Successfully Copied

सन्न्यासीको भ्यालेन्टाइन

जब प्रेम उत्कर्षमा पुग्छ तब प्रेमी या प्रेमिकाले एक–अर्कामा सन्तान र जन्मदाताको रूप देख्न थाल्छन् । तर, त्यो प्रेम आत्मिक हुनुपर्छ जुन शरीरबाट पार गरेको हुनुपर्छ । जोकोहीले भने यो महसुस गर्न सक्दैनन् ।’

सत्य, त्रेता र द्वापर युगमा प्रेमभन्दा पर माया, मोह, लोभ, वासना, सांसारिक सुख र भौतिक सुविधालाई शतप्रतिशत बिर्सिएर आध्यात्मिकतामा लीन हुनुलाई सन्न्यास भनिन्थ्यो । तर, कलियुगमा त्यो सम्भव हुन नसक्ने र भइहाले पनि पूर्ण नहुने हुँदा ओशोले यसैमा नयाँ सिद्धान्त ‘नव–सन्न्यास’ को प्रतिपादन गरे । त्यही नवसन्न्यासी जोडी हुन्–लेखक तथा कलाकार सोविता सिंखडा र सञ्चारकर्मी नीराजन भण्डारी । सोविता भन्छिन्, ‘नवसन्न्यासमा आफ्ना हरेक काम तथा गृहस्थ जीवनलाई यथावत् राख्दै अन्तस्करणबाट बुद्धत्वको खोजी गरिन्छ । जसलाई जोर्वादी बुद्ध (सांसारिक र आध्यात्मिक दुवैको फ्युजन) भनिन्छ ।’

यी जोडीको आत्मकथा आममानिसको तुलनामा नितान्त फरक छ । उनीहरूको कथा रमाइलो र पृथक् छ । हरेक जोडीलाई विवाहपछि आफ्नो अंशका रूपमा सन्तानलाई यस धर्तीमा छोडेर जाने चाहना हुन्छ । तर यी दुईको भने हेर्ने र सोच्ने तरिकै फरक छ । बच्चाको सवालमा नीराजन भन्छन्, ‘हामी एक–अर्कालाई अगाध प्रेम गर्छौं । जब प्रेम उत्कर्षमा पुग्छ तब प्रेमी या प्रेमिकाले एक–अर्कामा सन्तान र जन्मदाताको रूप देख्न थाल्छन् । तर, त्यो प्रेम आत्मिक हुनुपर्छ जुन शरीरबाट पार गरेको हुनुपर्छ । जोकोहीले भने यो महसुस गर्न सक्दैनन् ।’ उनीहरूले एक–अर्कामा सन्तानको रूप देख्ने बताउँछन् । त्यसबाहेक आफू हिँडेको बाटोबाट प्राप्त हुने बुद्धत्वले २१ कुल तार्छ भनिएकोले पनि यो जोडीले सन्तान नजन्माउने निर्णय गर्‍यो । उनीहरूले विवाहलगत्तै ऋषिमुनिहरूको दीक्षा फलो गरेपछि सन्तान जन्माउने कुरामा सरसल्लाह नगरेका पनि होइनन् तर अहिले रोजेको मार्ग भनेको जन्म–मृत्युको चक्रबाट मुक्त भएर जानु हो । सन्तानको भविष्यका लागि काम–क्रोध, लोभ–मोहमा जानुपर्ने र २४ घण्टामा १० घण्टा ध्यान बस्नुपर्ने यी सन्न्यासीलाई सन्तान प्राप्त गरेपछि आफ्नो जीवनसँग मेल नखाने भएरै सन्तान नजन्माउने निष्कर्षमा पुगे । यी दुई आफूलाई संसारकै खुसी र भाग्यमानी जोडी भएको बताउँछन् ।

