कौसी खेतीको रहर

नारी संवाददाता

पुस २०, २०७७ अहिले अर्ग्यानिक खेतीमा सबैको चासो बढेको छ, यो कत्तिको सम्भव छ ? किनभने यस्तो खेती त्यति नफस्टाउने, रोग लाग्ने, उत्पादन ढिलो हुने बुझाइ छ नि ?

नेपालमा सरकारको सहयोगबिना व्यावसायिक अर्ग्यानिक खेती सम्भव छैन । अर्ग्यानिक प्रमाणित हुन झन्डै १०–१२ लाख खर्च हुन्छ । समय पनि उत्तिकै लाग्छ । मलदेखि खेती गर्न आवश्यक सामग्री सबै बाहिरबाट आउँछ । हामी दूध र पोल्ट्री फर्ममा आत्मनिर्भर छौं भन्छौं तर गाईभैंसी, कुखुरापालनबाट निस्कने मल प्रयोग गरेको पाइँदैन । पछिल्लो समय कौसी खेतीको चलन बढेको छ । तर, यो सहरको रहर मात्र भएको छ । धेरैले आफ्नो रहरले गरिरहेका छन् । नेपालमा कौसी खेती केही हदसम्म मात्र सम्भव छ । तर, एकजनाले काउलीमात्र फलाउने, अर्कोले गोलभेंडा फलाउने, अर्कोले साग । त्यसपछि एक–अर्कासँग सट्टापट्टा गरेर खान भने सम्भव छ । कौसी खेतीको सकारात्मक पाटो पनि छ । आफूले सब्जी रोप्दा कृषकले गरेको दुःख बुझ्ने मौका पाउँछन् ।

कौसी खेतीले के आत्मनिर्भर बनाउन सक्छ ?

कोकोपिट, मल सबै बाहिरबाट आउँछ । कौसी खेतीलाई रहरभन्दा पनि व्यवस्थित गर्न जरुरी छ । घरकै स्रोत र साधनको प्रयोग गरी मल बनाउन सकिन्छ । तरकारीको बोक्रा, चियापत्ती, बासी भात, अण्डाको खोलको मल बन्छ । यसबाट फोहोर व्यवस्थापन हुनुका साथै पैसाको पनि बचत हुन्छ । भान्साको सिंकबाट निस्किएको पानीलाई व्यवस्थित गरी बारीमा पुर्‍याउन सकिन्छ । घरमै गड्यौला पाल्न पनि सकिन्छ ।

यसमा के–कस्ता समस्या हुन सक्छन् ?

बिरुवामा कीरा, रोग र डढेलो आदि लाग्ने समस्या हुन सक्छन् ।

समाधानका उपाय बताइदिनुस् न ?

पौष्टिक आहार राम्रो भए हामीलाई रोग नलागेजस्तै बोटबिरुवामा पनि यो कुरा लागू हुन्छ । वातावरणलाई नियन्त्रण गर्न नसके पनि बिरुवालाई सम्भावित खतराबाट जोगाउन सकिन्छ । जाडो मौसममा बिरुवामा ओस र ढुसी लाग्छ, त्यसबाट जोगाउन बिरुवालाई घाम लाग्ने ठाउँमा रोप्न सकिन्छ । रोग बीउ, हावा, पानी र माटोबाट आउँछ । राम्रो र प्रमाणित बीउ रोप्नुपर्छ । हावालाई नियन्त्रण गर्न नसके पनि उन्नत जातको बीउ रोप्न सकिन्छ । पानीको स्रोत व्यवस्थित गर्न सकिन्छ । बिरुवामा रोग लागेमा रोप्ने समय र ठाउँ परिवर्तन गर्नुपर्छ । अघिल्लो वर्ष रोपेको काउलीमा कीरा लाग्यो भने अर्को वर्ष त्यहाँ केराउ वा गोलभेंडा रोप्नुपर्छ । काउलीमा लाग्ने रोग गोलभेंडामा नलाग्न सक्छ । कीराको अण्डा माटोमै रहने भएकाले पहिलो वर्ष लागेको रोग अर्को वर्ष पनि लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै, अगौटे वा पछौटे पारेर रोप्नुपर्छ । पहिलेको वर्ष रोपेको भन्दा ठीक १५ दिनअघि वा पछि पारेर रोप्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>