Successfully Copied

पहाड छिचोल्दै शुभानी

पाइलट शुभानी घिमिरेले कलिलो उमेरमै संघर्षका अनगिन्ती पहाड छिचोलेकी छन् । १७ वर्षमै बोइङ उडाउने प्रथम नेपाली उनले फिलिपिन्सको दुमगेतेबाट डिपोलोगसम्म ४० मिनेटको द्रुत गतिमा ‘पहिलो क्रसकन्ट्री सोलो उडान’ सम्पन्न गरेकी हुन् ।

पाइलट शुभानी घिमिरेले कलिलो उमेरमै संघर्षका अनगिन्ती पहाड छिचोलेकी छन् । १७ वर्षमै बोइङ उडाउने प्रथम नेपाली उनले फिलिपिन्सको दुमगेतेबाट डिपोलोगसम्म ४० मिनेटको द्रुत गतिमा ‘पहिलो क्रसकन्ट्री सोलो उडान’ सम्पन्न गरेकी हुन् । उक्त उडान जीवनकै रोमाञ्चक उडान भएको उनी बताउँछिन् । विश्वका धेरै स्थानको ज्ञान र अनुभव बटुलेकी शुभानीको जीवनले अस्ट्रेलियामा बिताएका कठिन संघर्षपछि ‘टर्निङ पोइन्ट’ लियो । ‘विदेशीको दुत्कार सुन्नुभन्दा नेपालीकै गाली सुन्दा अपनत्व महसुस हुने रहेछ, आफ्नै धर्तीका लागि अझ केही गरौं भन्ने भावना जागृत हुने रहेछ । तसर्थ बीएस्सी नर्सिङ अध्ययनलाई थाती राख्दै सदाका लागि अस्ट्रेलियालाई बाइबाइ गरें’ २१ वर्षिया शुभानी भन्छिन्, ‘आफ्नै देशको सेवा गर्ने दृढताका साथ पाइलटिङ शिक्षाका लागि फिलिपिन्स हान्निएँ । पहिले नै सुनिश्चित गरिसकेकी थिएँ, विदेशमा ज्ञान–सीप बटुलेर स्वदेशै फर्केर सेवा गर्ने । त्यसैले उताको बरिष्ठता, चारबार र आकर्षक तलब छोडेर नेपालमै फर्किएर दुईबार लगाएर काम गरिरहेकी छु तर गौरवान्वित छु ।’ फिलिपिन्समा उनले २२० घण्टा प्लेन उडाएर फुल क्याप्टेनको उपाधि पाइन् । नेपाल नफर्किएको भए उनी अहिले पाइलट इन्स्ट्रक्टर भएर ‘ह्याण्डसम अमाउन्ट’ आम्दानी गरिरहेकी हुन्थिन् । उनले दुःख रोजिन् तर आफ्नै माटो रोजिन् ।

अहिले शुभानी यति एयरको एटिआर विमान सहचालिका हुन् । उनी ठूलो जहाज हाँक्छिन् । धनुषाको जनकपुरधाममा जन्मिएकी उनको शिक्षादीक्षा भने काठमाडौंको प्यारागन पब्लिक स्कुल तथा युनाइटेड एकेडेमीबाट पूरा भएको हो । छोरीलाई सानो उमेरमै यो स्थानसम्म पुर्‍याउनमा बुवा सुनीलराज घिमिरेको ठूलो त्याग, तपस्या र योगदान रहेको शुभानीकी आमा भारती घिमिरे बताउँछिन् । शुभानीको बाल्यकाल उनका बुवाको ठिक्कको आम्दानीमै बितेको हो । सानैदेखि नृत्यमा रुचि राख्ने उनी जहाज चढ्न भनेपछि अघिल्लो दिनदेखि नै रोएर बस्थिन् । भैरहवा मामाघर जाँदा जहाज चढ्नुपर्छ भन्ने चिन्ताले घरदेखि एयरपोर्टसम्म रुँदै गएको उनी अहिले पनि सम्झिन्छिन् । के कुराले उनलाई हक्की बनायो र आज उनी जहाज हाँक्न सक्ने निडर भइन् ? शुभानीको जवाफ यस्तो थियो, ‘मभित्रको इच्छाशक्तिले मलाई निडर बनाउँदै लग्यो । जुन दुःख, पीडा, हण्डर–ठक्कर मैले अस्ट्रेलियामा पाएँ त्यसले मेरो जीवनको सिद्धान्त नै बदलिदियो । हाम्रो पसिना, सीप र क्षमता आफ्नै मुलुकमा सिञ्चित हुनुपर्छ भन्ने दृढता बढ्यो र मभित्र एक किसिमको अनौठो इच्छाशक्ति जाग्यो अब मैले केही गर्नैपर्छ मुलुकका लागि भन्ने । त्यसपछि म योजनाबद्ध रूपमा फिलिपिन्स गएकी हुँ ।’

