Successfully Copied

महिला मर्ममा पुरुष

‘लैंगिक समानता आफैंमा एउटा निश्चित लक्ष्यभन्दा परको विषय हो । दरिद्रता न्यूनीकरण, दिगो विकास र सुशासनका चुनौती चिर्ने पूर्वसर्त नै लैंगिक समानता हो ।’

‘लैंगिक समानता आफैंमा एउटा निश्चित लक्ष्यभन्दा परको विषय हो । दरिद्रता न्यूनीकरण, दिगो विकास र सुशासनका चुनौती चिर्ने पूर्वसर्त नै लैंगिक समानता हो ।’– यी भनाइ नोबेल पुरस्कार विजेता कोफी अन्नानका हुन् । उनकै वाक्यांशलाई सापटी लिने हो भने पनि परिवार, समाज र सिंगो राष्ट्र सुखी, समृद्ध र सुसम्पन्न हुनका लागि समानता आवश्यक छ । भेदभावपूर्ण समाजमा कलह, झैझगडा र अशान्तिले कहिल्यै सुख हुन दिँदैन । प्रसिद्ध अंग्रेजी साहित्यकार विलियम शेक्सपियर पनि महिला समानताका पक्षपाती थिए । उनले महिला शक्तिमा जोड दिँदै भनेका छन्, ‘जहाँ पुरुषको दम हुँदैन त्यहाँ महिलाहरू चुनौती मोल्ने हुर्मत राख्छन् ।’ यसले के प्रस्ट्याउँछ भने महिला र पुरुषको आ–आफ्नै क्षमता र शक्ति हुन्छ, जुन एकापसमा मिल्न सके एउटा पूर्णशक्तिको विकास हुन्छ र त्यो यस ब्रह्माण्डको सर्वशक्तिमान् तत्व बन्न जान्छ ।’

यसैगरी संयुक्त राष्ट्रसंघका आठौं महासचिव वान कि मुन भन्छन्, ‘लैंगिक समानता प्राप्तिका लागि महिला र पुरुष अनि केटा र केटीको समान संलग्नता आवश्यकता छ जुन सबैको समान जिम्मेवारी हो अर्थात् लैंगिक समानता महिलाको मात्र छुट्टै विषय होइन ।’ मुनको भनाइ हामीले यहाँ प्रस्तुत गर्न खोजेको विषयसँग ठ्याक्कै मेल खान्छ । महिलाको खुसी, उन्नति, प्रगति, विकास, हकहित र अधिकारका लागि पुरुषको सहभागिता अत्यावश्यक छ । तर हाम्रो जस्तो सदियौंदेखि पितृसत्ता हावी भएको संस्कार र परम्परालाई स्वीकार गर्दै आएको मुलुकमा महिला मुद्दामा डटेर लड्ने पुरुष शिला खोजेसरह छन् । यो आलेख तयार पार्ने क्रममा त्यस्तै अनुभूत भयो । विश्वभर एकैसाथ सुरु भएर एकैसाथ अन्त्य हुने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यस पटक त्यस्ता पुरुष जसले आफ्नो जीवनको आधा हिस्सा महिला हकहितका लागि लडेरै बिताए, तिनैका लागि सलाम र सम्मानस्वरूप यो सामग्री तयार पारिएको छ । ती पुरुषहरू समाजका लागि उदाहरणीय मात्र होइनन्, वास्तवमै गौरवका पात्र हुन् ।

उज्ज्वल विक्रम थापा (अभियन्ता)

नेपालमा एसिडविरुद्धको कानुन आइसकेको छ । कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेल सजाय, १० लाख जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका प्रावधानहरू राखिएका छन् । सरकारले एसिडको खुला बिक्री–वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निःशुल्क उपचार, शिक्षा र रोजगारी उपलब्ध गराउने गरी नयाँ कानुन ल्याएपछि पीडितहरूले राहत महसुस गरेका छन् । यसको श्रेय लामो समयदेखि यस मुद्दामा लगातार आवाज बुलन्द गर्दै आएका अभियन्ता उज्ज्वलविक्रम थापालाई जान्छ ।

