता सजगताको अवस्था हो, मित्रता हिसाबकिताब नभएर आफूलाई मिटाएर पनि अरुलाई सहयोग गरौं भन्ने भावना विकास भएको अवस्था हो । मित्रता यस्तो सम्बन्ध हो जुन मैत्रीरूपी गुणबत्ताको विकास भएपछि सम्बन्धमा थप प्रेम फैलाउने काम गर्छ । मानिस स्वभावले मैत्रीरूपी गुणबत्ता कायम राख्दै सबैसँग मित्रता कायम राख्ने स्वभाव भएको प्राणी हो तर व्यवहारमा यसको उल्टो गरिरहेको हुन्छ । जोसँग मित्रता निभाउनुपर्ने हुन्छ उसमाथि नै सन्देह, शंका र तर्क गर्न थाल्छ । यदि व्यक्ति सकारात्मक भावदशामा जिउन चाहने हो भने आफ्ना नजिकका प्रियजनहरूसँग मित्रता बढाउने र त्यसलाई जीवनपर्यन्त टिकाइराख्ने प्रयास गर्नुपर्छ ।

आफ्नो इच्छा पूरा गरेर जीवन बाँच्ने

 महिलाले अरूसँग माग्ने, अरूलाई खुसी बनाउने र अरूबाट पाउने धारणा त्यागेर आफ्ना इच्छा के हुन् त्यसमा ध्यान दिए पुग्छ । अरुको इच्छा पूरा गरी अरुलाई खुसी बनाउन खोज्दा आफ्ना इच्छाहरू अधूरै रहन सक्छन् । आफूलाई नाच्ने, गाउने, खेल्ने, सिर्जनात्मक काम गर्ने वा जे पनि, आफ्नो रुचि हुँदाहुँदै पनि अभिभावकको इच्छाअनुसार डाक्टर, इन्जिनियर बन्न खोज्दा आत्मिक शान्ति नमिल्ने हुन्छ । जन्मदेखि मृत्युसम्म व्यक्ति एकपछि अर्को कर्म, आराम कमाउन आराम छोडेर बिहानदेखि साँझसम्म कुँदेका हुन्छन् । जवानीको सपना देखेकै कारण अनेक कर्म गर्दागर्दै बचपन सकिन्छ । फेरि सम्पन्न बन्ने लालसाले थाहै नपाई जवानी सकिन्छ । जीवनभरको थकित, तनावपूर्ण शरीर, मनमष्तिस्कले अनि प्रश्न गर्न थाल्छ बाँच्नका लागि काम गरेको वा काम गर्नका लागि बाँचेको ? आफूलाई स्वान्त सुखाय राख्न अर्थ आर्जनका कामका अलावा नितान्त मनपर्ने कामका लागि दैनिक एक घण्टा, आधा घण्टा समय छुट्याएर शान्त, प्रेमपूर्ण र आनन्दित रहन ध्यान जरुरी हुन्छ । आफ्नो आत्मरुचिको कर्म जे गरे पनि पूजा बन्दछ भने अरुचिको कर्म आफैलाई सजाय दिएजस्तो र तनावपूर्ण बन्छ । महिलाको संकल्प आत्मरुचिको कर्मतिर मोडिन सक्यो भने निर्भीकता र ऊर्जासहित स्व–पहिचानको बोध हुन्छ ।

email: [email protected]

 Image