मिहिनेती अमर
नेपालमा सञ्चालित क्याफेमा पहिलोपटक रोबर्टले सेवा दिन थाल्यो । रोबर्टलाई हेर्न र ऊसँग फोटो खिच्ने क्याफेमा मानिसको भीड हुन थाल्यो । रोबर्टले बोल्ने र टेबलमा अर्डर लिन आइपुग्दा ग्राहकहरू रोमाञ्चित हुन थाले ।
उनी भन्छन्, ‘विदेशका क्याफे देखेर नेपालमा राम्रो क्याफे सञ्चालन गर्ने सोच पलायो, यही सोच पछ्याउँदै केकेएफसीको अवधारणा बनाए ।’ केकेएफसी अर्थात् (क्रिस्पी, क्रन्ची, फ्राई, चिकेन) । स्वदेशी ब्रान्ड, लोकल स्वाद र अन्तर्राष्ट्रिय स्तरको क्याफे यसका विशेषता हुन् । यी तीन कुरालाई आत्मसात् गर्दै उनी उद्यमीको बाटो कोर्न थाले । तर, उनले सोचेजस्तो क्याफे सञ्चालनका लागि सहज भने पक्कै थिएन । प्रविधि ल्याउन एजेन्सीहरूसँग रातभर कुरा गरिरहे । कुरा मिलेपनि प्रविधि ल्याउन भन्सारमा उस्तै समस्या । प्रविधि चलाउने जनशक्तिको अभाव । यतिसम्म भयो कि रोबर्ट चलाउन पनि आफैले सिक्नुपर्यो उनलाई । उनी भन्छन्, ‘यति समस्या भयो कि कामै छोडेर विदेश जाऊँझैं भएको थियो ।’ तर उनलाई परिवारको साथले अघि बढ्न हौसला दिइरह्यो । उनको परिवार पनि व्यावसायिक पृष्ठभूमिको हो । उनको परिवार त्यतिबेला आइसगोलाको व्यापारमा संलग्न थियो । आइसगोलाको पारिवारिक व्यवसाय अहिले केकेएफसीमा परिणत भएको छ ।
दुई वर्षअघि तीन करोड लगानी गरी सुरु गरेको केकेएफसीमा अहिले ३० करोड लगानी पुगेको छ । काठमाडौंमा मात्रै ६ वटा आउटलेट सञ्चालनमा छन् । बुटबलमा फ्रेन्चाइज चलिरहेको छ । केकेएफसीले झन्डै दुई सय जनालाई रोजगार दिएको छ । सामान्यतया क्याफेहरूमा अनुभवका आधारमा मात्रै रोजगार दिइन्छ । तर, अमर भने अनुभवका आधारमा मात्रै रोजगार दिने तर्क गलत रहेको बताउँछन् । ‘रोजगार नदिई कसरी अनुभव बटुल्ने ?’ उनी भन्छन्, ‘मेरो क्याफेमा फ्रेस व्यक्तिहरूले पनि रोजगार पाउँछन्, यसका लागि हामी तालिम दिन्छौं ।’ क्याफेले स्टाफहरूलाई न्यूनतम पारिश्रमिकदेखि अन्य सुविधा पनि प्रदान गर्छ । अमर भन्छन्, ‘व्यवसायलाई सफलतातिर डोर्याउनु छ भने स्टाफलाई खुसी बनाउनैपर्छ, स्टाफ खुसी भएनन् भने व्यवसायी खुसी हुनै सक्दैनन् ।’
क्याफेका लागि आवश्यक मेसिनहरू सिंगापुर, जापान, अस्ट्रेलिया, चीन आदि देशबाट अमरले आयात गरेका छन् । उनी भन्छन्, ‘पकाउन तेल अड्कल्नेदेखि सबै सामग्रीको तयारी मेसिनले नै गर्छ, यहाँ मानिसलाई मेसिनले चलाउँछ ।’ उपत्यका हुँदै बाहिर फैलँदै गएको केकेएफसी अब अन्तर्राष्ट्रिय ब्रान्ड बन्ने बाटोमा छ । यति छोटो समयमा राम्रो व्यवसाय हुनुको कारण हाइजेनिक फुड पस्कनु र ग्राहकहरूसँग गर्ने व्यवहार रहेको उनी बताउँछन् । ग्राहकहरूलाई सेवा दिन अमर आफै पनि अग्रसर हुन्छन् । यो क्याफेले ग्राहकहरूलाई क्रिस्पी फ्राइड चिकेन, ग्रिल्ड चिकेन, बर्गर आदि परिकार उपलब्ध गराउँछ । ‘क्याफेहरूले आफूलाई स्थापित बनाउन ग्राहकहरूको स्वास्थ्य र उनीहरूलाई गर्ने व्यवहार राम्रो हुनुपर्छ,’ उनी भन्छन्, ‘ग्राहकहरूको सन्तुष्टिले नै हाम्रो व्यवसायको सफलता हो ।’
व्यवसायमा राम्रोसँग स्थापित हुनका लागि यसप्रतिको अनुसन्धान र रुचि महत्वपूर्ण कुरा भएको उनी बताउँछन् । अरुको देखेर मात्र व्यवसाय सञ्चालन गर्न नसकिने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले रेस्टुराँको क्षेत्रमा धेरै प्रविधि आइसकेका छन्, अब हामी पनि प्रविधिसँगै अघि बढ्न सक्नुपर्छ ।’
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्