महिलामैत्री पारिवारिक वातावरण, त्यो जमानामा सेन्ट जोसेफ नर्थ पोइन्ट दार्जीलिङबाट बोटनीमा बिएस्सी गरेकी आमा उर्मिला थापा, अनि आजभन्दा ७६ वर्षअघि बुवाले चार वटी फुपूलाई दाजुभाइसरह अंश दिएको अवस्था...यी माहोल देख्दै हुर्किएका ५२ वर्षीय उज्ज्वलले आफ्नो घरभित्र कहिल्यै महिलाप्रतिको विभेद र हेय देखेनन् । उच्च शिक्षित परिवारका यिनी जब बुझ्ने हुँदै गए तब बाहिरी संसारमा महिलाका पीडा, विभेद र तिरस्कारको भेउ पाउन थाले । सेयरहुड कलेज नैनीताल र पछि फिलिपिन्सबाट इञ्जिनियरिङमा ब्याचलरसम्मको अध्ययन सिध्याएर नेपाल फर्किएका उनी भन्छन्–‘४० वर्षको उमेरसम्ममा म जात छुट्याउन सक्दिनथें किनभने मेरो परिवारमा जात, धर्म, वर्ग, लिङ्ग भेद कहिल्यै हुँदैनथ्यो । सिन्धुलीबाट झरेका मेरा पुर्खा सिन्धुलीवासीका लागि छत्रछाया थिए । हाम्रो नक्सालस्थित घरमा पाहुनाका लागि छुट्टै आश्रयघर थियो जहाँ, जहिले जो पनि आएर बस्थे । त्यसैको प्रभाव होला अरुका लागि केही गर्नुपर्छ भन्ने भावना ममा पनि पर्‍यो ।’

यो ब्रह्माण्डमा सबैभन्दा नजिकको र अगाध माया गर्ने व्यक्ति आफ्नी आमा भएको उज्ज्वल बताउँछन् । कुनै पनि आमाको आँखाको आँसु आफ्नो कमजोरी भएको उनको भनाइ छ । महिलाप्रतिको आफ्नो कामको लगाव त्यसैको परिणाम हुनसक्ने उनको आँकलन छ । होमियोपैथीका चिकित्सक बुवा मोहनविक्रम थापा पनि कम्ती दानवीर थिएनन् । उनैले सिन्धुली बहुमुखी क्याम्पस स्थापना गरिदिएका थिए, जसको प्रभाव उज्ज्वलमा पनि उत्तिकै परेको छ । यता आज पनि पश्चिमेलीले सम्झिइरहने ठूलो दानवीरमा नाम कमाएका दाङका स्व. खिमबहादुर शाह उज्ज्वलका ससुरा थिए । उनकी छोरी अनिता शाह थापालाई विवाह गरेर ल्याएपछि उज्ज्वल झनै सक्रिय र सशक्त रूपमा महिला अधिकार र हकहितका लागि काम गर्न थाले ।

करिब १५ वर्षअघि उज्ज्वल दाङबाट काठमाडौं फर्कदै थिए, हाइवेमा १२ वर्ष जतिकी नानी बैसाखी टेकेर धिमेचालमा बाटो नाप्दै थिइन् । त्यही नानीलाई उनले पटक–पटक ओहोर–दोहोर गर्दा देखेपछि गाडी रोकेर सोधपुछ गरेका थिए । स्कुल टाढा अनि खुट्टा नभएकाले सबेरै घरबाट हिँड्नुपर्ने बताएपछि उनले कृत्रिम खुट्टा हालिदिने भनेर काठमाडौं लिएर आएका थिए । आफ्नै घरमा महिनौं आश्रय दिई कृत्रिम खुट्टा हालिदिने काम गरे । एकदिन साँझ अबेर उनी गाडी लिएर गेटभित्र के छिरेका मात्रै थिए, ती नानी दौडिँदै आइन् र गाडीको हेडलाइट ननिभाउन आग्रह गरिन्, अनि छमछमी नाच्न थालिन् । त्यो देखेर उज्ज्वलका आँखा रसाए । त्यही बेलादेखि हो उनले दत्तचित्त भएर महिलाका लागि काम गर्न थालेको । त्यसयता उज्ज्वलले बिनाकुनै संघसंस्था व्यक्तिगत रूपमा धेरै महिलाको ज्यान बचाइसकेका छन् । तिनलाई रोजगार दिलाउने कुरामा मात्रै होइन कानुनी लडाइँमा पनि उनी अग्रसर हुन्छन् । ‘ए दाइ जाबो यस्ता सानातिना एक/दुई वटा घटनामा केको टाउको दुखाको ? तपाईं आफ्नो समय बेकारमा खेर फाल्दै हुनुहुन्छ’ महिला मुद्दामा काम गर्दा आफन्तजनले यस्तै भन्ने गरेको उज्ज्वलले सुनाए । पुरुषले नाम, दाम, इज्जत, प्रतिष्ठा कमाएर पुरुषार्थ देखाउनुपर्छ भन्ने सोचग्रस्त पुरुष प्रधान समाजमा आफूले महिला अधिकारका लागि काम गर्दा त्यस्ता थुप्रै कुरा सुन्नुपरेको उनले बताए । भन्छन्, ‘यहाँ परिवर्तन आउँदैन बेकारमा तपाईं आफ्नो समय बर्बाद गरिरहनुभएको छ, भन्थे । यो भन्ने आफन्तहरू नै हुन् ।’

