शीतल दाहाल (लेखक)

नारी संवाददाता

फाल्गुन ९, २०७७ नारीलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ?

नारीको परिभाषा दिन गाह्रो छ । परिभाषा दिनुअघि महिलाको स्थान, जिम्मेवारी, कर्तव्य र भूमिका जान्नु आवश्यक ठान्छु । १५–१७ वर्षमै विवाह गरी आएकी मेरी आमा आज ७० वर्षकी हुँदासम्म पनि उही गतिमा काम गरिरहेकी छिन् । तर, जस आजसम्म पनि उनले पाएकी छैनन् । उनको अथक परिश्रमको मूल्य तोक्न कसैले जरुरी ठान्दैनन् । महिलाको हकमा यस्तो छ–हाम्रो सामाजिक संरचना । आम नेपाली महिलाको अवस्था यही र यस्तै हो । हाम्रो रीति, संस्कार र संरचनाले यस्तै बनाइदिएको छ ।

तपाईंका लागि महिला अधिकार के हो ?

मेरा लागि महिला अधिकार भनेको हरेक कुरामा आफ्ना लागि आफैंले फैसला गर्न पाउने अधिकार हो अर्थात् निर्णयको अधिकार । जुन महिलालाई मात्र देऊ भनेको होइन, पुरुषलाई पनि चाहिन्छ । संविधानमा मौलिक हक उल्लेख भएतापनि घर–घरमा महिलाले यसको स्वतन्त्र रूपमा इन्जोय गर्न पाएका छैनन् । संविधान र समाज फरक कुरा हो । हाम्रो समाज, संस्कृति, संरचना र परम्परा फरक छन् ।

संस्कार र संस्कृतिले महिलालाई मात्र बढी च्यापेको छ भन्न खोज्नुभएको हो ?

हो । पुरुषलाई सर्वेसर्वा बनाइदिएको कुरा नकार्न मिल्दैन । अस्ट्रेलियामा नीति बनाउनेले कहिल्यै पुरुषलाई अहित हुने गरी नीति बनाएनन् । बच्चा जन्माउने सवालमा प्राकृतिक हक आमाको हुने भनियो जबकि हामीकहाँ बच्चा जन्माउने कुरामा एउटी आमा त्रसित हुनुपर्ने अवस्था छ । कारण के भने भोलि बच्चा नागरिक हुनका लागि बाबुको पहिचान आवश्यक हुन्छ, आमा गौण रहन्छिन् । यस्तो अवस्थामा महिला अधिकारको कुरा कहाँ रहन्छ ?

उसो भए हामी के कारणले पछि परेका हौं त ?

महिलालाई पछि पार्दा सिंगो परिवार, समाज मात्र नभई देश नै पछि पर्छ भन्ने कुरा बुझ्न नसकेर हामी पछि परेका हौं ।

महिलावादीहरू पुरुषका विरुद्ध हुन्छन् भनिन्छ, यसमा सहमत हुनुहुन्छ ?

यसलाई विविध कारणले प्राकृतिक बनाएको छ । ‘वाद’ ले निश्चित रूपमा अर्काको विरोध गर्ला । महिलावादीहरूले खोजेको समानता हो । पुरुष कुनै व्यक्ति होइन, त्यो सोच र चिन्तन हो ।

महिला भएकैले तपाईंले अनुभव गर्नुभएको सबैभन्दा अप्ठ्यारो परिस्थिति ?

स्वभाव र चरित्रअनुसारको अप्ठ्यारो सबैले भोगेका हुन्छन् जीवनमा । मेराबारे कुरा गर्दा ममाथि सदा निगरानी राखेर मलाई कहिल्यै सिंगल हुनै दिएको छैन यो समाजले । यो सिंगल छैन होला, यो कोहीसँग छे होली... यस्ता खालका सामाजिक अप्ठ्याराहरू दिनहुँ भोग्नुपर्छ मैले । जब कि म त्यो हुँदै होइन, म के हुँ मलाई थाहा छ ।

अहिलेसम्मको जीवनमा के कुराका लागि सम्झौता गर्नुभएको छ ?

म स्वनिर्णयमा बाँचेकी मान्छे । कुनै कुरामा सम्झौता गरेकी छैन आजको दिनसम्म ।

महिलाका लागि तत्कालको आवश्यकता के देख्नुहुन्छ ?

आत्मनिर्णयको अधिकार । विगतमा हामीले महिला शिक्षा, अधिकार, सशक्तीकरण, सीप, आयआर्जन सबैका कुरा गर्‍यौं अब यी सबै प्राप्त गरेका महिलालाई स्वनिर्णयको अधिकार आवश्यक छ ।

आफूले आफैलाई चिन्न के गर्ने गर्नुभएको छ ?

विपश्यनामा ठूलो विश्वास छ, म दर्जनौं पटक विपश्यना बसेकी छु । यसले आफूले आफैंलाई चिन्न, हेर्न, माया गर्न र समय दिन सिकाउँछ । हामीले मान्ने हिन्दू, मुस्लिम, क्रिश्चियन, बुद्धिष्ट धर्म होइन समुदाय रहेछ भन्ने बोध भयो । म कुनै धर्मको अनुयायी होइन तर मैले आफूलाई राम्ररी चिनेकी छु ।

मनोरञ्जनका लागि के गर्नुहुन्छ ?

हलमा गएर सन्देशमूलक र समाज परिवर्तन गराउने कथावस्तु बोकेका चलचित्र हेर्न मन पराउँछु ।

कामै नलाग्ने एउटा यस्तो कुरा जसलाई सरकारले अवैधानिक घोषणा गर्नु अवश्यक छ ?

मागी विवाहलाई अवैधानिक घोषणा गरिदिए हुन्थ्यो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>