इलामका नयाँ गन्तव्य

सुजाता मुखिया

माघ ८, २०७७ कोरोनाको कारण र लकडाउनले प्रभावित नहुने कुनै क्षेत्र छैन । अझ पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । सामान्य अवस्था हुँदो हो त इलाममा आगन्तुकको घुइँचो लाग्थ्यो । तर, यसपालि भने मुख्य सिजनमा समेत इलामका पर्यटकीय स्थलहरू ठप्प र सुनसान रहे । कोरोनाको डरले धेरैजसो यात्रामा निस्किएनन् । यद्यपि कोरोना संकट लम्बिँदै जाँदा स्थानीयवासीहरू आफ्नै घर नजिकका रमणीय स्थानको खोजीमा निस्किए, जहाँ सबै त्रास भुलेर रमाउन सकियोस् । अन्ततः यस्ता थुप्रै स्थान फेला परे, जुन प्राकृतिक रूपले आकर्षक र लोभलाग्दा छन् । झरनादेखि सूर्योदय अवलोकन गर्ने टाकुरासम्मका आधा दर्जनजति नयाँ गन्तव्य इलाममा फेला परेका छन् । त्यहाँ अहिले आन्तरिक पर्यटकको बाक्लै चहलपहल छ ।

कोठीडाँडा

इलामको उत्तरी भेगतर्फ लाग्दा एकपछि अर्को पर्यटकीय गन्तव्य फेला पर्छन्–माइपोखरी, टोड्के झरना, सन्दकपुर, छिन्टापु । यी गन्तव्यहरूको प्रवेश बिन्दुमा छ, कोठीडाँडा । जसबीरे भञ्ज्याङको शिरमा अवस्थित यो डाँडा इलामको नयाँ पर्यटकीय गन्तव्य हो, जहाँबाट इलामका अधिकांश भाग अवलोकन गर्न सकिन्छ ।

स्थानीय सूर्यबहादुर सुब्बाका अनुसार यो स्थान आफैंमा ऐतिहासिक पनि हो । करिब डेढ सय वर्षअघि सदरमुकाम रहेको सुब्बाको भनाइ छ । जंगबहादुर राणाका छोरीज्वाईं गजराजसिंह थापा बडाहाकिम भई सोही स्थानमा आएर बसेका थिए । यो स्थानमा अहिले पुराना संरचनाको भग्नावशेष मात्र बाँकी छ । तर, वनभोज खान वा घुमफिर गर्न आउनेहरूका लागि यो रोज्जा गन्तव्य बनेको छ । कोठीडाँडा पुग्न इलाम सदरमुकामबाट ३० मिनेटको दूरी पार गर्नुपर्छ ।

गुगल पोइन्ट

रोङ गाउँपालिका–३ स्थित नापी विभागको भू–मापन केन्द्र रहेको डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । ‘गुगल पोइन्ट’ नामकरण गरिएको उक्त डाँडाबाट अन्तुडाँडा, भारतका अधिकांश भू–भाग, तराईका फाँटहरू अवलोकन गर्न सकिन्छ । यसका साथै विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंघा र कुम्भकर्ण हिमशृंखला नजिकबाट देख्न सकिन्छ ।

समुद्री सतहबाट १८ सय २५ मिटरको उचाइमा रहेको उक्त क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गरी स्थानीयको आयआर्जनको स्रोत बढाउने प्रयास भइरहेको छ । यस क्षेत्रका वडाध्यक्ष मातृका बरालका अनुसार यो डाँडा पहिचान हुन नसकेर ओझेलमा परेको हो । उनी भन्छन्, ‘आगामी आर्थिक वर्षका लागि यस ठाउँको विकासका लागि योजना बनाइरहेका छौं ।’ यहाँ पर्यटकको आकर्षण बढाउन सूर्योदय हेर्नका लागि टावर, हावा घर (प्रतीक्षालय), बाटोको सुविधा, ट्रेकिङ रुट बनाउने र त्यसका साथै यस क्षेत्र वरपर वृक्षारोपण गर्ने, लालीगुराँस, चाँप र अन्य बोट–बिरुवा लगाउने योजना रहेको बरालले बताए ।

कन्याम र पाथीभराको बीचमा पर्ने यो पोइन्ट पुग्न धेरै समय लाग्दैन । मेची राजमार्गको हर्कटे बजारबाट करिब डेढ किलोमिटरको पैदल बाटो हिँडेपछि गुगल पोइन्ट पुग्न सकिन्छ । त्यस्तै कुटीडाँडा, हासँपोखरीबाट ३० मिनेट उकालो चढेपछि यहाँ पुग्न सकिन्छ ।