देश चलाउनुहोस् वा घर चलाउनुहोस् गृह मन्त्रालय खुसी राख्नुपर्छ भन्ने बुवाको भनाइलाई जीवनको सार बनाई अगाडि बढिरहेका उज्ज्वल पुरुषले महिला दमनको अर्थ बुझेको दिन ऊ जीवनभर रोएर र दुःखमा बाँच्नुपर्ने बताउँछन् । सम्पन्न परिवारमा जन्मिएर पनि अत्यन्तै साधारण जीवनशैलीमा बाँचेका उनले २० देखि ४० हजारसम्मका ज्यान जोगाउन सकिने मुद्दामा मात्रै हात हाल्छन्, जुन उनको बुताले भ्याउँछ । उनको कुनै संस्था छैन न त उनी कुनै दातृ निकायले दिएको पैसा नै लिन्छन् । उनलाई कसैले बर्थडे पार्टीमा बोलायो भने ३० वर्ष उमेर पुगेकाले ३० हजार रुपैंयाँ सहयोग गरेपछि मात्र उक्त समारोहमा सरिक हुन्छन्, जुन पैसा उनी पीडितका लागि खर्चिन्छन् । इञ्जिनियरिङ तथा सेयर व्यवसायमा आबद्ध उनी प्रायः आफ्नै कमाइबाट पीडितको उपचार गर्छन् भने यिनको पहलमा परिवार र साथीभाइ सहयोगी भइदिन्छन् ।

एसिडविरुद्धको कानुन आएसँगै चर्चित उज्ज्वलले त्यसअघि अदृश्य रूपमा त्यसभन्दा ठूला काम गरेका छन् । ‘म जे गर्छु मनले गर्छु, दिमागले गर्दिन’ उनी भन्छन् । आफूलाई कतिपयले फरक स्वभावको सन्की पनि भन्ने गरेको अचम्मको कहानी सुनाउँदै उज्ज्वल थप्छन्, ‘भुइँचालोमा पाँच सय ५५ वटा घर बनाएँ । सात करोडको राहत सामग्री ल्याएँ । युएस–बंगला दुर्घटनामा परेका एक पीडित बुवाको एक लाख ४० हजार कर्जा तिरिदिएर साहुकै अगाडि तमसुक च्यातिदिएँ, वीरगंजकी मनमती देवी नौनिया जो खाना पकाउँदा ३१ प्रतिशत जलेकी थिइन्, बाँच्ने आशा मरेको थियो । तिनलाई बचाएँ । म छुमन्तर गर्ने तान्त्रिक होइन, म एउटा माध्यम, मध्यस्थकर्ता र उत्प्रेरक मात्र हुँ । म जति सक्छु त्यत्ति मात्र गर्छु । नसक्ने कुरामा हात हाल्दिन । म आत्मसन्तुष्टिका लागि गर्छु । म डलर लिने र दिने दुवैको विरोधी हुँ । सरकारको असफलतामा मैले मल्हम लगाइदिएको मात्र हो ।’

जलनको मुद्दामै जीवन बिताउने लक्ष्य लिएका तीन छोरीका बुवा उज्ज्वल अब जुनसुकै जलनमा क्यान्सरसरह एक लाख रुपैंयाँ बराबरको उपचार खर्च सरकारले बेहोर्नुपर्छ भन्ने अभियानमा लागेका छन् । अपराधको जलन चाहे जुनसुकै होस् निःशुल्क उपचार हुनुपर्छ भन्ने उनको माग हो । उनी भन्छन्, ‘एउटा बेडमा एसिड प्रहार भएको बिरामी छ सँगैको बेडमा भकभकी उम्लिरहेको तेलले पूरै शरीर डढेर लडिरहेको अर्को मूढो शरीर छ, एसिडवालाले निःशुल्क उपचार पाउने अर्कोले नपाउने ? यो न्याय भएन । जलन त जलन नै हो । तसर्थ मैले यसमा आवाज उठाएको हुँ ।’ आमाको ममतालाई महिलाको विशेष शक्ति मान्ने उज्ज्वल पीडामा भएको मान्छेलाई हँसाउन सक्ने आफूमा भएको खुबीलाई असाधारण मान्छन् । पुरुष भएर पनि अनेकौं कुरा सुन्दै महिलाका लागि लड्न सफल यी योद्धा वास्तवमै सलामका पात्र हुन् ।