किशोरावस्थामै बोइङ हाँकेकी यिनी धेरै युवाका लागि उदाहरण हुन सक्छिन् । कहाँ जाने, के गर्ने, कुन बाटो रोज्ने अलमलमा परिरहेका युवालाई उनको सुझाव छ, ‘अभिभावकको कुरा सुनी उहाँहरूको मार्गदर्शनलाई स्वीकार्ने, अनुशासन कायम राख्ने, आफूभित्रको सीप र क्षमता पहिचान गरी सोहीअनुरूप संघर्ष गर्दै जाने र आफूमा भएको धैर्यलाई विचलित हुन नदिने हो भने सफल नहुने कुरै छैन । जहाँ लाग्नुहुन्छ मन, मेहनत, दुःख खर्चिनुहोस् दीर्घकालीन सफलता मिल्छ ।’ विदेसिन चाहने युवालाई उता सीप सिकेर नेपाल फर्किई आफ्नै मातृभूमिको सेवामा सीप, जोश, जाँगर र परिश्रम लगाउन उनको आग्रह छ । भन्छिन्, ‘अर्काको देशमा पसिना बगाएर उनीहरूको देश बनाइदिएर हामीले पाउँछौं के ? कमसेकम आफ्नो देशमा काम गर्दागर्दै मरियो नै भने पनि सहिद त भइन्छ ।’

महिलामा हरेक ठाउँमा आफूलाई एडजस्ट गर्न सक्ने क्षमता र सहन सक्ने शक्ति हुन्छ भन्ने शुभानी आफ्नी आमाको बानी र बलियो व्यक्तित्वबाट प्रभावित भएको बताउँछिन् । त्यसैले पर्व लैंगिकमैत्री हुनुपर्छ भन्ने उनको भनाइ छ । पर्वभित्रका गलत मान्यतालाई काटछाँट गर्दै राम्रा कुरालाई निरन्तरता दिनुपर्ने शुभानीलाई लाग्छ । कोरोना जस्तो महामारीका समयमा हुलमुलमा चाडबाड मनाउनुभन्दा पनि घरभित्रै सुरक्षित भई रमाइलो गर्नुपर्ने उनी बताउँछिन् । उद्देश्य लिएर हिँड्नु नै जीवन हो भन्ने उनी अल्छीपन र गन्तव्यविनाको यात्रालाई अर्थहीन मान्दै भन्छिन्, ‘गरिब भएर जन्मिनु तपाईंको गल्ती होइन तर गरिबै भएर मर्नु तपाईंको महाभूल हो... भन्ने वाक्यांश पढेकी थिएँ, निकै मन छोयो र यसलाई मैले मेरो जीवनमा लागू गर्दै आएकी छु । सोहीअनुरूप परिश्रम गर्दै आएकी छु र गरिरहनेछु ।’

शुभानीका बारे

सुनीलराज घिमिरे, बुवा

छोराले जे गरेर पनि खान सक्छ तर छोरी बिहे गरेर अरूकहाँ जानुपर्छ भन्ने हाम्रो सामाजिक मान्यताका कारण पनि छोरी जन्मिनेबित्तिकै उसलाई सशक्त बनाउनुपर्छ भन्ने मेरो दिमागभित्र पसेको थियो । त्यसैले छोराभन्दा छोरीमा बढी समय, पैसा र लगाव लगानी गरें ।

शुभानी सानैदेखि अत्यन्तै मिलनसार, अनुशासित र मेहनती हो । पहिले पढाइमा त्यत्ति रुचि थिएन तर अस्ट्रेलियाबाट फर्केपछि उसको सोच र उद्देश्यमा परिवर्तन भएको पाएँ । योजना अनुसार उनी सफल पनि भइन् । अहिले उनी हरेक क्षण ‘गोल पोइन्ट’ बनाएर अगाडि बढ्छिन् । एउटा गोल पार गरेपछि फेरि अगाडिका लागि तय गछिन् । उनले रिसलाई नियन्त्रण गर्न सक्नुपर्छ । बढी भावुक हुन छोड्नुपर्छ ।

बिना बानु, प्रिन्सिपल, प्यारागन पब्लिक स्कुल

बाल्यकालदेखि नै शुभानी अत्यन्त ज्ञानी र अनुशासित विद्यार्थी हुन् । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैं उनमा सानैदेखि केही चमत्कार गर्ने लक्षण थियो । त्यसैले आज आकाशमा उडिरहेकी छिन् । ज्ञानकी भण्डार शुभानीजस्तै सबैका छोरी होऊन् । मेरो उनलाई धेरै–धेरै शुभकामना छ ।

 Image