Successfully Copied

घरलाई न्यानो कसरी राख्ने ?

कुनैपनि व्यक्तिका लागि जीवनभरिको पुँजी हो, घर । आफ्नो घर अर्थात् वासस्थानसँग सबैको भावनात्मक सम्बन्ध गाँसिएकै हुन्छ । त्यसैले घर र वरपरको वातावरण स्वच्छ, सफा र स्वस्थ हुन जरुरी छ ।

कुनैपनि व्यक्तिका लागि जीवनभरिको पुँजी हो, घर । आफ्नो घर अर्थात् वासस्थानसँग सबैको भावनात्मक सम्बन्ध गाँसिएकै हुन्छ । त्यसैले घर र वरपरको वातावरण स्वच्छ, सफा र स्वस्थ हुन जरुरी छ । जसका कारण हामी स्वस्थ रही आफ्नो कामकाजसँगै जीवनयापन पनि सुचारु रूपले संचालन गर्न सक्षम हुन्छौं । खासगरी घर मौसमअनुसार गर्मीमा शीतलता, जाडोमा न्यानो र वर्षा/हावाहुन्डरीबाट सुरक्षा प्रदान गर्ने गरी बनाउनु जरुरी छ ।

आजभन्दा धेरैवर्ष पहिले घरहरू माटोबाट बनाइन्थ्यो । बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस गर्ने गरिन्थ्यो । त्यस्ता घरभित्र बस्दा सहज महसुस हुन्थ्यो । यति मात्रै होइन, चिसोजन्य विभिन्न रोगले हत्तपत्त हामीलाई छुन सक्दैनथ्यो ।

हुन त माटो आफै तापको कुचालक वस्तु (इन्सुलेटिङ मटेरियल) नभए पनि यसमा रहेको तापिय पिण्ड (थर्मल मास) ले तातो, चिसो सोसेर अथवा जम्मा गरेर राख्छ, संचार भने गर्दैन । खासगरी माटोबाट बनेको घरमा थर्मल मासका कारण सोसिएर रहेको तातो वा चिसो बाहिर संचार हुन पाउँदैन । फलस्वरूप जाडोमा पनि हामीले माटोको गारोबाट निर्माण गरिएका घरहरूमा बस्दा न्यानो महसुस गर्दथ्यौं ।

हामीले घर निर्माण गर्दा सकेसम्म घरको वाल र गारो अलिक बाक्लो राख्नु उत्तम हुन्छ । घरको वाल बाक्लो राख्नाले तातो र चिसोको संचारण हुन समय लाग्ने भएकाले अलिक बेरसम्म कोठालाई जाडोमा न्यानो र गर्मीमा शीतल बनाउन मद्दत मिल्छ । तर, अहिले कम क्षेत्रफलमा घर बनाउनुपर्ने बाध्यताले पहिलेको इट्टा र माटोको बाक्लो गारो पिलर सिस्टम नौ इन्चको गारोमा प्रतिस्थापित भएको छ । क्याभिटी वाल र बाक्लो गारोको भवन निर्माण गर्न नसकिए पनि भित्तामा गरिने प्लास्टरमा बालुवाको सट्टा भुस अथवा काठको मसिनो धूलोको मिश्रण प्रयोग गर्न सके घरलाई केही हदसम्म न्यानो राख्न सकिन्छ ।

त्यस्तै, घरको गारोसँगै छाना र फ्लोरबाट पनि त्यत्तिकै मात्रामा घरभित्र तातो वा चिसोको संचारण हुन्छ । तसर्थ घरको सिलिङको उचाइ बढी भएको खण्डमा फल्स सिलिङको प्रयोग गर्नाले पनि कोठाको तापक्रम बढाउन सकिन्छ । वाल, सिलिङका अतिरिक्त फ्लोरिङको छनोट गर्दा पनि त्यत्तिकै बुद्धिमानी अपनाउनुपर्छ । तसर्थ फ्लोरिङ राख्दा मार्बल, ग्रेनाइट भन्दा काठको हार्ड वुड फ्लोरिङ, सेरामिक टाइल फ्लोरिङको प्रयोग गर्नु उचित हुन्छ । यसका साथै जाडोमा घरलाई न्यानो पार्न ल्यामिनेट फ्लोरिङको पनि प्रयोग गर्न सकिन्छ । खर्च र मर्मत सम्भारको दृष्टिकोणबाट हेर्ने हो भने पनि हार्ड वुड फ्लोरिङको तुलनामा ल्यामिनेट फ्लोरिङ उपयुक्त मानिन्छ । यस्तै, नेचुरल स्टोन फ्लोरिङलाई पनि सुन्दर र युनिक फ्लोरिङका रूपमा लिइन्छ । सुन्दरतासँगै यस्ता ढुंगाका फ्लोरिङले घरलाई न्यानो पनि बनाउँछ । यसैगरी, जाडोको फ्लोरिङको चर्चा गर्दा कार्पेट फ्लोरिङलाई बिर्सनै सकिँदैन । कार्पेट फ्लोरिङ गर्दा वाल टु वाल अथवा (भित्तादेखि भित्तासम्म) कार्पेट ओछ्याउन पनि सकिन्छ । ‘वाल टु वाल कार्पेट’ माथि वा अरु कुनै पनि फ्लोरिङमाथि आफूले प्रयोग गर्ने स्पेसमा कुनै एउटा प्याटर्न बनाएर कार्पेट ओछ्याउनाले पनि कोठालाई सुन्दर र आकर्षकसँगै न्यानो बनाउन सकिन्छ ।

यसैगरी, भवन निर्माण गर्दा पूर्व, दक्षिण–पूर्वी र दक्षिण भागमा आफ्नो मुख्य कक्ष जस्तै बेड रूम, लिभिङ रुम, फेमिली रुम राखी निर्माण गर्नु उत्तम हुन्छ । जसले गर्दा कोठाभित्र दिनभरको घामले तातो र न्यानो महसुस गराउँछ । त्यस्तै, बिहान उठेपछि घरका झ्यालहरू खोली शुद्ध हावाको प्रवाह गराउनुपर्छ । सूर्यको किरणबाट प्राप्त हुने तातो र न्यानोपन भरपूर मात्रामा लिन कोठाका पर्दाहरू खोली घामको तातो राप कोठाभित्र छिर्न दिनुपर्छ । साँच्चै नै जाडोको मौसममा यसबाट प्राप्त हुने न्यानोपन र आनन्दको कुनै वर्णन गर्न सकिँदैन ।

कोठालाई न्यानो पार्न फर्निचरको छनोट गर्दा पनि त्यत्तिकै विचार पुर्‍याउनुपर्छ । धेरै जाडो हुने ठाउँहरूमा फर्निचरको कपडा पनि सकेसम्म भल्भेट, सेनिल र ज्याकर्ड फेब्रिक्सको प्रयोग गर्नु उत्तम हुन्छ । यस्ता फेब्रिक्सहरू नरम र मुलायम हुन्छन् । यसमा बस्दा न्यानोको अनुभव गर्न सकिन्छ । साथै फायर प्लेस, हिटर आदि राखेर पनि कोठालाई न्यानो बनाउन सकिन्छ । तर सकेसम्म प्राकृतिक प्रकृयाबाटै घरलाई न्यानो बनाउँदा घर, आफू र परिवारलाई पनि स्वस्थ बनाउन मद्दत पुग्छ ।

 Image