 

सविन श्रेष्ठ (कानून व्यवसायी)

नेपालको संविधान ०७२ लाई जनताले ल्याएको संविधान तथा दक्षिण एसियामै सुनौलो र सर्वोत्कृष्ट संविधान मात्र होइन विश्वकै महिलामैत्री संविधान मानिन्छ । पछिल्लो संविधानले नै आमाको नाममा नागरिकताको सुनिश्चितता गरेको छ । लामो समयदेखि यही मुद्दामा वकालत गर्दै आएका कानुन व्यवसायी सविन श्रेष्ठको पनि योगदान छ । उनी २३ वर्षदेखि भेदभावपूर्ण धेरै कानुनका विरुद्ध वकालत गर्दै आएका छन् ।

‘यो देशलाई पितृभूमि नभनेर किन मातृभूमि भनिएको होला ?’ वार्तालापको सुरुवातमै महिला अधिकारका लागि सक्रिय अधिवक्ता सविन श्रेष्ठले यो गहन प्रश्न तेर्स्याए । यसको कारणसहित उनले भने, ‘जुन देशमा धर्म, संस्कार, संस्कृति र परम्पराका नाममा मात्र नभई ५६ वटा कानुनमा ११८ वटा प्रावधान (दफा र नियम) भेदभावपूर्ण छन् भन्ने पहिचान ०५६ सालतिरै भयो अनि मातृभूमि भन्नुको अर्थ के ?’

नक्सालका अग्निबहादुर र उर्मिला श्रेष्ठले एकमात्र छोरा सविनलाई हरेक कुरामा अब्बल बनाउन साँगाको पुलिस स्कुलमा भर्ना गरिदिए । त्यहाँ पढ्दा उनले ओहोदाको हिसाबले वर्ग छुट्याइने र त्यसैका आधारमा गरिने व्यवहार जसले उनको बालमस्तिष्कमा अर्कै प्रकारको छाप पारेको थियो । नेपाल ल क्याम्पसबाट एलएलएम सिध्याएपछि उनी महिला कानुन र विकास मञ्चमा इन्टर्नसिप गर्न पुगे । लगत्तै संस्थाले महिलाविरुद्ध हुने भेदभावपूर्ण कानुनको अध्ययनमा काम थाल्यो । त्यसैमा उनको सक्रियता बढ्यो । ५६ वटा कानुनमा ११८ वटा प्रावधान (दफा र नियम) भेदभावपूर्ण छन् भन्ने पहिचान ०५६ सालतिरै पहिचान भएपछि यसले महिलालाई मात्र नभएर सिंगो परिवार, समाज र राष्ट्रलाई नै पार्ने असर पत्ता लाग्यो ।

