रोजिता बुद्धाचार्य, नायिका

जे काम गर्दा पनि आफूभित्रको गहिराइ र आफू वरिपरिको ब्रह्माण्ड बुझ्नु जरुरी छ । सगरमाथा चढ्दा पनि त्यही कुरा लागू हुन्छ ।

नारी संवाददाता

कार्तिक १४, २०७७ 

खगोल भौतिकशास्त्रमा स्नातकोत्तर रोजिता बुद्धाचार्य गुरुकुलमा रिपोर्टिङ गर्दागर्दै सन् २०१२ मा थिएटरमा प्रवेश गरिन् । १२ वटा नाटक र दुइटा फिचर फिल्ममा अभिनय गरेकी उनी सन् २०१८ मा प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीको नेतृत्व गर्दै सगरमाथा पनि उक्लिन् । कलाकारिता र सगरमाथा आरोहणको अनुभवबारे नायिका रोजितासँग गरिएको संवादको सम्पादित अंश :

‘जीवन काँडा कि फूल’ मा साहित्यकार झमक घिमिरेको भूमिका निर्वाह गर्दा कस्तो अनुभव भयो ?

कलाकार भइसकेपछि बायोपिकमा काम गर्न पाइयोस् भन्ने सबैको सपना हुन्छ, त्यो सपना मैले पूरा गर्न पाउँदा आफूलाई भाग्यशाली ठानें । त्यसअघि चारवटा नाटक, एउटा नेपाल भाषाको चलचित्रमा काम गरिसकेकी थिएँ । झमक पात्रमा एक्साइटमेन्टभन्दा पनि डर थियो, मैले जिउँदो पात्रमाथि न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने थियो । ‘लिभिङ लेजेन्ड’ को चरित्र भएर होला डर लागेको थियो । अहिले मैले पात्रमा न्याय गरें भन्ने लाग्छ । अरूको प्रतिक्रिया र आफैंले आफैंलाई विश्लेषण गर्दा पनि मैले राम्रै काम गरेकी रहेछु भन्ने लाग्छ ।

चुनौतीपूर्ण निर्णयका लागि आफूलाई कसरी तयार पार्नुहुन्छ ?

जीवन जिउने क्रममा धेरै कुराहरू आए । धेरै काम गरियो । सबैमा शतप्रतिशत इफोर्ट लगाएँ । काममा हात हालेपछि तन, मन र धन लगाएर काम गर्ने बानी छ मेरो ।

अरू चलचित्र किन खेल्नुभएन ?

‘जीवन काँडा कि फूल’ अघि अर्को एउटा चलचित्रको अफर आएको थियो । म थिएटरमा काम गर्दै थिएँ । त्यसैले मैले थिएटर नै रोजें । ‘जीवन काँडा कि फूल’ पछि तीनवटा चलचित्रमा अफर आयो । तर, कन्भिन्सड भइन् । जीवनभर देखिने काम गर्नुपर्छ भन्ने लाग्छ ।

सगरमाथा चढ्न सहज कि अभिनय गर्न ?

दुवै गाह्रो । तुलना गर्नै मिल्दैन । जे काम गर्दा पनि आफूभित्रको गहिराइ र आफू वरिपरिको ब्रह्माण्ड बुझ्नु जरुरी छ । सगरमाथा चढ्दा पनि त्यही कुरा लागू हुन्छ । चुचुरोमा पुग्नुभन्दा पनि समग्र यात्रा उपलब्धिमूलक र स्मरणीय बनाउनु जरुरी थियो । चलचित्रको सवालमा पनि यही सिद्धान्त लागू हुन्छ ।

कसैले तपाईंबाट ‘स्पेसल अटेन्सन’ पाउन के गर्नुपर्छ ?

मेहनती हुनुपर्छ । अल्छी मान्छे मन पर्दैन ।

तपाईंले बोल्न सक्ने नेपालीबाहेक अर्को कुनै भाषा ?

नेपाल भाषा, अंग्रेजी, हिन्दी, कोरियन र जापनिज ।

आजसम्म देखेको अव्यवस्थित मान्छे ?

धेरै देखेको त छु तर भन्न मिल्दैन (आफ्नै साथीभाइ छन्) ।

कुन खेल मनपर्छ, किन ?

क्यारेमबोर्ड । सबै परिवार बसेर निकट भएर खेल्न पाइन्छ । आत्मीयता बढ्छ । जेनेरेसन ग्यापलाई कम गर्छ ।

कुनै फिक्सनको एउटा पात्र जसलाई वास्तविकतामा भेट्दा छुट्टै एक्साइटमेन्ट हुन्थ्यो होला ?

भर्खरै पढेको एन्टोन चेकोभको ‘कलेक्टेड स्टोरी’ को कर्नेल पात्र ।

तपाईंले धेरै पैसा हालेर किनेको बेस्ट चिज ?

मैले अस्ट्रियामा किनेको नेपाली ४० हजारको जुत्ता ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>