दृश्यकी रीता

चार सय जनाभन्दा बढी कर्मचारी रहेको प्रतिष्ठानको सिइओ भई बिरामी हेर्ने र प्रशासनिक कामदेखि विद्यार्थीलाई पढाउने काम गर्छिन् । सिइओ बनेपछि उनको व्यस्तता भने बढेकै छ । अचेल साताको दुई दिन बिरामी हेर्ने र दुई दिन अप्रेसन गर्न उनी भ्याउँछिन् ।

उपासना घिमिरे

पुस २, २०७७ 

काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानकी आँखा रोग विशेषज्ञ तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्, डा. रीता गुरुङ । कास्कीको घान्द्रुकमा उनी जन्मिएकी हुन् । बुवा दानबहादुर गुरुङ भारतीय सेनामा कार्यरत रहँदा भारत र पाकिस्तानबीच भएको कारगील युद्धमा मारिए । उनी पाँच वर्षकै छँदा बुवाको निधनपछि आमा आशादेवी गुरुङले उनीसहित तीन छोरीलाई हुर्काइन्, पढाइन् । चितवनको दिव्यनगर बसाइ सराइपछि उनले महेन्द्र भवन विद्यालयबाट स्कुले शिक्षा पूरा गरिन् । छात्रवृत्तिमा रुसबाट उनले उच्च शिक्षा हासिल गरिन् । हाल चार सय जनाभन्दा बढी कर्मचारी रहेको प्रतिष्ठानको सिइओ भई बिरामी हेर्ने र प्रशासनिक कामदेखि विद्यार्थीलाई पढाउने काम गर्छिन् । सिइओ बनेपछि उनको व्यस्तता भने बढेकै छ । अचेल साताको दुई दिन बिरामी हेर्ने र दुई दिन अप्रेसन गर्न उनी भ्याउँछिन् । आवश्यक परे अन्य समयमा पनि बिरामी हेर्छिन् । कामप्रति दत्तचित्त र समयनिष्ठ डा. रीतासँग व्यक्तिगत जीवन संघर्ष, जिम्मेवारी पाएपछिको चुनौती, आँखा खराब हुने कारण र आँखाको उपचारलगायतका विषयमा केन्द्रित भई गरिएको कुराकानीको सम्पादित अंश ः

 

आँखा रोग विशेषज्ञ बन्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?

पढाइका क्रममा आँखा रोग विशेषज्ञहरूले मानिसको आँखा फेरेको सुन्थें । कुनै पनि मानिसलाई संसार देखाउन सक्नु नै ठूलो काम होला भन्ने लाग्थ्यो । सायद त्यही कारणले मेरो बाटो यसतर्फ मोडिएको हो । सुरुमा मैले काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरें । मैले पोखरास्थित हिमालय आँखा अस्पतालमा पनि आफ्नो सेवा दिएँ । पछि तिलगङ्गामा डा. सन्दुक रुइत र टिमसँग मिलेर काम गर्न थालेकी हुँ ।

महिला भएर सिइओको काम सम्हाल्दा के–कस्ता चुनौती आइपरे ?

चुनौती त खासै सामना गर्नुपरेन । कार्यकारी टिममा एकजना मात्र महिला छु, सबै पुरुष छन् । महिला भएकै कारण कतिपय कुरा सिरियसली नलिएको हो कि भन्ने महसुस कहिलेकाहीँ हुन्छ । काममा सीधै त भएन । यद्यपि भनेजस्तो सहज पनि छैन । महिलाले आफूलाई प्रमाणित गर्नलाई पुरुषले भन्दा अलिक बढी काम गर्नुपर्छ । यो एकदिन वा महिनामा फेरिने कुरा होइन । सदियौंदेखि पुरुषसत्तात्मक प्रणाली भएकाले अलिक समय लाग्ला । अहिले महिला पढेलेखेका धेरै भए, बिस्तारै माथि आउँदैछन् । परिवर्तन त हुन्छ तर समय लाग्छ । नेतृत्वले अरुलाई प्रेरित गर्न सक्नुपर्छ । त्यसका लागि अरुसँगै वा परिआए बढी काममा पनि खटिनुपर्छ ।

आफू महिला भएकाले भावी सिइओ महिला नै होस् भन्ने चाहनुहुन्छ ?