०५६ देखि सविन आमाको नाममा नागरिकताको विषयमा लगातार लागेको लाग्यै छन् र पनि अहिलेसम्म चित्तबुझ्दो कानुन बनेको छैन । नागरिकताको सवालमा महिलालाई आमा, श्रीमती, छोरी सबैमा विभेद छ । ‘०२० को नागरिकता ऐनअनुसार ०४७ को संविधानले बाउले दिन सक्ने आमाले दिन नसक्ने थियो’ आमाको नाममा नागरिकताको कठिन संघर्ष सुनाउँदै सविन भन्छन्, ‘यसका विरुद्ध ०५६ पछि लामा–लामा अभियान चले, जिल्ला–जिल्लामा र्‍याली, जुलुस निकालियो फलस्वरूप ०६३ को संविधानसँगै नयाँ नागरिकता ऐन आयो जसले सर्तयुक्त रूपमा आमाले पनि दिन पाउने तर बाउले म नेपाली बाउ भने पुग्यो भने आमाले बाउ देखाउनैपर्ने, यदि विदेशी बाउ हो भने अंगीकृत हुने भयो । नेपाली छोरीले विदेशीसँग विवाह गरिन् भने नेपाली नागरिकता गुम्छ ।’ उनका अनुसार ०७२ को संविधानमा आमा र बाबु भन्ने थियो उनीहरूकै पहलमा ‘र’ को ठाउँमा ‘वा’ राख्नुपर्छ भन्ने दबाब ५० वटा जिल्लाबाट सुरु भयो । ती जिल्लाबाट हस्ताक्षर संकलन भयो । परिणामतः ‘र’ को ठाउँमा ‘वा’ भएर आयो । संविधान बनेको ५ वर्ष भयो तर ऐन परिवर्तन भएन । नागरिकताको मुद्दा संसद्मा विचाराधीन थियो अब त संसद् नै विघटन भयो । ‘संविधानसँग बाझिने कानुनहरूको डेडलाइन (संविधानको धारा ३०४) संघीय संसद्को पहिलो बैठक बसेको दुई वर्षभित्र भनिएको छ तसर्थ म आफैंले यसमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रतिनिधिसभा, राष्ट्रिय सभा, राज्यव्यवस्था तथा सुशासन समितिलाई विपक्षी बनाएर संविधानले दिएको समयसीमा पार भइसक्दा पनि ऐन नआएको भनेर मुद्दा हालेको छु’ सविन भन्छन्, ‘नागरिकता हेर्दा एउटा सानो कागजको टुक्रा जस्तो देखिन्छ तर यो व्यक्तिको पहिचान हो, यो भएन भने धेरै कुराबाट वञ्चित हुनुपरेको कुरालाई यहाँ गम्भीर रूपमा लिइँदैन यो पितृसत्तात्मक सोचको उपज पनि हो । यसैका कारण कतिपयले आत्महत्या गरेका छन् ।’

दुई सन्तानका बुवा सविनले नागरिकतासँग जोडिएका धेरै मुद्दामा वकालत गरिसकेका छन् । कतिपय मुद्दाहरू जितेपछि नागरिकता हात परेको छ भने कतिले दशकौंदेखि आजसम्म निरन्तर लडे पनि पीडितले न्याय पाउन सकेका छैनन् । नेपाल सरकारले नागरिकता वितरण गर्न थालेको २००९ देखि हो । ०६८ को जनगणनानुसार नागरिकता वितरणको सुरुवातदेखि ०६८ सम्म १६ वर्ष उमेर पुगेका तर नागरिकता प्राप्त नगरेकाहरूको अनुमानित संख्या ४३ लाख देखिएको थियो ।

सविनले हालसम्म जबर्जस्ती करणी, महिलाको प्रजनन स्वास्थ्य, लैंगिक, यौनिक तथा अल्पसंख्यकको पहिचानसम्बन्धी मुद्दा, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसारलगायतका मुद्दामा बहस गरिसकेका छन् । एसिडसम्बन्धी रिटमा एफडब्ल्युएलडीको तर्फबाट निवेदक भई बहस गरे भने महिला मन्त्रालयका लागि घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावलीको मस्यौदा तयार पारेका छन् । त्यसैगरी, उनले स्वास्थ्य मन्त्रालयका लागि विज्ञका हैसियतले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार मस्यौदा तयार पारेका छन् । ‘जबर्जस्ती करणीको हदम्यादमा महिलालाई पशुभन्दा तल राखिएको थियो । पशुकरणीमा एक वर्ष र महिलाको हकमा ३५ दिन थियो । त्यसलाई हामी एक वर्ष बनाउन सफल भयौं’ उनले भने । आफ्नो जीवनको एउटा कालखण्ड महिला अधिकारको लडाइँमै खर्चिएका उनी थप्छन्, ‘नेपाली महिलाहरू वास्तवमै विभेदमा परेका छन् तर पछिल्लो समय केही हदसम्म अधिकार पाउँदैछन् अब सोच र मनस्थिति बदल्नु जरुरी छ । आफ्ना अधिकारबारे बुझ्नु, बुझाउनु र त्यसको उपभोग गराउनु अबको आवश्यकता हो ।’

आनन्द तामाङ (संस्थापक निर्देशक, कृपा, महिला स्वास्थ्य तथा प्रजनन अधिकार)

सुरक्षित गर्भपतनलाई वैधानिक बनाउन आनन्द तामाङको ठूलो भूमिका छ । २०५८ चैतमा सुरक्षित गर्भपतन ऐन संसद्ले पास गर्‍यो । लगत्तै सन् २०५९ असोजतिर राजाद्वारा लालमोहोर लागेपछि त्यसयता नेपाली महिलाले प्रजनन तथा असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान गुमाउनुका साथै हत्याको अभियोगमा कैदी भएर आजीवन जेलमा बिताउनुपरेको छैन ।