कुनै समय ग्ल्यामरस क्षेत्रमा तहल्का मच्चाएकी सोविता उतिबेला टेलिभिजनमा नमस्ते कलिउड नामक कार्यक्रम चलाउँथिन् । नीराजन भने रेडियोमा समाचार प्रस्तोता थिए । यही सिलसिलामा दुवैको भेट भयो । पहिलो भेटघाट अत्यन्तै सामान्य थियो । पछि नमस्ते कलिउड कार्यक्रममा नीराजन निर्देशक भएपछि दुवैको भेटघाट बाक्लियो । ‘कतिखेर प्रेम बस्यो थाहै भएन’ सोविता भन्छिन्, ‘प्रेम गर्छु भनेर हुने कुरा होइन रहेछ, आफैं हुँदो रहेछ । हाम्रो प्रेम विवाहमा परिणत भएपछि झन् बलियो, प्रगाढ र अटल बनेको छ । अहिले हामी पूर्णरूपमा एक–आपसमा समर्पित प्रेमी–प्रेमिका भएका छौं ।’ नीराजनलाई आफूभित्रको आध्यात्मिकता जगाउन भगवान्ले सोवितालाई आफूसम्म पठाएजस्तो लाग्छ । विवाहअघि उनीहरूको भेटघाट र घुमघाम स्थल पनि मन्दिर, आश्रम, तपोवन नै हुन्थे भने वार्तालापको विषय पनि आध्यात्मिक नै हुन्थ्यो । यो जोडीका लागि ‘भ्यालेन्टाइन डे’ विशेष दिन हो । यही दिन नीराजनको जन्मदिन पर्छ । आफूहरूले मनाएको पहिलो भ्यालेन्टाइन सम्झिँदै नीराजन भन्छन्, ‘मलाई सबैभन्दा मनपर्ने रंग हरियो हो किनभने यसलाई म प्रकृतिसँग दाँजेर विविध तरिकाले व्याख्या गर्छु । पहिलो भ्यालेन्टाइनमा त्यही रंगको स्वेटर उनीबाट सरप्राइज उपहार प्राप्त गर्दा साँच्चिकै सरप्राइज भएको थिएँ । जुन मेरो मानसपटलमा प्रायः घुमिरहन्छ ।’ विवाहपछि करियरको उचाइ चुलिएको दुवैको स्वीकारोक्ति छ । ‘विवाह भइसकेपछि सबैभन्दा ठूलो कुरा त म संसारकै खुसी र स्वतन्त्र नारी हुन पाएकी छु’ सोविता भन्छिन्, ‘एक समय टेलिभिजनमा समाचार पढ्ने मेरो सपना उहाँले पूरा गरिदिनुभएको छ त्यसबाट म सन्तुष्ट छु । म मेरो मनको राजा हुन पाएकी छु ।’ विवाहपछि नीराजनको करियर, व्यावसायिक जीवन, आर्थिक अवस्था र सामाजिक प्रतिष्ठासमेत उँचो भएको छ जसको श्रेय उनी श्रीमतीलाई दिन्छन् । भन्छन्, ‘ज्योतिषले हात हेराउँदा पनि विवाहपछि भाग्य खुल्छ भन्थे नभन्दै त्यस्तै भयो । सही समयमा उनले दिने उपयुक्त सल्लाह, सुझाव र साथले मलाई यो स्थानमा पुर्‍याएको हो ।’

दैनिक आठदेखि १० घण्टा ध्यानमा लीन हुने यी ओशोभक्त सन्न्यासी जोडीको स्थायी बसोबास नै ओशो तपोवन हो ।

‘वीराङ्गना’ पुस्तककी लेखिका सोविता पछिल्लो समय लेखनसँगै अध्यात्ममा सक्रिय छिन् । नीराजन भने एउटा निजी टेलिभिजनमा समाचारवाचकका रूपमा कार्यरत छन् । यसबाहेक उनीहरूले ओशो तपोवन र धादिङस्थित वेनुवनको निश्चित कार्यभार सम्हालिरहेका छन् । दाम्पत्यलाई मजबुत बनाउने सूत्र सुझाउँदै दुवै भन्छन्,

‘स्वार्थरहित प्रेम, विश्वास, एक–अर्काको अस्तित्वलाई स्वीकार गर्नसक्ने क्षमता भयो भने सम्बन्ध धमिलिन पाउँदैन । दुवैले आ–आफ्नो कमजोरीलाई स्वीकार गर्न सके प्रेम अझै प्रगाढ हुन्छ ।’ तीव्र महत्वाकांक्षाका कारण अहिलेको कतिपय सम्बन्ध टुटेकोमा यी दुईलाई दुःख लाग्छ । वर्तमानमा खुसी भएर जिउनका लागि दैनिक एक–दुई घण्टा योग–ध्यान आवश्यक हुने उनीहरूको सुझाव छ ।

सोविताको नजरमा नीराजन

- मेरो असल साथी, श्रीमान् अनि सबथोक । 

- बलियो आवाजको धनी ।

- कम बोल्ने बानी सुधारिदिए हुन्थ्यो ।

- पीडामा भएकाहरूलाई आध्यात्मिक मार्गद्वारा उद्धार गरिदिए हुन्थ्यो ।

नीराजनको नजरमा सोविता

- उनी मेरा लागि सबथोक हुन् ।

- मेरो खुसीलाई आफ्नो खुसी ठान्ने उनको स्वभाव अत्यन्त मनपर्छ ।

- उदाहरणीय नारी भएको देख्न चाहन्छु ।

- निर्णय क्षमता अझ बढाउनुपर्छ ।

 Image