त्यो त डेफिनेट्ली चाहन्छु । अहिले तिलगङ्गा आँखा प्रतिष्ठानमा ६० प्रतिशतभन्दा बढी चिकित्सक महिला नै छन् । उनीहरू ग्रुम भएर लिडरसीपमा आउने सम्भावना छ । मेरो रिटायर्डमेन्ट लगत्तै नआए पनि आफूले काम गरेर प्रमाणित गरेमा आउने सम्भावना एकदमै छ ।

सफलता हात पार्न के–के आवश्यक पर्छन् ?

इमान्दारीका साथ लगनशील भई धेरै काम गर्नुपर्छ । सबै मान्छे एभरेज हुन्छन् । मेहनेतले नै मानिसलाई उच्च स्थानमा पुर्‍याउँछ भन्ने प्रमाणित गर्नुपर्छ । यो प्रमाणित गर्न महिलाले पुरुषभन्दा अलिक बढी मेहनत गर्नुपर्छ ।

कामका सिलसिलामा के–कस्ता कठिनाइ भोग्नुपर्‍यो ? कुनै अनुभव छ ?

महिला भएकैले काममा मलाई कुनै समस्या भएन । श्रीमान्ले आँखा शिविरमा जानुपर्छ भन्दा कहिल्यै आपत्ति जनाउने र सहयोग नगर्ने भएन । श्रीमान् र छोरीबाट जहिले पनि सहयोग मिल्यो । यसले पनि मैले दत्तचित्त भएर आफ्नो काम गर्न पाएँ । टाढा–टाढा शिविरमा जाँदा टिम हुन्थ्यो । सबै असल र सहयोगी सहकर्मी भएकाले गाह्रो भएन । यति हुँदाहुँदै जतिसुकै ठूलो पदमा पुगे पनि महिलालाई केही अप्ठ्यारो र जोखिम भने छ । शारीरिक रूपमा केही गाह्रो भने भयो ।

आँखा नदेख्नेलाई संसार देखाइदिँदा कस्तो महसुस हुन्छ ? अहिलेसम्म कति जनालाई संसार देखाइदिनुभयो ?

त्यो खुसी म शब्दमा कसरी वर्णन गरूँ ? २६/२७ वर्षको दौरानमा ३५ जिल्लामा आँखा शिविरमा गएँ । ६० हजारभन्दा बढीको मोतीविन्दुको शल्यक्रिया र २५ हजारभन्दा बढीको ‘कोर्नियल ट्रान्सप्लान्ट’ गरिसकेकी छु । केही समयअघिको कुरा हो, रामेछापमा एकजना बूढी आमाका दुवै आँखा बिग्रेका रहेछन् । रातदिन यत्तिकै अन्धकारमा बस्नुपर्दा दिमागले राम्रो काम नगरेर होला, जो मानिस आए पनि थुक्ने गर्नुहुँदो रहेछ । भोलिपल्ट अप्रेसन भयो । पर्सिपल्ट आँखाको पट्टी खोलेपछि अरुले अस्ति थुकेको डाक्टर यही हो भन्दा ‘मैले थाहा पाइन नानी’ भन्नुभयो । यही नै सही पुरस्कार हो, मेरो कामको । त्यस्तै, केही समयअघि साइपाल जाँदा नातिले बोकेर ल्याएको बूढी आमाले आँखा नदेखेको १० वर्षजति भएको रहेछ । शल्यक्रियापछि आँखा देखेपछि आमाले ‘मसानमा गएको मानिसलाई तिमीले फर्काएर ल्याऔं’ भन्नुभयो । त्यो क्षण मेरो आँखाबाट आँसु आयो । मैले जीवनमा केही राम्रो गरेंछु भन्ने महसुस त्यतिबेला भयो । कामको सिलसिलामा यस्ता धेरै घटना छन् । कति आमा हुन्छन्, बच्चा पाएपछि पनि आफ्ना सन्तान देख्न पाएका हुँदैनन् ।

सफल हुनका लागि के आँखा जरुरी छ ?

