Successfully Copied

‘लिडरले लिडर जन्माउनुपर्छ’

काठमाडौंलाई ठूलो ठाउँ बुझे पनि यहाँ महानगरमा हुने गरिबी (अर्बन पोभर्टी) धेरै छ । काठमाडौं बस्दैमा स्वास्थ्य राम्रो हुने होइन । ग्रामीण भेगबाट रेफर भएर आउने महिला पनि उत्तिकै छन् । समग्रमा महिलाको स्वास्थ्य हेर्ने हो भने उस्तै छ । सेवामा पहुँचको हिसाबले

डा. संगीता मिश्र– निर्देशक, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. संगीता मिश्र प्रो–एक्टिभ तथा आफैं अग्रसर भई काम गर्ने स्वभावकी छन् । गत असारमा उनी परोपकारकी निर्देशक बनेकी हुन् । भारत झारखण्डस्थित राँचीमा जन्मेकी, हुर्केकी र प्रारम्भिकदेखि एमबीबीएससम्मको शिक्षा उनले त्यहींबाट पूरा गरिन् । सन् २००५ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी गरेकी उनले सन् २००९ मा अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा एमपीएच शिक्षा हासिल गरिन् । उनले धरानको बीपी कोइराला प्रतिष्ठान र काठमाडौंको कान्ति बाल अस्पतालमा मेडिकल अधिकृत तथा कोसी अञ्चल अस्पतालमा मेडिकल सुपरिन्टेन्डेड भई सेवा गरिसकेकी छन् । कोभिड–१९ को कहर जारी रहेकै बेला कोसी अस्पतालमा कार्यरत रहँदा विराटनगर महानगरपालिका र प्रदेश सरकारसँग समन्वय गरी राम्रो काम गरेको भन्दै उनले धेरै प्रशंसा बटुल्न सफल भइन् । महिला, स्वास्थ्य, कोरोनालगायतका विषयमा केन्द्रित रही डा. संगीतासँग नारीकी उपासना घिमिरेले गरेको कुराकानीको सम्पादित अंश–  

स्वास्थ्यका विविध क्षेत्र हुँदाहुँदै स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्ने सोच कसरी आयो ?

सुरुदेखि नै मलाई प्रसूति तथा स्त्री रोग र पब्लिक हेल्थमा रुचि भएकाले गाइनोकलोजी विषय पढेकी हुँ ।

उच्च शिक्षाका लागि अमेरिका पुगेका बेला उतै काम गरी बस्न मन लागेन ?  

अमेरिकामा पढ्दा जागिरको प्रस्ताव आएकै हो । मेरो विचारमा अमेरिका अध्ययनका लागि ठीक हो । मलाई आफ्नै देशमा केही गर्नुपर्छ, करिअर यहीं छ भन्ने लाग्यो र नेपाल फर्किएँ ।

कतिपय चिकित्सक त उपत्यकामै काम गर्न मन पराउँछन्, तपाईंले विराटनगर किन रोज्नुभयो ?  

२०६९ मा लोकसेवामार्फत सरकारी सेवामा प्रवेशसँगै मेरो पोस्टिङ काठमाडौंस्थित प्रसूति गृहमा भएको थियो, तर मैले कोसी अस्पताल रोजें । सुरुदेखि नै विराटगरमा महिलाका लागि छुट्टै अस्पताल बनाउने मेरो अठोट थियो । त्यही अठोटले मलाई त्यता तानेको हो । विराटनगरमा ‘अफिस अफ डिफेन्स कर्पोरेसन अमेरिकन आर्मी’ सँग समन्वय गरी महिला अस्पतालको शिलान्यास गरिसकेकी छु  ।  

कोभिड–१९ को सुरुवातमा विराटनगरमा तपार्इंले खुबै चर्चा पाउनुको कारण के हो ?

संजोग नै भन्नुपर्छ, कोभिड आउनु र म मेडिकल सुपरिन्टेन्डेन्ट हुनु सँगसँगै भयो । मेरा लागि नयाँ प्रशासनिक अनुभव, जिम्मेवारी र सँगसँगै चुनौती पनि थियो । ३ सय ५० बेडको अस्पताल हाँक्नु र ५ सय ५० कर्मचारी लिएर चल्नु, सँगै कोभिड व्यवस्थापन गर्नु सुरुमा एकदमै चुनौती थियो । केही बाधा अवरोध पनि भयो । तर, स्थानीय, प्रदेश र संघीय सरकारसँग राम्रो समन्वय गरी छुट्टै कोभिड अस्पताल स्थापना गर्न सकेंं । नेपालभरमा सबभन्दा पहिले उदयपुरको भुल्केमा कोभिड आउटब्रेक भएको थियो । त्यो बेला त्यो म्यानेज गर्न कोसी अञ्चल अस्पताल सफल भयो । सायद त्यही भएर चर्चा पाएँ कि ।  

अहिलेको विषम परिस्थितिमा कार्यभार सम्हाल्दा कस्तो महसुस भएको छ ?  

