प्रेमको कुरूप स्वरूप

प्रेम सप्ताह र प्रेम दिवसको अवसर पारेर हरेक वर्ष अनेकौं कार्यक्रम र प्रतियोगिता आयोजना गरिन्छ । मीठामीठा प्रेम कथा र प्रेम व्यक्त गर्ने अनेकौं तरिकाको चर्चा गरिन्छ । तर, प्रेमको अस्वीकारोक्तिलाई प्रतिशोधले साँधेर एसिड प्रहारमा परिणत हुने सामाजिक यथार्थलाई हामीले कहिले चर्चा गर्ने ?

करुणा देवकोटा

फाल्गुन २, २०७७ 

अंग्रेजी वर्षको फेब्रुअरी सुरु भएसँगै प्रेमको मीठो बतास धेरैको मनलाई स्पर्श गर्न पुग्छ । प्रेमको त्यही लयमा बहँदै कोही खुल्लमखुल्ला प्रेमको भाव व्यक्त गर्न आतुर देखिन्छन् त कोही लुकिछिपी प्रेमको सागरमा हराउन । कोही भने कसैका लागि संगालेको प्रेम मनमै राख्छन्, मनभित्रै मुस्कुराउँछन्, मुसुक्क ।

फेब्रुअरीको उल्लासै बेग्लै । लाग्छ, दुनियाँ प्रेमिल छ । तर प्रेमको यही उल्लासबीच, म भनें आफैभित्र निस्सासिन्छु । अनि एउटै प्रश्न गर्छु, ‘के प्रेमको स्वरूप प्रेमिल मात्रै हुन्छ र ?’

यदि हुन्थ्यो भने, समाचार बनेर किन छापिन्थ्यो/गुञ्जिन्थ्यो अखबारका पाना र रेडियो, टेलिभिजनमा वीरगञ्जकी मुस्कान खातुन, कालोपुलकी जेनी खड्का, वसन्तपुरकी सीमा बस्नेत र संगीता मगर, स्वयम्भूकी पवित्रा कार्की आदिको कारुणिक पीडा ।

प्रेम सप्ताह र प्रेम दिवसको अवसर पारेर हरेक वर्ष अनेकौं कार्यक्रम र प्रतियोगिता आयोजना गरिन्छ । मीठामीठा प्रेम कथा र प्रेम व्यक्त गर्ने अनेकौं तरिकाको चर्चा गरिन्छ । तर, प्रेमको अस्वीकारोक्तिलाई प्रतिशोधले साँधेर एसिड प्रहारमा परिणत हुने सामाजिक यथार्थलाई हामीले कहिले चर्चा गर्ने ?

यस्ता घटनाको पृष्ठकथामा रहेका प्रेमका अस्वीकारोक्ति वा आफूले भनेअनुसार नमान्नेलाई प्रतिशोध साँध्ने प्रवृत्तिमाथि अध्ययनको बेग्लै आवश्यकता छ । अग्रभागमा देखिएका घटनाको विरोध गर्ने तर त्यसका सामाजिक कारण खोतल्न जाँगर नचलाउने हाम्रो प्रवृत्तिले यस्ता घटनाक्रमलाई दोहोर्‍याइरहन्छ । यो निरन्तरताले प्रेम अस्वीकार गर्न पाउने व्यक्तिगत अधिकार र निर्णयमाथि नै प्रहार गरिरहन्छ ।

सँगै सिकाउँछ, एकछिन अघिसम्म प्रेम गरेको व्यक्तिलाई कल्पनासम्म गर्न नसकिने पीडादायी घटनाको भागेदार बनाउन । अनि प्रेम अस्वीकार गर्नु भनेको कल्पनासम्म गर्न नसकिने पीडाको भागेदार हुन सक्नु हो भन्ने सम्भावनासँग डराउन ।

के आफूले मन पराएका मानिसले प्रेम अस्वीकार गर्दैमा उसको संसार अँध्यारोमा धकेल्नु नै प्रेमको धर्म हो त ? प्रेम त महसुस गरिने कुरा हो । धम्काएर, घुर्काएर लगाइने जबर्जस्ती प्रेमबाट कस्तो सहभाव र सहअस्तित्वको अपेक्षा गर्ने ? तर, हाम्रोजस्तो समाजमा कहिलेकाहीँ प्रेम बाध्यताको प्रतिबिम्ब बनिदिन्छ । जिन्दगीको लय आफ्नै तरिकाले बुनिरहेकाहरूको जीवनप्रतिको दृष्टिकोण बदल्छ । अनि उनीहरूको व्यवहार, भावना, सोचाइ र सामाजिक रहनसहनलाई नै मोडिदिन्छ ।

हुन त, मुहारमा तेजाब छ्याप्दैमा व्यक्तिको सुन्दरता कम हुँदैन, सपनामा तेजाब छ्यापिँदैन भन्ने बहस नहुने होइन । तर समाजको यथार्थलाई हेर्ने हो भने, रूपलाई प्राथमिकता दिएर सुन्दरताको मूल्यांकन गर्नेहरूकै वर्चश्व छ । तेजाबले पोलेको अनुहार देख्नासाथ विचराको दृष्टिले हेर्ने र उसका उपलब्धिलाई एसिड आक्रमणले दिएको अवसरका रूपमा मात्रै मूल्यांकन गर्ने लहर कायमै छ ।

