जातीय विभेदविरुद्ध रीता

नारी संवाददाता

मंसिर ८, २०७७ जातीय विभेद र छुवाछूत अन्त्यका लागि मेची–महाकाली पैदल यात्रा गरेकी सामाजिक अभियन्ता तथा नारीवादी रीता परियारले आफ्नो यात्राले विभेदविरुद्धको सोचमा ऊर्जा भर्ने काम भएको बताउँछिन् । १ हजार ८४ किलोमिटर यात्राले उनलाई नेपालको वास्तविक मुहार छर्लङ्ग पारेको छ ।

तपाईंको हजार किलोमिटर मेची–महाकाली यात्राको उपलब्धि के हो ?

हामीले सुस्ताएको जातीय विभेदविरुद्धको आन्दोलनलाई उठायौं । हामीले पदयात्रा नगरेको भए अहिले जुन तरिकाले विभेदविरुद्ध आवाज उठेको छ, त्यो उठ्ने थिएन । हामीले चेतना संचार गर्‍यौं । मैले देशभरिका आमा, दिदीबहिनीबाट जुन अथाह माया र सम्मान पाएँ त्यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।

नेपाल कस्तो रहेछ ?

प्राकृतिक रूपमा अति सुन्दर तर सामाजिक रूपमा अति निर्मम.... नेपाली–नेपालीबीच धेरै खाडलहरू छन् जुन अत्यन्तै पीडादायी छन् ।

यो यात्राले जातीय विभेदबारे के सिकायो ?

राष्ट्रले नै यो समस्यालाई एउटा गहन विषयका रूपमा लिनुपर्छ र सारा नेपालीहरूको साझा मुद्दा बन्नुपर्छ । यो पदयात्रा मेरा लागि युनिभर्सिटीको वर्षौंको अध्ययनभन्दा गहिरो रह्यो ।

तपाईंको यात्राले पत्ता लगाएको समस्या समाधानको उपाय के हुनसक्ला ?

हामीले यात्राका बेला नै भनेका थियौं ७ सय ५३ स्थानीय निकाय, पालिका र प्रत्येक वडाले यो विषयलाई मुख्य समस्याका रूपमा स्वीकार गर्नुपर्छ र दलित उत्थानका लागि विशेष जोड र बजेट छुट्याइनुपर्छ ।

अन्तर्राष्ट्रिय स्तरमा जातीय विभेदको अवस्था कस्तो छ ?

संसारमा जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ जातीय व्यवस्था पुगेको छ । एउटा सुटकेसमा देश र अर्को सुटकेसमा विभेदसँगै जातव्यवस्था बोकेर जान्छन् ।

यसलाई साझा मुद्दा बनाउन के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?

जातीय समस्या अब दलितको मात्र होइन गैरदलितको पनि हो । यो राष्ट्रकै समस्या हो । तसर्थ राज्य स्वयंले यो मुद्दाका लागि ठोस कदम, नीति–नियम बनाई कार्यान्वयनमा जोड दिनुपर्छ ।

नेपाली महिलाभित्रका पनि दलित महिलाको अवस्था कस्तो छ ?

नाजुक छ । हाम्रो देशमा सबै महिलालाई नै दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ भने दलित महिलाहरू जो सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक सबै पक्षबाट पछाडि छन् उनीहरूको अवस्था कहालीलाग्दो छ । दलित महिला सबैभन्दा पिँधमा छन् त्यसमा पनी मधेसी दलित महिला झनै पिँधमा पिल्सिएका छन् ।

ती महिलाको सशक्तीकरणका लागि के जरुरी ठान्नुहुन्छ ?

पुरुषहरूले पनि महिला सशक्तीकरणमा हातेमालो गर्नुपर्‍यो । ७ सय ५३ स्थानीय निकायले दलित र पीडित महिलाको उत्थान र सबलीकरणका लागि रोजजारीमूलक तालिम, शिक्षामूलक कार्यक्रम ल्याउनुपर्‍यो । महिला आर्थिक रूपमा बलियो हुनु एकदमै जरुरी छ ।

तपाईं केका लागि लडिरहनुभएको छ र यसको गन्तव्य के हो ?

मानवीय समानता र सबैले समान हक, अधिकार, इज्जत र सम्मानका साथ बाँच्न पाऊन् भन्ने उद्देश्यका साथ लडिरहेकी छु ।

तपाईंलाई के प्राप्त गर्ने भित्री इच्छा छ ?

नेपाली महिलाहरू सक्षम, निडर एवं निर्धक्क भएर समाजको बन्धनभन्दा माथि रहेर आफूखुसी बाँचेको हेर्ने मन छ ।

तपाईंले कुनै दुईजना व्यक्ति छान्नुपर्‍यो भने कसलाई छान्नुहुन्थ्यो र किन ?

पारिजात र माया एन्जलु । पारिजातलाई पढ्दा जीवनका विविध समस्याका बाबजुद पनि बाँच्ने साहसका साथै समाजलाई प्रेरित गर्न सकिन्छ, आफ्नै लागि बाँच्ने धेरै छन् तर अरूका लागि बाँच्नु अलग्गै पहिचान हो भन्ने महसुस गर्न सकिन्छ । त्यसैगरी मायालाई बुझ्दा उनले तत्कालीन रंगीय विभेद, अनेकौं सीमितता र चुनौतीलाई पार गर्दै सफल जीवन र संसारलाई नै प्रभावित पारिन्, जसको प्रभाव ममा पनि पर्‍यो ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>