प्रसूति गृहको निर्देशक हुँदा अवार्ड नै पाएजस्तो लागेको छ । ठूलो जिम्मेवारी पाएकी छु, यसको पालना र कार्यान्वयन पनि राम्ररी गर्नेछु । कोभिडका कारण परिस्थिति अलिकति अप्ठ्यारो चाहिँ छ । अस्पतालको सीमित जनशक्ति, बिरामीको चाप पनि त्यति नै छ । कोभिड पोजिटिभ महिलाको व्यवस्थापन कसरी गर्ने, एक किसिमको त्रास र अन्योल पनि छ । अलिकति अप्ठ्यारो छ तर पनि मन्त्रालयसँग समन्वय गरिरहेको छु, त्यसैले सहज छ ।  

प्रसूति गृहमा कोभिडका पोजिटिभ बिरामीको म्यानेज कसरी भइरहेको छ ?

पहिलेको तुलनामा अहिले यसका बिरामी बढेका छन् । हरेक दिन शंकास्पद १२ जना जति महिला आउने गरेका छन् । कोभिड पोजिटिभका लागि नेपाल सरकारको दुई सय बेड बनाउने योजना भए पनि तत्कालका लागि ३० जनाको बेड क्षमता छ ।   

कोभिडका कारण महिलाले के–कस्ता स्वास्थ्य समस्या झेल्नुपरेको छ ?

डरले पनि अस्पताल आउने महिला छन् । लकडाउनका कारण ल्याइदिने मानिस छैनन् । यो समयमा महिलामा अनिच्छित गर्भधारणको समस्या एकदमै बढेको छ । परिवार नियोजनका साधनमा कमी आएको छ । नियमित स्वास्थ्य परीक्षण गराउन पाएका छैनन् । सानो रोगको समयमै उपचार नहुँदा विकराल रूप लिएको छ । समयमै अस्पताल जान नसक्दा मातृ मृत्युदर वृद्धि भएको छ । कोभिड अन्त्य कहिले हुन्छ भन्ने थाहा नभएकाले योसँगै बाँच्न सिक्नुका साथै खानपिनमा पनि ध्यान दिनुपर्‍यो ।

उपचार गरेको बिरामी निको हुँदा कस्तो महसुस हुन्छ ? काम गर्दाका केही अविष्मरणीय घटना बताइदिनु न ।

उपचारपछि निको भएकाको हाँसोले दिने सन्तुष्टिभन्दा अरू ठूलो केही छैन । कोसी अस्पतालमा कार्यरत रहँदा एउटी महिला असुरक्षित गर्भपतन गरेर आएकी थिइन्, पाठेघरमै प्वाल परेको थियो, हामीले अप्रेसन गर्‍यौं । रक्तस्रावका कारण ती महिलालाई रगत पनि धेरै चढाउनुपर्ने भयो । रगत चढाउँदा उनको शरीरमा रगत जम्ने क्षमता घटिसकेको थियो, त्यतिबेला हाम्रो टिमले धेरै प्रयासपछि महिलाको पाठेघर जोगाउन पाउँदा धेरै खुसी लागेको थियो ।    

महिला भएर जिम्मेवार पदमा रहँदा कत्तिको अप्ठ्यारो महसुस भएको छ ?

आफूमाथि पूर्ण विश्वास भएकाले मलाई अप्ठ्यारो कहिले पनि भएन । काम गर्ने बेलाको एउटा अनौठो अनुभव छ, मसँग । पहिलो पटक विराटनगरमा कोभिड कमिटीको मिटिङ थियो, जसमा सबै कार्यालय प्रमुखदेखि जिम्मेवार पदका विभाग (पुलिस, प्रशासन, सीडीओ, नगरपालिकाका मेयर) का सँग म एक्लो महिला थिएँ, त्यो हलमा । त्यति बेला निर्णायक तहमा महिला सहभागिता कति कम छ भन्ने महसुस मैले गरें । निर्णायक तहमा महिला हुनु कत्तिको जरुरी छ भन्ने कुरा पनि त्यही दिन महसुस गरें । काम गर्दा मलाई अप्ठ्यारो नभए पनि निर्णायक तहमा महिलाको संख्या कति न्यून रहेछ भन्ने महसुस गरायो । मलाई आफ्नो क्षमतामाथि कहिले पनि प्रश्न उठेन । प्रतिस्पर्धामा पुरुष भए पनि महिलाले आफ्नो हिसाबले र पुरुषले आफ्नो हिसाबले काम गर्ने हो ।

निर्णायक तहमा महिलाको संख्या बढाउन के गर्नुपर्ला ?