पीडितले भोग्ने मानसिक पीडा, परिवारभित्रै आफ्नो अस्तित्वका लागि गर्नुपर्ने संघर्ष, नचाहँदा–नचाहँदै हरेक पाइलामा बल्झिरहने उही पुरानो घटनाले दिने दीर्घकालीन चोटको लेखाजोखासम्म हुँदैन । भलै हामी प्रेम शब्दको गहिराइमा पुग्दा एसिड आक्रमण, बलात्कारलगायतका शब्दावली हाम्रो सोचमा पनि आउँदैनन् । तर प्रेमको नाममा हुने यस्ता घटनाले प्रेम शब्दप्रति विश्वास मात्रै गुम्दैन । प्रेम नै घृणित लाग्न थाल्छ । प्रेम शब्दको पवित्र परिभाषालाई नै चिरहरण गर्नेगरी हुने यस्ता प्रतिशोधका घटनाले, प्रेमको मौलिक अस्तित्वलाई मात्रै गिज्याउँदैन कुरूप पनि बनाउँछ ।

त्यसैले सोध्न मन लाग्छ, ‘के प्रेमको स्वरूप प्रेमिल मात्रै हुन्छ र ?’ प्रेम स्वीकारको अपेक्षा गर्नेले, प्रेम अस्वीकार हुँदाको यथार्थलाई पनि आत्मसात् गर्न सक्नुपर्छ । किनभने हामी स्वतन्त्र छौं । कसैलाई मन पराउन, माया गर्न । त्यसैगरी स्वतन्त्र छौं मन नपराउन र माया नगर्न पनि ।

तर, व्यक्तिगत स्वतन्त्रतालाई उपयोग गरेर कसैको प्रस्तावलाई अस्वीकार गर्दा, त्यो अस्वीकारोक्ति, त्यो ‘नो’, किन ‘नो मिन्स नो’ मा अडिग रहन्न ? किन ‘नो मिन्स एसिड अट्याक’ भइदिन्छ, ‘नो मिन्स बलात्कार’ भइदिन्छ ? ‘नो मिन्स यौन हिंसा र कतिपय अवस्थामा हिंस्रक आक्रमण भइदिन्छ ?’

के क्षणभरमा राक्षसी रूप धारण गरी कसैको जिन्दगीको लयलाई भताभुङ्ग पार्नु नै प्रेम हो त ? पक्कै होइन । किनभने प्रेम शब्द एक्लै आउँदैन । आफ्ना प्रेमी, प्रेमिकाप्रति माया, विश्वास र सम्मान पनि साथै लिएर आउँछ । तब पो प्रेम प्रेमिल बन्छ, रंगीन बन्छ । तर प्रेमलाई तेजाबको तिक्तताले लतपताएर प्रेमप्रति नै कठोर मनोभावना जम्माउनसम्म पछि नपर्ने प्रेम प्रस्तावबाट कस्तो प्रेमको अपेक्षा गर्ने ?

प्रेमको अस्वीकारोक्तिलाई मात्रै पनि सहन नसक्ने व्यक्तिबाट प्रेमको बन्धनमा गाँसिएपछि आउने उकाली, ओराली, अप्ठेरा र चुनौतीहरूसँगै काट्न सक्ने साहस मिल्छ भनेर कसरी विश्वास गर्ने ? प्रेमसँग गाँसिएका तर ओझेलमा परिरहने यी र यस्ता तीता यथार्थलाई हामीले उपेक्षा गरिरहँदा प्रेमको सुन्दरता दीर्घकालीन कसरी हुन्छ र ?

प्रेम दिवस र सप्ताहको अवसर पारेरै सही, यस्ता विषयमा छलफल हुन आवश्यक छ । किनभने प्रेम दिवस मनाउनु भनेको प्रेम गर्छु भनेर आफ्ना भावना व्यक्त गर्नु मात्रै होइन । प्रेमको अर्थ बुझाउनु र प्रेम गर्न सिकाउनु पनि हो । यदि हामीले नै प्रेममा सम्मान र सहअस्तित्वको भाव कायम राख्न सक्दैनौं भने कसरी प्रेम गर्न सिकाउने ? कसरी प्रेमबारे बुझाउने ? सोचौं त, प्रेमको परिभाषा नै बुझाउन नसक्दा कस्तो प्रेम भावको सिर्जना होला ? कस्ता प्रेमी जन्मिएलान् ?

त्यसैले पनि, जबसम्म प्रेमका यी विविध आयाम सामाजिक मुद्दा बनेर छलफलमा आउँदैनन्, प्रेमको स्वरूप कुरूप घटना बनेर दोहोरिरहन्छ । किनकि, व्यक्तिको निजी मनोविज्ञानले मात्रै यस्ता घटनाको उत्पत्ति हुँदैन । एउटा व्यक्ति मात्रै दोषी हुँदैन । यसका पछाडि ऊभित्र हिंसाको बीउ रोप्न हाम्रै सामाजिक व्यवस्था अग्रपंक्तिमा आउँछ । उसलाई दिइने पारिवारिक संस्कार, हुर्काइको परम्परा, ऊभित्र बीजारोपण गरिने लैंगिक चेतना, पुरुषार्थको सामाजिक व्याख्या, यी सबैले जरा गाडेर बसेको हुन्छ । जसको पकड यति गहिरो छ कि, प्रेमकै बलात्कार दोहोरिरहन्छ । प्रेममाथि नै एसिड प्रहार भइरहन्छ । के हामीले सोचेको प्रेमको स्वरूप यस्तै कुरूप हो त ?

devkotakaruna@gmail.com

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>