सिन्धुलीमा जन्मिएका आनन्द तामाङले जवाहरलाल नेहरू विश्वविद्यालयबाट भूगर्भशास्त्रमा एमफिल गरेका छन् । १० वर्ष भारतको रिसर्च इन्स्टिच्युटमा प्रजनन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमा शोध अनुसन्धानकर्ताका रूपमा काम गरेका आनन्दलाई नेपाली महिलाको जीवनस्तरमा परिवर्तन ल्याउने हुटहुटीले सताउन थाल्यो र नेपाल फर्किएर २०५० मा कृपा नामक संस्था स्थापना गरी महिलाको प्रजनन स्वास्थ्यमा काम गर्न थाले । ‘बनारसमा स्नातकोत्तर पढ्न बस्दा त्यहाँ देखेको महिला पुरुष विभेदको गहिरो छाप ममा परेको थियो । त्यसले मेरो मनस्थिति बदलिदिएको थियो । नेपालमा मात्रै नभएर दक्षिण एसियामै महिलाको अवस्था र छोरीलाई हेर्ने दृष्टिकोण फरक भएको तथ्य मैले पाएँ । छोरी भनेको अर्कालाई दिने जातका रूपमा हेरिने र उनीहरूको हुर्काइ बढाइ पनि सोहीअनुरूप हुने पाइयो’ महिला मुद्दामा आफू लाग्नुको कारण बताउँदै आनन्द भन्छन्, ‘सन् १९९१ तिर नेपालमा मातृमृत्युदर उच्च देखियो । त्यतिबेला एक लाख शिशु जन्मिदा ५३९ जना आमाको मृत्यु हुने डाटा सार्वजनिक भएको थियो । सानो उमेरमा विवाह, अत्यधिक रक्तस्राव, उपयुक्त स्वास्थ्य सेवाको अभाव, पोषणयुक्त खानेकुराको कमीलगायतका कारण पत्ता लागे । त्यसपछि मैले यसैमा सन् १९९१ देखि

१९९३ सम्म विस्तृत शोध अनुसन्धान गरें । त्यसबाट कम उमेरमा विवाह गर्दा श्रीमान्–श्रीमतीबीचको अन्तरक्रिया कम हुने, शारीरिक विकास नभइसकेकाले आमा बन्दा विभिन्न स्वास्थ्य समस्या आउने जस्ता कारण पत्ता लागे ।’ नेपाली समाजमा छोरीलाई परिवारको बोझ ठान्ने, जुन बोझ आफूले थाम्न नसकेर अर्को परिवारलाई जिम्मा लगाइदिने प्रचलन नै विवाह हो भन्ने उनी त्यसपछि ती छोरीको हालत के भयो होला भनेर सोच्ने अभिभावक कति होलान् भन्ने प्रश्न गर्छन् ।

भारतीय सेनाका क्याप्टेन मानध्वज र टीकामाया तामाङको घरमा उतिबेलादेखि नै लैंगिकमैत्री वातावरण थियो र त आनन्दका तीन दिदीबहिनीले पनि दाजुभाइसरहकै शिक्षादीक्षा पाए । अहिले पनि आनन्दको घरमा महिनावारी बारिँदैन । आनन्द आफैं लुगा धुने, भाँडा माझ्ने काम गर्छन् । गर्भधारण गर्न सक्ने क्षमतालाई महिलाको शक्ति मान्ने आनन्द हचुवाका भरमा नाम र पैसा कमाउने हेतुले मात्रै महिला मुद्दामा लागेको होइन भन्ने धारणा अघि सार्दै भन्छन्, ‘जे–जति महिलाका हकहित र अधिकारका मुद्दा अगाडि सारें सबैमा तथ्य र प्रमाण बोलेका आधारमा ती मुद्दा बने । वास्तवमै महिलालाई अन्याय परेका तथ्य एवं प्रमाण सबैका आँखाअगाडि छर्लङ्ग बनाइदिएँ । त्यसपछि मात्रै सरकारको आँखा खुल्यो र कानुन बनाउन सरकार बाध्य भयो ।’ गर्भपतनको कानुन बनाउने बेला उनले कति हण्डर, ठक्कर खानुपर्‍यो, छोरी, बुहारी मात्रै होइन संस्कार बिगार्न लाग्यो भन्ने कुरा सुन्नुपर्‍यो तर उनको लामो शोध र अनुसन्धानले ल्याएको परिणाम यस्तो थियो–कति महिला उमेर नपुग्दै गर्भवती भई सुत्केरी हुँदा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएका, कतिपय अनिच्छित गर्भधारणका कारण गर्भ फाल्न मेवाको चोप, विषादीयुक्त झारपात घोलेर पिएका, कतिपयले गोबर घोलेर खाएका, कतिपय घाँस–दाउरा गर्न जंगल जाँदा रुखबाट लडेको अवस्थामा गर्भ तुहिँदा हत्याको अभियोगमा जेल परेका छन् । यस्ता वास्तविक तथ्यका कारण सरकारलाई बाध्य भई गर्भपतनको कानुन बनाउन करै लाग्यो । गर्भपतन सेवा निःशुल्क गर्नुपर्छ भनेर सुरुमा आवाज उठाउने व्यक्ति पनि आनन्द नै हुन् । आज नेपालमा यो सेवा निःशुल्क छ । उनको शोध र पहलका कारण कतिपय नीति परिवर्तन भएका छन् । त्यसमध्ये आनन्दले तयार पारेको विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि राष्ट्रिय  रणनीति–२०७७–०८७ तथा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति–२०७२ मुख्य हुन् । उनी महिलाको प्रजननलाई विशेष र महत्वपूर्ण ठान्छन् । पछिल्लो समय तराई क्षेत्रमा बालविवाह रोकथाममा शोध गरिरहेका उनी यसले महिलाको चौतर्फी विकास र सिंगो जीवनमै असर पारिरहेको बताउँछन् ।

