‘विदेशी संस्कृति हल्दी रसम’

रचना अधिकारी

माघ २५, २०७७ विवाहको केही दिनअघि नै पहेंलो साडीमा सजिएकी दुलहीलाई भाउजूले हल्दी लगाइदिँदै, ‘नन्दको हल्दी रसम’ लेखेर फेसबुकको भित्तामा पोस्ट गरेको देखें । यो हल्दी लगाउने चलन त छिमेकीको होइन र ? म मधेसमा जन्मिएकी र त्यहीँ हुर्केकी भए पनि मधेसको विवाह समारोहमा जाने साइत भर्खरै जुरेको थियो । यतातिर ‘घरदेख’ भन्दा रहेछन् । यसमा बेहुला पक्षले बेहुली पक्षलाई उपहारस्वरूप पहेंलो साडी दिने र विवाहको एक दिनअघि ‘कुमरौन’ को परम्परा छ । यसैमा दुलही पहेंलो साडीमा सजिँदिरहिछिन् । तर हल्दी लगाउने चलन ? यो त हाम्रो होइन रहेछ नि ? लगत्तै फेरि अर्को विवाह, हरियो लेहेंगामा सजिएर ‘मेहन्दी रसम्’ रे, उफ । बेहुलीले मेहन्दी लगाउने चलन धेरै पहिलेदेखिको हो, तर यसकै लागि एकदिन पूरै छुट्याएर यसलाई ‘फङ्सन’ को नाम दिन कत्तिको सही हो ? अब यो सबै, परिवारका सदस्यले आफ्नो पराइघर जान लागेकी छोरीलाई गरेको माया हो, तँलाई के मतलब, भन्लान् तर अरू तरिका थिएनन् ? अर्काकै सिको गर्नुपर्छ र ?

फेरि अर्को एक विवाहमा बेहुली पहिलोपल्ट मण्डपतर्फ आउँदै गर्दा रातो झिलिमिली चाँदरलाई चारजनाले समाएका थिए, ठ्याक्कै त्यसको तल बेहुली हिँड्दै थिइन् । बेहुली आउँदा उसका छेउछाउमा उसैका साथीसंगीहरू आएका त मैले पनि देखिरहन्थें तर यो कपडाको छाता बनाएर हिँडेको ? मैले त कतै सुनेकै थिइनँ, देखेकै थिइनँ । अँ, एउटा हिन्दी सिरियलमा चाहिँ देखेकी थिएँ । हुन त मैले पनि यी रीतिरिवाज अनि परम्पराका विषयमा खोजी कहाँ गरेकी थिएँ र ?

अनि उताबाट जन्ती आए, ‘तुझको बनाकर ले के जाएंगे बद्री कि दुल्हनियाँ..’ भन्दै नाचे । हो, म बुझ्छु–विवाहको माहौल छ । खुसियाली वातावरणमा नाच्ने हो, गाउने हो, रमाउने हो तर हाम्रै गीत छैनन् र ? हिन्दी गीत नै चाहिने ? हामी दुई छिमेकी हौं, केही हदसम्म हाम्रा भाषाका केही शब्दहरू मिल्छन्, हाम्रा ईश्वर पनि मिल्छन्, ईश्वर पुज्ने तरिका पनि मिल्छन्, केही–केही चाडपर्व पनि मिल्छन्, तर यो भन्दैमा त्यताको परम्परालाई पनि जबरजस्ती मिलाउनैपर्ने ?

हुन त ‘हु आर यु टु जज् मि ?’ भन्लान् तर म सोध्न चाहन्छु हामीले हाम्रा संस्कृति, परम्परालाई बिर्सिएर यसैगरी अरुको सिको गरिरह्यौं भने भोलिका हाम्रा सन्ततिले के सिक्छन् ? के सिकाउँछन् ? नेपाली परम्परा अनुसार मागी विवाहमा कुराकानी छिन्ने, टीकोटालो गर्ने, पञ्चेबाजा घन्काएर बेहुली भित्र्याउने चलन छ । तर पछिल्ला केही वर्षयता हिन्दी सिरियलको प्रभावले भनौं वा देखासिकी प्रवृत्तिले, नेपालमा विदेशी परम्परा भित्रिरहेको छ ।

कतिलाई यस्ता गतिविधि राम्रै लाग्छन् । सबैको आ–आफ्नै सोचाइ हो । यहाँ कसैको भावनालाई ठेस पुर्‍याउने मेरो मनसाय होइन । तर, मलाई डर लागिरहेछ, कतै मेरा आफन्त, मेरा साथीसंगी मसँग रिसाउने पो हुन् कि ? म सोचिरहेछु सिंगो समाजले सजिलै अपनाएको यो हल्दी लगाइदिने परम्परा, ए होइन–होइन, यो ‘हल्दी रस्म’ मै एक्लीलाई किन मन नपरेको होला ? अस्ति भर्खरै लक्ष्मीपूजाको दिन कतिपय साथीभाइले ह्यापी ‘दिवाली’ लेखेर फेसबुकको भित्तामा पोस्ट्याएको देख्दा मलाई मात्रै किन रनक्क रिस उठेको होला ? मातातीर्थ औंसीमा आमालाई चुरा, पोते, फरिया लगाइदिई मिठाईं आदि अर्पण गर्नर्पुर्ने ठाउँमा ‘ह्याप्पी मम्स डे’ भन्दै केक काटेको मलाई मात्रै किन मन नपरेको होला ? हुन त मैले मन पराए/ नपराए पनि यो समाज अघि बढिरहनेछ, अनि म यही समाजलाई पछ्याइरहनेछु । म सोचिरहन्छु, के म यो समाजभित्र पर्दिन ? मेरो प्रश्न छ, हामीले यस्ता विदेशी संस्कृति अपनाइरहँदा आफ्नै परिचय गुमाइरहेका त छैनौं ? म फेरि पनि भन्छु, मैले कोही व्यक्ति विशेषलाई लक्षित गरी यो लेख लेखिरहेकी छैन, मैले त यो युवापुस्ता कहाँ गइरहेछ भनी औंल्याउन खोजेकी मात्र हुँ । मैले एउटा सानो कदम चाल्न खोजेकी हुँ आफ्नै पुर्खादेखि चलिआएको चलन बचाउन । एकपल्ट हामी सबै मिली सोचौं न, यो जिम्मेवारी हाम्रो होइन र ?

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>