Successfully Copied

उपयोगी : बाह्रथरी मसला

प्याज, अदुवा, लसुन, जिरा नभएसम्म भान्सा खल्लो हुन्छ । यी मसलाले तरकारी स्वादिलो बनाउँछ । मीठो–मसिनो खानामा त अरू धेरैथरी मसला पनि चाहिन्छ ।

प्याज, अदुवा, लसुन, जिरा नभएसम्म भान्सा खल्लो हुन्छ । यी मसलाले तरकारी स्वादिलो बनाउँछ । मीठो–मसिनो खानामा त अरू धेरैथरी मसला पनि चाहिन्छ । जस्तै– जाइफल, ल्वाङ, सुकुमेल, अलैंची । हाम्रो खानामा प्रयोग हुने अनेक मसलाहरूको एउटै नाम हो, बाह्र मसला । बाह्र मसलामा तेजपत्ता, ज्वानो, सौंफ, दालचिनी, अलैंचीदेखि ल्वाङ–सुकमेल आदि पर्छन् । यी सबैको मिश्रणले कुनै पनि परिकारको स्वादमा विविधता ल्याउँछ ।

जानकारहरूका अनुसार स्वाद, सुगन्ध र रङमा मात्रै सीमित छैन मसाला । यसले स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । पाचन तथा रगत शुद्धीकरणका सहयोग पुर्‍याउँछ । कतिपय मसलाले शरीरलाई चिसो लाग्नबाट बचाउँछ भने केही मसलाले गर्मीमा राहत दिन्छ । लामो समयदेखि सेफका रूपमा कार्यरत तारा रायमाझी भन्छन्, ‘हामीले नियमित प्रयोग गर्ने मरमसलाले स्वाद र स्वास्थ्य दुवैका लागि काम गर्छ । तर, यसका लागि मसला कसरी प्रयोग गर्ने भन्ने विधि जान्नुपर्छ ।’

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सँग जुध्नका बेसार पानी पिउनुपर्छ भनेपछि बेसारबारे व्यापक बहस भयो । हाम्रो भान्सामा नभई नहुने बेसारमा एन्टिब्याक्टेरियल गुण हुने बताइन्छ । त्यसैगरी, बेसारलाई प्राकृतिक एन्टिबायोटिक पनि भन्ने गरिएको छ । विभिन्न

मरमसलाबारे जानकारी—

बेसार

तरकारीमा अरू मसला नराखे पनि बेसार राखेन भने सादा देखिन्छ । यसले स्वाद पनि बढाउँछ । तरकारी, दाल, अचारमा मात्र होइन, दूध र पानीमा समेत बेसार घोलेर पिउने प्रचलन छ । आयुर्वेदाचार्यहरूका अनुसार बेसारमा औषधीय गुण हुन्छ । यसमा एन्टिइम्फ्लामेटरी, एन्टिब्याक्टेरियलिटी अक्सिडेन्ट, जीवाणुरोधी र एन्टिक्यान्सर गुण रहेको उनीहरू बताउँछन् । बेसारको प्रयोग सौन्दर्यका लागि समेत गरिन्छ । छालालाई चम्किलो र नरम बनाउन बेसार प्रयोग गरिन्छ । घाउखटिरा आदि निको बनाउन पनि बेसार उपयोगी हुन्छ ।

जिरा

जिराको दाना, धूलो वा पेस्ट हाम्रो परिकारका लागि अनिवार्य मानिन्छ । खासगरी यसले स्वाद र सुगन्ध बढाउँछ । यसमा औषधीय गुण पनि हुन्छ । यसले पाचन प्रणालीलाई सहज बनाउँछ । अपच वा शरीरमा विषाक्त पदार्थ भएको अवस्थामा जिराको सेवन उपयोगी हुन्छ । यसले शरीरमा भएको बोसो घटाउने र खराब कोलस्टेरोलको मात्रा नियन्त्रण गर्न भूमिका खेल्छ ।

धनियाँ

धनियाँको दानालाई पिसेर वा पेस्ट बनाएर प्रयोग गरिन्छ । धनियाँको हरियो पात पनि उत्तिकै रुचाइन्छ । हाम्रो परिकारमा धनियाँ अनिवार्य आवश्यकता हो । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि पनि प्रयोग गर्न सकिन्छ । पाचनसम्बन्धी समस्यामा यसले राहत दिन्छ । यसमा भएको पोटासियम, भिटामिन ‘सी’, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव

पार्छ ।

दालचिनी/तेजपत्ता

तेजपत्ता र दालचिनीले खानेकुराको स्वाद, सुगन्ध र रङ बढाउँछ । मीठो–मसिनो परिकार बनाउने हो भने दालचिनी र तेजपत्ता नभई हुन्न । यसको स्वाद र सुगन्धले नै हाम्रो भोक जगाइदिन्छ । त्यसो त यी दुवैको औषधीय गुण पनि उत्तिकै छ । रोग प्रतिरोधक क्षमता बढाउन दालचिनी, तेजपत्ता उपयोगी हुने बताइन्छ । मुटुरोग, उच्च रक्तचाप जस्ता समस्यामा दालचिनी र तेजपत्ताको प्रयोग लाभदायक हुन्छ । घाँटी दुखेका बेला दालचिनीको धूलो उमालेर खाँदा फाइदा पुग्छ । त्यस्तै, यसको नियमित सेवनले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रण गर्नुका साथै मुखको घाउखटिरा, बाथ र अन्य धेरै समस्यामा दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ ।

सुकमेल

खानेकुरालाई थप स्वादिलो बनाउन र मासुजन्य परिकार बनाउन सुकमेल नभई हुँदैन । सुकमेल मासु, तरकारीदेखि खीर, पुलाउमा पनि प्रयोग गर्न सकिन्छ । चियामा समेत सुकमेलको स्वाद खोजिन्छ । त्यसो त सुकमेलले चिसो लाग्नबाट बचाउनुका साथै ग्यास्ट्राइटिसबाट छुटकारा दिन्छ । मुटुसम्बन्धी समस्याबाट राहत दिई रक्तसञ्चारमा सुधार गर्छ । यसमा म्याग्नेसियम, पोटासियम, क्याल्सियम पाइन्छ ।

मरिच

पिरो–टर्रो मरिचले खानालाई स्वादिलो बनाउँछ । यसले बास्ना पनि थप्छ । मरिच स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । यसमा म्याग्नेसियम, जिङ्क, फस्फोरस, भिटामिन ‘के’, सेलेनियम र केरोटिन लगायतका पोषक तत्त्व पाइन्छ । मरिचमा उच्च एन्टिअक्सिडेन्ट हुन्छ, जसले ब्याक्टेरिया र भाइरससँग लड्न मद्दत गर्छ । मरिचमा बेसार मिसाएर खाए यसको असर दोब्बर हुन्छ ।

ल्वाङ

केही पिरो स्वादको ल्वाङ यसै पनि चपाउने गरिन्छ । ल्वाङले खानामा स्वाद र सुगन्ध बढाउँछ । त्यसो त ल्वाङमा औषधीय गुण हुन्छ । यसमा पाइने औषधीय गुणले दुखाइ र रुघाखोकी कम गर्छ । यसमा भएको एन्टिअक्सिडेन्ट गुणले मौसमी रोग लाग्नबाट बचाउँछ । धेरैजसोले दाँतको दुखाइमा ल्वाङको तेलको प्रयोग गरेको पाइन्छ ।

जाइफल

खासगरी मासुमा जाइफल अनिवार्य मानिन्छ । जाइफलले सुगन्ध र स्वाद बढाउँछ । त्यसो त यसमा भिटामिन, मिनरल्स, कार्बनिक यौगिक पाइने भएकाले यसको प्रयोग स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसका साथै फाइबर, म्याग्निज, थियामिन, भिटामिन ‘बी–६’, फोलेट, म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छन् । यसको प्रयोगले पेटसम्बन्धी समस्या हटाउन सहयोग गर्छ ।

अदुवा

सागसब्जी, दाल आदिमा अदुवाको पेस्ट प्रयोग गरिन्छ । यसले खानेकुराको स्वाद बढाउँछ । स्वादसँगै यो स्वस्थकर पनि मानिन्छ । अदुवाले पाचनयन्त्रलाई चुस्त बनाउँछ । यसको सेवनले शरीरको मेटोबोलिजम राम्रो बनाउँछ । अदुवामा कुनै क्यालोरी हुँदैन । मेटाबोलिजम ठीक भएमा हाम्रो पाचनतन्त्र सही हुन्छ । जाडोमा शरीरलाई न्यानो बनाइराख्न पनि अदुवाको सेवन उपयोगी मानिन्छ । पायल्सको समस्या भएकाले भने अदुवा नखानु नै उत्तम हुन्छ ।