प्यारजंग थापा (पूर्व–प्रधानसेनापति)

आज नेपाली महिला सेना गर्वले छाती फुलाएर शिरमा बेरे (नीलो टोपी) ढल्काउँदै संयुक्त राष्ट्रसंघ मिसनमा नेपाललाई बहादुरहरूको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका छन् । उनीहरूले बटालियन नै हाँकिरहेका छन् । हाल नेपाली सेनामा सात हजारभन्दा बढी महिला कार्यरत छन् । सडकमा उत्रिएर, कराएर–चिच्याएर होइन मौन रहेरै काम र निर्णयमार्फत महिला अधिकारका पक्षमा उत्रिएका पूर्व–प्रधान सेनापति प्यारजंग थापा यसको उदाहरण हुन् ।

तत्कालीन प्रधान सेनापति प्यारजंग थापा (०५९–६३) को कार्यकालमा नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । नेपालको इतिहासमा नालापानीदेखि नै महिलाले लडाइँमा सहयोग गरेको उनी बताउँछन् । भन्छन्, ‘वीर गोर्खाली भनेर पुरुष मात्र होइन महिला पनि उतिबेलादेखि नै चिनिएका हुन् । इतिहास साक्षी छ । नेपाली सेनामा सन् १९६१ देखि प्राविधिकतर्फ नर्सहरू भर्ना गरिन्थ्यो, सन् १९६५ देखि महिलाहरू प्याराफोल्डरमा आउन थाले । सन् १९६९ देखि चिकित्सक र सन् २००४ देखि इञ्जिनियरहरू भर्ना गर्न थालियो तर सेनामा महिला जवान भने थिएनन् । मेरै पहलकदमीमा सेनामा महिला जवान ल्याइयो ।’

