अल्जाइमर्स के हो ?

- डा.रमेश कँडेल, ज्येष्ठ नागरिक तथा अल्जाइमर्स रोग विशेषज्ञ

भाद्र २८, २०७७ सेप्टेम्बर विश्व अल्जाइमर्स महिना हो । यो रोगको निदान तथा उपचार सम्भव छ । मानव मस्तिष्कका विविध कार्यक्षमता जस्तै सम्झिन सक्ने क्षमता, सोच्ने, तर्कवितर्क गर्ने, राय दिने गणितका समस्या समाधान गर्ने, सामाजिक परिवेशको हिसाबले आफूलाई प्रस्तुत गर्ने, दिसापिसाबमा आवश्यक नियन्त्रण गरी उपयुक्त स्थानमा मात्र गर्ने लगायतका हुन्छन् । कुनै कारणवश मस्तिष्कको सम्झिने क्षमताका साथसाथै अन्य कुनै कार्यक्षमतामा विस्तारै कमजोरी आई दैनिक क्रियाकलापमा असर पर्नुलाई ‘विस्मृति’ भनिन्छ । यसको विविध कारणमध्ये प्रमुख कारण ‘अल्जाइमर्स’ हो ।

अल्जाइमर हुने कारण

अल्जाइमर्स प्राय: ज्येष्ठ नागरिकमा लाग्ने रोग भए तापनि यसको यकिन कारण पत्ता लगाउन सकिएको छैन । मस्तिष्कको स्नायु तन्त्रसँग सम्बन्धित कोषिकामा बढ्दो उमेरसँगै आउने खराबी (न्युरो डिजेनेरेसन) ले यो रोग लाग्ने मानिन्छ । विभिन्न अध्ययन–अनुसन्धानले देखाए अनुसार बुढ्यौली, आनुवांशिकता, अधिक मोटोपना, मधुमेह, उच्च रक्तचाप, ‘मेटाबोलिक सिन्ड्रोम’, रगतमा अधिक चिल्लोपना, डाउन सिन्ड्रोम, मस्तिष्कसम्बन्धी चोटपटक जस्ता विभिन्न स्वास्थ्य समस्याहरूले कुनै पनि व्यक्तिमा अल्जाइमर्स रोग लाग्ने जोखिमलाई बढाइरहेका हुन्छन् ।

लक्षण

यो रोग तीन अवस्थाको हुन्छ र सोही अनुसारका लक्षण देखा पर्छन् ।

(क) कम कडा अवस्था (माइल्ड स्टेज)

– स्मरण शक्तिमा क्रमिक रूपमा ह्रास हुँदै जानु ।

– पूर्वजानकारी भएका व्यक्ति र नातागोता एवं ठाउँ चिन्न समस्या हुनु ।

– साविकका कामहरू गर्न आवश्यकताभन्दा धेरै समय लिनु ।

– व्यवहार र व्यक्तित्वमा क्रमिक रूपमा परिवर्तन हुँदै जानु ।

(ख) मध्यम कडा अवस्था (मोडरेट स्टेज)

– कम कडा अवस्थाका समस्या क्रमिक रूपमा बढ्दै जानु ।

– परिवारभित्रैका सदस्यलाई पनि चिन्न समस्या हुनु ।

– घरको बाटो बिराउनु वा हराउनु ।

– एउटै कुरा तथा काम अनावश्यक रूपमा दोहोर्‍याइरहनु ।

– अनावश्यक शंका गरी नभएको कुरा देख्नु, सुन्नु अधिक डराउनु तथा आवेशमा आउनु ।

– सामाजिक रूपमा आपत्तिजनक काम, व्यवहार र भाषा प्रयोग गर्नु ।

(ग) अति कडा अवस्था (सिभियर स्टेज)

– माथिका दुई अवस्थाका लक्षणहरू क्रमिक रूपले थप बल्झिँदै जानु ।

– खाना खान, चपाउन तथा निल्नमा क्रमिक रूपमा समस्या आई सर्केर हुने न्युमोनिया

 (एस्पिरेसन न्युमोनिया) बाट बिरामी बारम्बार पीडित भइरहनु ।

– तौल घट्दै जानु, आलस्य र निद्रा बढ्दै जानु ।

– दिसापिसाबमा नियन्त्रण हराउँदै गएर कपडा तथा बिस्तारामै हुनु ।

– बोल्नमा समस्या बढ्दै गई अस्पष्ट रूपमा आवाज निकाल्नु ।

उपचार

हालसम्म उपलब्ध उपचार पद्धति र औषधीले यो रोगलाई पूर्ण रूपमा निको पार्न सक्दैनन् । रोग एक अवस्थादेखि अर्को अवस्थासम्म बल्झिँदै जाने गतिलाई कम गर्न मात्र सकिन्छ । सम्भाव्य औषधीहरू अनुसन्धानको दायरामा छन् । व्यवहारजन्य समस्याका कारण यो रोगका बिरामीको उपचार जटिल हुन्छ । उपलब्ध विभिन्न औषधीको सहयोगमा यस्ता व्यवहारजन्य समस्याहरूलाई समयमै नियन्त्रण भने गर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>