लसुन

एउटा भनाइ नै छ, बाह्र मसला एक लसुन । अर्थात् अरू थरी मसला बराबर एउटै लसुन काफी हुन्छ । हुन त लसुन पनि आफैंमा एक मसला हो । लसुनले खानेकुराको स्वाद र सुगन्ध बढाउँछ । कतिपय खानेकुरामा रहेको विषाक्त पदार्थसमेत हटाउँछ । लसुनले पाचनयन्त्र चुस्त बनाउन सहयोग गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसलाई क्यान्सर प्रतिरोधीसमेत मानिन्छ ।

अलैंची

अलैंचीले खानेकुराको सुगन्ध बढाउँछ । अलैंची पोटासियम, म्याग्नेसियम, भिटामिन ‘बी–१’, ‘बी–६’ र भिटामिन ‘सी’ को राम्रो स्रोत हो । यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्‍याउनुका साथै मुटु पनि स्वस्थ राख्छ । साथै मुखको दुर्गन्धबाट कम गर्छ, पेट घटाउन सहयोग हुन्छ, कपाल झर्न रोक्छ । पत्थरी, जन्डिस, पाचन प्रणाली कमजोर हुँदा, मूत्रजन्य रोग, जोर्नीको दुखाइमा अलैंची फाइदाजनक मानिन्छ ।

सौंफ

खाना खाइसकेपछि सौंफ खाने गर्छौं । यसले मुखको दुर्गन्ध हटाउँछ, खानेकुरा पचाउन सहयोग गर्छ । अपच वा खानाको अरुचि भएमा पनि सौंफको सेवन उपयोगी हुन्छ । सौंफ पानीमा उमाल्ने र त्यो पानी सेलाएर पिउँदा फाइदा गर्छ । यसले कफको समस्याबाट छुट्कारा दिनुका साथै पेट दुखेका बेला भुटेको सौंफलाई चपाएर खानाले दुखाइ ठीक हुन्छ ।

मसला यसरी सुरक्षित राख्ने

मसला स्वादका लागि मात्र नभई हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसैले यसमा भएको स्वाद र औषधीय गुणलाई जोगाउन सुरक्षित राख्नुपर्छ । मसलालाई सुरक्षित राख्ने केही उपाय—

- मसलालाई राम्रोसँग राखिएन भने बिग्रने, सड्ने वा किरा पर्न सक्ने भएकाले मसला राख्ने भाँडा भरसक काँचको प्रयोग गर्नुपर्छ ।

- मसला राख्ने ठाउँ सुख्खा र उज्यालो पर्ने हुनुपर्छ ।

- सिधै घाम पर्ने ठाउँमा मसला राख्नुहुँदैन ।

- बिर्को राम्रोसँग लाग्ने भाँडामा मसला राख्नुपर्छ ।

- पिसेको मसला फ्रिजमा राख्नुहुँदैन, यसरी राख्दा सुगन्ध नष्ट भएर जान्छ ।

- मसला एकैपटक धेरै पिसेर राख्नुको सट्टा आवश्यकता अनुसार मात्र पिस्नुपर्छ ।

  पिसेको मसलाभन्दा नपिसेको मसला धेरै समय सुरक्षित रहन्छ ।

केही जानकारी

हामीले थाहा नपाइकन घरमा दिनहुँ धेरै थरिका मसला प्रयोग गरिरहेका हुन्छौं ।

- कुनै पनि नेपाली मसलाको साइड इफेक्ट छैन । हरेक मसलामा केही न केही फाइदाजनक गुण छन् ।

- मसलाको ठीक्क प्रयोग गर्नु स्वास्थ्यका लागि हितकर हुन्छ ।

- बिहान गरम मसला जस्तो सुकमेल, दालचिनी, अदुवा, बेसार राखेको चिया सेवन गर्नु प्रभावकारी हुन्छ । यसले रोग प्रतिरोधक क्षमता बढाउँछ ।

- मासुजन्य कुरामा गरम मसलाको प्रयोग बास्नाका लागि मात्र गरिदैन । यसको प्रयोगले मासु छिटो गल्ने, मासु खाँदा अपच हुने समस्याबाट राहत मिल्छ ।

- ज्वानो पनि पाचन प्रणालीका लागि उपयुक्त हुन्छ ।

 Image