प्यारजंग कमाण्डमा रहँदा माओवादीमा उल्लेख्य महिला लडाकु थिए । सेनाको इनसरजेन्सीमा समातिएकी महिला लडाकुलाई सोध्दा आफूलाई सेना हुने इच्छा जाहेर गरेको थाहा पाएपछि त्यो कुराले उनको मन छोएको थियो । सन् २००३ मा उनले सेनामा पाँच प्रतिशत महिला जवान हुनुपर्ने घोषणा गर्दै दुई सय जना महिला छनोट गरे । पास आउट भएपछि उनी आफैं बधाई दिन गए । त्यसबखत उनले ‘तिमीहरूलाई अब के गर्न मन छ’ भनेर सोध्दा ती महिला जवानबाट आएको जवाफ उनी सम्झदै भन्छन्, ‘माओवादीसँग लड्न मन छ ।’ त्यसअघि महिलालाई युद्धमा पठाउन नहुने सैनिक नीति थियो । ‘म उनीहरूको त्यत्रो जोश र हौसलालाई कसरी मारौं ? मलाई फसाद पर्‍यो’ उनी थप्छन्, ‘अहिले तिमीहरू इमान्दार भएर खटाएको ठाउँमा आफ्नो तालिम पूरा गर, त्यसमा पास भयौ र नियमसंगत रह्यौ भने अर्को ६ महिनामा म तिमीहरूले भनेको कुरा पूरा गर्छु भनेर थमथम्याएँ । नभन्दै उनीहरू अत्यन्तै इमान्दार, नियमभन्दा बाहिर नजाने र अक्षरशः पालना गर्न निक्लिए ।’ महिला सैनिक जवानको कुशल कार्यदक्षताबाट हौसिएर थापाले सन् २००४ मा ३० जना महिला आर्मी अफिसर (सेकेन्ड लेफ्टिनेन्ट) का लागि दरखास्त आवेदन खोल्ने निर्णय गरे । ‘हामीले ३० जना महिला अफिसर माग गरेकोमा हजारौंको आवेदन पर्‍यो । त्यो पनि योग्यता र क्षमताका आधारमा ‘को भन्दा को कम’ । एक से एक महिला आए । त्यसैले हामीले ३० को ठाउँमा भित्रैबाट ७० जना लियौं । यसले उतिबेला महिलाहरू सेनामा कतिसम्म इच्छुक रहेछन् भन्ने कुरा प्रमाणित गर्‍यो ।’ थापा भन्छन्–‘त्यहीबाट एकजना महिला अफिसर बेलायतको रोयल मिलिट्री एकेडेमी स्याड्रससम्म पुग्न सफल हुनुभयो जबकि समग्र मुलुकबाट दुईदेखि तीन जना मात्रै छनोटमा पर्छन् । भनेपछि हाम्रा नेपाली महिला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत खरो उत्रिन सक्ने क्षमतायुक्त रहेछन् भन्ने कुरा त्यसले प्रमाणित गर्‍यो ।’

प्यारजंगले ती महिला अफिसरलाई सुरुको पोस्टिङ (६ महिना) पैदल फौजको बटालियनमा पठाइदिने नियम बनाए ताकि तिनमा चौतर्फी विकास होस् । महिला अत्यन्त इमान्दार, अक्षरशः नियम पालना गर्ने र नियमभन्दा एक इञ्च तलमाथि नगर्ने थापाको अनुभवले बताउँछ । ‘जसरी मैले सेनाभित्र महिला जवान र अफिसर ल्याउनुपर्छ भन्ने नियम बनाएर उनीहरूलाई ल्याएँ सोहीअनुरूप उनीहरूले आफूलाई प्रमाणित गरेर देखाए । अवसर दिए महिलाले जे पनि गर्न सक्छन् भन्ने गरेरै देखाए । यसले आज नेपाली सेना र राष्ट्रलाई नै फाइदा भएको छ । अहिले संयुक्त राष्ट्रसंघले शान्तिसेनामा २५ प्रतिशत महिला संख्या पुर्‍याउनैपर्छ भनिरहेको छ’ विगत सम्झदै उनी भन्छन्, ‘उतिबेला गाउँघर, पाखापखेराका बलिया जवानलाई लडाइँमा ल्याइने भएकाले पहिलेकै नीति थियो ५ कक्षा पास गरेको केटा सेनामा भर्ती हुन पाउने तर मैले महिला जवानका लागि अलि बौद्धिक काममा लगाउनुपर्छ भन्ने सोचेर ८ कक्षा पासको मापदण्ड तोकिदिँदा महिलावादीको ठूलो विरोध, नाराजुलुसको सामना गर्नुपर्‍यो । मैले बाध्य भएर फेरि उही ५ कक्षा पासमै झार्नुपरेको थियो ।’

डिल्लीबजारका वन तथा वातावरण विशेषज्ञ तेजजंग तथा डोल राज्येश्वरी थापाका चार सन्तानमध्येका प्यारजंगलाई महिला सैनिक जवानका विषयमा आफूले सही समयमा सही निर्णय गरें भन्ने लाग्छ । आज बेरे र बर्दी लगाएका महिला सैनिक देख्दा उनको आँखा रसाउँछ, छाती ढक्क फुल्छ । श्रीमती कमला थापाको हरदमको साथ र सहयोगका कारण आफूले सही समयमा उपयुक्त निर्णय गर्न सफल हुन सकेको उनी बताउँछन् । उनले भने, ‘महिलामा विशेष शक्ति छ जसको म वर्णन गर्न सक्दिन । त्यो जमानाको भएर पनि ३ वटी छोरीमै रमाएँ । सन्तानका रूपमा छोरा चाहिन । महिलाका लागि कयौं काम गरें सायद महिलाप्रतिको मेरो बुझाइ यस्तै भएर हो ।’

तस्बिरहरू : महेश प्रधान

 Image