Successfully Copied

गलैंचा फैलाउँदै शोभा

कुनै समय नेपाली उत्पादनलाई हेला गर्नेहरू अहिले नेपाली उत्पादन खोज्दै उनीसम्म पुग्ने गरेका छन् ।

कोरोना महामारीको प्रत्यक्ष असर हरेक क्षेत्रमा पर्‍यो । यसैका कारण उद्योग, व्यापार र व्यवसाय ठप्प भए । धेरैजना चिन्तित बने । तीमध्ये महिला उद्यमी शोभा गुरुङ पनि एक हुन् । नेपाली गलैंचा नेपाली समुदायमा चिनाउने उनको योजनामा धक्का पुग्यो । उनलाई लागेको थियो–अब व्यवसाय के होला ? कसरी अगाडि बढ्ला ? तर उनले यो चिन्ता लामो समय लिनु परेन । उनले अनलाइन व्यापारको सोच बनाइन् । सामाजिक सञ्जालमार्फत नै उनले आफ्नो उपस्थिति देखाइन् । उनको अनलाइन व्यापार सोचेभन्दा बढि प्रभावकारी बन्यो । नेपाली गलैंचाको माग अनलाइनमार्फत बढ्न थाल्यो । सामाजिक सञ्जालमा देखेर गलैंचा किन्न उनको शोरुमसम्म पुग्नेहरूको संख्या बढ्दै गयो । उनलाई लाग्यो अब नेपालीहरू स्वदेशी उत्पादनलाई माया गर्न थालेका छन् । उनको उद्देश्य र सोचअनुसार स्वदेशी गलैंचालाई विस्तार गर्न अनलाइन व्यापार प्रभावकारी बन्दै गएको छ । अहिलेको भर्चुअल दुनियाँमा अनलाइन व्यापार एक प्लेटफर्मका रूपमा विकास भएको उनी बताउँछिन् । भन्छिन्, ‘अनलाइनमार्फत धेरै समुदायसम्म फैलने हुँदा यो व्यापार उपयोगी हुन पुगेको छ ।’ कुनै समय नेपाली उत्पादनलाई हेला गर्नेहरू अहिले नेपाली उत्पादन खोज्दै उनीसम्म पुग्ने गरेका छन् ।

शोभाको गलैंचासँगको साइनो सानैदेखिकै हो । उनको बाल्यकाल तनहुँमै बित्यो । उनका बुवाले पनि गलैंचा उद्योग नै सञ्चालन गर्थे । गलैंचा बुनेको हेर्दै हुर्केकी शोभाको विवाह सानै उमेरमा भयो । संगोगवश उनका श्रीमान् पनि गलैंचा उद्योगमै संलग्न थिए । उनले श्रीमान्को गलैंचा उद्योगलाई पनि साथ दिन थालिन् । तरश्रीमान्ले लामो समय व्यवसायलाई निरन्तरता दिन सकेनन् । उनको बाटो भने मोडियो । श्रीमान् राजनीतिमा प्रवेश गरेपछि भने उद्योग उनको काँधमा आइपर्‍यो । सन् १९९३ यता उनले उद्योग सञ्चालनमा ल्याएकी छन् । उनले ‘हिमालयन डेकोर रक्स’ कम्पनीमार्फत उद्योग सञ्चालन गर्दै आएकी छन् । सुरुवाती दिनमा जर्मनमा मात्रै निर्यात हुने गलैंचाहरू अहिले विभिन्न देशमा पुर्‍याउन भ्याइनभ्याइ छ । अहिले कम्पनीले युरोपका विभिन्न देशहरूलगायत अमेरिकामा समेत गलैंचा निर्यात गरिरहेको छ ।

कम्पनी अब नेपाली बजारमा पनि आफ्ना उत्पादनहरू फैलाउने क्रममा छ । यो कम्पनीमार्फत उत्पादन हुने गलैंचा गुणस्तरीय रहेको उनको भनाइ छ । उत्पादित सामानहरूमा गुणस्तरमा कुनै सम्झौता नगरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘नेपाली गलैंचाको विशेषता भनेको तातो, टिकाउपन र राम्रो हुनु हो । गलैंचामा टेक्स्चर पनि निकै राम्रो हुन्छ । गलैंचा हातले बुनेको हुन्छ ।’ अल्लो सिस्नो (सिस्नोको रेसा) बाट बनेका गलैंचा लामो समयसम्म टिक्छन् ।