सशक्तीकरण हुनुपर्छ । जति पनि महिला निर्णायक तहमा पुगेका छन् उनीहरूले आफ्नो मातहतमा रहेका (जुनियर) लाई माथि ल्याउन सपोर्ट गरी उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्छ । मेरो सोच ‘लिडरले लिडर जन्माउनुपर्छ, फलोअर होइन ।’ मैले यो ठाउँ छोडे भने त्यहाँ अर्को महिला आउनुपर्छ भन्ने स्थिति बनाइदिनुपर्छ । यसका लागि त्यो तहमा पुग्न सक्ने सम्भावित क्षमतावान महिलामा नेतृत्व गर्ने क्षमता अभिवृद्धिका लागि उपयुक्त वातावरण निर्माण गरिदिनुपर्छ ।  

महिला जागरुक हुनका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

जनचेतना, शिक्षा र अवसर जरुरी छ । महिलाको कामलाई आर्थिक लाभको हिसाबले हेरिन्छ, जबकि उसले काम गर्नु स्वावलम्बनका लागि जरुरी छ । उसलाई आफैं आत्मविश्वासका साथ अघि बढ्न जरुरी छ । जागिर गरेर कति आम्दानी हुन्छ भन्ने कुराभन्दा पनि जागिर गर्नु महत्त्वपूर्ण छ । त्यसले महिलामा स्वाभिमान, आत्मविश्वास बढ्छ । काम गरिरहेका महिलाले घरको जिम्मेवारी पनि निर्वाह गर्नुपर्दा दोहोरो भूमिकामा छन्, त्यसैले घरको जिम्मेवारी अरूले पनि लिइदिनुपर्छ । महिला दुवैतिरबाट पेलिनु भएन । कतिपय कुरामा महिला र कतिपय कुरामा पुरुष राम्रा छन् । त्यसैले मेरो, तेरोभन्दा पनि हाम्रो भन्ने साझा जिम्मेवारीको धारणाले अघि बढ्नुपर्छ ।   

महिला आ–आफ्नो क्षेत्रमा जिम्मेवार पदमा पुग्नका लागि के गर्नुपर्ला ?

सपना देख्नुपर्छ । लक्ष्यमा पुग्छु भन्ने अठोट लिनुपर्छ । आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्छ । त्यसका लागि सुरुदेखि नै लगनशील भएर लागिपर्नुपर्छ । समुदायसँग लड्न र आफ्ना लागि आफैं बोल्न सक्नुपर्‍यो । म सक्छु भन्ने कुरा सोच र व्यवहारमा पनि देखाउनुपर्छ ।

बाहिरी जिल्ला र यहाँको महिलाको स्वास्थ्य स्थिति कस्तो पाउनुभयो ?

लगभग उस्तै–उस्तै छ । काठमाडौंलाई ठूलो ठाउँ बुझे पनि यहाँ महानगरमा हुने गरिबी (अर्बन पोभर्टी) धेरै छ । काठमाडौं बस्दैमा स्वास्थ्य राम्रो हुने होइन । ग्रामीण भेगबाट रेफर भएर आउने महिला पनि उत्तिकै छन् । समग्रमा महिलाको स्वास्थ्य हेर्ने हो भने उस्तै छ । सेवामा पहुँचको हिसाबले काठमाडौंमा अलिकति राम्रो छ, उताको तुलनामा । तर, स्वास्थ्य अवस्था र जागरुकता उस्तै–उस्तै छ । पढेलेखेकामा जागरुकता यहाँ र उता उस्तै छ ।

पहिलेको तुलनामा महिलाको स्वास्थ्यमा सुधार भएको हो ? स्वास्थ्यमा सुधार ल्याउन के गर्नुपर्छ ?  

पहिलेभन्दा अहिले राम्रो छ । पहिले धेरै महिलामा एनिमिया देखिन्थ्यो । कतिपय महिलाले रोग लुकाउँथे । असुरक्षित गर्भपतन धेरै गराउँथे । स्वास्थ्यबारेमा आफैं निर्णय गर्न सक्दैनथे । अहिले त्यो अवस्था नभए पनि अनुपातिक हिसाबले सुधार धेरै कम छ । यो क्षेत्रमा धेरै काम गर्न बाँकी छ । समानतासँगै समता (इक्विटी) को कुरा गर्नुपर्छ । स्वास्थ्यमा सुधार ल्याउनका लागि जनचेतना हुनुपर्छ । महिला परिवारको पिलर हो । महिला स्वस्थ र खुसी छ भने परिवारै स्वस्थ र खुसी हुन्छ भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ । यसका साथै महिलाको स्वास्थ्य र शिक्षा राज्यको मुद्दा भएमा मात्र सुधार हुन्छ । राज्यले महिला र बालबालिकाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गर्नुपर्‍यो ।

भविष्यको योजना के छ ?

स्वास्थ्यमा काम गर्ने र पिछडिएको (दलित) बालिकाको शिक्षा क्षेत्रमा पनि काम गर्ने इच्छा छ । पिछडिएका बालिकालाई शिक्षित बनाएर मूलधारमा पुन:स्थापन गर्ने योजना छ । साथै महिला सशक्तीकरणमा पनि काम गर्ने इच्छा छ ।

 

 Image