चलचित्रमा फेरिँदै पहिरन

नारी संवाददाता

माघ २०, २०७७ भनिन्छ, चलचित्र समाजको ऐना हो । सामाजिक विषयवस्तु, चलनचल्तीका पहिरनलार्इं समेट्दै चलचित्र निर्माण गरिन्छ । समयानुसार समाज परिवर्तन हुन्छ । यसको प्रत्यक्ष असर चलचित्रमा परेकै हुन्छ । समाजमा रहनसहन, वेशभूषा परिवर्तन हुँदै जाँदा चलचित्रमा पनि पहिरन परिवर्तन हुँदै गएको छ ।

नेपालकी प्रथम महिला नायिका हुन्–भुवन थापा चन्द । उनले चलचित्र आमाबाट नायिकाको यात्रा सुरु गरेकी हुन् । उनले चलचित्रमा मुख्य नायिकाको भूमिका निभाइन् । उक्त चलचित्रमा उनको पहिरन गुन्यु–चोलीमा सीमित थियो । त्यो समयमा महिलाहरूले लगाउने पहिरन साडी, गुन्यु मात्रै रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘त्यतिबेला महिलाहरूले साडी, चोली, गुन्यु, चोलो मात्र लगाउँथे, सोहीअनुसार पहिरन छनोट हुन्थ्यो ।’ चलचित्रमा समाजका कथाहरू समेटिने भएकाले पनि पहिरनदेखि कथावस्तु उस्तै हुने गरेको उनी बताउँछिन् । भुवन प्रायः साडी–चोलोमै देखिन्छिन् । आमा, दिदी, बहिनीको भूमिकामा बढी देखिने भएकाले मौलिक पहिरन हुने गरेको उनको भनाइ छ । सधै मौलिक पहिरनमा सजिने भुवन पछिल्लो समय पहिरनमा निकै परिवर्तन आएको बताउँछिन् । पछिल्लो समयमा पहिरनमा निकै विविधता आउन थालेको उनले देखेकी छन् । ‘पहिलेको तुलनामा अहिले त धेरै परिवर्तन आइसकेको छ’ उनी भन्छिन्, ‘अहिले पहिरनमा धेरै विविधता आएको छ ।’

पहिले महिला कलाकारले चलचित्रमा फ्रक, साडी, चोलो, गुन्यु–चोलो र पुरुष कलाकारले दौरा–सुरुवाल, सर्ट, पाइन्टजस्ता पहिरन लगाउँथे । त्यसबेला ढाका पस्मिनाको चल्तीमा रहेको ‘सिन्दूर’ चलचित्रमा फेसन डिजाइनरको काम गरेकी नमुना कलेजकी प्राध्यापक ज्ञानीशोभा तुलाधर बताउँछिन् ।

उनी भन्छिन्, ‘त्यसबेला पहिरनका लागि सीमित साधन र स्रोत भएकाले जे उपलब्ध थियो त्यसैमार्फत पहिरन निर्माण हुन्थे ।’ त्यसबेला फेसनेबल भन्दा पनि चलचित्रको क्यारेक्टरलाई सुहाउने पहिरनमा ध्यान दिइन्थ्यो । पहिरनलाई आवश्यक डिजाइन दिनका लागि मेसिनदेखि पैसाको अभाव हुने गरेको उनको भनाइ छ । उनका अनुसार त्यसबेला सिल्क, भेल्भेटका पहिरन बनाइन्थ्यो । अहिले समय परिवर्तन हुँदै गएपछि पहिरनदेखि चलचित्र नै परिवर्तन हुन थाले । उनका अनुसार पछिल्लो समय लेहेंगा, कुर्ता, सेरवानी, वानपिस, कुर्ता जस्ता पहिरन प्रवेश गरेका छन् ।