स्वागत झरना

लकडाउन सुरु भएदेखि स्वागत झरनामा गर्मी छल्न जानेहरूको संख्या बढ्यो । यहाँ पुग्नेहरूले तस्बिरहरू सामाजिक सञ्जालमा राख्न थालेपछि झरना नयाँ गन्तव्य बन्यो । इलामको रोङ गाउँपालिका–४ स्थित यो झरना मेची राजमार्गको झापा र इलाम सीमामा रहेको जोरकलशबाट ५ मिनेटको दूरी पार गरेपछि किटेनी पुगिन्छ । त्यहाँबाट ५ सय मिटर तल झरेपछि झरना आउँछ । यसको उचाइ २४५ फिट छ । झरनाको वरिपरि वनजंगलले घेरिएको रमणीय ठाउँ छ । चराचुरुङ्गीको आवाजसँगै माथिबाट झरेको पानीको आवाजले आनन्द दिन्छ ।

दिदीबहिनी झरना

इलाम नगरपालिका–३ पुवामझुवास्थित महभीरको दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दो छ । नजिकै दुईवटा झरनासँगै भएकाले यसको नाम दिदीबहिनी झरना राखिएको हो । यो झरना १२५ फिट अग्लो भएको अनुमान स्थानीयवासीको छ । इलाम सदरमुकामबाट करिब २० किलोमिटरको दूरी तय गरेपछि रक्सेको बाघखोर बजार पुगिन्छ । त्यहाँबाट अढाई किलोमिटर भित्र कच्ची सडकको यात्रा गरेपछि झरनामा पुग्न सकिन्छ । यस क्षेत्रमा टिम्मुर, चिमफिङ, वनसुपारी, चिराइतोलगायतका २० भन्दा बढी प्रकारका जडीबुटी पाइन्छन् ।

माङसेबुङ

माङसेबुङ किराँत धर्मस्थलका रूपमा प्रसिद्ध मानिन्छ । यो धर्मगुरु आत्मानन्द लिङदेनको वासस्थान हो । यहाँ गुरुको जन्मोत्सवको अवसरमा महोत्सव सञ्चालन हुन्छ । माङसेबुङ गाउँपालिकास्थित गजुरमुखी धाम, माङमालुङ, किराँत धर्मावलम्बीहरूको धार्मिकस्थल लारुम्बाजस्ता प्रसिद्ध तीर्थस्थल छन् । झापाको दमकबाट करिब २० किलोमिटरको यात्रा तय गरेपछि यहाँ पुग्न सकिन्छ । यो क्षेत्रमा पुग्न बाटोको त्यति राम्रो सुविधा भने छैन ।

पानीटार

चियाबगानको दृश्यावलोकन गर्न पानीटार धेरैको रोजाइमा पर्न थालेको छ । कन्यामको झल्को दिने पानीटारमा मन्दिर र खेलमैदान भएकाले यस क्षेत्रमा वनभोज खानेको भीड हुन्छ । यहाँ अहिले होमस्टे सञ्चालनमा छ । पानीटारबाट तराईका फाँटसमेत देख्न सकिन्छ । यहाँ विभिन्न जातजातिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । पानीटारबाट दक्षिणतर्फ सिद्धिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी, खान्द्रुङ गुफालगायतका पर्यटकीय क्षेत्र छन् । चियाबगानभित्र बस्न सहज होस् भनेर गोलघरहरू निर्माण गरिएको छ । पानीटार पुग्न सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालो झर्नुपर्छ । झापाबाट सीधै सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारेबाट पनि पुग्न सकिन्छ । झापाको बिर्तामोडबाट करिब ५६ किलोमिटरको यात्रा तय गरेपछि पानीटार पुगिन्छ ।

ढापपोखरी

सन्दकपुर गाउँपालिका–५, जमुनामा रहेको ढापपोखरी स्थानीयवासीको प्रयासबाट पर्यटकीय गन्तव्य बन्दै गएको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरी १७ सय मिटरको उचाइमा छ । पोखरीमा स्थानीयले डुंगा सञ्चालनमा ल्याएका छन् । सिमसार क्षेत्र ढापपोखरीमा माछापालन गरिएको छ । यहाँ फिसिङ गर्न रुचि राख्नेलाई स्थानीयले त्यसको सुविधा दिने योजना बनाएका छन् । ढापपोखरी पुग्न इलाम सदरमुकामबाट ५० किलोमिटरको दूरी पार गरेपछि पुग्न सकिन्छ । मेची राजमार्गको नेपालटारबाट मंगलबारे हुँदै गजुरमुखी पनि पुग्न सकिन्छ । गजुरमुखी धाम धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थल हो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>