पछिल्लो समय हातले बुनेका सामग्रीहरू ग्राहकको रोजाइमा पर्ने गरेको उनी बताउँछिन् । हातले बुनेका झोलादेखि गलैंचासम्ममा ग्राहकहरूको रुचि बढ्दो छ । उनी भन्छिन्, ‘हामीले उत्पादन गर्ने गलैंचा हातले बुनेका हुन्छन्, अर्को कुरा हामीले गुणस्तरलाई ध्यान दिने गरेका छौं, त्यसकारण पनि हाम्रो कम्पनीको आकर्षण बढ्दै गएको हो ।’

कम्पनीको उद्देश्य भनेको सुलभ मूल्यमा सामान उपलब्ध गराउनु हो । स्वदेशी उत्पादन महँगो हुने सोचाइलाई चिर्न खोजिएको उनी बताउँछिन् । शोभा भन्छिन्, ‘नेपाली ब्रान्ड महँगो हुन्छ भन्ने सोचाइ चिर्नका लागि हामीले मूल्यमा समायोजन गरेका छौं ।’ स्वदेशी ग्राहकहरू भने स्वदेशी ब्रान्डप्रति नै सचेत नभएको उनको अनुभव छ । सीमित ग्राहकहरू मात्र ब्रान्डप्रति सचेत हुने गरेका छन् । गलैंचा किन्दा होस् वा अर्डर गर्दा ग्राहकहरू ब्रान्डप्रति सचेत हुनुपर्ने उनको सुझाव छ ।

ग्राहकहरूलाई ब्रान्ड चिनाउनु, ब्रान्डप्रति सचेत गराउनु चुनौती रहेको उनी बताउँछिन् । नेपाली ब्रान्ड विदेशमा लोकप्रिय हुँदा नेपालीहरू भने आयातीत वस्तुहरू उपभोग गरिरहेका हुन्छन् । यस्तो हुनुको मुख्य कारण आयातीत वस्तु सस्तो हुनु र ग्राहकहरू ब्रान्डप्रति सचेत नहुनु नै हो । ग्राहकहरू सस्तोको पछि दगुर्दा गुणस्तरीय सामान प्रयोगमा चुकेको उनी बताउँछिन् ।

५० लाख बाट सुरु गरिएको उनको उद्योगको कुल पुँजी ५ करोड रुपैंयाँ पुगिसकेको छ । उद्योग स्थापना गरी अगाडि बढाउन उनले थुप्रै चुनौती झेलेकी छन् । दक्ष जनशक्ति र लगानीको अभाव तथा अर्डरको अन्योल उनले झेलेका मुख्य चुनौती हुन् । यसका साथै महिला भएकै कारणले घरपरिवारदेखि उद्यम सञ्चालनका लागि समस्याहरू पनि भोगेकी छन् । समस्या र चुनौती झेल्दै अघि बढिरहेकी उनले महिलाहरूलाई रोजगार दिई उद्यमशीलतातर्फ अघि बढाउन प्रोत्साहन गरिरहेकी छिन् । महिला उद्यमी भएकै कारणले रोजगारीमा उनको प्राथमिकता महिला नै हुने गरेका छन् । उनले उद्यममार्फत दुई सय महिलालाई रोजगार दिएकी छन् । ‘यस्ता उद्योगहरूले महिलाहरूलाई स्वरोजगार बनाउन मद्दत गरेका छन्’ उनी भन्छिन् ।

शोभा विभिन्न उद्योग महासंघमा पनि आबद्ध छिन् । उनी घरेलु तथा साना उद्योग महासंघको उपाध्यक्ष पदमा रही महिलाहरूलाई स्वरोजगार बनाउन पनि अग्रसर छन् । उनी व्यवसायसँगै नीति निर्माणमा पनि सक्रिय छिन् । महिलाहरू स्वरोजगार भई आर्थिक अभियानमा अगाडि बढ्न सके आर्थिक विकास हुन सक्ने उनको धारणा छ ।

 Image