नेपाली चलचित्रमा हिन्दी चलचित्रको प्रभाव बढ्दै गएको उनले महसुस गरेकी छन् । उनी भन्छिन्, ‘हिन्दी चलचित्रबाट प्रभावित भएर लेहेंगा, सेरवानीजस्ता पहिरनहरूले नेपाली चलचित्रलाई छोपेको छ ।’ उनका अनुसार अहिले नेपाली चलचित्रमा देखिने पहिरनको विविधता नै विदेशी चलचित्रको प्रभाव हो । बढ्दो इन्टरनेट तथा टेक्नोलोजीको प्रयोगले पनि पहिरनमा परिवर्तन ल्याउँदै आएको उनी बताउँछिन् ।

पछिल्लो समय नियाल्दा पहिरनदेखि फेसनको बजार बढ्दै गइरहेको छ । फेसनमा पश्चिमा संस्कृति भित्रिँदै गइरहेको छ । अध्ययनमा समेत फेसन सुरु भएपछि डिजाइनिङसम्बन्धी अध्ययन गर्दै यस क्षेत्रमा उदाइरहेका छन् । बुटिक र डिजाइनरहरूको बजारको व्यापकतासँगै अहिले पहिलेको जस्तो पहिरनको समस्या छैन । बुटिक डिजाइनर नहुँदा भने कतिपय महिला कलाकारले चलचित्रमा पहिरनको व्यवस्था आफैं गर्नुपर्थ्यो । चलचित्रका लागि आफैं पहिरन व्यवस्थापन गरेको अनुभव कलाकार मिथिला शर्मासँग छ । उनले धेरै चलचित्रमा आफ्नी आमाको साडी लगाएर अभिनय गरेकी छन् ।

उनी भन्छिन्, ‘पहिले अहिलेजस्तै बुटिक डिजाइनरहरू पनि थिएनन्, त्यसबेला थुप्रै पटक आफैं पहिरनको व्यवस्था गरेकी छु ।’ उनका अनुसार चलचित्रको कथावस्तुअनुसार कस्ता पहिरन उपयुक्त हुन्छन् भनेर साथीसँगको छलफलबाट निर्णय हुन्थ्यो । सुरुवाती समयमा पहिरनका लागि केही असहज भए पनि पहिरनको कुनै समस्या नभएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अहिलेका पुस्तालाई पहिरनको कुनै समस्या नै छैन डिजाइनरहरूले उपलब्ध गराइहाल्छन् ।’ तर अहिलेको चलचित्र फेसन विदेशीबाट नै सिक्न थालिएको उनको ठम्याइ छ । उनका अनुसार हलिउड बलिउडबाटै ड्रेसहरूको डिजाइन हेर्ने, सिक्ने गरिन्छ । अरुको हेरेर सिक्ने भएकाले कहिलेकाहीँ आवश्यकताभन्दा बढी ग्ल्यामर देखिने गरेको उनी बताउँछिन् । यसले गर्दा नकारात्मक टिप्पणी पनि गरिन्छ ।

पछिल्ला समयका चलचित्र ‘इन्टु मन्टु लन्डन’ र ‘क्याप्टेन’ चलचित्रमा डिजाइन गरेकी फेसन डिजाइनर स्वर्णिम राई चलचित्रको कथावस्तुअनुसार पहिरन आवश्यक रहेको बताउँछिन् । उनका अनुसार गाउँका केटी र सहरका केटीलाई फरक पहिरन आवश्यक पर्दछ । किनभने उनीहरूको रहनसहन नै फरक हुन्छ । उनी भन्छिन्, ‘चलचित्रमा कस्तो भूमिकामा छ भन्ने मुख्य विषय हो सोहीअनुसार नै पहिरन निर्माण गरिन्छ ।’ चलचित्रमा लगाइने पहिरनले नै बजार निर्देशित हुने गरेको बताउँछिन् उनी । अहिलेको समयमा चलचित्रमा देखेर पहिरन बनाइदिन पनि माग आउँछ । उनी भन्छिन्, ‘चलचित्रमा हिरो–हिरोइनले लगाएको पहिरन जस्तो बनाइदिन अर्डर आउँछ, यसले गर्दा चलचित्रको फेसनले बजार नै प्रभावित हुन्छ ।’

तस्बिरहरु : एजेन्सी

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>