दुवै आँखा बन्द भएकाले पनि राम्रो काम/प्रगति गरेका छन् । तिनीहरू धेरै सक्रिय पनि छन् । कतिपय काम आँखाविना पनि गर्न सकिन्छ । बाँच्नका लागि जुन काम गर्नुपर्छ त्यो आँखा नदेखीकन सम्भव नभए पनि एकदम गाह्रो भने छ । सफल हुन दुवै आँखा जरुरी छन् भन्नु उपयुक्त नहोला । आँखा नभएका मानिस पनि सगरमाथा चढेका छन् । तर ती एकाध अपवाद मात्र हुन् । जीवनमा कुनै अपवाद केसबाहेक आँखा जरुरी छन् ।

विदेशबाट समेत यहाँ अप्रेसनका लागि आउँछन्, त्यतिबेला कस्तो महसुस हुन्छ ?

कोभिड–१९ महामारीअघिसम्म धेरै आउँथे । राम्रो, गुणस्तर र सस्तो भएकाले यहाँ आउने गरेका हुन््, त्यो हाम्रा लागि गर्वको कुरा हो । भूटानी र भारतीयहरू पनि अप्रेसन गर्न आउँछन् । नेपालमा भएका विदेशी पनि उपचारका लागि आउँदा खुसी लाग्छ ।

मानिसको आँखा बिग्रने कारण ? कति वर्षको उमेरबाट आँखा बिग्रन्छन् ?

हाम्रो जस्तो देशमा धेरै अन्धोपनको कारण मोतीबिन्दु नै हो । ६० प्रतिशत अन्धोपन मोतीबिन्दुको कारण हो । उमेर वृद्धिसँगै आँखा कमजोर हुन्छन् । अहिले मधुमेह, उच्च रक्तचापका कारणले हुने अन्धोपन पनि माथि आएको छ । मधुमेह भएकाले आफूलाई केही नभए पनि आँखा जाँच गराइरहनुपर्छ । ४० वर्षको उमेरपछि सबैले नजिकको हेर्नलाई चश्मा लगाउनुपर्छ । स्वस्थ मानिसले वर्षको एकपटक आँखा जाँच गराउनुपर्छ ।

चिकित्सकीय हिसाबले आँखा स्वस्थ बनाउने उपाय के छन् ?

परम्परागत हिसाबले स्वस्थ आँखाका लागि हरिया सागपात, पहेंला फलफूल खाँदा आँखा स्वस्थ हुन्छन् । भिटामिन सी, जिंकयुक्त भएका खानेकुरा खाएमा आँखाको पर्दामा उमेरले ल्याउने खराबी कम हुन्छ । धूम्रपान गर्नुहुँदैन । किनभने यसमा भएको निकोटिनले आँखामा असर पार्छ ।

पछिको योजना के छ ?

मेरो ल्याकतले भ्याएसम्म आँखाकै क्षेत्रमा लागिपर्छु । तिलगङ्गालाई युनिभर्सिटी लेभलमा लैजाने योजना छ, त्यसका लागि सरकार र अन्य क्षेत्रको सहयोग आवश्यक पर्छ । तीन दिदीबहिनी मिलेर महिला शिक्षामा पनि सानो फाउन्डेसनमार्फत काम गर्ने योजना छ । शिक्षा नै ठूलो कुरा हो । किनभने महिलाले जरैबाट राम्रो शिक्षा पाए मात्र भविष्यमा नेतृत्वदायी भूमिकामा आउन सक्छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>